२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९३

पीडितलाई पीडा, आस्थामाथि तमासा

मनमा ‘राम’ पुकारेर सत्कर्म गर्नु नै हाम्रो आस्था जोगाउन काफी छैन र ?
जीवन क्षेत्री

यही भदौ ३ गते नवलपरासीस्थित सीजी धाममा भारतीय ‘गुरु’ तथा स्वघोषित ‘कलियुगका सरकार’ धीरेन्द्र शास्त्रीको ‘दिव्य दरबार’ लागेको थियो ।

पीडितलाई पीडा, आस्थामाथि तमासा

अनेक समस्या बोकेर समाधानका लागि आफूकहाँ आउनेहरूमध्ये एक महिलालाई उनले सोधे, ‘क्या हो जाता है ?’ महिलाले दुईपल्टसम्म भनिन्, ‘नहीं बता सकती ।’ तर लगत्तै उनी भन्छिन्, ‘मैं दो बिमार से परेशान हूँ ।’ शास्त्रीले ‘क्या ?’ भनेर सोधेपछि उनले माइक प्रयोग नगरी दुई रोगको नाम भन्छिन् । भावनामा बगेर उनले घरका अर्का एक सदस्यलाई पनि तिनै रोग लागेको बताउँछिन् र आफ्नो दुःख बिसाउँछिन् । उनले आफैं माइक प्रयोग नगरे पनि विशुद्ध स्वास्थ्यसम्बद्ध संवेदनशील विवरण भिडियोमा प्रस्टै सुनिन्छ ।

त्यसपछि शास्त्रीले माइकमै प्रस्टसँग भन्छन्, ‘हमने तीन बातें लिखीं । परिवार ठीक रहेगा । बच्चे पर कृपा होगी । आपको बिरामी बनी हुई है । गम्भीर हालत है । ... (रोगको नाम) बहुत परेशान करती । दवा असर करेगी । पूर्णतया ठीक हो जायेंगी । आप बालाजी की कृपा से पूर्ण स्वस्थ हो जायेंगी ।’ अर्थात्, सुरुमा गोपनीयताका कारण समस्या भन्न पनि हिचकिचाएकी महिला र उनको परिवारका सदस्यका स्वास्थ्यसम्बन्धी संवेदनशील जानकारी एकैपल्ट त्यहाँ उपस्थित हजारौं र अनलाइन उक्त कार्यक्रम हेर्ने लाखौं मानिसकहाँ पुग्छ ।

बिरामीको गोपनीयतालाई लिएर चिकित्साशास्त्रमा प्रस्ट नियम छ— बिरामीले नचाहेसम्म कसैलाई पनि उसको रोग सम्बन्धी विवरण बताउन पाइँदैन, घरका परिवारलाई समेत । एकैपल्ट कसैको रोग वा समस्याबारे लाखौं मानिसका अगाडि ढ्वाङ फुक्ने त कल्पनै गर्न सकिँदैन । त्यसमा पनि त्यो व्यक्तिको, जो त्यहाँको तमासामा उपस्थित पनि छैन, स्वास्थ्यबारेको संवेदनशील सूचना लाखौं मानिससम्म पुर्‍याउने काम त कदापि क्षम्य हुन सक्दैन ।

त्यसमा पनि मानसिक रोग र कुष्ठरोग लगायतका समस्याहरूबारे, जसले गर्दा बिरामी समाजबाट अनावश्यक रूपमा तिरस्कृत हुने जोखिम हुन्छ, सूचना दिनुअगाडि स्वास्थ्यकर्मीहरू अतिरिक्त संवेदनशील हुनुपर्छ । व्यक्तिलाई रोगले गर्दा जति समस्या भएको हुन्छ, कहिलेकाहीँ समाजमा उक्त रोगबारेको गलत धारणा वा पूर्वाग्रहका कारण त्यसभन्दा बढी क्षति पुगेको हुन सक्छ । कति अवस्थामा त सामाजिक बहिष्करणको अवस्थासमेत हुन सक्छ जसको पीडा कोभिड महामारीका बेला धेरै नेपालीले भोगेका थिए ।

