२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

‘पुराना’ पार्टीका चुनौती र नयाँको भविष्य

सैद्धान्तिक, वैचारिक, नीतिगत र सांगठनिक दृष्टिले आफूलाई रूपान्तरण गरी लोकप्रिय, भिजनरी र ऊर्जावान् नेतृत्व स्थापित गरेनन् भने मूलधारका पार्टीहरूको भविष्यबारे यसै भन्न सकिन्न ।
गेजा शर्मा वाग्ले

केही समयदेखि नेपाली राजनीतिमा पुराना पार्टी असफल, असान्दर्भिक र भ्रष्ट तथा नयाँ पार्टी सफल, सान्दर्भिक र सुशासनका मसिहा भन्ने भाष्य सृजना भइरहेको देखिन्छ । पुराना पार्टीका नेताहरूसमेत संलग्न भएका कुशासन र भ्रष्टाचारका एकपछि अर्को काण्ड पर्दाफास भएको पृष्ठभूमिमा उक्त भाष्य थप सान्दर्भिक हुँदै गएको छ ।

‘पुराना’ पार्टीका चुनौती र नयाँको भविष्य

नयाँ पार्टीका केही नेता र सांसदले संसद्देखि सामाजिक सञ्जालसम्म भ्रष्टाचारविरुद्ध तथा सुशासन र डेलिभरीका पक्षमा गर्दै आएका भाषण कर्णप्रिय हुँदै गएका छन् । विशेष गरी रास्वपा र जनमत पार्टी, काठमाडौंका मेयर बालेन्द्र शाह, केही बौद्धिक समुदाय र सञ्चारमाध्यम तथा सामाजिक सञ्जालले यस्तो भाष्य निर्माणमा विशेष भूमिका निर्वाह गरेका छन् । ‘पुराना पार्टीले जनअपेक्षा अनुसार राज्य सञ्चालन गरेनन्, नयाँले केही गर्छन् कि ?’ भन्ने भाष्यको शंकाको सुविधा नयाँ पार्टीहरूले पाएका छन् । त्यसैले पुराना पार्टी अहिले प्रतिरक्षात्मक देखिन्छन् ।

के नेपालको राजनीतिक यथार्थता अहिलेको प्रचलित भाष्यजस्तै छ ? पुराना पार्टीको भविष्य र सान्दर्भिकतामाथि प्रश्न उठेकै हो ? के स्थापना मितिका आधारमा पुरानो हुँदैमा सबै पार्टी असफल र असान्दर्भिक तथा नयाँ हुँदैमा सबै पार्टी असल र सान्दर्भिक हुन्छन् ? के पुराना पार्टीको सैद्धान्तिक, वैचारिक र वर्गीय आधार कमजोर भएकै हो ? यिनै प्रचलित भाष्य, प्रश्न र प्रतिप्रश्नका आधारमा पुराना पार्टीका चुनौती र नयाँ पार्टीको भविष्यका बारेमा वस्तुनिष्ठ विश्लेषण गर्ने प्रयास गरिएको छ ।

पुराना कि मूलधारका पार्टी ?

नेपालका प्रमुख शक्तिहरू कांग्रेस विक्रम संवत् २००३ सालमा स्थापना भएको हो भने एमाले २००६ सालमा स्थापित कम्युनिस्ट पार्टीको मूल प्रवाह हो । विभाजन र एकीकरणको आरोह–अवरोहपूर्ण इतिहास भएको माओवादी २०५१ सालमा स्थापित पार्टी हो । २०४७ सालपछि पूर्वपञ्चहरूले राप्रपा गठन गरेका हुन् भने रास्वपा, जनमत र नागरिक उन्मुक्ति पार्टीको इतिहास दुई वर्षभन्दा लामो छैन । तराई–मधेशकेन्द्रित जसपा र लोसपा पनि २०६३ पछि स्थापना भएका हुन् । काठमाडौंका मेयर बालेन्द्र शाहले पनि निकट भविष्यमा पार्टी स्थापना गर्ने सम्भावना देखिन्छ ।

