२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३९

लगानीकर्तालाई चीनमा झैं सम्मानको खोजी

जहाँ नीतिगत स्थायित्व, लगानीकर्ताको सम्मान र लगानीको प्रतिफल सुरक्षित हुँदैन, त्यहाँ लगानी हुँदैन, आउँदैन ।
चन्द्र ढकाल

प्रधानमन्त्री पुष्पकमल दाहाल लगायत उच्च सरकारी अधिकारीहरूसँग मन्दीमा गैरहेको अर्थतन्त्र उकास्नेबारे छलफल गरेकै दिन म खुन्मिङमा आयोजना हुने चीन दक्षिण एसिया व्यापार मेला र बिजनेस फोरममा सहभागी हुन चीनतर्फ जाँदै थिएँ ।

लगानीकर्तालाई चीनमा झैं सम्मानको खोजी

यस पटकको भ्रमणलाई लिएर म त्यति धेरै उत्साहित थिइनँ । अर्थतन्त्रको दुरवस्था र उद्यमी–व्यवसायीको छटपटीले पिरोलिरहेको थियो ।

त्यो किन पनि भने, २०७९ चैत अन्तिममा नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष भएसँगै मन्दी–उन्मुख अर्थतन्त्रमा सुधार ल्याउने चुनौती थपिएकाले मेरो ध्यान व्यावसायिक संगठनहरूतर्फ बढी छ । केही गरिदेओस् भनेर उद्यमी–व्यवसायीले हामीलाई आशाका साथ हेरिरहेका छन् । हामी आफैं थोरै मात्र गर्न सक्छौं । अर्कातिर, नीतिनिर्मातालाई मन्दीले छोइसकेको छैन ।

उद्योगहरू जम्मा ४० प्रतिशत क्षमतामा चलिरहेको नेपाल राष्ट्र बैंकको अध्ययन प्रतिवेदनले मलाई झस्काइरहन्छ । कुल गार्हस्थ्य उत्पादनको शून्य दशमलव ३ प्रतिशत हाराहारी मात्रै विदेशी लगानी आउने मुलुकमा सुधार कसरी होला, चिन्ता लाग्छ । व्यापार घाटा घटेको देखिए पनि त्यो आयात प्रतिबन्ध र निर्यात पनि घटेकाले सम्भव भएको हो । रेमिट्यान्स आप्रवाह र पर्यटक आगमन बढे पनि बजारमा माग सृजना हुन सकेको छैन ।

डेढ वर्षदेखिको ७ प्रतिशत हाराहारी मूल्यवृद्धिले सर्वसाधारणलाई पिरोलेको छ । दुई वर्षमा पढ्न र काम गर्न करिब १५ लाख युवा बिदेसिएका छन् । बजार चलायमान भएको भए यी युवा यहीँ बस्न सक्थे । म खुन्मिङका लागि त्रिभुवन विमानस्थल पुग्दा अस्ट्रेलिया, युरोप, अमेरिका जाने युवाहरू बढी थिए (दिउँसो मध्यपूर्व र मलेसिया जाने युवाहरूको बढी भीड लाग्ने गरेको छ) । चीन हुँदै अस्ट्रेलिया जान सहज र सस्तो हुने भएकाले मैले अस्ट्रेलिया जाने युवाहरू बढी देखें । युवा र अभिभावकहरूका आँखामा आँसु भए पनि ती ढुक्क देखिन्थे । सायद छोराछोरीको भविष्य उज्ज्वल भएको महसुस गर्दै थिए ।

निजी क्षेत्रको प्रतिनिधिमूलक ठूलो संस्थाको अध्यक्षका हैसियतले मैले त्यो दृश्य हेरिरहेको थिएँ । दिउँसो सम्माननीय प्रधानमन्त्री, उपप्रधानमन्त्री, अर्थमन्त्री, मुख्य सचिव, नेपाल राष्ट्र बैंकका गभर्नर, अर्थसचिव लगायतका उच्च अधिकारीहरूलाई आफूसहित परिसंघका अध्यक्ष राजेश अग्रवाल, चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले भेटेको सम्झिरहेको थिएँ । सरकारको राजस्व सम्भवतः पचास वर्षपछि करिब १५ प्रतिशतले घट्दा पनि त्यो भेटमा अधिकांश सरकारी अधिकारी ढुक्क देखिन्थे ।

