१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५२

कर्मचारीको मानसिक स्वास्थ्यको सवाल

नकारात्मक भावनाहरूलाई समयमै ख्याल नगर्दा र त्यसपछि उत्पन्न हुने तनाव व्यवस्थापन नगर्दा जोखिम बढ्ने मनोविद्हरूले बताएका छन् । कार्यस्थलमा कर्मचारीको मानसिक स्वास्थ्यलाई बढावा दिए मात्र उत्पादकता बढ्ने अध्ययनहरूले देखाइसकेका छन् ।
शिक्षा रिसाल

कुनै व्यक्तिले आफ्नो जीवनकालको एकतिहाइ समय कार्यस्थलमा बिताउँछ, चाहे त्यो काम उसको रुचिको होस् या मात्रै आम्दानीको स्रोत । मनोविज्ञान भन्छ— व्यक्तिले जहाँ धेरै समय बिताउँछ, त्यो स्थान र वातावरण एवं त्यहाँका सहकर्मीहरूको व्यवहारले उसको मानसिक स्वास्थ्यमा प्रत्यक्ष–अप्रत्यक्ष प्रभाव पारिरहेको हुन्छ । विश्व जनसंख्याको ६० प्रतिशत सक्रिय रूपमा रोजगारीमा छ ।

कर्मचारीको मानसिक स्वास्थ्यको सवाल

यी सबै कामदार र कर्मचारीलाई आआफ्ना काममा सुरक्षित र स्वस्थ वातावरण पाउने अधिकार छ । उनीहरूले आफ्नो कामबाट जीविकोपार्जन मात्र नभएर वृत्तिविकास, आत्मविश्वास र उपलब्धिसमेत चाहेका हुन्छन् । कार्यस्थलको वातावरण सकारात्मक हुँदा उत्पादकत्वमा सुधारसमेत हुन्छ । त्यसैले अचेल विश्वव्यापी रूपमै काम गर्ने ठाउँमा मानसिक स्वास्थ्यबारे बहस गरौं भन्ने कुरा उठिरहेको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले पनि कार्यस्थलमा मानसिक स्वास्थ्य भनेर निर्देशिका जारी गरिसकेको छ ।

डब्लूएचओका अनुसार, कार्यस्थलमा महसुस हुने भेदभाव र असमानता, अत्यधिक कामको बोझ, जागिरको असुरक्षा र काम गर्ने वातावरण कर्मचारीको मानसिक स्वास्थ्यका लागि जोखिमको प्रमुख कारक हो । सन् २०१९ मा डब्लूएचओले प्रकाशित गरेको एउटा रिपोर्ट अनुसार, १८–४० वर्ष उमेर समूहका १५ प्रतिशत मानिसमा विभिन्न मानसिक समस्या देखिएका छन् । अधिकांशमा डिप्रेसन, एन्जाइटी र तनाव भएको मात्रै रिपोर्टमा उल्लेख छैन, विश्वभर फैलिएको जटिल मानसिक स्वास्थ्य समस्याका कारण हरेक वर्ष १ खर्ब अमेरिकी डलर बराबरको उत्पादकत्वसमेत घट्दै गएको छ ।

मानिसहरू जसरी शारीरिक रूपमा फरकफरक हुन्छन्, मनोविज्ञान पनि व्यक्तिपिच्छे भिन्नाभिन्नै हुन्छ । कोही अलि भावनात्मक हुन्छन्, संवेदनशील हुन्छन्; कोही कठोर प्रवृत्तिका हुन्छन् । कुनै अप्रिय घटनाले कोही व्यक्तिलाई थोरै मात्रै असर गर्न सक्छ भने कोहीलाई धेरै दिनसम्म बिथोलिरहन सक्छ ।