स्थापनाकालका आधारमा कुनै पार्टी नयाँ वा पुरानो हुन सक्छ, तर राजनीतिक दृष्टिले पार्टीको विश्लेषण सिद्धान्त, विचार र नीतिका आधारमा गर्ने गरिन्छ । पार्टीविशेषको सान्दर्भिकता, औचित्य र आवश्यकता उसैको सिद्धान्त, विचार, नीति र नेतृत्वमा निर्भर हुन्छ । त्यो लोकतन्त्रवादी हो कि गैरलोकतन्त्रवादी, उदारवादी हो कि अनुदारवादी, प्रगतिशील हो कि प्रियतावादी, आधुनिक हो कि कन्जरभेटिभ भन्नेचाहिँ राजनीतिशास्त्रसम्मत बहसको विषय हो ।

कुनै पनि पार्टी समयका हिसाबमा पुरानो हुँदैमा निरपेक्ष रूपमा असफल र असान्दर्भिक तर नयाँ हुँदैमा निरपेक्ष रूपमा सान्दर्भिक र असल हुँदैन । कुनै पार्टी नयाँ भएर पनि अलोकतान्त्रिक, अनुदारवादी, कन्जरभेटिभ, प्रियतावादी हुन सक्छ भने कुनै पार्टी पुरानो भएर पनि लोकतन्त्रवादी, उदारवादी, बहुलवादी, प्रगतिशील र जनतामा लोकप्रिय हुन सक्छ । त्यसैले पछिल्लो समय प्रचलित भाष्य नै भ्रामक र पूर्वाग्रही छ ।

कांग्रेस, एमाले, माओवादी लगायत पुराना पार्टी होइनन्, मूलधारका हुन् । स्थापनाकालका आधारमा रास्वपा, जनमत, नागरिक उन्मुक्ति नयाँ पार्टी हुन्, जसले आफूहरू पुराना पार्टीजस्ता नभएको भन्दै वैकल्पिक सोच, संस्कार र नीति अनुसरण गरेको दाबी गर्दै आएका छन् । तर पछिल्लो आम निर्वाचनयताका गैरजिम्मेवार तथा उत्तेजक अभिव्यक्ति, रहस्यमय गतिविधि, दृश्य–अदृश्य रूपमा गरिएका सत्ताको सौदाबाजी र अस्थिर प्रवृत्तिका आधारमा विश्लेषण गर्दा उनीहरू मूलधारका पार्टीभन्दा पृथक् देखिँदैनन् ।

प्रजापरिषद् सबैभन्दा पुरानो पार्टी थियो तर सैद्धान्तिक, वैचारिक र नेतृत्वका दृष्टिले सान्दर्भिक हुन नसक्दा विघटन नै भयो । २०४८ सालपछि देवेन्द्रराज पाण्डे नेतृत्वको लोक दल तथा २०६३ सालपछि उज्ज्वल थापा नेतृत्वको विवेकशील, रवीन्द्र मिश्र नेतृत्वको साझा, बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिसहित धेरै पार्टी अस्तित्वमा आए तर टिक्न सकेनन् ।

पार्टी निर्माणका आधार

पार्टी निर्माणका प्रमुख आधार सिद्धान्त, विचार, संगठन र नेतृत्व हुन् । राज्यसत्ता सञ्चालनका दृष्टिले अलोकप्रिय भए पनि कांग्रेस र एमालेको सैद्धान्तिक, वैचारिक, वर्गीय र सांगठनिक आधार अहिले पनि कमजोर छैन । लोकतान्त्रिक प्रणालीका कारण विकसित सशक्त बौद्धिक समुदाय, नागरिक समाज र ‘क्रिटिकल मास’ ले आलोचनात्मक नै भए पनि कांग्रेस र एमालेलाई नै समर्थन गर्दै आएका छन् । जनता लोकतन्त्रप्रेमी र मध्यम तथा निम्नमध्यम वर्ग करिब ४० प्रतिशत भएकाले लोकतन्त्रवादी, उदारवादी, मध्यमार्गी र बहुलवादी पार्टी कांग्रेसको आधार बलियो देखिन्छ । ४० प्रतिशतभन्दा बढी वामपन्थी मत भएकाले वामपन्थी पार्टीको आधार पनि कमजोर छैन ।