जनता त छोराछोरीलाई विदेशी भूमिमा पढाउन पाउँदा ढुक्क थिए; सरकारी अधिकारीहरूचाहिँ के कारणले ढुक्क भएका थिए होलान्, मैले अझै बुझ्न सकेको छैन । तर, निजी क्षेत्र निकै अशान्त छ । व्यापार–व्यवसाय चलेको छैन । बैंकबाट बढेको ब्याजको ताकेता छ ।

ब्याज व्यवसाय सुरु गर्दाताकाको भन्दा दोब्बर भइसक्दा पनि अहिलेसम्म जसोतसो चलिरहेका अधिकांश व्यवसायी अब चल्न नसक्ने अवस्थामा पुगेका छन् । यहीबीच राष्ट्र बैंकले ल्याएको चालु पुँजी कर्जा मार्गदर्शनले थप समस्या उत्पन्न गर्‍यो । यसैमा सुधारको माग गर्दै हामीले त्यस दिन प्रधानमन्त्री, अर्थमन्त्री र राष्ट्र बैंकका गभर्नरलाई भेटेका थियौं ।

धेरै प्रयास गर्दा पनि अर्थतन्त्रमा सुधारको लक्षण नदेखिएको र सरकारी उदासीनता कायमै रहेकाले म पनि उदास हुँदै खुन्मिङतिर उडेको थिएँ । विमानस्थलबाट बाहिर निस्किँदै गर्दा हाम्रो टोलीका सदस्यहरूका नामसहित सीसीपीआईटी युनानका तान युन र जर्ज उभिएका देखिए । उनीहरूले हामीलाई बसबाट सीधै भीआईपी बिल्डिङमा लगे । जहाँ हाम्रा लागि चियापानको व्यवस्था थियो । अध्यक्ष भएदेखि नै निजी क्षेत्रको मर्यादाक्रमका लागि लडिरहेको मेरा लागि यो अप्रत्याशित थियो । सरकारका मन्त्री र उच्च अधिकारीहरूले यहाँ चीनमा मैलेझैं सम्मान पाएको देखेको छु ।

तर चीनमा हाम्रै लागि त्यो सम्मान थियो । महासंघको अध्यक्षलाई नै त्यो सम्मान थियो । सार्क चेम्बर अफ कमर्सका उपाध्यक्षलाई नै त्यो सम्मान थियो । नेपाली व्यवसायीलाई नै त्यो सम्मान थियो । बिलकुलै सरकारी अधिकारीहरू बराबर । त्यो कसरी पनि थाहा भयो भने, पछि हाम्रो फर्किने समयमा एउटा कोठामा नेपाल सरकारका सचिवहरूलाई जुन सत्कार गरिएको थियो, अर्कामा म लगायत निजी क्षेत्रको टोलीलाई सोही सम्मान प्रदान गरिएको थियो ।

चीनमा विदेशको निजी क्षेत्रलाई मात्र नभई स्वदेशकै निजी क्षेत्रलाई पनि यत्तिकै सम्मान दिने गरिन्छ । चीनले अवलम्बन गरेको उदारीकरणको नीतिलाई निजी क्षेत्रले नै डोर्‍याइरहेको छ । सन् १९७८ मा उदारीकरण अवलम्बन गर्दा आर्थिक सुधारका रूपमा चीनको दोस्रो क्रान्ति भएको भन्दै देङ स्याओपिङले निजी क्षेत्रलाई फस्टाउने अवसर दिएका थिए ।