आफ्नै अनुभव सुनाउँछु । म संवेदनशील छु । र मलाई यसमा कत्ति पनि ग्लानि छैन । म त खुसी छु । भावना, संवेदना, सहानुभूति हराइरहेको संसारमा संवेदनशील मान्छे भएकामा म आफूमाथि गर्व गर्छु । तर मैले देखे–सुने–भोगेकी पनि छु, संवेदनशील मान्छेले हरेक क्षेत्रमा संघर्ष गर्नुपर्छÙ कार्यक्षेत्रमा त झन् पाइलापाइलामा चुनौतीको सामना गर्नुपर्छ । कार्य वातावरण र सहकर्मीहरूको व्यवहारले संवेदनशील मानिसको मानसिक स्वास्थ्यमा झन् चाँडै असर गर्छ ।

केही समयअघि मलाई एक प्रतिष्ठित संस्थामा काम गर्ने अवसर मिलेको थियो । लामो समयपछि दैनिक काममा फर्किन पाउँदा म निकै उत्साही थिएँ । तर, त्यो उत्साह, उमंग केही महिनामै सेलाउँदै गयो । आधा दर्जनभन्दा बढी संस्थामा काम गरिसकेकी मलाई त्यो वातावरणमा घुलमिल हुन समय लाग्यो । सायद त्यसको कारण पनि मानसिक स्वास्थ्यप्रतिको मेरो व्यक्तिगत धारणा नै थियो । मेरो धारणा र अरूको बुझाइबीच कतिपय अवस्थामा मेल खाँदैनथ्यो । मानसिक स्वास्थ्यबारे खुलेरै बहस हुनु/गरिनुपर्छ भन्ने सामान्य हेक्कासम्म नभएको र मानसिक स्वास्थ्यलाई नै मजाक बनाइने समूहमा घुलमिल हुन खोजिरहेकी थिएँ म । मानिसहरू हेरफेर भइरहे तर जति प्रयास गर्दा पनि मलाई त्यो वातावरणमा एक्लो मात्रै महसुस भइरह्यो । कति बेला लाग्थ्यो, यो वातावरणमा घुलमिल हुन नसक्नु मेरै कमजोरी पो हो कि ? फेरि कति बेला सोच्थें, कार्यस्थलमा आफ्नोबारेमा धेरै ‘रियल’ हुनु हुँदैनथ्यो कि ? जे भए पनि त्यहाँ मानव मनोविज्ञानबारे केही कुरा राम्रैसँग महसुस गर्ने मौका मिल्यो । त्यसैले अरू खासै गुनासो छैन किनकि मानसिक स्वास्थ्यबारे बुझ्नु र बुझाइनुपर्ने पाटाहरू धेरै छन् ।

केही समयअघि न्युजिल्यान्डकी प्रधानमन्त्री जसिन्डा आर्डेनले ‘अब ममा ऊर्जा बाँकी छैन’ भन्दै आफ्नो पदबाट राजीनामा दिइन् । लामो समयदेखिको मानसिक थकान अर्थात् ‘बर्नआउट’ का कारण आफूले आराम गर्न र समय आफ्नो परिवारसँग बिताउन चाहेको उनले खुलेरै बताइन् । दुई वर्षअघि जापानकी प्रख्यात लन टेनिस खेलाडी नाओमी ओशाका ओलम्पिक जस्तो प्रतिष्ठित खेलमा सहभागी भइनन् । उनले आफ्नो मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राख्ने उल्लेख गर्दै आफू मानसिक रूपमा खेल खेल्न तयार नभएको बताइन् । उनको भनाइलाई बहुचर्चित मिडियाहरूले हेडलाइन बनाए । यी दुई उदाहरणले पनि आफ्नो काम, कार्य वातावरणले व्यक्तिविशेषको मानसिक स्वास्थ्यमा कस्तो असर गरिरहेको हुन्छ भन्ने प्रस्ट पार्छन्Ù आफूमा भैरहेको मानसिक परिवर्तनबाट बेलैमा कसरी सजग हुने भनी बाटो पनि देखाउँछन् ।

