उदाउनेहरूको अनिश्चय
अहिले फर्केर हेर्दा, त्यति बेला एक जना राजनीतिक अपरिचितले, बिनाकुनै दलीय समर्थन अकस्मात् उदाएर राजधानी सहरको मेयर पदमा निर्वाचन जित्नु सामाजिक रूपमा रोमाञ्चक घटना थियो ।
तत्कालीन सन्दर्भमा बालेन शाहको मेयरमा विजयलाई काठमाडौंका जनताले पुराना दलको अकर्मण्यताप्रति देखाएको प्रतिक्रियाका रूपमा मात्र अर्थ्याइएको थियो । ठीक यसरी नै हो भन्ने ‘हाइपोथेसिस’ त कति सत्य हुन्छ थाहा छैन, तर रवि लामिछानेले नेतृत्व गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उभार बालेनको उदयबाट प्रेरित थियो भन्ने केही हदसम्म त्यति बेलै प्रस्ट देखिन्थ्यो । यस लेखले बालेनको उदयपछिका पन्ध्र महिनामा नेपाली समाजले देखिने गरी नै आफ्नो राजनीतिक रुझान कसरी फेरिरहेको छ भनेर चर्चा गर्नेछ । र, समाजको त्यो फेरिँदो रुझान र पुराना ठूला दलहरूको बढ्दो मानसिक व्यग्रताबीच कतै हाम्रो समग्र राजनीतिले आफ्नो चरित्र नै फेर्न लागेको त होइन भनेर एक–दुईवटा प्रश्नलाई सैद्धान्तिकीकरण गर्नेछ ।
घाम अस्ताएको सबैलाई थाहा हुन्छ । वरिपरि अँध्यारो भएको हुन्छ । तर राजनीतिबाट नेताहरू अस्ताएको अक्सर थाहा पनि हुँदैन । किनकि कतिपय नेता अस्ताउँदा वातावरण अँध्यारो हैन, बरु कतै नयाँ बिहानीको उज्यालो आउन लागेको भान हुन्छ । विगत दशककै केही पात्र सम्झौं त । मोहन वैद्य, सीपी गजुरेल भन्नेहरू थिए; सीपी मैनाली र कमल थापाहरू पनि थिए । बाबुराम भट्टराईका लागि पनि लगभग भूतकालकै वाक्य प्रयोग गरे हुन्छ । सार्वजनिक स्मृतिले प्रायः मान्छेहरू उदाएको सम्झन्छ, अस्ताएको हैन ।
अहिले हामी पहिले बालेन र पछि रवि उदाएको सम्झिराखेका छौं । एमालेलाई अझ सानो नबनाई र आफ्नो शरीर चल्न सकुन्जेल अध्यक्ष पद त छाड्नेवाला छैनन् तैपनि पंक्तिकारको मूल्यांकनमा खड्गप्रसाद ओली पनि अस्ताउन सुरु भइसकेका पात्र हुन् । कांग्रेस सभापति शेरबहादुर देउवा त झन् दशकौंदेखि अस्ताएपछिको अँध्यारोमै राजनीति गरिरहेका मानिस हुन् । देउवा र ओलीको सत्ता लुछाचुँडीमा ओजहीन बनाइएको प्रधानमन्त्रीको पगरी आफ्नो टाउकामा पारेका पुष्पकमल दाहाल भने अस्ताउनका लागि डाँडामाथि पुगेको २०७० सालमा हो । झुक्याउँदै, घुर्क्याउँदै डाँडामै अडिने टेको फेर्न पाएका कारण मात्र उनको नाम अहिले यी पंक्तिहरूमा लेख्नुपरेको हो ।
दुई दशकदेखि आलोपालो गरेर सत्तामा रजाइँ गरिरहेका राजनीतिक पात्रहरूको अकर्मण्यता र भ्रष्टताले नेपाली समाजलाई यति वितृष्ण बनाएको अवस्था छ कि, यिनीहरूका अनुहार सार्वजनिक रूपमा देखिइरहनाले समेत नागरिकलाई राजनितिप्रति झोंक बढाइरहेको छ । कसैले सर्भे गर्यो भने रमाइलो परिणाम आउँथ्यो होला– थप नराम्रो केही नगरे पनि, प्रत्येक पटक प्रचण्ड, ओली र देउवाका अनुहार मात्र टेलिभिजन र पत्रिकामा देखिँदा, या यिनीहरूका भाषण प्रत्येक पटक सुन्नुपर्दा, कति हजार थप नेपालीले अर्को पटक माओवादी, एमाले र कांग्रेसलाई त झन् कुनै हालतमा भोट नदिने मन बनाउँछन् होला ?
