सम्पादकीय

हवाई दुर्घटनाले व्यक्तिको जीवन र देशको प्रतिष्ठामा क्षति

सम्पादकीय

मनाङ एयरको हेलिकोप्टर शनिबार दुर्घटनामा परेसँगै एकै वर्षमा मुलुकमा भएका हवाई दुर्घटनाको संख्या ६ पुगेको छ । यसबीचमा पाँच वटा हेलिकोप्टर र एउटा विमान दुर्घटना भए । नेपाल नागरिक उड्डयन प्राधिकरणले हरेक वर्ष जारी गर्ने ‘एभिएसन सेफ्टी रिपोर्ट’ ले नेपाली हेलिकोप्टर तथा ‘फिक्स्ड विङ’ (हवाईजहाज) हरूको उडान सुरक्षा व्यवस्थापन प्रणाली सन् २०२२ मा उल्लेख्य सुधार भएको देखाएको थियो ।

हवाई दुर्घटनाले व्यक्तिको जीवन र देशको प्रतिष्ठामा क्षति

तर, अर्को वर्ष (२०२३) मा नेपालमा यति धेरै दुर्घटना भएका छन्, त्यसैले प्रणालीमा सुधार भएको छ भनेर विश्वास गर्न गाह्रो भएको छ । त्यति मात्र होइन, हवाई असुरक्षाको कारण जनाउँदै युरोपियन युनियनले नेपाली वायु सेवालाई आफ्नो क्षेत्रमा लगाएको उडान प्रतिबन्ध फुकुवाका लागि भएका प्रयास निरर्थक हुने चिन्ता पनि बढाएको छ ।

तीन महिनाकै अन्तरालमा मनाङ एयरका दुई हेलिकोप्टर दुर्घटनामा परेका छन् । मनाङको हेलिकोप्टर सोलुखुम्बुको लामजुरामा गत असार २६ मा दुर्घटनामा पर्दा चालक र पाँच मेक्सिकन पर्यटकको मृत्यु भयो । त्यस्तै, सोलुखुम्बुको लोबुचेमा शनिबार दुर्घटनाग्रस्त भएको हेलिकोप्टरमा यात्रु थिएनन्, कार्गो उडानमा रहेका एक्ला पाइलट गम्भीर घाइते भए । यी दुई दुर्घटनापछि मनाङ एयर जहाजविहीन भएको छ । साढे दुई दशक लामो उडानमा मनाङले मात्रै ५ वटा हेलिकोप्टर दुर्घटना बेहोरिसकेको छ, जसमा तीन वटा सोलुखुम्बुमै र दुई वटा हुम्लामा भएका थिए । शनिबारको दुर्घटनापछि नागरिक उड्डयन प्राधिकरणले ‘खराब उडान सुरक्षा’ को कारण देखाउँदै मनाङको इजाजतपत्र (अपरेटर सर्टिफिकेट) निलम्बन गरेको छ । अनुभवी चालकले मौसमको समस्या नभएका बेला उडाएको हेलिकोप्टर शनिबार लोबुचेमा दुर्घटनाग्रस्त भएको हो । हेलिकोप्टरमा ककपिट भ्वाइस रेकर्डर (सीभीआर) र फ्लाइट डाटा रेकर्डर (एफडीआर) नहुने भएकाले दुर्घटनाको खास कारण के हो, पहिल्याउन कठिन छ । तर, पाइलटको उपचारपछि दुर्घटनाको कारण मानवीय हो वा मेसिन भन्ने पत्ता लगाउन सकिनेछ । प्राधिकरण वा सरकारले गर्ने जाँचबुझ समितिलाई यथार्थ कारण पाइलटले बताउलान् । उनको बयानले हवाई सुरक्षाका लागि नीति–नियम निर्माणका लागि मार्गदर्शन प्रदान गर्नेछ ।

