कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

चाडबाडको राजनीतिक रंग

कामबेगरको धन, अध्ययनबिनाको प्रमाणपत्र, आस्थामुक्त कर्मकाण्ड, चेतनाविहीन उत्तेजना एवं पारिवारिक जिम्मेवारीप्रति लगभग लापरबाह युवाहरूको जमातलाई धर्मान्धताको राजनीति गर्नेहरूले सहजै गोलबद्ध गर्न सक्ने रहेछन् ।
सीके लाल

काठमाडौँ — मिथिला क्षेत्रमा अनन्त चतुर्दशीका दिन वैकुण्ठनाथ विष्णुको निर्देशानुसार देवले दानवको सहयोग लिएर समुद्र मन्थन गरेपछि देवराज इन्द्रले आफ्नो शक्ति एवं देवताहरूले अमरत्व प्राप्त गरेको सामूहिक प्रयत्नलाई प्रतीकात्मक रूपमा अनन्त पूजा गरेर मनाइन्छ ।

चाडबाडको राजनीतिक रंग

अनन्त पूजाको प्रसाद रहेको डोरो पाखुरामा बाँध्ने गरिन्छ । अनन्तको डोरोलाई प्रयास, कौशल, चातुर्य, धैर्य एवं विनम्रताको उत्प्रेरकका रूपमा ग्रहण गर्न मान्यजनले आशीर्वाद दिन्छन् । प्रचलित केही कथाका अनुसार समुद्र मन्थनबाट निस्किएका चौध रत्न (कालकूट विष, कामधेनु गाई, उच्चैःश्रवा घोडा, ऐरावत हात्ती, कौस्तुभ मणि, कल्पवृक्ष, अप्सरा रम्भा, देवी महालक्ष्मी, वारुणी मदिरा, चन्द्र रत्न, शार्ङ्ग धनुष, पाञ्चजन्य शङ्ख तथा भगवान् धन्वन्तरी एवं उनको अमृत कलश) सँगसँगै वर्षा ऋतुको अन्त एवं शरदको आगमनको उद्घोष गर्ने पवित्र पुष्पवृक्ष पारिजात पनि थियो । नेपाल खाडलमा अनन्त चतुर्दशीसँगसँगै जस्तो मनाइने इन्द्रजात्रा महोत्सवसम्बन्धी एक थरी किंवदन्तीले भने देवराज इन्द्र, उनकी आमा वसुन्धरा, अप्रतिम पुष्प पारिजात, तान्त्रिक विद्या जानेका माली, ऐरावत हात्ती एवं स्वर्ग चढ्ने सिँढी जस्ता अद्भुत प्रसंगहरूलाई रमाइलो पारामा उनेको छ ।