यहाँनेर, दोहोरिने तर ‘पर्सपेक्टिभ’ का लागि सम्झनैपर्ने एउटा प्रसंग छ— यदि कांग्रेस, एमाले, माओवादी र मधेशी दलले आन्तरिक रूपमा लोकतन्त्रको अभ्यास इमानदारीका साथ गरेका हुन्थे भने ती दलहरूमा सायद नेतृत्वको पूरै पंक्ति नै अहिलेको भन्दा अर्को आएको हुन्थ्यो । र त्यहाँ नेतृत्वको अनुहार मात्र यदि नयाँ हुन्थ्यो भने त्यसले कम्तीमा नयाँ सम्भावनालाई बोकेको हुन्थ्यो र ‘पुराना’ भन्ने विशेषण ती दलका लागि गालीको अर्थमा प्रयोग हुने थिएन । यदि आन्तरिक लोकतन्त्र भएको हुन्थ्यो भने, अहिले देखिएका दोस्रो–तेस्रो पुस्ताका केही आशा बाँकी राखेका अनुहार मात्र होइन, तीभन्दा पनि बाहेकका नयाँ अनुहारहरू समाजका अरू क्षेत्रबाट त्यहाँ आएका हुन सक्थे । तर त्यस्तो हुन सकेन ।
निर्धक्क भएर भन्दा, यो सबैको परिणाम के भयो भने, तिनै पुराना दलमा उदाउन नपाएर कक्रिँदै पालो पर्खेर बसेका वैकल्पिक नेतृत्व पंक्तिभन्दा दृष्टिकोण नै साँघुरो भएका वा हुँदै नभएका, इतिहासको राजनीतिक चेत नभएका र समग्र बौद्धिक धरातल समथर भएका सतही प्रतिनिधि पात्रहरूबाट अहिलेको नेपालले आफ्नो भाग्य परिवर्तन गर्ने गहिरो अपेक्षा गरेर बसेको छ । जजसको र जेजे कारणबाट भए पनि, देशमा अहिले ती पात्रहरूबाट आशा गरेर पर्खिबस्नेको जनसंख्या उल्लेख्य भएको हाम्रो सामाजिक यथार्थ हो । यही यथार्थले नेपालको सामाजिक–राजनीतिक चरित्र बदलिरहेको छ । राजनीतिको परिभाषा नजानुपर्नेतिर गइराखेको छ । एउटा समाजमा एउटै युगमा थरीथरी राजनीतिक प्रवृत्तिहरू सुषुप्त रूपमा घर बसाइरहेका हुन्छन् । समाजभित्र उही समयमा उदार, उत्तरदायी र आदर्श प्रवृत्तिहरू हुन्छन् र त्यहीँभित्र उही समयमा पछाडि फर्कन खोज्ने, सतही र पपुलिस्टहरू पनि हुन्छन् । २०८० को दशकको नेपाली राजनीति कुन प्रवृत्तिलाई डोर्याउने खालको होला भन्ने प्रश्न महत्त्वपूर्ण छ ।
यस लेखको केन्द्रीय दृष्टिकोणका लागि तीनवटा मुख्य बुँदालाई अगाडि राखेर हेरौं । पहिलो, मेयर निर्वाचित हुँदाताकाका बालेन र पन्ध्र महिनापछिका बालेनको बढ्दो राजनीतिक रुझान र ‘राष्ट्रवादी’ महत्त्वाकांक्षाले उनले गर्न खोजेको राजनीतिबारे धेरै कुरा बताउन थालिसकेको छ । बालेनको झुकावले मात्र धेरै अर्थ राख्दैनथ्यो । उनका समर्थक, निजी महत्त्वाकांक्षा र भविष्यका निर्वाचनमा उनका सम्भावित प्रतिस्पर्धी शक्तिहरूको रुझान हेर्दा नेपाली राजनीतिमा नौला प्रवृत्तिहरू स्थापित भइरहेका छन् । र यो काठमाडौंका मेयरका कारण भएकाले उपत्यकामा सीमित ‘फेनोमेना’ मात्र होइन ।