चीनको चालीस वर्षयताको उपलब्धि अभूतपूर्व छ । भोकमरीका कारण करोडौंले ज्यान गुमाएको चीनले पछिल्ला चालीस वर्षमा ७ प्रतिशतमाथि आर्थिक वृद्धि हासिल गरिरह्यो । विश्व बैंक र चीनको एउटा थिंक ट्यांक डीआरसीले गरेको अध्ययन अनुसार, चार दशकमा करिब ७७ करोड चिनियाँ गरिबी रेखाभन्दा माथि उठेका छन् । यो अभूतपूर्व विकासमा निजी क्षेत्रको योगदान मुख्य छ । चीन विश्वको मुख्य कारखाना बनेको छ । विश्वको दोस्रो ठूलो अर्थतन्त्रमा सारा विश्वको आँखा छ । खुन्मिङ व्यापार मेलामा पनि यो देखिन्थ्यो ।

खुन्मिङ युनान प्रान्तको राजधानी हो । सांघाई र बेइजिङभन्दा सानो छ तर यहाँ अन्यसँगै दक्षिण एसियालक्षित व्यापार मेला आयोजना हुन्छ । दक्षिण एसिया, मध्यपूर्व र चीनका व्यापारीहरूबीच अन्तरक्रिया र व्यापार हुन्छ एउटा भव्य मेलास्थलमा, जुन वर्षौंदेखि देशको राजधानीमा एउटा सामान्य सुविधासहितको भए पनि प्रदर्शनीस्थल माग गरिरहेका हाम्रा लागि निकै आकर्षक थियो । हाम्रो देशमा एउटा सुविधासम्पन्न प्रदर्शनीस्थलका लागि हामीले पहल गरी सरकारको साथ खोजेको दशकौं भैसकेको छ ।

चीनका विदेशमन्त्री वाङ यीले मेलाको उद्घाटन गरेका थिए । यसअघि विदेशमन्त्री हुँदा उनी नेपाल भ्रमणका बेला चन्द्रागिरि हिल्समा पदयात्राका लागि आएका थिए । चन्द्रागिरिमा उनलाई स्वागत गर्ने अवसर पाएको मैले चीनको लगानी एवं प्रविधि ल्याएर पर्यटकीय गन्तव्य बनाउन सकिने सम्भावनाको पनि खोजी गरिरहेको थिएँ ।

सोही साँझ गभर्नरले आयोजना गरेको रात्रिभोजपछि अर्को कार्यक्रममा खुन्मिङका लगानीकर्ताहरूसँग भेट्ने अवसर मिलेको थियो । युनान प्रान्तका नेपाल प्रतिनिधि भिन्सेन्ट र याङले उक्त छलफल र रात्रिभोजको आयोजना गरेका थिए । त्यहाँ भेट भए मिस्टर याङ । खुन्मिङ नजिकै उनको थिम पार्क रहेछ ।

बिजनेस फोरम र मेलामा नेपाल आकर्षणको केन्द्र थियो । मेलामा नेपाली स्टल सयजति थिए । नेपाल उद्योग वाणिज्य महासंघ यस पटक चीन दक्षिण एसिया बिजनेस फोरमको अध्यक्ष भएकाले नेपाललाई मेलामा ‘थिम कन्ट्री’ को सम्मान प्राप्त थियो । हाम्रो विशेष प्याभिलियनको उद्घाटन उपराष्ट्रपति राम सहाय यादवले गर्नुभएको थियो ।

बिजनेस फोरममा मलाई प्रमुख वक्ताका रूपमा राखिएको थियो । मेरो वक्तव्यको सार थियो— ‘नेपाल विश्वको ४९ औं ठूलो जनसंख्या भएको मुलुक हो । यहाँ सञ्चालित सबै बहुराष्ट्रिय कम्पनीले राम्रो नाफा कमाएका छन् । अहिलेसम्म धेरै विकसित मुलुकमा यहाँका उत्पादनको भन्साररहित बजार पहुँच छ ।’

तर गत वर्षको प्रत्यक्ष वैदेशिक लगानीको तथ्यांक झस्काउने खालको छ । गत वर्ष ७ अर्ब रुपैयाँ हाराहारी मात्रै प्रत्यक्ष वैदेशिक लगानी आयो, जुन अघिल्लो वर्षभन्दा करिब ६० प्रतिशत कम हो । यसरी किन लगानी घटिरहेको छ त ? जवाफ हो— जहाँ नीतिगत स्थायित्व, लगानीकर्ताको सम्मान र लगानीको प्रतिफल सुरक्षित हुँदैन, त्यहाँ लगानी हुँदैन, आउँदैन ।

