कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

चुच्चे नक्साको क्षेत्रफलमा अन्योल

‘गएको सरकारले चुच्चे नक्सा प्रकाशित गरेकाले वर्तमान सरकारले नयाँ क्षेत्रफल प्रकाशन गरेमा उसैको मानमर्यादा बढ्छ’ भनेर देखाइएको राजनीतिक उदासीनता र ‘यो त देशको भौगोलिक अखण्डतासँग गाँसिएको कुरो हो’ भन्नेमा सरकारको बुझाइको कमीका कारण नयाँ क्षेत्रफल प्रकाशित नगरिएको हो ।
बुद्धिनारायण श्रेष्ठ

नेपाल सरकारले संविधान संशोधन गरी संसद्को पूर्ण बहुमतले पारित गरेर राष्ट्रपतिबाट लालमोहर लगाई २०७७ जेठ ७ गते चुच्चे नक्सा प्रकाशित गरेको थियो । तर नक्सामा चुच्चो परेको भागसहित नेपालको वास्तविक क्षेत्रफल कति हो भनी सरकारी तवरबाट अहिलेसम्म जानकारी गराइएको छैन । विदेशी निकायहरू पनि अन्योलमा रहेको देखिन्छ । वर्ल्ड डाटा इन्फो, विकिपेडिया, गुगल सर्च इन्जिन, वर्ल्ड स्टाटिस्टिक, यूएनडीपी, इसिमोड, ट्रेडिङ इकोनोमिक्स आदिमा भिन्नाभिन्नै क्षेत्रफलहरू उल्लेख गरिएका छन् ।

चुच्चे नक्साको क्षेत्रफलमा अन्योल

समाजका विभिन्न वर्गले सरकारसँग नयाँ क्षेत्रफल माग गर्दा अहिलेसम्म सरकारी निकायहरू मौन छन् । यसबाट खास गरी लोकसेवा आयोगका परीक्षार्थीहरू तथा विद्यालय–महाविद्यालयका विद्यार्थीहरू रनभुल्लमा परेका छन् । आयोगका परीक्षार्थी तथा विद्यालयका विद्यार्थीहरूलाई नेपालको क्षेत्रफल सम्बन्धमा सोधिएको प्रश्नमा पुरानै क्षेत्रफल १,४७,१८१ वर्गकिमि उत्तर लेख्दा र अर्कातिर बजारमा चलेका विभिन्न नयाँ क्षेत्रफलसमेत जोडेर लेख्दा त्यसमा अंक नदिने गरिएको छ । यसबाट जागिरका लागि लोकसेवा परीक्षा दिने उम्मेदवारहरू मारमा परेका छन् ।

संवत् २०४३ भन्दा अघिको क्षेत्रफल

चुच्चे नक्सा प्रकाशित भएयता विभिन्न निकायले थरीथरीका क्षेत्रफल उपयोग गरेर आइरहेको जस्तै अवस्था संवत् २०४३ भन्दा अघि पनि थियो । नेत्रबहादुर थापा क्षत्रीद्वारा लिखित ‘नेपालको भूगोल’ (संवत् २०१०) पुस्तकको पृष्ठ २ मा नेपालको क्षेत्रफल ५६,००० वर्गमाइल (१,४५,०४० वर्गकिमि) उल्लेख छ । दार्जिलिङबाट सन् १९४९ मा प्रकाशित पारसमणि प्रधान र नरेन्द्रमणि प्रधानको ‘नेपाली भूगोल’ को पृष्ठ ५५ मा ५६,००० वर्गमाइल; प्रो. एमबहादुर एमएले लेखेको ‘नेपालको भूगोल’ (सन् १९५०) को पृष्ठ १ मा ५४,५०० वर्गमाइल; राष्ट्रिय पुस्तक मण्डल, वीरगन्जबाट प्रकाशित ‘नेपाल का नवीन भूगोल’ (सन् १९५७) मा ५४,००० वर्गमाइल; बीडी सनवलले लेखेको ‘नेपाल एन्ड द इस्ट इन्डिया कम्पनी’ (सन् १९६५) को पृष्ठ ३ मा १,६८,००० वर्गकिमि; सन् १९७६ मा युनिभर्सिटी अफ क्यालिफोर्निया, बर्कलेबाट प्रकाशित महेशचन्द्र रेग्मीद्वारा लिखित ‘ल्यान्ड ओनरसिप इन नेपाल’ शीर्षक अनुसन्धानमूलक मोनोग्राफ पुस्तकमा ५४,३६२ वर्गमाइल (१,४०,७९८ वर्गकिमि) भनी लेखिएको छ । यसरी विभिन्न सामग्रीमा नेपालको क्षेत्रफल १,३९,८६० वर्गकिमिदेखि १,६८,००० वर्गकिमिसम्म उल्लेख भएको पाइन्छ ।