आमाको व्रतका लागि पारिजातको फूल बटुल्न बिनाअनुमति एउटा बगैँचामा छिरेका देवराज इन्द्र फूलबारीका तान्त्रिक मालीद्वारा बन्दी बनाइन्छन् । आफ्नो मालिकको हालचाल बुझ्न ऐरावत हात्ती धर्तीमा ओर्लिन्छन् । बन्दी छोरालाई मुक्त गराउन स्वयं वसुन्धरा पृथ्वीमा आउनुपर्ने हुन्छ । उपत्यकाका बासिन्दालाई सदैव सहकालको वरदान एवं मृत्युपछि स्वर्गको आश्वासन दिएर भुइँकुहिरो फैलिएका बेला देवताहरूका राजा, राजमाता एवं तिनका हात्ती देवलोक फर्किन्छन् । दुवै थरी कथामा प्रयत्न, कौशल, चातुर्य, धैर्य एवं विनम्रताको महत्त्वलाई दर्साइएको छ । शरदोत्सवको उत्कर्ष दसैं, तिहार र छठ पर्व रहे पनि सुरुआत भने इन्द्र पूजा एवं त्यसको लगत्तै सुरु हुने पितृपक्षबाट भइसक्ने कुरा स्पष्ट छ । र, मैथिलीमा सिंहरार, हिन्दीमा हरसिंगार, अंग्रेजीमा नाइट जैज्जमिन एवं नेपालीमा पारिजात भनिने र टिपेर होइन कि भुइँमा खसेको फूल बटुलेर हरि र लक्ष्मीलाई चढाइने फूल शरद ऋतुको परिचायक पुष्प हो । बिहान सबेरै फुलेका फूलहरू झर्दा पातहरू गहिरो उदासीले गर्दा ओइलिने हुनाले होला, पारिजातको बोटलाई ल्याटिनमा ‘ट्री अफ सारो’ अर्थात् ‘वेदनाको वृक्ष’ भनिएको छ । काठमाडौंको मल्ल राजवंश एवं नेवाः सभ्यताका लागि त निःसन्देह पारिजात फुल्ने मौसम पराजयको परिचायक हो । तापनि काठमाडौंले किंवदन्तीको विजय एवं निकट अतीतको पराजयलाई सम्झाउने इन्द्रजात्रा मनाउन छाडेको छैन । हर्ष र पीडालाई उत्सवमा रूपान्तरित गर्ने परम्पराद्वारा जिजीविषालाई जोगाउन सफल समाजहरू सुस्तरी भीड र भिडन्तको अवसर बन्दै जानुमा चाडबाडको बजारीकरण एवं राजनीतीकरण सम्भवतः समान रूपले जिम्मेवार रहेको हुनुपर्दछ । मधेश प्रदेशको मलंगवामा कृष्णाष्टमी महोत्सवको समापनपश्चात् प्रतिमा विसर्जन एवं गणेश चतुर्थी समारोहपछि मूर्ति सेलाउने क्रममा भएका झडपहरू एवं निषेधाज्ञा जारी गर्नुपर्ने स्थानीय प्रशासनको बाध्यताले सामूहिक चाडपर्वसमेत भाइचारा बढाउने अवसरको साटो साम्प्रदायिक तिक्तता फैलाउने निहुँ बन्दै गएको आभास हुन लागेको छ । नेपालगन्जमा हिन्दु र मुसलमानबीचको सम्भाव्य संघर्ष रोक्न अक्टोबर ३ का दिनदेखि कर्फ्यु नै लगाउनुपर्ने परिस्थिति उत्पन्न हुनु परिस्थिति चिन्ताजनक बन्दै गएको संकेत हो ।

दार्शनिक तवरले धर्मको अवधारणालाई विभिन्न किसिमले अर्थ्याइएको भए पनि सामान्यजनले त्यस शब्दलाई श्रद्धा र आराधनाको विशिष्ट पद्धतिका रूपमा बुझ्दछन्, जसभित्र अलौकिक शक्तिमा विश्वास, एक वा अनेक आराध्य तथा उपासनाका परम्पराहरूको प्रचलन रहेको हुन्छ । विभिन्न आराध्य, फरक पवित्र पुस्तकहरू एवं विविध अर्चना विधि हुने भएपछि प्रस्ट वा प्रच्छन्न द्वन्द्वको सम्भावना पनि असामान्य होइन । मानव सभ्यताको विकासका क्रममा भने शासकीय अग्रगामीहरूले विभिन्न धर्मका धर्माधिकारी तथा अनुयायीका बीच सामाजिकता, सहभागिता एवं समन्वय कायम राख्नका लागि कम्तीमा चार थरी उपाय खोजेका छन् । सबभन्दा पुरानो तरिका त बहुसंख्यक धर्मावलम्बीहरूले सामाजिक सौहार्दका लागि अन्य धर्मको अस्तित्वलाई दोयम दर्जा दिएर फगत सहनुसम्म हो । लगभग २०० वर्ष (सन् १०९५–१२९१) सम्म चलेको इसाई र इस्लाम धर्मान्ध शासकबीचका कम्तीमा सात युद्ध आ–आफ्ना नियन्त्रणका क्षेत्रमा वर्चस्व कायम राख्ने गरी स्थगित भएको थियो । राज्यको सार्वभौमिकता धर्माधिकारीको प्रभुसत्ताबाट मुक्त रहने व्यवस्था सन् १६४८ मा सम्पन्न ‘वेस्टफालियाको शान्ति’ भनिने सन्धिले निश्चित गरेपछि शासक र शासितको धर्मबाट शासन पद्धतिमा फरक नपर्ने मान्यता कायम भयो । फ्रान्सेली क्रान्ति (सन् १७८९–९९) ले स्थापित गरेको लौकिकता (लाइसिते) अवधारणाले नागरिकहरूको राजनीतिक अधिकार र कर्तव्य प्राथमिक रहने बन्दोबस्तमार्फत धार्मिक आस्थालाई व्यक्तिको घरपरिवारभित्र सीमित गरिदिएको थियो ।

