सञ्जालले बढाएको ध्रुवीकरण

सामाजिक सञ्जालले मानिसहरूलाई एकातिर आफूजस्तै सजातीयहरूको भीड (इको च्याम्बर) मा हुत्याएको हुन्छ भने, अर्कातिर शोधित सूचनाको पोको (फिल्टर बबल) मात्र पस्किएर थप ध्रुवीकृत बनाएको हुन्छ ।
उत्तमबाबु श्रेष्ठ

सन् १९५२ मा रसियन एकेडेमी अफ साइन्सेसका वैज्ञानिक दिमित्री वेलिएभ र उनका पीएचडी विद्यार्थी लुड्मिला ट्राटले एउटा रोचक अनुसन्धान परियोजना सुरु गरे । ‘फार्म फक्स एक्सपेरिमेन्ट’ भनिएको उक्त अनुसन्धानको उद्देश्य आक्रामक जंगली ब्वाँसोबाट आदेशपालक ‘घरेलु कुकुर’ पैदा गर्नु थियो ।

सञ्जालले बढाएको ध्रुवीकरण

अनुसन्धानका क्रममा अध्येताहरूले जंगली ब्वाँसोका ३० भाले र १०० पोथीलाई फार्ममा ल्याएर उनीहरूको प्रजननबाट जन्मिएका सन्तानमा देखा पर्ने परिवर्तित स्वभावको अवलोकन गर्ने गर्दथे । पालिएका मध्येबाट सबैभन्दा कम आक्रामक स्वभावका १० प्रतिशत ब्वाँसोलाई छनोट गरी तिनीहरूबीच प्रजनन गराई नयाँ पुस्ताका ब्वाँसाहरू जन्माइन्थे । यसरी पुस्तौंसम्म सोही रीतले कम आक्रामक ब्वाँसाहरू छनोट गरी प्रजनन गराउँदै जन्माइएका ब्वाँसाहरू अहिले ६० औं पुस्तामा पुगेका छन् र अनुसन्धान निरन्तर चल्दै छ । तर त्यसरी कृत्रिम छनोटमार्फत जन्माइएका ब्वाँसाहरूको स्वभाव र शारीरिक बनोटमा केही पुस्तामै अन्तर देखिन थालिसकेको थियो । ब्वाँसाका सन्तानहरू आफ्ना पुर्खाको तुलनामा अनुसन्धानकर्ताहरूप्रति क्रमशः कम आक्रामक हुन थालेका थिए, उनीहरूमा भलादमीपन देखिन थालेको थियो । दशौं पुस्तासम्म आइपुग्दा ती ब्वाँसाहरूले अनुसन्धानकर्तालाई देख्दा कुकुरले जस्तै पुच्छर हल्लाउन सुरु गरे, उनीहरूका कान कुकुरको जस्तो नरम हुन थाले, अनुहार कोमल र निधारमा भुत्लाको तारे टाटा देखिन थाल्यो । उक्त अनुसन्धानको निष्कर्ष थियो— घरेलुकरणसँगै जनावरमा आक्रामक स्वभाव विलिन हुँदै र शान्त स्वभाव बढ्दै जान्छ ।

