१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२१

स्कुले झोलाले थिचिएका भविष्यका कर्णधार

‘स्कुले बालबालिका भारवाहक होइनन्, न त उनीहरूको झोला नै लोड कन्टेनर हो ।’
मीना मरासिनी

सन् २०१२ मा भारतको नयाँ दिल्लीको एउटा स्कुलमा ६ कक्षा पढ्ने एक विद्यार्थीको लडेर मृत्यु भयो । १२ वर्षीय वरुण जैन छुट्टी भएपछि स्कुल बस चढ्नका लागि हतारहतार तल ओर्लिंदै थिए । उनले पिठ्युँमा अजंगको झोला बोकेका थिए । उत्रिँदै गर्दा किताबको भारी थेगिरहन सकेनन् अनि अनियन्त्रित भएर लड्दै भुइँमा बजारिए ।

स्कुले झोलाले थिचिएका भविष्यका कर्णधार

टाउकामा लागेको गहिरो चोटका कारण उनको दुःखद निधन भयो । प्रहरी अनुसन्धान अनुसार, वरुणले आफ्नो शरीरको तौलको अनुपातमा लगभग ४० प्रतिशत वजन भएको झोला बोकेका थिए । उक्त घटनापछि भारतको केन्द्रीय स्कुल नियामक निकायले कुन कक्षाको किताबको झोला अधिकतम कति तौलसम्मको हुनुपर्ने भन्ने सम्बन्धमा मापदण्ड नै बनायो । १ र २ कक्षाका विद्यार्थीको झोलाको तौल डेढ किलोभन्दा बढी हुन नहुने अनि ८ र ९ कक्षाका विद्यार्थीको झोला अधिकतम साढे चार किलोसम्मको मात्रै हुनुपर्ने नियम तोकियो । दिल्ली उच्च न्यायालयले पनि स्कुले विद्यार्थीहरूलाई उनीहरूको शरीरको तौलको १० प्रतिशतभन्दा धेरै वजनको झोला नबोकाउन आदेश दियो । उक्त आदेशमा अदालतले भनेको छ— ‘स्कुले बालबालिका भारवाहक होइनन्, न त उनीहरूको झोला नै लोड कन्टेनर हो ।’ यद्यपि अदालतको आदेश तथा नियामक निकायले तय गरेको मापदण्ड बमोजिम भारतका केही राज्यले मात्र कानुन बनाएरै स्कुले झोलाको वजनलाई सीमित गर्ने काम गरेका छन् ।

नेपालमा भने यो कुरा न नीतिनिर्माताको ‘चित्तमा लागेको’ छ न त राष्ट्रव्यापी बहसको विषय बन्न सकेको छ । आफ्नै छोरीहरूको स्कुले झोलाको वजन हेर्दा लाग्छ, हाम्रा विद्यार्थीहरू आफ्नो शरीरको तौलको कम्तीमा २५–३० प्रतिशत वजनको भारी बोकेर कुप्रिँदै दिनहुँ स्कुल गइरहेका छन् । दिन अनुसार झोलाको तौल र अन्य चीजबीजको भारी घटबढ भैरहेको हुन्छ । मनै अमिलो पार्ने यो दारुण दृश्यले भविष्यका कर्णधार बालबालिका स्कुले झोलाको भारले थिचिँदै दीर्घकालीन प्रकृतिका शारीरिक–मानसिक समस्याहरूको जोखिममा परिरहेको देखाउँछ ।