२०४३ देखि २०७७ सम्मको क्षेत्रफल

नेपालको क्षेत्रफललाई लिएर विविध अंक देखिएको र विदेशी परामर्शदाताका प्रतिवेदनहरूमा पनि भिन्नाभिन्नै उल्लेख भएकाले सरकारले आधिकारिक तथ्यांक जनसमुदायसमक्ष ल्याउनुपर्छ भनी उस बेला विकासविज्ञ डा. पीताम्बर शर्माको प्रतिक्रिया गोरखापत्रमा प्रकाशित भएको थियो, जसमा राष्ट्रिय योजना आयोगको पनि नजर परेछ । आयोगका तत्कालीन उपाध्यक्ष मोहनमान सैंजूले आयोगकै सदस्य डा. चन्द्रबहादुर श्रेष्ठलाई सरोकारवाला निकायहरूबीच छलफल गरी क्षेत्रफल यकिन गर्ने अभिभारा दिए ।

डा. श्रेष्ठले नापी विभाग, केन्द्रीय तथ्यांक विभाग, भू तथा जलाधार संरक्षण विभाग, वन विभाग आदिलाई सम्मिलित गराई २०४३ भदौ–असोजमा तीन पटक बैठक गरे । पहिलो बैठकमा नापी महानिर्देशक अर्जुनबहादुर बस्न्यात र यो पंक्तिकार, केन्द्रीय तथ्यांक विभागबाट महानिर्देशक विश्वराज रेग्मी तथा अन्य निकायका प्रतिनिधिहरू थिए । नापी विभागले देशको क्षेत्रफल १,४७,४८४ वर्गकिमि; केन्द्रीय तथ्यांक विभागले १,५३,२६२ वर्गकिमि र भू तथा जलाधार संरक्षण विभागले १,४०,७९७ वर्गकिमि कायम गर्नुपर्छ भनी प्रस्तुति दिए । अन्यले खास क्षेत्रफल यत्ति नै हुनुपर्छ भनेनन् । सबैको भिन्नाभिन्नै अंक भएकाले अर्को बैठकमा यसको आधिकारिक प्रमाण ल्याउन भनियो ।

अर्को बैठकमा नापी योजना शाखा प्रमुखका हैसियतले विभागको प्रतिनिधित्व गर्दै मैले भनें, ‘क्यानेडियन सहायता अन्तर्गत नापीमा सञ्चालन भएको एलआरएमपी प्रोजेक्टबाट सन् १९७८–७९ का दुई सुक्खा मौसममा हवाईजहाजबाट खिचिएका फोटोग्राफहरू फोटोग्रामेट्रिक विधिद्वारा संगणना गर्दा क्यानेडियन परामर्श टोलीले १,४७,४८४ वर्गकिमि क्षेत्रफल निकालेको छ ।’ यो क्षेत्रफल उनीहरूले एलआरएमपी इकोनोमिक्स ड्राफ्ट रिपोर्टको पृष्ठ १ मा उल्लेख गरेको भन्दै मैले प्रतिलिपि प्रस्तुत गरें ।

भू तथा जलाधार संरक्षण विभागका प्रतिनिधिले वन संरक्षण विभागका निम्ति यूएसएआईडीले सन् १९६४–६५ मा खिचेको हवाईफोटोका आधारमा क्षेत्रफल १,४०,७९७ वर्गकिमि भएको भन्दै जलस्रोत मन्त्रालय अन्तर्गत जल तथा शक्ति आयोगबाट सन् १९८६ मा प्रकाशित ‘ल्यान्ड युज इन नेपाल विथ इम्फ्यासिस अन फरेस्ट ल्यान्ड युज’ रिपोर्टको पृष्ठ २७ को प्रतिलिपि पनि मैले पेस गरें । केन्द्रीय तथ्यांक विभागले भने तत्कालीन संख्या विभागका चिफ सुपरिन्टेन्डेन्ट थिरबहादुर रायमाझीका पालामा जनगणना प्रयोजनका निम्ति तत्कालीन ३२ जिल्ला अन्तर्गतका थुम, प्रगन्ना, तप्पा, मौजाका आधारमा संवत् २०१५ मा उल्लेख गरिएको वर्गमाइललाई वर्गकिमिमा परिणत गर्दाको क्षेत्रफल १,५३,२६२ वर्गकिमि हुनुपर्ने जिकिर गर्‍यो । यी प्रतिनिधिमूलक तथ्यांक थिए । छलफलका क्रममा डा. श्रेष्ठलेे हवाईफोटोबाट निकालेको नापी विभागको क्षेत्रफल वैज्ञानिक हुने भन्दै यसैलाई अन्तिम क्षेत्रफल मान्न अनुरोध गरे । तर वन विभागका प्रतिनिधिले आनाकानी गरे । त्यसैले बैठकमा क्षेत्रफलको निर्णय हुन सकेन ।