विज्ञहरूका अनुसार, अवसाद, तनाव र चिन्ता जस्ता मानसिक स्वास्थ्य समस्याहरू उब्जिनुमा वातावरणले महत्त्वपूर्ण भूमिका खेल्छ भन्ने स्वीकार गर्नु नै त्यसप्रति सचेतताको पहिलो चरण हो । आफूमा आइरहेको मानसिक परिवर्तन, भावनात्मक चुनौती पहिचान गर्नु अर्को मुख्य चरण हो । तपाईंले कस्तो महसुस गरिरहनुभएको छ र ती भावनाहरूलाई केले उत्प्रेरित गर्छ भन्ने कुरालाई ध्यान दिनु आफ्नो मानसिक स्वास्थ्यका लागि निकै आवश्यक छ ।

पछिल्लो समय केही ठाउँ जागिरका लागि सोधिने प्रश्नमा केही नयाँ प्रश्न समावेश भएका छन् । जस्तो— ‘तपाईंको कमजोरी र तागत केके हुन्’ बाहेक ‘अब तपाईं आफ्नो तनाव व्यवस्थापन कसरी गर्नुहुन्छ ?’ वा, ‘मानसिक रूपमा थकित महसुस भएका बेला आफूलाई सम्हाल्न केकस्ता प्रयास गर्नुहुन्छ ?’ यो परिवर्तनले कार्यस्थलमा व्यक्तिविशेषमा उत्पन्न हुने तनावले सबै काम र उसले लिने जिम्मेवारीमा कसरी असर गर्छ र यसको व्यवस्थापन कत्तिको महत्त्वपूर्ण हो भन्ने प्रस्ट पार्छ । त्यस्ता कार्यस्थलले प्रश्न त समावेश गरे तर कुनै कर्मचारीको तनाव व्यवस्थापनका लागि केके प्रयासहरू गरिरहेका छन् ?

केही कर्पोरेट हाउसका प्रमुख कार्यकारीहरूलाई मैले यसबारे सोधेकी थिएँ । एक आईटी कम्पनीका प्रमुखले आफूहरू वर्षको एक पटक पिकनिक जाने गरेको बताए । अर्का एक संस्थाका निर्देशकले एनिभर्सरी, तीज, दसैं, तिहार लगायतमा बोनस दिने गरेको सुनाए । अन्य केहीले चाहिँ तनाव व्यवस्थापन भनेर खासै केही नगरिएको भन्दै यसबारे सोच्नुपर्ला भने । केही विद्यालयका प्रिन्सिपलले भने यस्तो कामका लागि बजेट छुट्याइएको छैन भन्ने जवाफ दिए ।

विकसित मुलुकहरूले अचेल कार्यस्थलमा मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्नुपर्छ भनेर कर्मचारीहरूबीच हप्ताको एक चोटि राउन्ड टेबल छलफल, परामर्श, ध्यान शिविर, योग, खेलकुद सञ्चालन गर्ने गर्छन् । तर आर्थिक मन्दीको बहानामा सामान्य तलब खुवाउन सक्ने अवस्थासमेत नभएका बेला मानसिक स्वास्थ्यमा लगानी गर्ने र यस्ता प्रशिक्षण सञ्चालन गर्ने वातावरण नभएको व्यवसायीहरूले स्विकारेका छन् ।