धार्मिक आस्था एवं शासकीय व्यवस्थालाई व्यक्तिगत तथा सार्वजनिक प्रभुता (रेल्म) बीच नाघ्न नमिल्ने गरी बाँड्नुपर्ने विचारलाई बेलायतका पत्रकार जर्ज जेकब होलियोकले सन् १८५१ तिर इहलौकिकवाद पनि भन्न सकिने ‘सेक्यलरिज्म’ प्रस्तावनामार्फत प्रस्तुत गरेका थिए । त्यस शब्दलाई भारतका संविधान निर्माताहरूले धर्मनिरपेक्षता भनेर हिन्दीमा उल्था गरेका छन् । भाव जस्तोसुकै रहेको भए पनि भारत कहिले पनि सही अर्थमा इहलौकिक वा धर्मनिरपेक्ष बन्न सकेन । महात्मा गान्धीको ‘सर्व धर्म समभाव’ पनि भारतीय चिन्तकहरूको चाहना वा सिफारिसमा सीमित छ । धार्मिक सहिष्णुता एवं कर्मकाण्डको बहुलतामा आधारित भारतीय संस्करणको धर्मनिरपेक्षतालाई समेत सुस्तरी हिन्दुत्वको राजनीतिले निल्दै गइरहेको छ । झन्डै १,००० वर्षसम्म मुसलमानहरूले शासन गर्दा कहिले जोखिममा नपरेको हिन्दु धर्म एकाएक हिन्दुत्व राजनीतिको वर्चस्व स्थापित भएको एक दशकभित्र खतरामा पर्न पुगेको भाष्य निर्माण गरिँदै छ । नियतमा खोट, नीतिमा दोहोरो मापदण्ड एवं भाषा द्विअर्थी रहेको नेपालको विद्यमान संविधानले सनातन प्रचलनको प्रवर्द्धन गर्न जिम्मा लिएको मौलिक धर्मनिरपेक्षता अंगीकार गरेको छ । त्यसैले गर्दा होला, नेपालका ‘माओवादी’ प्रधानमन्त्रीलाई रामनामी ओढेर महाकालको अर्चना गर्न वा मानसरोवरमा तीर्थाटन गर्न कुनै कठिनाइ हुँदैन । आखिर जुन संविधान अन्तर्गत उनले शपथ ग्रहण गरेका छन्, त्यस मूल कानुनले प्रकारान्तरले सनातन धर्मको संवर्द्धनको मूल जिम्मेवारी पनि उनैलाई सुम्पेको छ । हिन्दु राज्य पुनःस्थापनाको मुद्दा उठाउनेहरू खासमा धार्मिकताका लागि नभएर हिन्दुत्वको राजनीति विस्तारका लागि काम गरिरहेका छन् । भारतमा विध्वंसक बन्दै गएको हिन्दुत्व राजनीतिलाई नेपाल भित्र्याउन लागिपरेका तत्त्वहरूको गतिविधि मधेशमा मात्र नभएर देशैभरि फैलिनुमा धार्मिक अल्पसंख्यकहरूको निरीहता, धर्मनिरपेक्षतावादीहरूको मौनतासँगसँगै बजारको बिगबिगीले ध्वस्त बनाएको सामाजिकता पनि उत्तिकै जिम्मेवार छ ।