भौगोलिक विकटता र सडक पूर्वाधारको अपर्याप्तताका कारण उच्च पहाडी र हिमाली क्षेत्रमा मान्छे गम्भीर बिरामी हुँदा, दुर्घटना वा अन्य उद्धार गर्नुपर्दा हेलिकोप्टर प्रयोग गर्नैपर्ने बाध्यता छ । हेलिकोप्टर सेवा सहज छ तर संवेदनशील पनि । मौसममा अचानक आउने फेरबदलले कतिपय दुर्घटना भएका हुन सक्छन्, कतिपय दुर्घटना सञ्चालक र पाइलटको लापरबाहीसँग पनि जोडिएका छन् । वायु सेवा कम्पनीले हवाई सुरक्षासम्बन्धी मापदण्डलाई इमानपूर्वक पालना गर्ने, नियामक निकायले कडाइका साथ नियमन गर्ने हो भने दुर्घटना धेरै हदसम्म न्यूनीकरण हुन सक्छ । हवाई दुर्घटनापछि जीवन बचाउन निकै कठिन हुने भएकाले पनि सुरक्षा मापदण्ड पालनामा किञ्चित् पनि सम्झौता स्वीकार्य हुन सक्दैन । तर, हेलिकोप्टर दुर्घटना बारम्बार भइरहँदा वायु सेवा कम्पनी, नियामक निकाय तथा उड्डयनकर्मीको क्षमतामाथि प्रश्न गर्नुपर्ने अवस्था आएको छ ।

गत वर्ष माघ १ मा मात्रै पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना हुँदा ७२ जनाको ज्यान गएको थियो, जुन आन्तरिक उडानकै डरलाग्दो दुर्घटना थियो । त्यसअघि जेठ १५ मा मात्रै तारा एयरको विमान दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको थियो । हवाई सेवा प्रदायकका लागि इजाजत वितरण प्रक्रियालाई पनि स्वच्छ र पारदर्शी बनाउन जरुरी देखिन्छ । प्रभाव र पहुँचका आधारमा जथाभावी इजाजत दिँदै जाँदा सेवा प्रदायक कम्पनी थपिँदै जान्छन् र त्यसले अस्वस्थ प्रतिस्पर्धा निम्त्याउँछ । चालकहरू प्रतिकूल परिस्थितिमा पनि जोखिम मोल्नुपर्ने अवस्थामा पुग्छन् । अनि, बारम्बारको दुर्घटनाले यात्रुमा त्रास फैलाउँछ । त्यति मात्र होइन, यसले देशको प्रतिष्ठालाई प्रभावित पार्छ, जस्तो अहिले पारेको छ ।

अन्तर्राष्ट्रिय उड्डयन संगठन (आइकाओ) को अन्तर्राष्ट्रिय उड्डयन मापदण्ड तथा सिफारिसको परिपालना दर कमजोर रहेको भन्ने प्रतिवेदनका आधारमा युरोपियन युनियन (ईयू) ले २०७० सालदेखि आफ्ना सदस्य मुलुकभित्र नेपाली वायु सेवाको उडानलाई निषेध गरेको छ । निषेध हटाउन पहल भइरहेको अभिव्यक्ति सरकारबाट आइरहेका बेला मुलुकभित्र हवाई दुर्घटना भइरहनु विडम्बनापूर्ण छ । आइकाओ तथा ईयूले गर्ने सुरक्षा मापदण्ड परिपालनाको मूल्यांकनमा हेलिकोप्टर दुर्घटना सोझै ‘जोडिँदैन’ तर यस्ता दुर्घटनाले मुलुकको हवाई सुरक्षासम्बन्धी नियमन प्रणालीलाई प्रतिविम्बित गर्छ । न्यूनतम मापदण्ड पूरा नगरी हवाई सेवा सञ्चालन गर्नु भनेको नागरिकको जीउज्यानमाथि खेलबाड हो । त्यसैले उड्डयनसम्बन्धी मापदण्ड पालनामा नियमनकारी निकाय, सेवा प्रदायक कम्पनी, चालक कसैले पनि हेलचक्य्राइँ गर्नु हुँदैन ।

प्रकाशित : आश्विन २९, २०८० ०८:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनबारे संसदीय छानबिन समिति गठन गर्ने/नगर्ने विवादले प्रतिनिधि सभा फेरि अवरुद्ध भएको छ । संसद् चलाउन के गर्नुपर्ला ?