त्यसको लगभग दुई हप्तापछि अर्को बैठक बस्यो । निकै लामो छलफल भयो । तर पनि टुंगो लाग्ने छाँट आएन । डा. चन्द्रबहादुर श्रेष्ठले अलि गम्भीर हुँदै भने, ‘तपाईंहरूलाई एकले प्रस्तुत गर्नुभएको क्षेत्रफल अर्कोलाई मान्न अप्ठेरो पर्‍यो । त्यसैले म एउटा मध्यमार्ग अपनाउँछु, मान्नुहोला ।’ यति भनेर उनले तीन प्रकारका क्षेत्रफलको जोडजम्मा गरे । अनि त्यसको मध्यमान औसत निकालेर क्षेत्रफल १,४७,१८१ वर्गकिमि हुन्छ भन्दै ‘कृपया, हामी सबै जनाले यसलाई मन्जुर गरौं’ भने । कसैले ‘हुन्छ’ भन्न सकेनन्, ‘हुँदैन’ भन्न पनि सकेनन् । त्यसपछि बैठकको निर्णय माइन्युट लेखियो, सहीछाप गरियो । एक हप्तापछि यसलाई सर्कुलर गरियो । त्यसपछि १,४७,१८१ वर्गकिमिलाई राष्ट्रिय क्षेत्रफल मानियो । एक महिनापछि नापी विभागले १,४७,१८१ वर्गकिमि नेपालको राष्ट्रिय क्षेत्रफल हो भनी डा. पीताम्बर शर्माको प्रतिक्रियाको जवाफ गोरखापत्रको ‘सम्पादकलाई चिठी’ स्तम्भमा प्रकाशित गर्‍यो ।

२०७७ पछिका विविध क्षेत्रफल

सरकारले २०७७ जेठ ७ गते चुच्चे नक्सा प्रकाशित त गर्‍यो, तर त्यसको क्षेत्रफल अहिलेसम्म सार्वजनिक नगरेकाले भद्रगोल देखिएको छ । नक्सा प्रकाशित गरेकै दिन कान्तिपुर संवाददाताले यसबारे सोध्दा तत्कालीन भूमि व्यवस्थामन्त्री पद्मा अर्यालले भनेकी थिइन्, ‘नेपालको क्षेत्रफल करिब ३३५ वर्गकिमि बढी भएको छ’ (कान्तिपुर, २०७७ जेठ ८) । केहीपछि उनै संवाददाताको जिज्ञासामा नापी विभागका सम्बन्धित अधिकृतले जानकारी दिएका थिए, ‘प्रोजेक्सन सिस्टमबाट मुलुकको क्षेत्रफल पुनर्मापन गर्दा ८२५ वर्गकिमि बढी आएको छ । कुल क्षेत्रफल अब १,४८,००६ वर्गकिमि हुने प्रस्ताव गरी मन्त्रालयमा पठाइएको छ ।’ (कान्तिपुर, २०७७ कात्तिक १९)

तत्कालीन शिक्षामन्त्री गिरिराजमणि पोखरेलले पाठ्यक्रम विकास समितिबाट प्रकाशित ‘नेपालको भूगोल र सीमा सम्बन्धी स्वाध्याय सामग्री’ पुस्तिका २०७७ भदौ ३० गते विमोचन गर्दै चुच्चे नक्साको बढेको भाग ४६० वर्गकिमिसहित नेपालको क्षेत्रफल १,४७,६४१ वर्गकिमि भएको छ भनेका थिए । यस पंक्तिकारले संवत् २०५९ मा प्रकाशित ‘बोर्डर म्यानेजमेन्ट अफ नेपाल’ पुस्तकको पृष्ठ ९९ मा चुच्चे नक्सा समावेश गरी चुच्चो परेको भागको क्षेत्रफल ३१० वर्गकिमिसहित अतिक्रमित लिम्पियाधुरासम्म ३७२ वर्गकिमि भएको कुरा प्रकाशमा ल्याएको थियो ।

नेपालको क्षेत्रफललाई लिएर विभिन्न अन्तर्राष्ट्रिय संस्थाले समेत मनखुसी अंक राखेको पाइन्छ । विकिपेडिया, वर्ल्ड एटलास र गुगल सर्च इन्जिनले १,४७,५१६ वर्गकिमि; वर्ल्ड स्टाटिस्टिक र वर्ल्ड डाटा इन्फोले १,४७,१८०Ù यूएनडीपी र इसिमोडले १,४७,१८१ एवं ट्रेडिङ इकोनोमिक्सले १,४३,३५० वर्गकिमि उल्लेख गरेका छन् ।

चुच्चे नक्साको क्षेत्रफल किन प्रकाशित भएन ?

