पीएचडी उत्पादनको कारखाना ?

नियामक निकायले सान्दर्भिकता हराएका, कोरा सैद्धान्तिक विषयका, नवीनताहीन र अन्य क्षेत्रमा स्थानान्तरण हुने सीप र क्षमता विकास नगराउने सस्तो पीएचडी बााड्ने काममा कडाइ गर्न जरुरी छ ।
उत्तमबाबु श्रेष्ठ

राष्ट्रिय शिक्षा दिवस २०८० का अवसरमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ९६३ जनालाई विभूषित गर्ने निर्णय गर्‍यो । विभूषित हुनेहरूमध्ये ७९० जनाले ‘नेपाल विद्याभूषण क’ पदक प्राप्त गरे ।

पीएचडी उत्पादनको कारखाना ?

यस वर्ष उक्त पदक पाउने ७९० जना पीएचडीधारीमध्ये ७२ प्रतिशत नेपाली शैक्षिक संस्थानका उत्पादन हुन् भने बाँकी विदेशका । जसमध्ये त्रिभुवन विश्वविद्यालयबाट २८४, नेपाल संस्कृत विश्वविद्यालयबाट १०३, काठमाडौं विश्वविद्यालयबाट ८३, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानबाट ५८, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट १७, कृषि तथा वन विज्ञान विश्वविद्यालयबाट १५, लुम्बिनी बौद्घ विश्वविद्यालयबाट ७, पोखरा विश्वविद्यालयबाट ३ र मध्यपश्चिम विश्वविद्यालयबाट १ जना छन् । विदेशी पीएचडीमध्ये भारतबाट ९९, चीनबाट ४८, दक्षिण कोरियाबाट १८, अस्ट्रेलियाबाट १४, जापानबाट १४, अमेरिकाबाट ८, थाइल्यान्डबाट ६ र बाँकी १२ जना रुस, बेलायत, न्युजिल्यान्ड आदिबाट छन् ।

पीएचडीको अध्ययन सकाएका नेपालीले शिक्षा मन्त्रालयमा निवेदन दिएपछि स्वतः ‘नेपाल विद्याभूषण क’ पदक पाउँछन्, जसलाई शिक्षा दिवसका अवसरमा वितरण गरिन्छ । त्यसकारण यो पदक पीएचडी संख्याको प्रोक्सी हो । पदकका लागि आवेदन नदिनेहरूलाई पनि जोड्ने हो भने पीएचडी गर्ने नेपालीको संख्या थप बढ्छ ।

संख्या बढोत्तरीसँगै गुणस्तरको प्रश्न

नेपालमा त्रिभुवन विश्वविद्यालयले सन् १९६८ मा पहिलो पल्ट पीएचडीको उपाधि अंग्रेजी विषयमा दिएको थियो । दोस्रो उपाधि त्यसको दुई वर्षपछि प्राणीशास्त्रमा दिइयो । सम्भवतः त्रिविको सबैभन्दा धेरै पीएचडी उत्पादन गर्ने विज्ञान तथा प्रविधि संकाय अन्तर्गत अघिल्लो वर्षसम्ममा २३३ जनाले पीएचडी उपाधि लिइसकेका छन् । हाल उक्त संकाय अन्तर्गतका १३ विषयमा करिब ४५० जनाले पीएचडी गर्दै छन् । सोही संकाय अन्तर्गत भौतिकशास्त्र विभागमा मात्रै हाल ४० जनाले पीएचडी गरिरहेका छन् । विगत ५० वर्षमा वार्षिक एक जनाबाट करिब ५ सय हाराहारीमा पीएचडी उत्पादन हुनु भनेको ठूलै प्रगति हो ।

तर पीएचडीको संख्याको वृद्घिसँगै शैक्षिक संस्थानको क्षमता, प्राध्यापकको दक्षता, पीएचडीपछि जागिरको अवस्था र पीएचडीका क्रममा विद्यार्थीले उत्पादन गर्ने ज्ञानका बारेमा बहस जरुरी छ । संख्या बढोत्तरीसँगै त्यसले देशको अनुसन्धान वातावरणमा ल्याउने सुधार, अनुसन्धान र विकासको अवस्थामा ल्याउने सकारात्मक परिवर्तन र समग्र आर्थिक प्रगतिमा ज्ञान र अनुसन्धान क्षेत्रको योगदानका बारेमा छलफल गर्न आवश्यक छ ।