उत्सवको महत्ता

सन् १९७० को दशकतिर प्रसिद्ध अंग्रेजी फिल्म ‘गडफादर’ मा माइकल कोर्लियोनी भने पात्र आपराधिक समूहको मुखिया हुने क्रममा रहेका बेला त्यसअघि अनीश्वरवादी रहेकी उनकी पत्नी आफ्ना पतिका अपराधहरूको दैविक क्षमाका लागि धार्मिक कर्मकाण्डतिर उन्मुख हुन्छिन् । पर्व नारीहरूको क्षेत्र एवं त्यौहार पुरुषहरूको रमाइलो रहने गरेको परम्परा पितृसत्तात्मक समाजको परिचायक नै हो । विशिष्ट साधनालाई पर्व एवं विशेष उत्सवलाई त्यौहार एवं दुवैको मिश्रण भने पर्व–त्यौहार ठहरिने चलन पनि सामान्य हो । मुसलमानहरूको रमजान पर्वमा पुरुषहरू मुख्य सहभागी हुन्छन् । हिन्दुहरूमा तीज वा छठ व्रत मूलतः नारीहरूको जिम्मामा हुन्छ । त्यौहारमा भने कमाइ गरेको धाक देखाएर खास गरी पुरुष रमाउँछन् । कृषिप्रधानबाट विप्रेषणप्रधान बन्न पुगेको अर्थतन्त्र, राजमुकुटबाट भादगाउँले वा ढाका टोपीप्रधान हुन गएको राजनीति एवं सामूहिकताबाट सुस्तरी व्यक्तिवादको प्रधानतातिर उन्मुख समाज रहेको नेपाल सांस्कृतिक तवरले भने अहिले पनि ‘उत्सवप्रधान’ देशका रूपमा यथावत् छ । आजभोलि उति साह्रो नसुनिने सन् १९७० को दशकतिरको मैथिली भाषाको एउटा व्यंग्यात्मक उक्ति छ— ‘कनियाँ दाइ के बड भार, सात दिन में नौ त्यौहार’ । सात दिनमा नौ त्यौहार मनाउने समाज संसारका अरू ठाउँमा पनि होलान्, तर त्यसको सारा बोझ भने घरकी नयाँ बुहारीले उठाउने चलन गंगा मैदानका हिन्दुहरूको विशेषता हुनुपर्दछ !

व्रत, पर्व एवं पूजापाठ अहिले पनि धेरैजसो पारिवारिक उत्सव नै हुन् । सामूहिक त्यौहारहरू भने विभिन्न राजनीतिक तथा बजारिया कारणले गर्दा भड्किला आयोजन बन्दै गएका छन् । बंगालमा दुर्गा पूजा कुनै बेला महापर्वका रूपमा साधना गरेर मनाइने गरिन्थ्यो । इस्ट इन्डिया कम्पनीले सन् १७९३ तिर बंगाल, बिहार र उडिसा क्षेत्रमा स्थायी बन्दोबस्त (पर्मानेन्ट सेटलमेन्ट) मार्फत कर उठाउने जमिनदार वर्ग सृजना गरेपछि कुत उठाएर धनाढ्य बनेका धनपतिहरूले आफ्नो सान र सौकत प्रदर्शन गर्न प्रतिस्पर्धी किसिमले तडकभडक भएका पण्डालमा पूजा आयोजन गर्न थाले । राजनीतिको साटो धार्मिक तामझाममा अल्झिएका सम्भ्रान्त अंग्रेज शासकहरूलाई पनि मन पर्थे । तिनका अधिकारी पूजा प्रायोजक जमिनदारका पाहुना बन्न जान्थे । कलकत्तामा त पूजामा देवी दुर्गालाई नौ तोपको सलामी अर्पण गर्ने आदेश पनि जारी गरिएको थियो । यस प्रकार वैदिक एवं जनजाति जमातले समान रूपमा मनाउने गरेको मातृपूजा महापर्व अर्थ–राजनीतिक कारणहरूले गर्दा उल्लासको महोत्सवमा रूपान्तरित भयो । कालान्तरमा ‘सार्वजोनिन दुर्गोत्सव’ मार्फत त्यस्तै समारोहहरूले अंग्रेजको शासनका विरुद्ध जनपरिचालन गर्ने मञ्चको काम पनि नगरेका होइनन् । तर बंगालको दुर्गा महोत्सव अब लगभग पूरै उपभोक्ता बजार विस्तारको संयन्त्र बन्न पुगेको छ ।