परेवा पाल्न सौखिन उद्विकासशास्त्री चार्ल्स डार्विनलाई जनावरको घरेलुकरणमा विशेष चासो थियो । त्यति बेलाको उनको अवलोकन थियो— कुकुर, घोडा, गाईजस्ता घरेलु जनावरहरू तिनीहरूका जंगली पुर्खाको तुलनामा कम आक्रामक हुनुका साथै उनीहरूको पुच्छर छोटो, कान मुलायम, कद सानो र शरीरमा टाटोपाग्रे भुत्ला हुने गर्दछ । अन्य जनावरमा मात्रै होइन, मानव पुर्खा र आधुनिक मानवको शारीरिक बनोट र स्वभावमा पनि त्यस्ता भिन्नताहरू पाइन्छन् । उदाहरणका लागि, चिम्पान्जी र मानिसको डीएनएमा लगभग ९९ प्रतिशत समानता छ तर चिम्पान्जीको तुलनामा मानिसको आक्रामकता निकै कम हुन्छ । त्यसैले आक्रामक जंगली प्राइमेट्स (मानव पुर्खा) बाट शान्त स्वभावको मानव उद्विकासको कारण यस प्रजातिको घरेलुकरण हो भन्नेमा मानवशास्त्री तथा जीवशास्त्रीहरू सहमत छन् । घरेलुकरणले नै मानव प्रजातिलाई आक्रामक जंगली जनावरबाट शान्त सामूहिक मान्छेमा रूपान्तरण गरिदियो । तर जसरी लुड्मिलाको अनुसन्धानमा ब्वाँसाहरूको शान्त स्वभावको उद्विकासको आधार बाह्य कृत्रिम छनोट थियो, जसको चापका कारण जन्मेका पुस्ताहरू अपेक्षाअनुरूप क्रमशः कम आक्रामक हुँदै गएका थिए, मानवको घरेलुकरण हुनमा त्यस्ता बाह्य छनोटको चाप थिएन । तथापि मानव पुस्तामा आक्रामक स्वभावको सट्टा शान्त स्वभावको उद्विकास कसरी भयो ? मानवशास्त्री रिचर्ड र्‍याङ्घम भन्छन्— भाषाको विकासले ।

उद्विकासका क्रममा दसौं लाख वर्षदेखि मानव मस्तिष्कको आकारमा निरन्तर वृद्घि भइरहेको थियो । तर करिब २ लाख ५० हजार वर्ष पहिले त्यसको आकारमा एकाएक संकुचन देखिन थाल्यो । सँगै मानव खुट्टा र हातका हड्डीहरू खिरिलो हुन थाले, पुक्क उठेको निधारको हड्डी बिलाउँदै गएर अनुहारको बान्की मिल्दै गयो अनि भाले र पोथीबीचको शारीरिक बनोट समान (अन्य प्राइमेट्समा भालेको शरीर ठूलो हुन्छ) हुन थाल्यो । यी सबै परिवर्तन मानव प्रजातिको स्वघरेलुकरणले गर्दा भएका थिए, जसको चालक शक्ति थियो— सामूहिक बसाइका क्रममा मानवजातिले विकास गरेको सम्पर्क भाषा । भाषाको विकाससँगै मानव पुस्ताहरूमा आक्रामक स्वभाव क्रमशः हराउँदै गयो । भाषाका कारण उनीहरू आफ्नो समुहमा अरुलाई सताउने, दादागिरी देखाउने आक्रामक सदस्यका बारेमा अरुसँग खुसामद गर्न सक्ने भए र त्यस्ता दादालाई मिलेर तह लगाउन (जुन अन्य प्राइमेट्समा हुँदैन) सक्ने भए । यसले गर्दा जंगली अवस्थामा बस्दा बाँच्नका लागि वरदान हुने आक्रामक स्वभाव समुहमा बस्दा बिस्तारै अभिशाप बन्न थाल्यो । अन्य प्राइमेट्समा समूहको सबैभन्दा आक्रामक सदस्य (अल्फा मेल) नेता बन्थ्यो भने मानव समाजमा सबैको प्रिय व्यक्ति समूहनेता बन्ने वातावरण बन्यो । भाषामार्फत यसरी घरेलुकरणको दबाबले बाँच्नका लागि शान्त स्वभाव आवश्यक गुण बन्न थालेपछि उक्त गुण मानव पुस्ताहरूमा सर्दै जान थाल्यो । यसरी मानव प्रजातिमा प्रतिक्रियात्मक आक्रामकता (रियाक्टिभ एग्रेसन) हराउँदै गएर आधुनिक मानव सद्गुणी बन्न पुगेको कुरा र्‍याङ्घमले आफ्नो पुस्तक ‘द गुडनेस प्याराडक्स : द स्ट्रेन्ज रिलेसनसिप बिट्विन भर्चु एन्ड भायलेन्स इन ह्युमन इभोलुसन’ मा लेखेका छन् ।