रास्वपा, जनमत, नागरिक उन्मुक्ति लगायतका नयाँ पार्टीको सैद्धान्तिक, वैचारिक र वर्गीय आधार कमजोर र अस्पष्ट मात्रै होइन, कतिपय सन्दर्भमा अन्तरविरोधपूर्णसमेत देखिन्छ । राष्ट्रियता, लोकतन्त्र, गणतन्त्र, संघीयता, समावेशिता, धर्मनिरपेक्षता, अर्थनीति, विदेशनीति लगायतका ज्वलन्त राजनीतिक तथा आर्थिक मुद्दामा नयाँ पार्टीहरूको दृष्टिकोण स्पष्ट छैन । त्यसैले उनीहरूबारे भविष्यवाणी गरिहाल्न कठिन छ ।

जसपा र लोसपाको अलोकप्रियताका कारण जनमत पार्टी क्षेत्रीयताका आधारमा तथा नागरिक उन्मुक्ति पार्टी जातीयताका आधारमा स्थापित भएका हुन् । दुइटै पार्टीको सैद्धान्तिक र वैचारिक आधार कमजोर छ । अर्कातिर, रास्वपाले वाद, सिद्धान्त र विचारधाराको माला जपेर देश नबन्ने दाबी गर्दै आएको छ । रास्वपाले रवि लामिछाने, जनमतले सीके राउत तथा नागरिक उन्मुक्तिले रेशम चौधरीलाई देवत्वकरण गरी पार्टी स्थापित गर्ने रणनीति अख्तियार गरेका छन् । यो रणनीति तत्कालका लागि आंशिक रूपमा सफल भए पनि पार्टीको संस्थागत विकासका दृष्टिले अन्ततः आत्मघाती हुनेछ । किनभने सुदूर भविष्यसम्म पनि ती पार्टी विधिसम्मत र संस्थागत रूपमा सञ्चालन हुने सम्भावना क्षीण देखिन्छ ।

पटकपटक अवसर पाएर पनि डेलिभरी गर्न नसकेका मूलधारका पार्टीहरू र शीर्ष नेतृत्व पंक्तिप्रति जनताको व्यापक असन्तुष्टि, आक्रोश र वितृष्णा भएकाले नयाँ पार्टीहरूले प्रतिक्रियात्मक राजनीतिक लाभांश पाएका हुन् । मूलधारका पार्टीहरूको असफलता तथा अलोकप्रियताबाट सृजित जनआक्रोशको मनोवैज्ञानिक शोषण गरी सत्ताको खेती गर्दा नयाँ पार्टीहरू आफैंले अपेक्षा गरेभन्दा राम्रो परिणाम पाउन सफल भए । तर निर्वाचनमा जनमतको प्रमुख आधार नयाँ पार्टीहरूप्रतिको आशा र अपेक्षाभन्दा पनि पुराना पार्टीहरूप्रतिको असन्तुष्टि, आक्रोश र निराशा हो । नयाँ पार्टीहरूले सकारात्मकभन्दा पनि नकारात्मक मत बढी पाएका छन् । तिनीहरूको सफलता अल्पकालीन, क्षणिक र प्रतिक्रियात्मक हो ।

माओवादी र प्रचण्डको उत्थान र अवसानको इतिहास नयाँ पार्टीहरूलाई शिक्षाप्रद हुन सक्छ । २०६२–६३ को जनआन्दोलन सफल भई लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि माओवादी क्रान्ति र परिवर्तनको शक्तिशाली विम्ब बनेको थियो । एक दशक लामो सशस्त्र संघर्षको नेतृत्व गरेका प्रचण्ड क्रान्तिकारी मिथकजस्तै बनेका थिए । पहिलो संविधानसभा निर्वाचनमार्फत शक्तिशाली र निर्णायक शक्तिका रूपमा स्थापित भएको माओवादी दोस्रो संविधानसभा निर्वाचनमा जनताबाट कसरी तिरस्कृत भएको थियो ? त्यसपछि कहिले कांग्रेससँग त कहिले एमालेसँग चुनावी गठबन्धन गरी सत्ताको सौदाबाजी गरे पनि माओवादीको सैद्धान्तिक, वैचारिक र वर्गीय आधार कमजोर हुँदै गएको छ ।