दोस्रो, रास्वपासँग न इतिहासलाई हेर्ने दृष्टिकोण होला, न भविष्य कसरी बनाउने भन्ने । तर यो यथार्थ उसको कमजोरी होइन । यही नै उसको खास सामर्थ्य हो । रास्वपाका सभापतिदेखि अरू धेरै नेतासम्म साँच्चै नै केही भन्न लागेका हुन् कि जसरी धेरै बेर बोल्ने उर्जा राख्छन् तर बोलेर सकिएपछि के बोले त भनेर सम्झन खोज्दा त्यहाँ ‘कन्टेन्ट’ खास केही पनि हुँदैन । कम्युनिस्टको भाषामा होइन, तटस्थ नेपाली अर्थमा भन्दा, बालेन र रास्वपाहरू राम्रा प्रतिक्रियावादी शक्ति हुन् ।
तेस्रो, माथिका दुई बुँदाका कारण कांग्रेस, एमाले र माओवादी स्वयम् प्रतिक्रियावादी हुँदै गइरहेका छन् । प्राविधिक मापनमा शक्तिका रूपमा हेर्दा बालेन त त्यही एउटा सहरका मेयर मात्र हुन्, जसले अहिलेसम्म पार्टी पनि खोलेका छैनन् । रास्वपा पनि संसद्मा आखिर चौथो शक्ति न हो । तर कांग्रेस र एमालेका दुवै पितृ र पुत्र (महिलाहरूलाई त त्यसै पनि कहाँ ठाउँ दिएका छन् र !) पुस्ताका नेताहरूका सार्वजनिक अभिव्यक्तिमा उनीहरूमा बढ्दै गएको ‘सर्भाइभल’ को बेचैनी प्रस्ट देखिन्छ । फरक यत्ति हो, तीमध्ये कोही अलिकति लाज राखेर, अप्रत्यक्ष रूपमा बोलिराखेका छन् । कोहीकोही वस्त्रको चिन्ता नमानी नामै काढेर नयाँहरूलाई सत्तोसराप गरिराखेका छन । यसलाई समग्रमा मिलाएर भन्दा, नेपालका अहिलेका प्रायः सबै राजनीतिक दल प्रतिक्रियावादमा खुम्चिएका बिचराहरू मात्र हुन् ।
फेरिँदै गएको राजनीतिको चरित्रमाथि चिन्ता गर्नुपर्ने यहीँनेर छ । नेपाली राजनीतिले समाजका आदर्श प्रवृत्तिलाई बाहिर ल्याउने नैतिक सामर्थ्य गुमाउँदै, कतै उजागर गर्दा राम्रो नहुने मानवीय प्रवृत्तिलाई मलजल त गरिराखेको छैन ? नयाँहरू पुरानालाई ‘जसरी भए पनि’ विस्थापित गर्ने ध्याउन्नमा छन् र पुरानाभित्रका नयाँहरू जसरी भए पनि आफ्नो पुस्तामार्फत नयाँ दलहरूलाई धेरै ‘स्पेस’ बनाउन नदिने प्रयत्नमा छन् ।