समूहमा अराजकता फैलाउने, दादागिरी देखाउने (बुलिङ गर्ने) लाई मिलेर सिध्याइदिने (मृत्युदण्डको सजाय दिने) प्रचलन मानव पुर्खाहरूमा स्थापित भयो, जुन अहिलेका सिकारी फिरन्ते मानव समूहमा समेत पाइन्छ । सँगै मानव समाजमा गलत व्यवहारलाई दण्डित गर्ने, निष्पक्षता कायम गर्नेजस्ता सामूहिक आचारसंहिताहरू स्थापित भए । यसरी सामूहिक नियम उल्लंघन गर्नेविरुद्घ रिस पोख्न, अरुचि देखाउन र दिक्दारी प्रदर्शन गर्नका लागि मानिसमा सम्यक् रोषयुक्त (मोरल आउटरेज) आवेगको उत्पत्ति भयो । यस्तो स्वभावले मानव पुर्खालाई एकआपसमा सहकार्य गर्न, नैतिक हरामलाई सजाय दिन, सामूहिक हितका लागि आवाज उठाउन सहयोग गर्‍यो । तर आधुनिक मानव समाजमा हिंसा अस्वीकार्य छÙ अमनचयन कायम गर्न व्यक्ति आफैं अघि सर्नुपर्दैन, संस्थागत कानुनी संरचनाहरू बनाइएका छन् । तर पनि जब मानिसले अन्याय भएको, कसैले अनैतिक क्रियाकलाप गरेको देख्छ, त्यसले आफूभित्रको आदिम सम्यक् रोषयुक्त आवेगलाई उद्वेलित गराउँछ र मान्छे आक्रोशित हुन्छ ।

सञ्जालमा सम्यक् रोष

मनोवैज्ञानिकहरूका अनुसार, भीडले मानिसलाई सम्यक् रोष प्रदर्शन गर्न थप उक्साउँछ । सम्भवतः त्यसैका कारण भीडले समाजको अनुपयुक्त पात्रलाई सजाय दिन खोज्ने मात्र होइन, सानो गल्तीमा पनि ठूलो सजाय दिने वातावरण बनाउँछ । इन्टरनेट, स्मार्टफोन र सामाजिक सञ्जालको जमानामा फेसबुक र ट्वीटर (एक्स) मा जति मानिसको भीड अन्यत्र कहाँ होला ? त्यसैले यतिखेर नैतिक हराम ठानिएका र अन्याय गर्नेविरुद्घ रिस पोख्न, तिनीहरूलाई गाली–बेइज्जती गर्न मात्रै होइन, आफूभित्रको दिक्दारी प्रदर्शन गर्नका लागि सामाजिक सञ्जालको भरपुर प्रयोग हुन्छ । जसलाई सञ्जालको अर्थ–राजनीतिक संरचनाले मलजल गरेको छ । सञ्जालका पोस्टहरूमा पाइने लाइक र सेयरले प्रयोगकर्ताका मस्तिष्कको डोपोमिन (सन्तुष्टि दिने हर्मोन) बढाउँछ । त्यस्तो तात्कालिक सन्तुष्टिको उत्प्रेरणाले गर्दा मानिसले सञ्जालमा सम्यक् रोष प्रकट गरिरहेको हुन्छ । येल विश्वविद्यालयका अध्येताहरूले ७३ सय ट्वीटर प्रयोगकर्ताका १ करोड ७० लाख ट्वीट केलाउँदा सेयर र लाइकले मानिसलाई सम्यक् रोष पोख्न थप उत्प्रेरित गर्ने गरेको तथ्य पत्ता लगाएका थिए । थप, सञ्जालका एल्गोरिदमहरू आक्रोशयुक्त, रिस र कुण्ठा पोखिएका पोस्टहरू छनोट गरी प्रयोगकर्तालाई त्यस्ता पोस्टहरू बढी देखाइदिने हिसाबले निर्माण गरिएका हुन्छन् । त्यसो गर्दा प्रयोगकर्ताहरूको सञ्जाल–संलग्नता बढ्छ र मानिसहरू त्यसमा झुम्मिइरहन्छन्/भिडिरहन्छन् । प्रयोगकर्ताको ध्यान (अटेन्सन) सञ्जाल मालिकहरूका उत्पादनको साधन बनिरहेको ध्यान अर्थतन्त्र (अटेन्सन इकोनोमी) को जमानामा जति धेरै मानिसलाई सञ्जालमा अलमल्याउन सक्यो, उनीहरूको आम्दानी उति बढ्ने हुनाले त्यहाँ रोषको बाढी देख्न सकिन्छ । त्यसैले यतिखेर सञ्जाल नैतिकता सिकाउने गुरुकुलका रूपमा मात्र होइन, फरक विचार राख्नेको उछित्तो काढ्ने, तिनलाई बहिष्कृत गर्ने र रोष पोख्ने इजलास बनेको छ ।