रास्वपाको राजनीतिक अस्त्र : प्रियतावाद

अन्तर्राष्ट्रिय राजनीति अध्ययन गर्दा, प्रियतावादको लहर एक्काइसौं शताब्दीको प्रारम्भदेखि युरोप–अमेरिकाको आर्थिक संकटसँगै सुरु भएको देखिन्छ । सन् २००५ पछि कि दक्षिणपन्थी, राष्ट्रवादी, प्रियतावादी, अनुदारवादी पार्टीहरू स्थापित भए कि त मूलधारका पार्टीहरूमा पनि दक्षिणपन्थी, राष्ट्रवादी, प्रियतावादी, अनुदारवादीहरू नेतृत्वमा पुग्न सफल भए ।

अमेरिकामा डोनाल्ड ट्रम्प, बेलायतमा बोरिस जोन्सन, भारतमा नरेन्द्र मोदी, ब्राजिलमा जायर बोल्सोनारो, टर्कीमा रिसेप तैयप एर्दोगान, हंगेरीमा भिक्टर अर्बान लगायतका प्रियतावादी नेताहरू मूलधारका पार्टीको नेतृत्व हुँदै सत्तामा पुग्न सफल भए । तर जब उनीहरू सत्तामा पुगे, सबैभन्दा पहिलो आक्रमण लोकतान्त्रिक प्रणाली, संविधान, नागरिक स्वतन्त्रता, विधिको शासन र मानव अधिकारमाथि गरे । त्यसैले प्रियतावाद र अनुदारवाद लोकतन्त्रको सबैभन्दा प्रमुख चुनौतीका रूपमा उदय भएको देखिन्छ ।

फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोंको सन् २०१६ मा स्थापित ला रिपब्लिक एन मार्स र दिल्लीका मुख्यमन्त्री अरविन्द केजरिवालको सन् २०१२ मा स्थापित आम आदमी पार्टी मात्रै अपवादस्वरूप लोकतन्त्रवादी, प्रगतिशील, उदारवादी, मध्यमार्गी, बहुलवादी पार्टीका रूपमा स्थापित भएका हुन् । पार्टी स्थापनाको एक वर्षभित्रै म्याक्रों राष्ट्रपति मात्रै निर्वाचित भएनन्, पार्टीलाई फ्रान्सको सबैभन्दा लोकप्रिय बनाउनसमेत सफल भए । भ्रष्टाचारविरोधी अभियानबाट स्थापित भएको तथा सुशासन र डेलिभरीलाई प्रमुख प्राथमिकता दिएको आम आदमी पार्टीले बीजेपी र कांग्रेसलाई चुनौती दिइरहेको छ ।

राष्ट्रवाद, प्रियतावाद, अनुदारवाद, दक्षिणपन्थको लहर नेपालमा पनि आयो । त्यस्तो लहरले २०७० सालको चुनावमा राप्रपा लाभान्वित भएको थियो । राष्ट्रवाद, प्रियतावाद, अनुदारवादकै सहारामा केपी शर्मा ओली एमालेको अध्यक्ष मात्रै भएनन्, २०७४ सालको निर्वाचनबाट प्रचण्ड बहुमतका साथ सत्तामा पुग्नसमेत सफल भए । त्यसपछि नयाँ शक्ति, विवेकशील, साझा लगायतका पार्टीहरूले पनि प्रियतावादी नाराबाट स्थापित हुने प्रयास गरेका थिए । तर असफल भए ।