महाराष्ट्रमा सम्पन्नका साथै सामान्य परिवारको पूजाकोठा वा पवित्र कुनाबाट समाजका सार्वजनिक मञ्चहरूमा पुर्‍याइएका ‘गणपति बप्पा’ त बर्सेनि हजारौं करोडको लागतमा सञ्चालन हुने ‘गणेश महोत्सव’ नामकरण गरिएका भव्य आयोजनहरूको आराध्य देव नै बनिसकेका छन् । त्यस्ता आयोजनहरूको सूत्रपात भने धर्मको नाउँमा राजनीतिक संगठन गर्नका लागि लोकमान्य भनिने बाल गंगाधर तिलकले सन् १८९३ तिर मात्र गरेका थिए । रामलीला मञ्चन कानपुरमा सन् १७७४ तिर सुरु भइसकेको भए पनि भव्य रावणको पुतला दहन सन् १८५७ पछि फैलिँदै गएर सन् १९४७ पश्चात् मात्र व्यापक भएको हो । भारतीय भूखण्डबाट प्रचलनहरू उत्तर उक्लिन केही समय लाग्ने भएर होला, सार्वजनिक चौरमा माटोका प्रतिमा बनाएर दुर्गा पूजा गर्ने चलन सन् १९६० दशकको अन्त्यतिर मात्र फैलिँदै गएको हो । राजनीतिक उद्देश्य भने इस्ट इन्डिया कम्पनीका हाकिमहरूको जस्तै अञ्चलाधीशहरूको पनि उस्तै हुन्थ्यो— धार्मिक उत्सवमा सामाजिक सम्भ्रान्तलाई अल्झाएपछि नेतृत्वको अभावमा विद्रोह हुन सक्दैन । बजेट छुट्याएर सरकारी कार्यालयहरूमा पूजापाठ आयोजन हुने परम्परा त सायद अहिले पनि होला ।

साधना एवं पर्वले संयम प्रवर्द्धन गर्दछ । ध्यानले आत्मालाई परमात्मासँग जोड्ने माध्यमको काम गर्दछ । सामूहिक उत्सवको जोखिम के हो भने, त्यस्ता आयोजनहरूमा उत्तेजना फैलाउन सजिलो हुन्छ । सामाजिक वा राजनीतिक भेला पनि अनियन्त्रित भीडमा रूपान्तरित हुन नसक्ने होइन । मुसलमानहरूको हज वा हिन्दुहरूको कुम्भमा आस्थावान्हरूको जमघट हुने भएकाले दुर्घटनाबाहेक सामान्य द्वन्द्वको सम्भावना न्यून हुने नै भयो । तर मिश्रित बस्तीभित्र धार्मिक आस्थालाई ठेस पुर्‍याएको निहुँमा उत्तेजित भीडलाई हिंसक तुल्याउन निहित स्वार्थ भएका व्यक्तिहरूलाई अपेक्षाकृत सजिलो हुन्छ । ठूलो स्वरमा ‘डीजे’ भनिने होहल्लाको बाजा बजाएर निकालिने तथाकथित शोभा यात्रा, लाठी र तलवार नचाउँदै निकालिने ताजिया वा रथ यात्रा तथा मादक पदार्थ सेवन गरेर प्रतिमा विसर्जनका लागि ट्रक र ट्र्याक्टरका अगाडि–पछाडि लागेका मोटरसाइकल र्‍यालीहरू यथार्थमा शक्तिको नग्न प्रदर्शनका माध्यमहरू हुन् । कामबेगरको धन, अध्ययनबिनाको प्रमाणपत्र, आस्थामुक्त कर्मकाण्ड, चेतनाविहीन उत्तेजना एवं पारिवारिक जिम्मेवारीप्रति लगभग लापरबाह युवाहरूको जमातलाई धर्मान्धताको राजनीति गर्नेहरूले सहजै गोलबद्ध गर्न सक्ने रहेछन् । भाषिक वा नृजातीय पहिचानको तुलनामा हिन्दुत्वको राजनीतिले वर्चस्वशाली समुदायसँग जोडिने अवसर पनि प्रदान गर्दछ । दक्षिणको दक्षिणा पाउने झिनो आस पनि पलाउँछ । हिन्दुत्व राजनीतिको फैलावटबाट जोगिन सहजै सम्भव हुने देखिँदैन ।