गुन्जायमान सदन र शोधित सूचनाका पोका

इन्टरनेटमा अहिले एक सेकेन्डभित्र लाखौं फोटा, भिडियो, पोस्ट, कमेन्ट, लाइक र सेयरको वर्षा हुन्छ । सूचनाको यस्तो गोलाबारीमा मानिस कुन कुरा हेर्ने/नहेर्ने, पढ्ने/नपढ्ने, कसलाई साथी बनाउने/नबनाउने, कसलाई पछ्याउने/नपछ्याउनेबिचको द्विविधा पर्छ । त्यस्तो अवस्थामा मानिसले सबैलाई हेर्न, पढ्न, साथी बनाउन र पछ्याउन सक्दैन र केहीलाई रोज्नुपर्ने हुन्छ । र, हाम्रो रोजाइमा त्यही पर्छ जसका बारेमा हामी जानकार हुन्छौं । हामी त्यस्ता प्रयोगकर्तालाई पछ्याउँछौं, जसको विचार र दृष्टिकोण आफ्नोसँग मिल्दछ । थप, सञ्जालका एल्गोरिदमले गर्ने सिफारिस पनि त्यस्तै हुनाले एकैनासका भाव, विचार र दृष्टिकोण भएकाहरूको सजातीय झुन्ड खडा गरेर हामीले सञ्जालभित्र गुन्जायमान सदन (इको च्याम्बर) को निर्माण गरिरहेका हुन्छौं । जसरी गुन्जायमान सदनभित्र कराउँदा त्यसका भित्ताहरूमा ध्वनि ठोक्किएर प्रतिध्वनि चर्को सुनिन्छ, त्यसरी नै सञ्जालका सजातीय सदस्यहरूले केही पोस्ट गर्दा अन्य सदस्यले सेयर र लाइक गरी त्यसलाई चर्को (भाइरल) बनाउँछन् । त्यसरी सञ्जालमा निर्मित गुन्जायमान सदनभित्र छिरेपछि मान्छेले आफ्नो पूर्वाग्रहलाई पुष्टि गर्ने सूचना र विचार झनै् विराट् स्वरूपमा देख्छ । त्यसकारण सञ्जालभित्रका गुन्जायमान सदनहरूले मान्छेको पूर्वाग्रहको पुनर्पुष्टि गर्न र मिथ्या सूचना फैलाउन सहयोग गर्दछन् । र नतिजा, मान्छेलाई विचारका आधारमा थप ध्रुवीकृत गर्दै लैजान्छन् ।

धेरैलाई लाग्छ, सञ्जालमा आफूले देखेको कुरा अरुले पनि देखेका हुन्छन्; गुगलमा आफूले खोज्दा भेटेका कुरा अरुले पनि भेटेका हुन्छन् । तर गुगलले प्रयोगकर्ताको ब्राउजरको इतिहास र पूर्वखोजको अभिलेखका आधारमा मानिसैपिच्छे फरक सूचना दिने गर्दछ । गुगल मात्र होइन, फेसबुक, ट्वीटर र युट्युबका एल्गोरिदमले यसरी नै काम गर्ने खुलासा एली पारिसरले आफ्नो पुस्तक ‘द फिल्टर बबल : ह्वाट द इन्टरनेट इज हाइडिङ फ्रम यु’ मा गरेका छन् । उनका अनुसार, सञ्जालका एल्गोरिदमहरूले मान्छेलाई विविध सूचना, फरक सन्दर्भका कुराहरू पस्कनेभन्दा मानिसको दृष्टिकोण, विचार र रुचिसँग मिल्ने कुराहरू मात्रै खोजेर दिने र त्यस्ता कुराहरूको मात्रै सिफारिस गर्ने गर्दछन्, जसको पत्तो प्रयोगकर्ताहरूलाई हुँदैन । यसलाई पारिसरले फिल्टर बबल (शोधित सूचनाका पोका) नाम दिएका छन् । यसरी सञ्जालका एल्गोरिदमहरूले प्रयोगकर्ताहरूलाई फरक दृष्टिकोण, भिन्न सन्दर्भ र विविध सूचनाबाट वञ्चित गराएर प्रयोगकर्ताको पूर्वाग्रह मेटाउनुको साटो त्यसलाई पटकपटक पुनर्पुष्टि गर्न सहयोग पुर्‍याइरहेको हुन्छ । र, नतिजामा मानिस आफ्नो बुझाइप्रति झनै पूर्वाग्रही र दृष्टिकोणप्रति कठोर बन्दै जान्छ । त्यसकारण सामाजिक सञ्जालले मानिसहरूलाई एकातिर आफूजस्तै सजातीयहरूको भीड (इको च्याम्बर) मा हुत्याएको हुन्छ भने, अर्कातिर शोधित सूचनाको पोको (फिल्टर बबल) मात्र पस्किएर थप ध्रुवीकृत बनाएको हुन्छ ।