सम्भवतः ती महिलाले व्यक्त गरेको पीडाको एउटा अवयव त्यही खाले सामाजिक बहिष्करण पनि थियो । सम्भवतः रोगको उपचार गराउन जाँदा पाएको हन्डर–ठक्कर र सास्तीबाट हार खाएर उनी कुनै चमत्कारको आशामा शास्त्रीको शरणमा पुगेकी थिइन् । उनलाई लागेको थियो— सायद चमत्कारी बाबाले रोगको नामै नसुनी दिव्यशक्तिमार्फत समस्या चिनेर समाधान दिनेछन् । जब रोगको नाम बताउन कर लाग्यो, उनले माइक भुइँमा राखेर बताइन् ताकि बाबाले बाहेक कसैले नसुनोस् ।

तर जब शास्त्रीले कापीमा आफूले ‘दिव्यशक्ति’ का भरमा लेखेको पढेर सुनाउन थाले, उनलाई सारा संसारलाई सुनाउनु थियो कि महिलालाई पीडा दिएको रोगको नाम उनलाई थाहा थियो । त्यसैले उनले पटक्कै नहिचकिचाई माइकमै रोगको नाम लिए । त्यो पनि दोहोर्‍याएर । त्यसले गर्दा उनका वर्तमान र भावी भक्तहरूका खातामा सायद उनको चमत्कार गर्ने क्षमताप्रतिको विश्वास बढेर गयो तर ती महिलाको जीवनमा जुन समस्या थियो, त्यो सम्भवतः बढेर गयो । उनी र उनको परिवारलाई चिन्ने मानिसहरू, जसलाई उनीहरूको रोगबारे थाहा थिएन, उनीहरूले अब कथित दिव्य दरबारसित कुनै लेनदेन नै नभएका ती महिलाका परिवारका सदस्यको समेत नितान्त व्यक्तिगत र संवेदनशील सूचना पाए ।

कुनै चिकित्सकले यसरी कसैको गोपनीयता भंग गर्‍यो र नेपाल मेडिकल काउन्सिलमा उजुरी पर्‍यो भने उसमाथि कारबाही हुन्छ । तर यी सारा समस्याका समाधानकर्ता बाबासित कुनै चिकित्सकीय डिग्री छैन, त्यसैले उनलाई नियमन गर्ने व्यवस्था पनि छैन । भलै क्यान्सरदेखि पक्षाघात र एचआईभीसम्म भएका मानिसहरू चमत्कारी उपचारका लागि उनीकहाँ पुग्ने गरेका छन् ।

मञ्चमा जब मानिसहरूका समस्याको यस्तो चमत्कारी समाधान भइरहेको थियो, यो देशका एक जनप्रतिनिधि तथा ठूला व्यवसायी विनोद चौधरी दर्शकदीर्घामा बसेर शास्त्रीका अनेक खाले निर्देशनहरू पालना गरिरहेका थिए ।

चौधरीजस्ता नीति–निर्माताको काम मानिसले स्वास्थ्य सेवा लिन खोज्दा पाउने हन्डर–ठक्कर कम गर्नका लागि स्वास्थ्य सेवाको विस्तार र गुणस्तरमा वृद्धि गर्नु हो । सरकारी अस्पतालहरूमा गएपछि गरिबीतिर नधकेलिईकन उपचार पाउन सकिन्छ भन्ने विश्वास मानिसहरूमा हुँदो हो त यस्ता उटपट्याङ बाबाहरूको पछि लागेर कोही हिँड्ने थिएन । सन्तानहीन युवायुवतीदेखि बाथका रोगी वृद्धवृद्धासम्मले बाबाजीको ‘बभूति’ वा कवचमा आफ्नो रोगको उपचार खोज्नुपर्ने थिएन ।