हामीकहाँ लगानीकर्ताले सम्मान पाउनु त परको कुरा, अनेकौं झन्झट बेहोर्नुपरेको गुनासो मैले दैनिकजसो पाउने गरेको छु । फाइल घुमाउँदाघुमाउँदै नसकेर विदेशी लगानीकर्ता फर्किनुपरेका कटु यथार्थहरू पनि छन् । स्वदेशी उद्यमी–व्यवसायीलाई राम्रो व्यवहार गरिँदैन । मानौं यो देश बिगारेकै उद्यमी–व्यवसायीले हो । समस्या कुन पेसामा छैन ? उद्यमी–व्यवसायीले सम्पत्ति पो निर्माण गर्छन् त ! सोही आर्जनबाट राजस्व बुझाउँछन् । सरकारको दैनिकी चल्छ ।

हाम्रो पछिल्लो अध्ययन अनुसार अर्थतन्त्रमा निजी क्षेत्रको योगदान ८१ प्रतिशत छ । ५० लाखभन्दा बढिले निजी क्षेत्रमा रोजगारी पाएका छन् । निजी क्षेत्रको महत्त्व भारतले बुझेको छ । चीनले बुझेको छ । भियतनामले बुझेको छ । बंगलादेशले बुझेको छ । र त यी देशको प्रगति हुँदै छ ।

मिस्टर याङ नेपालमा चीनमा जस्तै पार्क, पर्यटन क्षेत्रमा लगानी गर्न इच्छुक छन् । उनले एउटा गुफा र डाँडा सरकारसँग ९० वर्षका लागि लिजमा लिएका रहेछन् । गुफासँगै सिसाको पुलसहित साहसिक पर्यटनका लागि पुर्वाधार निर्माण गरेका रहेछन् । उनको कारोबार दैनिक औसत ५ लाख युआन अर्थात् करिब १ करोड रुपैयाँ रहेछ । उनी यस्तै पार्क र अन्य पूर्वाधार विस्तार गर्दै छन् । अब उनले नेपाल आउँदा कस्तो महसुस गर्ने हुन् ! उनीजस्तै अन्य लगानीकर्ताले यहाँ बेहोर्नुपरेको समस्या मैले देखेभोगेको छु । आशा छ, उनले त्यस्तो समस्या भोग्नुपर्नेछैन ।

सीसीपीआईटीका अधिकारीहरूले हामीलाई ग्वान्जाउ विमानस्थलको भीआईपी लाउन्जसम्म पुर्‍याउन्जेल म अब त नेपालमा पनि लगानीकर्ताको सम्मान हुन्छ कि भनी कल्पिँदै थिएँ । केही समयमा हामी नेपाल ओर्लियौं ।

भोलिपल्ट म श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धिबारे महासंघको धारणा सार्वजनिक गर्ने तयारीस्वरूप पदाधिकारीहरूसँग अनौपचारिक छलफल गर्नपट्टि लागें । न्यूनतम पारिश्रमिक निर्धारणका लागि रोजगारदाता परिषद्का तर्फबाट वार्तामा संलग्न सदस्यहरू पनि थिए । सबैको भनाइ थियो— ‘अर्थतन्त्र मन्दीमा छ । बढेको पारिश्रमिक दिन नसक्ने उद्यमी–व्यवसायी धेरै छन् । उनीहरूलाई व्यवसाय बन्द गर्न सहज बनाउनेबारे पहल गर्नुपर्‍यो ।’ प्रगति हुने मुलुकमा व्यवसाय थप्न प्रतिस्पर्धा हुन्छ र हाम्रोजस्ता महासंघले त्यसलाई प्रवर्द्धन गरेका हुन्छन् । हामीले भने व्यवसाय बन्द गर्न सजिलो बनाइदिनुस् भन्दै हिँड्नुपरेको छ !

ढकाल नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष हुन् ।

प्रकाशित : भाद्र १४, २०८० ०८:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?