पीएचडी अर्थात् डाक्टर अफ फेलोसफी शैक्षिक योग्यताक्रमको सबैभन्दा उपल्लो औपचारिक उपाधि हो । ग्रिक भाषामा फेलोसफीको अर्थ ‘ज्ञान–अनुरागी’ भएर होला पीएचडी उपाधिलाई संसारभर विषयज्ञाताका रूपमा हेरिन्छ । पीएचडीको तालिमले व्यक्तिलाई रोजेको विषयको ज्ञाता बनाउने मात्रै होइन, स्वतन्त्र हिसाबले अनुसन्धान गर्न सक्ने र आफ्नो क्षेत्रबाहिर पनि प्रयोग गर्न मिल्ने सीप र क्षमताको विकास गराउन मद्दत गर्छ । संसारमा धेरै पीएचडी थेसिसहरूले नवीन ज्ञान उत्पादनमा महत्त्वपूर्ण योगदान गरेका छन् । मेरी क्युरी, रोजलिन्ड फ्र्यांक्लिन, अल्बर्ट आइन्टाइन, स्टेफन हकिङ, पिटर हिग्स, कार्ल मार्क्स, म्याक्स वेबर, एलन ट्युरिङ, नोम चोम्स्की आदिका पीएचडी अनुसन्धानले नवीन ज्ञान उत्पादन मात्रै गरेनन्, समाज परिवर्तनमा पनि महत्त्वपूर्ण योगदान गरे । त्यसकारण पीएचडी भन्नासाथ मानिसले सानै क्षेत्रमा भए पनि नयाँ ज्ञानको उत्पादन र अनुसन्धानको सामाजिक सान्दर्भिकताको अपेक्षा गर्छन् । भलै अहिले ज्ञानविज्ञानका क्षेत्रमा भएको अकल्पनीय परिवर्तनले पीएचडीका क्रममा त्यस्ता ब्रेकथ्रु ज्ञान/प्रविधि/विधि उत्पादन हुन ज्यादै गाह्रो छ । तर पनि पीएचडीको संख्या र गुणस्तरले देशको अनुसन्धान वातावरणलाई प्रतिविम्बित गर्ने हुनाले त्यसको गुणस्तरको प्रश्न सधैं पेचिलो बन्ने गर्छ ।

युरोपका विश्वविद्यालयहरूले पीएचडीको सुरुवातताका सन् १८०० तिर प्रयोग गरेको पीएचडीको शिक्षार्थी (एप्रिन्टिस) मोडल अहिले पनि विश्वभर प्रयोग भइरहेको छ । जसमा सुपरभाइजरले आफू पोख्त विषयमा नयाँ पुस्ताका अनुसन्धानकर्ता उत्पादन गर्ने गर्छन् । जसको कारण गुरुहरूले आफ्नो ‘क्लोन’ मात्रै उत्पादन गरेको भनेर यो मोडल आलोचित छ । नेपाली विश्वविद्यालयहरू जस्तो चरम प्राज्ञिक स्वप्रजनन (इन्टेलेक्च्युअल इनब्रिडिङ) भएका शैक्षिक संस्थाहरूले त्यही परम्परा पछ्याउँदा यहाँबाट उत्पादित पीएचडीहरूमा थप अर्को समस्या देखिन्छ । उनीहरू सुपरभाइजरका फोटोकपी हुने मात्रै होइन, उनीहरूले अनुसन्धानमा विविध संस्कार र दृष्टिकोण पनि ल्याउन सक्दैनन् । थप, पीएचडीको तालिम विषयगत हुने हुनाले विद्यार्थीले समाजको समस्या समाधान गर्न चाहिने नयाँ ज्ञान, विधि र प्रविधि उत्पादन गर्ने अनुसन्धानभन्दा पनि सुपरभाइजरको क्षमता र चाँडै पीएचडी सकाउने सक्ने विषयमा अनुसन्धान गर्न बाध्य हुन्छन् । जसले गर्दा यहाँका पीएचडी थेसिसहरू प्रयोगमा आधारित (इम्पेरिक) नहुने, ज्ञानको पुनरावृत्ति (रिपिटेसन) हुने र प्रासंगिक (रेलिभेन्ट) नहुने गरेको छ ।