यस्तो लाग्छ, भरिलो, कसिलो र अजंगको स्कुले झोला नेपालमा ‘स्टाटस सिम्बोल’ बनिसकेको छ । किताब–कापीहरूले भरिएको; ज्यामितीय बक्स, कलम–पेन्सिल–रङ आदि चीजबीज कोचिएको; पर्स खाँदिएको; प्रोजेक्ट वर्क तथा ग्रुप वर्कका लामालामा चार्ट पेपरहरूको बेलना आकाशतर्फ निस्किएको अनि बाहिरी गोजीहरूमा पानीको बोतल तथा रेनकोटसमेत कोचिएको झोला भिराएर र हातमा छुट्टै टिफिन बक्सको अर्को झोला थमाएर स्कुल नपठाएसम्म अभिभावकहरूलाई पनि सन्तोष नै नलाग्ने भएको छ । लागोस् पनि कसरी, स्कुलको स्तर शुल्कले निर्धारण गर्ने र शुल्क बढी भएसँगै किताबको झोलाको वजन पनि बढ्दै जाने अभ्यास चलेको छ हामीकहाँ ! मानौं विद्यार्थीहरूले स्कुलमा सिक्ने कुरामा नभई झोलाको आकार तथा तौलमा प्रतिस्पर्धा चलेको छ । किताबी झोला जति ठूलो र वजनदार भयो, स्कुलमा उनीहरूले उति नै धेरै सिक्न पाउँछन् भन्ने लाग्छ अभिभावकहरूलाई ! कलिलो काँध र पिठ्युँमा झोलाको भारीले पार्ने असरका बारेमा न स्कुललाई हेक्का छ, न त अभिभावक र नीतिनिर्मातालाई नै । मासिक रूपमा चर्को शुल्क असुल्ने र त्यतिले पनि नपुगेर वार्षिक शुल्कका नाममा अतिरिक्त मोटो रकम असुल्ने स्कुलहरूले विद्यार्थीको बोझ घटाउनका लागि अलिकति पनि लगानी गरेको देखिँदैन । बेनामे शीर्षकहरूमा शुल्क असुल्ने स्कुलहरूले स्कुलमा एक सेट अतिरिक्त पाठ्यपुस्तकको व्यवस्था गरिदिए वा कक्षाकोठामा आफ्ना किताब राख्ने छुट्टै लकर बनाइदिए बालबालिकाले दिनहुँ सबै किताबको भारी बोकेर स्कुल आउजाउ गर्ने सकसबाट मुक्ति पाउन सक्थे । त्यसका लागि स्कुलका सञ्चालकहरूले कुनै ठूलो लगानी गर्नुपर्दैन, उनीहरूमा केवल असल मनसाय र सकारात्मक नवप्रवर्तनशीलताको आवश्यकता पर्छ ।

अन्तर्राष्ट्रिय स्तरमा भएका विभिन्न अध्ययन अनुसार, ठूला तथा गह्रौं झोला बोकाउँदा बालबालिकाको ढाड, काँध तथा घाँटीमा उच्च दबाब परेर दुखाइ, असहजता पैदा भई पछि गएर ढाड, मांसपेशी तथा हड्डी सम्बन्धी दीर्घकालीन समस्याहरू देखिने जोखिम हुन्छ । झोलाको वजन धान्न बालबालिका निहुरिएर–कुप्रिएर हिँड्नुपर्ने र त्यसले उनीहरूमा स्थायी रूपमै कुप्रोपना आउनुका साथै काँध तथा टाउकाको ‘पोस्चर’ पनि बिग्रिने हुन्छ । बिहान झोलाको भारी बोकेर केही लामो बाटो हिँड्दै स्कुल जानुपर्दा बच्चाहरू थाक्ने, अल्छी लाग्ने भई दिनभर उनीहरूलाई प्रभावकारी रूपमा पढाइमा ध्यान केन्द्रित गर्न अप्ठेरो हुन्छ । यसले उनीहरूको सिकाइमै असर पार्छ । झोला बोक्दाबोक्दै थाकेका बच्चाहरू स्कुलपछिका शारीरिक क्रियाकलाप तथा खेलकुदमा पनि सहभागिता जनाउन जाँगर देखाउँदैनन् । घरमा आएर छिटै सुत्ने, गृहकार्यसमेत समयमा पूरा नगर्नेजस्ता समस्या देखिन्छन् । दिनहुँ वजनदार झोला बोकेर स्कुल जानुपर्ने चिन्ताका साथै झोलामा कुनै सामान राख्न छुटेर स्कुलमा सजाय पो पाइने हो कि भन्ने डरका कारण बालबालिकालाई मनोवैज्ञानिक असरसमेत पर्ने गरेको हुन्छ । आफ्ना बालबालिकाले दैनिक भोगिरहेको यो समस्या धेरै अभिभावकले अनुभूति गरिरहेका पनि हुन्छन् तर विद्यार्थीलाई भारी बोकाउनमै अभ्यस्त स्कुलहरूको चलनका अगाडि निरीह अभिभावक–विद्यार्थीहरूको जोर चल्ने कुरा भएन ।