केही भूगोलवेत्ताको बजारिया भनाइ अनुसार, चुच्चे र बुच्चे नक्साको प्रोजेक्सन भिन्न भएकाले सरकारले नयाँ क्षेत्रफल प्रकाशित नगरेको हो । अर्कातिर, कार्टोग्राफरले चाहिँ नयाँ नक्सामा ‘ब्लन्ट कार्टोग्राफी’ का कारण ढिलाइ भएको हो भन्ने गरेको बुझिन्छ ।

चुच्चे नक्साअघिसम्म नेपालले युनिभर्सल ट्रान्सभर्सल मर्केटर (यूटीएम) प्रोजेक्सनमा आधारित नक्सा प्रकाशित गर्दै आएको थियो । चुच्चे नक्सामा चाहिँ, नापी विभागले जानकारी दिए अनुसार, ल्याम्बर्ट कोनिकल कन्फर्मल (एलसीसी) प्रोजेक्सन र एभरेस्ट स्फेरोइड १८३० सिस्टम तथा जीआईएस सफ्टवेरका माध्यमबाट क्षेत्रफल मापन गरिएको हो । नक्सा प्रोजेक्सन भनेको गोलाकार पृथ्वीलाई विभिन्न गणितीय विधिद्वारा समतल सतहमा परिवर्तन गरी नक्सा बनाउनु हो ।

यूटीएममा नेपाललाई देशान्तरका हिसाबमा तीन ग्रिड जोनमा विभाजन गरिएको थियो भने एलसीसी प्रोजेक्सनमा पूर्व–पश्चिम लाम्चिएको नेपाललाई एउटै जोन मानिएको छ । देशको क्षेत्रफल संगणना गर्दा यी दुवै प्रोजेक्सन पद्धति अनुसार केही मात्रामा कमीबेसी हुन सक्छ । तर नापी नक्साको सिद्धान्त अनुसार ‘पर्मिसिबल एरर’ भित्र पर्ने हुनाले कुल क्षेत्रफलमा खास उल्लेख्य फरक पर्दैन । कार्टोग्राफिक विधाचाहिँ क्षेत्रफलसँग सम्बन्धित रहँदैन ।

उसो भए किन नयाँ क्षेत्रफल प्रकाशित गरिएन त भन्ने प्रश्न आउन सक्छ । यसको जवाफ हुन सक्छ— ‘गएको सरकारले चुच्चे नक्सा प्रकाशित गरेकाले वर्तमान सरकारले नयाँ क्षेत्रफल प्रकाशन गरेमा उसैको मानमर्यादा बढ्छ’ भनेर देखाइएको राजनीतिक उदासीनता र ‘यो त देशको भौगोलिक अखण्डतासँग गाँसिएको कुरो हो’ भन्नेमा सरकारको बुझाइको कमीका कारण नयाँ क्षेत्रफल प्रकाशित नगरिएको हो ।

अबको बाटो

कुनै पनि स्वतन्त्र राष्ट्रको तोकिएको निश्चित सिमाना हुन्छ । त्यस सिमानाभित्रको जमिनको क्षेत्रफल सर्वमान्य विधिले सरकारले तोकेको हुन्छ । मुलुकको क्षेत्रफलबारे अन्योल रहिरहनु हुँदैन । यसैले अब नापी विभाग अन्तर्गत क्यानेडियन एलआरएमपी आयोजनाले हवाईफोटोको सहायताले प्राविधिक तवरमा संगणना गरेको १,४७,४८४ वर्गकिमिमा चुच्चे नक्सा प्रकाशित गरेको दिन नापी विभागको प्राविधिक परिप्रेक्ष्यमा भूमि व्यवस्थामन्त्रीले सञ्चारकर्मीलाई बताएको ३३५ वर्गकिमि जोड्दा हुन आउने १,४७,८१९ वर्गकिमि नेपालको आधिकारिक राष्ट्रिय क्षेत्रफल हो भनी सार्वजनिक गरिए त्यस्तो अन्योल समाप्त हुन्छ ।

प्रकाशित : कार्तिक १७, २०८० ०९:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनबारे संसदीय छानबिन समिति गठन गर्ने/नगर्ने विवादले प्रतिनिधि सभा फेरि अवरुद्ध भएको छ । संसद् चलाउन के गर्नुपर्ला ?