नामअघि डाक्टर झुन्ड्याउने भोक

पीएचडीको गुणस्तरका लागि विश्वविद्यालयको वातावरण र सुपरभाइजरको क्षमता मात्रै होइन, विद्यार्थीको रुचि र अध्ययन—अनुसन्धानप्रतिको प्रतिबद्घता पनि महत्त्वपूर्ण कुरा हो । विकसित देशहरूमा पीएचडी भर्ना हुने अधिकांश शोधार्थीमा अध्ययन–अनुसन्धानमै जीवन बिताउने प्रतिबद्घता पाइन्छ । ती देशमा पीएचडीका लागि खर्चिने समयको मूल्य चर्को हुने हुनाले पीएचडी अक्सर निःशुल्क हुने र विद्यार्थीलाई छात्रवृत्ति दिने गरिन्छ । सँगै त्यहाँ पीएचडी शोधार्थीलाई अनुसन्धानका बलिया खम्बाहरू मानिन्छ, जसले सस्तो श्रममा सुपरभाइजर, विश्वविद्यालय र निजी क्षेत्रका अनुसन्धान परियोजनाका कार्य फत्ते गरिदिन्छन् । बदलामा उनीहरूले स्वतन्त्र अनुसन्धानलाई चाहिने सीप र क्षमता विकास गर्छन् र बिनाकुनै प्रत्यक्ष आर्थिक लगानी उपाधि लिन्छन् । सँगै पीएचडीपछि प्राप्त हुने जागिरको अवसर, सुरक्षा र प्रतिष्ठाले पनि उनीहरूलाई पीएचडी गर्ने उत्प्रेरणा दिएको हुन्छ ।

सम्भवतः संसारमा नेपाल लगायत केही मुलुक मात्रै होलान्, जहाँ पीएचडी अध्ययनका लागि विद्यार्थीबाट चर्को शुल्क असुलिन्छ । पीएचडी शुल्क बढी भएको भन्दै केही समयपहिले त्रिविविमा विद्यार्थीले आन्दोलनसमेत गरेका थिए । थप, नेपालमा पीएचडीपछिका रोजगारी (जस्तै ः विश्वविद्यालयमा प्राध्यापन गर्ने, सरकारी, निजी र गैरसरकारी क्षेत्रमा अनुसन्धान गर्ने) का अवसर न्यून छन् । हाल सरकारी र निजी क्षेत्रका कलेजमा विद्यार्थी संख्या घट्दै गएकाले प्राध्यापनका नयाँ अवसरहरू पनि खस्कँदै गएका छन् । हाम्रो अर्थतन्त्र ज्ञानमा आधारित नभएकाले पनि निजी क्षेत्रले पीएचडीका जनशक्तिलाई रोजगारी दिन असमर्थ छ । यस्तो प्रतिकूल अवस्थामा नेपालमा पीएचडीको संख्यामा उल्लेख्य वृद्घि हुनुको कारण के होला ?

सुनिए अनुसार र मेरो आफ्नै अवलोकन (जुन गलत पनि हुन सक्छ) मा पनि नेपाली विश्वविद्यालयमा पीएचडीको संख्या बढ्नुमा केही ‘पुल फ्याक्टरहरू’ छन् । पहिलो, पारिवारिक लगायत विविध कारणले विदेश गएर पढ्न नमिलेका तर अनुसन्धानमै केही गरौं भन्ने भावना बोकेका व्यक्तिहरू, जसको संख्या न्यून छ । दोस्रो जागिरमा बढुवाका लागि पीएचडी चाहिएको र त्यसका लागि बिदा लगायत सुविधा उपयोग गर्न पाउने यहाँका प्राध्यापक र सरकारी कर्मचारीहरू । तेस्रो, नामका अगाडि डाक्टर झुन्ड्याएर सामाजिक प्रतिष्ठा हासिल गर्ने लोभ भएकाहरू । पछिल्ला दुई वर्गका पीएचडी शोधार्थीको संख्या यतिखेर उल्लेख्य छ । किनभने नेपालमा पीएचडी उपाधिलाई सम्मान र उच्च मर्यादाको दृष्टिले हेरिन्छ । सरकारले पीएचडी सकाउनासाथ स्वतः पदक दिनु त्यसको प्रमाण हो । त्यसैले यहाँका कतिपय पीएचडीधारीहरू डाक्टरको फुर्कोबिना नामको उच्चारण नहोस् भन्ने चाहन्छन् । उनीहरू कार्यक्रममा उद्घोषकले डाक्टर नभनिदिँदा मानहानि भएको ठानी त्यसलाई सच्याएर फेरि भन्न लगाउँछन् । त्यही सामाजिक प्रतिष्ठा र उच्च मर्यादा पाउने लोभको कारण पीएचडी लिनका लागि लाखौं खर्च गर्न तयार हुनेको संख्या बढ्दो छ ।