हालै काठमाडौं महानगरपालिकाले हरेक शुक्रबार स्कुलमा किताब लैजानु नपर्ने र सो दिन विभिन्न सीपमूलक अतिरिक्त क्रियाकलापमा विद्यार्थीहरूलाई सहभागी गराउने नियम सुरु गरेको छ । ‘बुक फ्री फ्राइडे’ को यो अभियान तत्कालका लागि सामुदायिक स्कुलमा ८ कक्षाभन्दा माथिका विद्यार्थीको हकमा मात्रै लागू भएको छ । यो कार्यक्रम प्रभावकारी बन्दै गएको र सरकारी अधिकारीहरूको अनुगमनका क्रममा विद्यार्थीहरूले यसलाई निरन्तरता दिन पनि अनुरोध गरेका भन्ने समाचारसमेत छापाहरूमा पढ्न पाइएको छ । यो प्रावधानले उत्तर–बाल्यावस्था तथा किशोरावस्थाका विद्यार्थीहरूलाई हप्ताको एक दिन भए पनि किताबको भारीबाट मुक्ति दिलाउँदै स्कुलमा दिनभर नै जीवनोपयोगी सीपहरू सिक्ने, आफ्नो प्रतिभा प्रस्फुटन गर्ने, समूहगत कार्यहरू गर्ने, किशोरावस्थाका समस्या तथा अनुभव साथीहरूबीच खुलस्त रूपमा साझा गर्दै सकारात्मक बुझाइको विकास गर्नेजस्ता लाभहरू पुर्‍याउनेमा दुईमत छैन । तर यो कार्यक्रम मूलतः हप्ताको एक दिन भए पनि विद्यार्थीहरूलाई किताबी घोकाइभन्दा बाहिर पूर्ण रूपमा उनीहरूको रुचि तथा आवश्यकता बमोजिमको अतिरिक्त क्रियाकलापमा सहभागी गराएर शारीरिक–मानसिक विकासमा टेवा पुर्‍याउने उद्देश्यमा केन्द्रित छ । यसले हप्ताको एक दिन विद्यार्थीको ढाड र काँधलाई आराम दिए पनि हप्ताका बाँकी पाँच दिन उनीहरूले स्कुले झोलाको बोझबाट मुक्ति पाउनेछैनन् । त्यसैले यो कदमले मात्रै विद्यार्थीलाई झोलाको बोझबाट मुक्ति दिन सक्दैन । विद्यार्थीहरूलाई औपचारिक किताबी ज्ञानका अतिरिक्त अन्य उपयोगी बाह्य ज्ञान तथा सीपहरू पनि स्कुलमै दिनुपर्छ भन्ने सद्विचार काठमाडौंको स्थानीय सरकारका चालकहरूमा पलाएको देखिए पनि किताबी झोलाको वजनमा नियन्त्रण गर्नुपर्ने आवश्यकताको बोध अझै हुन सकेको देखिँदैन । त्यसमाथि महानगरपालिकाले ल्याएको पुस्तकमुक्त शुक्रबारको अभियान सामुदायिक स्कुलभन्दा बाहिर निस्किएर निजी स्कुलहरूसम्म पुग्नेमा विश्वस्त हुन सकिएको छैन । अझै पनि निजी स्कुलहरूले यो कार्यक्रम स्वतःस्फूर्त रूपमा लागू गरेको सुनिएको छैन । यस्तो अवस्थामा विद्यार्थीहरूको झोलाको बोझ घटाउने बाटामा तत्कालै कुनै काम भैहाल्ला भनेर आशा गर्ने ठाउँ देखिँदैन ।

लाग्छ, नेपाली बालबालिका भारी बोक्नमा अभिशप्त छन् । पहिले हामीले गाउँमा हुर्किंदा बाल्यकालमा पानीको गाग्रो, घाँस, अन्नपात आदिको भारी बोक्नुपर्थ्यो । अहिले हाम्रा बच्चाहरूले सहरमा स्कुले झोलाका भारी दिनहुँ बोक्नुपर्छ । हाम्रो पालामा घरको काम अन्तर्गत भारी बोक्दा केवल शारीरिक श्रम खर्चिए पुग्थ्यो तर अहिलेका बच्चाहरूले स्कुले झोलासँगै अभिभावक र स्कुलका अपेक्षा अनि आस र त्रासको भारी पनि बोक्नुपरेको छ । झोलाको भारीले बालबालिकाको पिठ्युँ, गर्दन र काँध मात्रै दुखाइरहेको हुँदैन, पढाइ–लेखाइको चिन्ता, परीक्षामा राम्रो अंक नआउने डर, गृहकार्य र कक्षाकार्य पूरा गर्नैपर्ने र अन्यथा भएको खण्डमा कक्षामा सहपाठीका अगाडि लज्जित हुनुपर्ने भयले मथिंगल हल्लिरहेको र मनमा पीडाबोध भैरहेको हुन्छ । यस्तो अवस्थाबाट गुज्रिरहेकी आफ्नै छोरीलाई कुनै परीक्षामा अपेक्षा गरेजतिको नम्बर नल्याएको भनेर हप्काइरहँदा कहिलेकाहीँ आफैंलाई अपराधबोध हुन्छ । आखिर हाम्रो शिक्षा प्रणालीले हाम्रा बालबालिकामाथि किन यस्तो अपराध गरिरहेको छ ? झोलाको बोझले बालबालिकाहरूलाई अघि बढ्नै नसक्ने गरी डल्लो पारेर मुलुकको भविष्यलाई किन थिचिरहेका छौं हामी ? भविष्यका कर्णधारलाई झोलाको भारीबाट मुक्ति दिलाउन अब त ढिला झएन र ?

प्रकाशित : भाद्र ११, २०८० ०६:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?