दिनभरजसो दिव्य दरबारको प्रत्यक्ष प्रसारण हेरेपछि मलाई बिझेको अर्को कुरा हो— मानिसको आस्थामाथि गरिएको तमासा । भगवान् वा दैवी शक्तिमा आस्था राख्नु, सनातन धर्म मान्नु एउटा कुरा हो । सम्भवतः सीजी धाममा भीड लगाउनेमध्ये धेरैजसो धर्मभीरु नागरिक नै थिए । तर धार्मिक आस्था हुनु र मानिस प्रेतयुक्त (वा बोक्सा–बोक्सी) हुन्छ भनेर विश्वास गर्नु दुई नितान्त फरक कुरा हुन् । नेपालमा जुनसुकै धर्म मान्न पाइन्छ तर कसैलाई पिशाच वा बोक्सीको आरोप लगाउन, कुटपिट वा हिंसा गर्न पाइँदैन ।

त्यसमाथि अदृश्य ‘सेनापति’ लगाएर कसैलाई कुटपिट गर्नु, घाँटी ङ्याक्नु, पल्टाउनु, हातखुट्टा बाँध्नु —जसको लामो शृंखला सीजी धाममा चलेको थियो — या नाटक हो, या त यातना र मानव अधिकारको हनन । शास्त्रीले भारतका विभिन्न ठाउँमा विभिन्न मितिमा उनै पात्रहरूलाई बोलाउँदै ‘सेनापति’ बाट कुटाउँदै गरेको पुष्टि भएपछि उनले यस्ता भ्रमणहरूमा पेसेवर कलाकारहरूको झुन्ड लिएर हिँड्ने गरेका छन् भन्ने मत भारतीय विश्लेषकहरूको छ । सीजी धाममा देखिएका अतिरञ्जित अभिनयजस्ता दृश्यहरू हेर्दा त्यो विश्लेषण पटक्कै गलत लाग्दैन ।

हामीले स्कुल पढ्ने बेला ‘महेन्द्र माला’ पुस्तकको अन्ततिर एउटा कक्षामा रामायणको पूरै कथाको संक्षेप थियो भने अर्को कक्षामा कृष्णको जीवनको उस्तै संक्षेप । दुवै पढ्दा हामीलाई अलौकिक अनुभव हुन्थ्यो, एक किसिमको शुद्धता र आस्थाको भाव जागृत हुन्थ्यो । तिनै राम र कृष्णका कथामा थपथाप गरेर घरमा आमा र हजुरआमाहरूले अनेक कथा हाल्नुहुन्थ्यो । तिनले हामीलाई चुम्बकले फलाम तानेझैं तान्थे । ती कथाको दिव्यता र भव्यताले हाम्रो कल्पनाशीलतालाई छुट्टै उडान दिन्थ्यो । कथाकारले कथेका कलियुगबारेका अरू कुनै कथा हामीलाई त्यति भव्य लाग्दैनथे ।

सायद त्यही सांस्कृतिक प्रभावले होला, आजका दिनमा पनि म जगजित सिंहका मधुर भजनहरू मग्न भएर सुन्छु । तिनले मनलाई शीतल बनाउँछन् । भारतकै अर्का कथावाचक कवि कुमार विश्वासले भन्ने रामकथाले आजका दिनमा पनि धेरै मानिसलाई कुनै अन्धविश्वासको मार्गतिर लाग्नै नपरी मुग्ध बनाउँछ । हाम्रो सांस्कृतिक विरासतबाट त्यस्तो आनन्द लिन कसैले ‘ब्रह्माण्ड भगवान्ले नै बनाएका हुन्’ भनेर विश्वास नै गर्नु पनि पर्दैन । व्यक्तिगत रूपमा मलाई संसार, विज्ञानले भनेझैं, भौतिक प्रक्रियाबाट सृष्टि भएजस्तो लाग्छ तर मन्दिरमा गएर पूजापाठ गरेपछि आत्मिक शान्ति पाइरहेका मानिसको लाम वा भीड हेर्दा त्यसले मलाई पनि शान्त बनाउँछ । कतिसम्म भने, ढोङ नगरी भगवान् मान्ने मानिसहरूले आपत्विपत्मा आफ्नो आस्थाबाट पाउने आडभरोसा मलाई ईर्ष्यायोग्य लाग्छ किनकि भौतिकवादीहरू त्यस्तो मानसिक आडभरोसाबाट वञ्चित हुन्छन् ।