सन् २०१९ मा अमेरिकाको पिउ रिसर्च सेन्टरले गरेको अध्ययनले वैचारिक मान्यताअनुसार, ट्वीटरको प्रयोग फरक हुने देखाएको थियो । अनुसन्धानमा सामेल ६ प्रतिशत अतिवादीले कुल ट्वीटको २० प्रतिशत हिस्सा ओगटेका थिए र उनीहरूका ७३ प्रतिशत ट्वीट राजनीतिक आक्रोशसँग सम्बन्धित थिए । यसको अर्थ ट्वीटरमा अतिवादीहरूले मध्यपन्थी विचार राख्नेका तुलनामा कैयौं गुणा बढी ट्वीट गर्ने हुनाले उनीहरू मुखर देखिन्छन् । र, उनीहरूले ध्रुवीकरण बढाउने ट्वीट गर्ने गर्दछन्, जसलाई एल्गोरिदमले बढावा दिन्छ । नेपालका सन्दर्भमा यस्तो अध्ययन नभए पनि सम्भवतः त्यही कुरा सत्य हुन सक्छ किनभने नेपाली ट्वीटर

जगत्मा पनि अतिवादी स्वर चर्को र मध्यपन्थी स्वर मलिन सुनिन्छ । तर यही अनुसन्धानको अर्को पाटो के हो भने, ठूलो हिस्साका मध्यपन्थीहरू चुप बस्ने र अतिवादीहरूले बढी कन्टेन्ट उत्पादन गर्ने हुनाले त्यहाँ चरम ध्रुवीकरण देखिए पनि त्यसले वास्तविक मतको प्रतिनिधित्व भने गर्दैन । अर्थात्, अक्सर ट्वीटरमा देखिने ध्रुवीकरण धरातलको यथार्थभन्दा भिन्न अवास्तविक ध्रुवीकरण (फल्स पोलराइजेसन) हुन्छ ।

अन्त्यमा, कुनै एजेन्डामा समविचार राख्ने व्यक्तिलाई मात्रै सामूहिक छलफलमा समावेश गराउने हो भने छलफलपछि त्यसमा सामेल व्यक्तिहरूको पूर्वनिर्धारित मान्यता थप दृढ बन्छ । वा भनौं, व्यक्ति आफ्नो ध्रुवतिर थप धकेलिन्छ । तर जसरी सिक्काका दुई पाटा हुन्छन्, हरेक कुराको अर्को पाटो पनि हुन्छ । त्यसलाई बुझ्न एकअर्कासँग सजातीय भीडको मोर्चा बनाएर सञ्जालमा भिड्नुभन्दा आफ्नो इको च्याम्बरबाट निस्कने चेष्टा गर्नुपर्दछ जसले हामीलाई फरक विचार राख्नेप्रति सहिष्णु बनाउन सहयोग गर्दछ । कुनै कुरालाई बहुआयामिक प्रमाण जुटाएर समग्रतामा हेर्ने हो भने मात्रै सुसूचित निर्णय गर्न सकिन्छ र ध्रुवीकरण रोक्न सकिन्छ ।

प्रकाशित : कार्तिक २, २०८० ०७:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्थानीय तहको २६ प्रतिशत वित्तीय अनुदान कटौती गर्ने सरकारको निर्णयबारे तपाईं के धारणा छ ?