जनतामा व्याप्त निराशाको व्यापार तथा प्रियतावादी नाराका सहारामा रास्वपा भने अप्रत्याशित रूपमा स्थापित भयो । रास्वपाले स्थापनाकालदेखि नै भ्रष्टाचार नियन्त्रण, सुशासन र डेलिभरीजस्ता प्रियतावादी नारालाई प्रमुख अस्त्रका रूपमा प्रयोग गर्दै आएको छ । रास्वपा पार्टीगत रूपमा प्रोपगान्डा र नेतृत्वमा स्टन्ट गरी भाइरल हुने प्रवृत्तिले ग्रस्त देखिन्छ । लामो समय अमेरिका बसेर नेपाल फर्किएका रवि लामिछानेले ट्रम्पले जस्तै वैकल्पिक मिडिया तथा सामाजिक सञ्जालमार्फत मूलधारका पार्टी र सञ्चारमाध्यमलाई आक्रमण गर्दै आफू स्थापित हुने रणनीति अनुसरण गरिरहेका छन् ।

रास्वपाका नेता, कार्यकर्ता र समर्थकले आफूसँग असहमत पार्टी र विचारप्रति जसरी असहिष्णु र अराजक टिप्पणी गर्दै आएका छन्, त्यो हेर्दा ऊ लोकतान्त्रिक, उदारवादी र सहिष्णु पार्टी हुने सम्भावना क्षीण छ । नेतृत्वको हालसम्मका अभिव्यक्ति, प्रवृत्ति र मनोवृत्ति हेर्दा रास्वपा प्रियतावादी, अनुदारवादी, दक्षिणपन्थी असहिष्णु धारतर्फ उन्मुख हुने सम्भावना अधिक रहेको देखिन्छ । लामिछानेले जादु र चमत्कारका चर्का भाषण गरिरहेका छन् । तर लोकतान्त्रिक प्रणाली भनेको न चमत्कार हो, न नायकत्वÙ यो त प्रणाली र प्रक्रिया हो ।

तर, प्रियतावाद र राष्ट्रवादको लहर सन् २०२० देखि कमजोर हुँदै गएको छ । प्रियतावाद समाधान होइन, समस्या हो । प्रियतावादी पार्टी वा नेतासँग समस्याको फेहरिस्त हुन्छ, समाधानको सूत्र हुँदैन । त्यसैले प्रियतावादी, दक्षिणपन्थी, राष्ट्रवादी तथा अनुदारवादी पार्टीको भविष्य छैन ।

मूलधारका पार्टीहरूका नयाँ चुनौती

एकातिर २१ औं शताब्दीको परिवर्तित राष्ट्रिय–अन्तर्राष्ट्रिय परिदृश्यमा राजनीतिक, भूराजनीतिक, आर्थिक, सामाजिक, धार्मिक तथा सांस्कृतिक चुनौती अत्यन्त जटिल हुँदै गएका छन्Ù अर्कातिर रास्वपा, जनमत, नागरिक उन्मुक्ति र बालेन्द्र शाहको उदयका कारण कांग्रेस, एमाले, माओवादी लगायतका पार्टीहरूको सैद्धान्तिक, वैचारिक तथा सांगठनिक आधार केही हदसम्म संकुचित भएको देखिन्छ । तिनीहरूको उदयबाट मूलधारका पार्टीहरूलाई राजनीतिक चुनौती बढ्दै गएको तथा अर्थपूर्ण मनोवैज्ञानिक दबाब सृजना भएको छ, तर सामाजिक सञ्जाल तथा सहरकेन्द्रित प्रचलित भाष्यजत्तिको होइन । सामाजिक सञ्जाल र युवा पुस्ताबीचको लोकप्रियता र लहर कति दिगो रहला, त्यो भविष्यको गर्भमा छ, तर तिनीहरूको उदयबाट समयमै शिक्षा लिनु मूलधारकै पार्टीहरूको राजनीतिक स्वास्थ्यका दृष्टिले लाभदायक हुनेछ ।

लोकतान्त्रिक आन्दोलनको सुनौलो इतिहास भए पनि मूलधारका पार्टीहरूप्रति भ्रष्टाचार नियन्त्रण, सुशासन र डेलिभरीका दृष्टिले गम्भीर प्रश्नचिह्नहरू खडा भएका छन् । पटकपटक अवसर पाएर पनि डेलिभरी गर्न नसकेकाले शीर्ष नेतृत्वपंक्ति अत्यन्त अलोकप्रिय छ । मूलधारका पार्टीहरूले आफ्नो सान्दर्भिकता कायम राख्ने हो भने यी प्रश्नहरू निरूपण गर्नु अपरिहार्य छ । सैद्धान्तिक, वैचारिक, नीतिगत र सांगठनिक दृष्टिले आफूलाई रूपान्तरण गरी लोकप्रिय, भिजनरी र ऊर्जावान् नेतृत्व स्थापित गरेनन् भने मूलधारका पार्टीहरूको भविष्यबारे यसै भन्न सकिन्न ।