वेगवान् प्रकृतिको यस्तो चौतर्फी प्रतिक्रियावादी प्रतिस्पर्धाबीच, अधीर नेपाली समाजले २०८४ का स्थानीय र आम निर्वाचनसम्म अहिलेकै जस्तो व्यग्रतामा पर्खेर जनादेशको सम्प्रभुता कसलाई सुम्पेलान् भन्ने विषय राजनीतिक र मनोवैज्ञानिक मात्र नभएर समाजशास्त्रीय दृष्टिकोणले पनि रोचक छ । यसले समाज चेतनशील हुँदै जानु भनेको के रेहछ त भन्ने प्रश्नमा घोत्लिनका लागि एउटा आँखीझ्याल पनि उपलब्ध गराउँछ, जसरी डोनाल्ड ट्रम्पको उदय र पुनरुदयले अमेरिकी समाजलाई चिन्न सघाएको छ । जसरी महात्मा गान्धी र जवाहरलाल नेहरूले बनाएर छाडेको भारतीय समाजको चेतना ५० वर्ष ‘अगाडि’ बढ्दा कति पछाडि पुगेछ भनेर बुझ्न नरेन्द्र मोदीको उदयले बताएको थियो ।
अहिलेको काठमाडौंको जनसंख्यामा मूलतः दुइटा त्यस्ता प्रमुख हिस्सा छन् जसले नेपाली कांग्रेस र वामपन्थी दलहरूलाई मनोवैज्ञानिक तहबाटै मन पराउँदैनन् । तीमध्ये पहिलो हिस्सा इतिहासदेखि शासकसँग लसपस गर्दै, चाकरी गर्दै, आफ्नो धेरथोर क्षमता र अधिकतम भक्तिभावको प्रतापले खाईपाई आएको वर्ग हो । त्यस समुदायले कांगेस र वामपन्थीलाई मन नपराउनुको प्रमुख कारण पहिले पञ्चायतलाई र पछि राजतन्त्रलाई इतिहासबाटै बिदा गराए भनेर हो । विगतका बीस–तीस वर्षमा यो समुदायले चाकरी कांगेस र वामपन्थी नेताहरूकै गरेको छ । समाजवादी र ‘सर्वहारावादी’ लाई ‘आइस्योस्–गइस्योस्’ भन्न लगाएर जिब्रो फेर्न सिकाएको यही तप्काले हो । तर ऊभित्रबाट यी दलहरूलाई देखिसहँदैन । किनकि पुराना सम्भ्रान्तलाई मान्ने मनोवैज्ञानिक सहजता नयाँलाई मान्नुपर्दा हुँदैन । मूलतः राजावादी मनोवृत्तिको यो वृत्त सतहमा त राजनीतिक रूपमा कांगेस र वामपन्थी दलहरूको समर्थकका रूपमा पनि फैलिएको छ, तर मेरो आकलनमा, बालेनहरूजस्तालाई अगाडि सार्दा मनोवैज्ञानिक सहजता अनुभव गर्ने एउटा हिस्सा यही हो, जसको ‘वेभ’ काठमाडौंबाहिरसम्म सजिलै पुगेको छ ।
दोस्रो हिस्सा देशभरका खास गरी सहरिया युवाको हो जसले ‘पुराना’ दलहरूलाई मन पराउनुपर्ने खास कारण नै छैन । तिनीहरू हुर्कंदा देशमा लोकतन्त्र र गणतन्त्र थियो, देशमा द्वन्द्व थिएन । तिनीहरूले देख्दा थियो भने जताततै बेथिति र भ्रष्टाचार थिए, पुराना दलहरूका अकर्मण्यताका कथाहरू सामाजिक सञ्जालवरिपरि थिए । र एउटा रोचक तथ्य त के पनि छ भने, अहिलेको नेपाली नयाँ पुस्ताको अधिकतम पंक्तिले समाजवाद र अरू वामपन्थी शब्दावली केही बुझ्दै बुझ्दैन । राजनीतिबाटै खाईपाई आएको परिवारको सदस्यले अलिकति लाज राख्नु एउटा कुरा, नत्र भने आजका दिनमा देउवा, ओली र प्रचण्डबाट प्रेरित भएर कोही सचेत युवा राजनीतिमा उनीहरूको पछि लाग्न आएछ भने त्यो नै अध्ययनका लागि एउटा अनौठो विषय हुन सक्छ । यसको हिस्सा ठूलो भएको समाजमा पुराना दलहरूप्रति वितृष्णा बढ्नु स्वाभाविक हो ।