आखिर जीवनमा कुन दर्शन पत्याउने र कुन पछ्याउने, यी नितान्त व्यक्तिगत छनोटका विषय हुन् । त्यसैले विभिन्न धर्ममध्ये कुन राम्रो अथवा उन्नत वा धर्म मान्ने र नमान्नेमध्ये को सही भन्ने प्रश्नको कुनै सर्वस्वीकार्य जवाफ छैन । अक्सर मानिस जुन समुदायमा जन्मन्छ र हुर्कन्छ, त्यहीँको संस्कृति र धर्म उसलाई स्वाभाविक, राम्रो वा उन्नत लाग्छ । धर्मनिरपेक्ष नेपालमा संविधानको मर्म नै सबै खाले आस्था हुने मानिसलाई आआफ्नो किसिमले बाँच्न दिने र उनीहरूमध्ये कसैलाई काख–पाखा नगर्ने भन्ने हो ।

तर जब कसैले आस्थाका नाममा अन्धविश्वास फैलाउँछ, प्रेत वा अरू कुनै बहानामा अरूको मानव अधिकार हनन गर्छ वा त्यस्तो हननलाई बढावा दिन्छ, आधुनिक राज्यमा त्यस्ता गतिविधि दण्डनीय हुन्छन् । नेपाल र भारतजस्ता देशमा यसै पनि बोक्सीका नाममा महिलाहरूलाई निर्घात कुटपिट गर्नेदेखि मलमूत्र खुवाउने र हत्या गर्नेसम्मका अमानवीय गतिविधिहरू हुने गरेका छन् । कुनै पनि धर्म वा आस्थाका नाममा त्यस्ता घटनालाई बढावा दिने वा तिनका पछि रहेको अन्धविश्वासलाई प्रवर्द्धन गर्ने कुनै पनि गतिविधि दण्डित हुनुपर्छ ।

जति पनि धर्मभीरु नेपाली नागरिकहरू यसपल्ट ‘वागेश्वरधाम सरकार’ को दर्शनका लागि नवलपरासी पुगे, उनीहरू सबैलाई मेरो एउटा प्रश्न छ— मनमा ‘राम’ पुकारेर सत्कर्म गर्नु नै हाम्रो आस्था जोगाउन काफी छैन र ? लोकहितका लागि सर्वस्व त्यागेका रामले आजको नेपालमा नेताहरूलाई सद्बुद्धि दिएर सबै नागरिकका लागि राम्रो स्वास्थ्य सेवा, अब्बल शिक्षा र असल रोजगारीको व्यवस्था गर्दा हुन् कि सबैतिरबाट ठगिएका आम नागरिकलाई प्रेत बोकेको बहानामा अदृश्य सेनापति लगाएर उठबस गराउने, हात बाँधेर पल्टाउने र घाँटी अँठ्याउने काम गर्दा हुन् ?

सीजी धाममा मञ्चबाट धीरेन्द्र शास्त्रीले ‘राम, राम’ भनेर पुकारिरहँदा दर्शकदीर्घाको अघिपट्टि भद्दा अभिनय गरेका कलाकारहरू देख्दा मैले त्यहाँ कुटिलतापूर्वक रचिएको एउटा विद्रूप तमाशा र मानिसको आस्थामाथिको भद्दा मजाकबाहेक केही देखिनँ । त्यस्तै एउटा भद्दा दृश्यमा शास्त्रीको अदृश्य सेनापतिले कलाकारको घाँटी ङ्याकिरहेको थियो तर कलाकारले भने सेनापतिको हात फुत्काउनुको सट्टा आफैं पनि सासनली दबाइरहेको थियो ।

सायद अर्कोपल्टको अभिनयमा उसले त्यो गल्ती सुधार्ला पनि । तर ‘दिव्य दरबार’ का नाममा यसपल्ट कथित शाश्वतधाममा जुन तमाशा भयो, त्यसले नेपालीहरूको आस्थामाथि गरेको भद्दा मजाकका कारण पुगेको सांस्कृतिक क्षति छिट्टै मेटिनेवाला छैन ।

प्रकाशित : भाद्र ६, २०८० ०७:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?