सुधार र रूपान्तरणको आधार र सम्भावना तुलनात्मक रूपमा कांग्रेसमा बढी देखिन्छ । कांग्रेसमा रूपान्तरणकारी तथा परिवर्तनकारी धार र नेतृत्व प्रभावशाली छ । विगत महाधिवेशनमा पुस्तान्तरणसहितको रूपान्तरणको प्रमुख एजेन्डा बनाएको शेखर–गगन समूह पराजित भए पनि ४० प्रतिशत मत पाएको थियो । बलियो संस्थापन पक्षसग प्रतिस्पर्धा गरेरै गगन थापा र विश्वप्रकाश शर्मा महामन्त्री निर्वाचित भएका थिए । मंसिरको आम निर्वाचन र वैशाखको उपनिर्वाचनपछि सभापति शेरबहादुर देउवा र संस्थापन पक्ष थप कमजोर र अलोकप्रिय भएको छ भने रूपान्तरणकारी र परिवर्तनकारी धारले थप राजनीतिक तथा मनोवैज्ञानिक शक्ति हासिल गरेको छ ।

शेखर कोइराला, गगन, विश्वप्रकाश, प्रदीप पौडेल, गुरुराज घिमिरे, बद्री पाण्डे, जीवन परियार लगायतका नेताले रूपान्तरण, सुधार, शुद्धीकरणका साथै नेतृत्व परिवर्तनका लागि सशक्त आवाज उठाउँदै आएका छन् । कांग्रेसको विधान अनुसार सभापतिको दुई कार्यकाल मात्रै हुने भएकाले आगामी महाधिवेशनबाट नयाँ नेतृत्व आउने निश्चित छ । यस्तो अवस्थामा रूपान्तरणकारी र परिवर्तनकारी धारबाट लोकप्रिय, भिजनरी र ऊर्जावान् नेतृत्व स्थापित हुने सम्भावना प्रबल देखिन्छ । अन्य पार्टीमा नेतृत्व हस्तान्तरणको सम्भावना छैन ।

निष्कर्ष

निरपेक्ष रूपमा न नयाँ पार्टीहरूको भविष्य उज्ज्वल छ, न मूलधारका पार्टीहरूको अन्धकार । न कामना र प्रार्थनाले कुनै पार्टीको भविष्य उज्यालो हुनेछ, न कुनै पार्टीको समाप्त नै । कांग्रेस, एमाले, माओवादी, राप्रपा, जसपा लगायतका मूलधारका पार्टीका चुनौती जटिल छन् । तर सैद्धान्तिक, वैचारिक र नीतिगत सबै दृष्टिले रास्वपा, जनमत, नागरिक उन्मुक्तिजस्ता नयाँ पार्टीका चुनौती झनै जटिल र पेचिला छन् । नयाँ पार्टीहरूप्रति जनताको अपेक्षा उच्च छ, त्यो पूरा गर्न असफल भए तिनीहरूप्रति वितृष्णा बढ्नेछÙ जुन गतिमा नयाँ पार्टीहरूको उदय भएको थियो, त्यही गतिमै अवसान पनि हुन सक्छ । नयाँ पार्टी र नेतृत्वहरू हरेक दिन, हरेक पल जनताको परीक्षामा छन् । तिनीहरू धेरै कठिन अग्निपरीक्षाबाट गुज्रन बाँकी नै छ । सिद्धान्त, विचार, नीति र नेतृत्वको सापेक्षतामै मूलधारका वा नयाँ पार्टीहरूको भविष्य, सान्दर्भिकता र नियति निर्धारण हुनेछ ।

प्रकाशित : भाद्र ७, २०८० ०७:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?