हामी मानिस सरल होइन, ‘कम्प्लिकेटेड’ प्राणी हौं । हाम्रा सामाजिक व्यवहार र क्रियाकलापहरू हाम्रो चेतन मनले भन्दा अवचेतनद्वारा बढी निर्दिष्ट हुन्छन् र कहिलेकाहीँ आफैंले गरेका सामाजिक कार्यको भित्री ‘मोटिव’ आफैंले थाहा नपाएका हुन सक्छौं । कतिपय राजनीतिक अभियन्ता हेर्दाहेर्दै, कुनै सचेत निर्णय नगरीकनै पपुलिस्ट धारतिर बगिरहेका हुन सक्छन् । समाज अनुसार कुन मुद्दाले मानिसलाई सजिलै उक्साउन सक्छ भनेर पपुलिस्टहरूले जोखाना हेरेर बसेका हुन्छन् र बेला आयो भन्ने लागेपछि त्यही विषयलाई हतियार बनाउँछन् । पपुलिस्टहरूले समाउने प्रायः गरेर ‘आफ्नो’ समुदायलाई हो । जस्तो, भारत भनेको हिन्दुको मात्र ‘आफ्नो’ थियो, मुस्लिमहरू आएर इतिहासमा हाम्रो संस्कृति छिन्नभिन्न पारेका थिए, अब त्यसलाई सच्याउनुपर्छ भन्ने दक्षिणपन्थी ‘पपुलिजम’ मोदीको मूल अस्त्र हो । यस्ताले संस्कृति भनेको आफ्नो मात्र श्रेष्ठ देख्छन्, राष्ट्र भनेको ‘आफ्नो’ समुदायको मात्र होस्जस्तो ठान्छन् ।
नेपाली समाज पहिले विभिन्न राजनीतिक आन्दोलनहरूका कारण तरंगित भइराखेको हुन्थ्यो । अहिले ऊ छिट्टो केही भइदेओस्, नयाँ कोही आइदेओस्, भविष्यप्रति आशा जाग्ने केही भइदेओस् भन्ने बेचैनीले तरंगित छ । एक–दुई महिना र वर्षमा धेरैले अनुभूति गर्न सक्ने त्यस्तो गुणात्मक परिवर्तन ल्याइदिन सक्ने न कसैसँग कुनै दृष्टिकोण होला, न त दृष्टिकोण नै भए पनि त्यति छिट्टो त्यो सम्भव होला ।
त्यस्तो स्थितिमा जनमतलाई आफूसँग राखिराख्न ‘भीडबाट लिड’ हुनेहरूले राजनीति डोर्याउने हुन् कि आफूले विश्वास गरेको आदर्शको राजनीति जनतालाई बुझाउने नैतिक साहस भएकाहरू हावी हुने हुन्, अबका केही वर्षको हाम्रो राजनीतिक चरित्र त्यसैले परिभाषित गर्नेछ । पुराना दलका व्यथित पात्रहरू त अब विस्थापित हुने प्रक्रिया सुरु भई नै सक्यो; नयाँ र पुराना दलमध्येबाटै पनि कुन प्रवृत्ति प्रतिनिधित्व गर्ने पात्रहरू राष्ट्रिय राजनीतिको मूलप्रवाह भएर उदाउलान् भन्ने मात्र प्रस्ट हुन बाँकी हो ।
प्रकाशित : श्रावण २६, २०८० ०७:१७