आर्थिक मन्दी, द्वन्द्व, जलवायु परिवर्तनका कारण पनि विश्व अहिले चरम निराशातिर धकेलिँदै गएको छ । कुनै पनि व्यक्तिले आफूलाई बुझ्नुपर्ने र आफ्नो जीवनमा आइपर्ने तनावलाई व्यवस्थापन गरी यसबाट बच्नुपर्ने समय हो यो । तर पनि हामी धेरैजसो यो अवस्थालाई बेवास्ता गरिदिन्छौं । हामी कतिपयले त भावनात्मक परिवर्तनबारे बुझेका पनि छैनौं । आफ्ना नकारात्मक भावनाहरूलाई समयमै ख्याल नगर्दा र त्यसपछि उत्पन्न हुने तनाव व्यवस्थापन नगर्दा जोखिम बढ्ने मनोविद्हरूले बताएका छन् । त्यसैले कार्यस्थलमा भोगिने तनावलाई बेवास्ता गर्नु हुन्न । आफूले सबैभन्दा धेरै समय बिताउने कार्यस्थलमा हामी मानसिक रूपमा स्वस्थ हुनु धेरै आवश्यक छ । विश्वभरका कार्यस्थलहरूमा मानसिक स्वास्थ्य सचेतना र छलफलहरू अनिवार्य बनिसकेका छन् । कार्यस्थलमा कर्मचारीको मानसिक स्वास्थ्यलाई बढावा दिए मात्र उत्पादकता बढ्ने अध्ययनहरूले पनि देखाइसकेका छन् ।

मानसिक स्वास्थ्यलाई स्वीकार र सम्बोधन गर्नुलाई अन्तर्राष्ट्रियस्तरमै कार्य वातावरणको अत्यावश्यक अंगका रूपमा मान्यता दिइएको छ । त्यसैले हरेक मानिसले आफ्नो ख्याल राख्नुका साथै थप समानुभूतिपूर्ण भई अघि बढ्नुपर्ने समय आएको छ । किनकि स्वस्थ मस्तिष्क उत्पादनशील हुन्छ । कुनै वातावरणमा व्यक्तिविशेष आफ्नो मानसिक स्वास्थ्यबारे खुलेर बोल्न सक्दैन भने उसका लागि अनुकूलता बनाइदिनु समाज र राज्यको दायित्व हो ।

हामीले कार्यस्थलमा देख्ने–भोग्ने गरेका केही साझा दृश्य छन् । जस्तो कि, गल्ती भयो भने हाकिमले सबैका अघि गाली गरिदिन्छन्, तर कहिलेकाहीँ काम राम्रो लाग्यो भने प्रशंसाका दुई शब्द पनि उनको मुखबाट निस्किँदैनन् । त्यसको ठ्याक्कै उल्टो गर्न अर्थात् गल्ती भए एक्लै बोलाएर सम्झाउने र राम्रो गरे सबैका अघि प्रशंसा गर्ने गर्न सकिँदैन र ? यही एउटा परिवर्तनकै कारण पनि कर्मचारीको मनोबल उच्च हुन सक्छ । नेपालमा मानसिक स्वास्थ्य क्षेत्र सुधारका लागि गर्नुपर्ने काम धेरै छन् । यो सुरुआती यात्रामा आफ्नो कार्यस्थलमा एकअर्कालाई साथ दिने, कुरा सुनिदिने, राम्रो गरे सबैका अघि नै प्रशंसा गरिदिने जस्ता सामान्य काम त हामी आफैंबाट पनि थाल्न सक्छौं कि ?

अक्सर मान्छेहरू मानसिक स्वास्थ्य शब्दावली सुन्नेबित्तिकै व्यक्तिविशेषलाई ‘पागल’ वा ‘बहुला’ भनेर ‘जजमेन्टल’ बनिदिन्छन् । यही डरले पीडितहरू खुलेर बोल्न सक्दैनन् । कर्पोरेट हाउसहरू बिस्तारै यन्त्र बनिरहेका छन् । मानवीय मूल्य र संवेदनालाई यन्त्रका पार्टपुर्जाझैं ठान्न थालिएको छ । यन्त्रले अंक पो पढ्छ, भावभंगिमा पढ्न त मान्छे नै चाहिन्छ । हामी यन्त्र बन्नुअघि मान्छे बनौं ।

रिसाल मनोस्वास्थ्य अभियन्ता हुन् ।

प्रकाशित : श्रावण २९, २०८० ०८:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?