सुधारको पहल

संख्या बढ्नुका केही फाइदा छन् । यहाँका शैक्षिक संस्थानहरूमा बढी संख्यामा पीएचडी भएका प्राध्यापक/शिक्षक भएको खण्डमा पाठ्यक्रमलाई अनुसन्धानमुखी बनाउन, तल्लो तहमा अनुसन्धानको भ्रूण रोप्न र विद्यार्थीलाई अनुसन्धानमा उत्प्रेरित गर्न मद्दत हुन्छ । पीएचडी बढ्दा अनुसन्धानको संख्या र दायरा पनि बढ्छ । त्यसैले देशभित्र राम्रै संख्यामा पीएचडी उत्पादन हुनु राम्रो कुरा हो । तर गुणस्तरबिनाका पीएचडी बाँड्नु भनेको विद्यार्थीको भविष्य अन्धकार बनाउनु मात्रै होइन, देशकै अनुसन्धान वातावरण धमिल्याउनु पनि हो । त्यसकारण यहाँका नियामक निकायले सान्दर्भिकता हराएका, कोरा सैद्घान्तिक विषयका, नवीनताहीन र अन्य क्षेत्रमा स्थानान्तरण हुने सीप र क्षमता विकास नगराउने सस्तो पीएचडी बाँड्ने काममाथि कडाइ गर्न जरुरी छ ।

पीएचडीको बढ्दो संख्यासँगै त्यसलाई सुधार्न विश्वविद्यालय अनुदान आयोगले ‘विद्यावारिधि उपाधिका लागि न्यूनतम मापदण्ड सम्बन्धी निर्देशिका–२०८०’ जारी गरेको छ । जसमा पीएचडी गराउने शैक्षिक संस्था, सुपरभाइजर र विद्यार्थीको योग्यता मात्रै होइन, पीएचडी उपाधिका लागि चाहिने न्यूनतम मापदण्ड समावेश छन् । जसमा पीएचडी उपाधिका लागि तोकिएको कोर्स पूरा गर्नुपर्ने, प्रथम लेखक भई न्यूनतम एउटा अनुसन्धानात्मक लेख प्रकाशन गरेको हुनुपर्ने लगायतका कुरा छन् । यस्ता मापदण्डले पीएचडीको गुणस्तरमा केही सुधार त गर्लान् तर पीएचडी शोधको गुणस्तर मात्र होइन, यस कार्यक्रमको उपादेयता र उद्देश्यमै स्पष्ट हुन जरुरी छ ।

हाम्रा विश्वविद्यालयहरूमा कस्ता उद्देश्य बोकेका विद्यार्थी पीएचडीमा भर्ना भइरहेका छन् ? उनीहरूमध्ये कतिले पीएचडीलाई प्रमोसन र उच्च मर्यादाको सिँढी बनाउने सोचेका छन् र कतिले वास्तविक रूपमै आफूलाई अनुसन्धानकर्तामा रूपान्तर गर्न चाहेका छन् ? पीएचडीपछि देशभित्रै रोजगारीको अवसर कस्तो छ ? उनीहरू कस्तो क्षेत्रमा जागिर खाँदै छन् ? पीएचडीको उत्पादन संख्या र बजारको मागबीचमा तादात्म्य छ कि छैन ? पीएचडी दीक्षितहरूको क्षमता, दक्षता र सीपलाई बजारले कसरी मूल्यांकन गरेको छ ? यस बारेमा अध्ययन हुन जरुरी छ ।

अन्त्यमा, अहिले अनुसन्धान र विकासलाई देश विकासको मेरुदण्ड मानिन्छ र विकसित देशहरूले त्यही अनुसार पीएचडीका कार्यक्रम र उच्च शिक्षाका रणनीतिहरू तयार पार्छन् । हामीले पनि पीएचडी कार्यक्रमलाई देशको विकास प्राथमिकतासँग जोड्न जरुरी छ । थप, पीएचडी अनुसन्धानलाई विषयगत सुरुङबाट निकालेर समाजको समस्या हल गर्नेतर्फ मोड्न जरुरी छ । त्यसका लागि पीएचडी शोधार्थीको साझा सीप (जस्तै– विभिन्न प्रोगामिङ) र क्षमता (जस्तै– समस्या पहिचान र विश्लेषण गर्ने) बढाउने किसिमका तालिममा जोड दिनुपर्छ । पीएचडी गर्नेहरूलाई विचारक बनाउन अभिप्रेरित गर्ने, आलोचनात्मक चेतना घुसाउने, समस्याको समाधानकर्ता र उद्यमशील बनाउने हिसाबले कोर्सहरूको डिजाइन र तालिम सञ्चालन गर्न आवश्यक छ । देश विकास हुँदै गर्दा ज्ञानविज्ञानको महत्त्व झनै बढ्नेछ, त्यतिबेला हामीलाई स्वदेशमै निर्मित ठूलो संख्यामा अध्येता चाहिन्छ । त्यसका लागि हाम्रो पीएचडी उत्पादन कारखानाको अवस्था ठीक हुन जरुरी छ ।

प्रकाशित : आश्विन ४, २०८० ०७:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनबारे संसदीय छानबिन समिति गठन गर्ने/नगर्ने विवादले प्रतिनिधि सभा फेरि अवरुद्ध भएको छ । संसद् चलाउन के गर्नुपर्ला ?