साधनाको प्रयत्न

दक्षिण भारतमा सन्त रामानुजाचार्यद्वारा प्रवर्द्धित वैष्णव धर्मको भक्ति परम्परालाई सन्त रामानन्दले गंगा मैदानमा फैलाएकाले ‘भक्ति द्रविड उपजी लाये रामानन्द, प्रकट किया कबीर ने, सात दीप नौ खंड’ कथन प्रचलनमा आएको हो । दक्षिण एसियामा कबीर, नानक एवं मीरा जस्ता सन्तहरूको प्रभावले भक्ति मार्ग फैलिँदै गएको कालखण्डमा पश्चिम एसियाबाट शाह मदार भारत आउँछन् । उनले कानपुरको गंगा तटमा आसन जमाउँछन् । उनै शाह मदारका अनुयायीहरूको मदारिया सिलसिलाबाट मलंग सन्तहरूको परम्परा सुरु भएको मानिन्छ । मलंग एक प्रकारका मुसलमान फकिर वा साधु हुन् । उनीहरू निश्चिन्त एवं मस्त प्रकृतिका हुन्छन् । तिनले कपाल काट्दैनन् । आजीवन अविवाहित रहन्छन् । तिनको मनमौजी चरित्र हुन्छ । जीवनका आवश्यकताहरूप्रति बेपरबाह रहने भएकाले बस्तीको किनार वा जंगलको छेउछाउ छाप्रो हालेर बस्छन् । निडर हुन्छन् । हिन्दु धर्मले ‘अछूत’ ठहर्‍याएका समूहहरूमा मलंग बाबाले गर्ने चमत्कारको आकर्षण व्यापक हुन्थ्यो । मन्दिर प्रवेश निषेध, पण्डित र पुरेतको आशीर्वादबाट वञ्चित एवं अन्य वैद्य, धामी वा झाँक्रीले झारफुकसमेत गर्न नमान्ने पाद–दलित जातीय समूहका लागि मलंग बाबा आशाको पहिलो र अन्तिम स्रोत हुने गर्दथे । नवलपरासीको मलंग बाबा बढी प्रसिद्ध रहेका भए पनि मलंगवा बस्तीका सूत्रदार मदारिया सिलसिलाका कुनै नाम, जात र भाषाको बन्धनबाट मुक्त भक्ति परम्पराका मुसलमान सन्त थिए । उनैको नाम बोकेको मलंगवामा धार्मिक द्वन्द्व फैलिनुलाई विडम्बना नै मान्नुपर्ने हुन्छ । छिमेकी भारतको बिहार प्रदेशभित्रका लगभग १८ प्रतिशत एवं नेपालको मधेशका लगभग १२ प्रतिशत मुसलमानहरूमा सुफी परम्पराका अनुयायीहरूको संख्या उल्लेख्य छ । पश्चिम एसियाको बढ्दो भूराजनीतिक वजनले गर्दा महत्त्वाकांक्षी मुसलमानहरू सुस्तरी सुफी परम्पराबाट कट्टरपन्थी वहाबी अभ्यासतिर मोडिन थालेका छन् ।

हिन्दुहरू पनि भक्ति परम्पराको धैर्यवान् ‘सियावर राम’ को आराधनाबाट हिन्दुत्व राजनीतिका योद्धा ‘जै श्रीराम’ तिर आकर्षित हुन थालेका छन् । बंगालकी महिषासुरमर्दिनीको महोत्सव मिथिलामा पनि तामझामका साथ हुन्छ । महाराष्ट्रका गणपति बप्पा घरभित्र ठाउँ नपाए पनि सार्वजनिक स्थलमा भेला हुने माध्यम बनेका छन् । क्रिसमस, नयाँ वर्ष र भ्यालेन्टाइन्स डे निश्चय नै बजारले फैलाएको हो । त्यस्ता उत्सवहरूमा कम से कम जनोत्तेजना र अन्य–घृणा सामेल छैन । राजनीतिक रंग दिइएका महोत्सवहरूको ऊर्जा नै आक्रामक धर्मान्धता हुने भएपछि तिनले समग्र समाजलाई अम्लीय क्षरणको प्रक्रियाबाट क्रमशः कमजोर एवं अनावश्यक द्वन्द्व सृजना गरेर क्षयोन्मुख तुल्याउनेछन् । हिन्दुत्व राजनीतिको प्रतिरोध गर्न सक्ने शक्तिको आस गर्ने ठाउँ भने जनजाति, दलित, महिला एवं मुसलमानहरूको सम्मिलित अग्रसरता नै हो । त्यस्तो उत्प्रेरक, विचारक, संगठक एवं प्रचारकहरूको जमात तयार नभएसम्म आस्थावान्हरूले प्रार्थना, अनीश्वरवादीहरूले प्रयत्न एवं अज्ञेयवादीहरूले संयम राख्नुको विकल्प देखिँदैन । वेदनाको वृक्षबाट झरेका पारिजातका ससाना पुष्पहरूले पात मात्र नभएर पितृलाई श्रद्धा चढाउन फूल बटुल्ने पात्रलाई समेत उदास बनाउने रहेछन् ।

प्रकाशित : आश्विन १७, २०८० ०७:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?