नास्ट रूपान्तरणका कार्यसूची

अनुसन्धान संस्थामा प्रशासकीय नेतृत्व हावी हुने र अनुसन्धानभन्दा प्रशासकीय जनशक्ति अधिक हुने नेपालका अनुसन्धान संस्थाहरूको रोग नास्टमा पनि देखिन्छ । नास्टमा अनुसन्धानकर्ता र प्रशासकीय कर्मचारीको अनुपात अन्तर्राष्ट्रिय प्रचलनअनुरूप मिलाउनका लागि जनशक्ति व्यवस्थापन योजना चाहिन्छ ।
उत्तमबाबु श्रेष्ठ

रिक्त भएको करिब सात महिनापछि नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) मा उपकुलपतिको चयन भएको छ । नयाँ उपकुलपति चयन यस्तो बेला भएको छ, जति बेला नास्ट लगायतका सरकारी संस्थानहरूप्रति आम विश्वास घट्दो छ । छुट्याइएको बजेटसम्म खर्च गर्न असमर्थ र आफ्नै अस्तित्व जोगाउन संघर्षरत संस्थाका रूपमा नास्टको नाम छापाहरूमा छाइरहेको छ ।

नास्ट रूपान्तरणका कार्यसूची

देशव्यापी रूपमा विज्ञान पढ्ने विद्यार्थीको संख्या घट्दो छ । भविष्यमा वैज्ञानिक हुन सक्ने युवा जनशक्ति बिदेसिने क्रमले नयाँ रेकर्ड राखेको छ । त्यसकारण नास्टको नयाँ नेतृत्वसँग उक्त संस्थाको खस्कँदो गरिमालाई उकास्ने मात्रै होइन, देशको विज्ञान र प्रविधिका क्षेत्रमा आशाको सञ्चार गराउने जिम्मेवारी यतिखेर थपिएको छ ।

सामान्यतया देशको राष्ट्रिय विज्ञान प्रतिष्ठानको काम वैज्ञानिक उत्कृष्टताको पहिचान र संवर्धन गर्नेÙ प्रमाणमा आधारित नीतिनिर्माणका लागि सरकारलाई सल्लाह दिनेÙ वैज्ञानिक अनुसन्धान र सहकार्यको विस्तार गर्नेÙ विज्ञान, प्रविधि र नवप्रवर्तनको प्रचारप्रसार गर्ने हो । नास्ट ऐन–२०४८ हेर्दा उक्त संस्थाको स्थापना यस्तै उद्देश्यहरूका साथ भएको देखिन्छ । थप, नास्टले स्वदेशी प्रविधिको संरक्षण र आधुनिकीकरण गर्ने र देशका लागि उपयुक्त विदेशी प्रविधि पहिल्याउने उद्देश्य पनि राखेको छ । तथापि स्थापनाको चार दशकसम्म पनि नास्ट उद्देश्यअनुरूप परिणाममुखी काम देखाउन चुकेको छ । त्यसकारण यतिखेर नास्टको पुनःसंरचना, पुनजागृति र रूपान्तरण जरुरी छ ।

समावेशी, बहुविधागत उत्कृष्टताको केन्द्रमा रूपान्तरण

वैज्ञानिक उत्कृष्टताको संवर्धन गर्न नास्टमा विज्ञान तथा प्रविधि क्षेत्रमा उत्कृष्ट योगदान गरेका दुई जनालाई प्रत्येक दुई वर्षमा प्राज्ञका रूपमा मनोनयन गरिन्छ । तर नास्टमा मनोनीत प्राज्ञ आजीवन प्राज्ञ हुन्छन् । नास्टका प्राज्ञहरूको शैक्षिक पृष्ठभूमि हेर्दा, त्यहाँ भौतिकशास्त्र, रसायनशास्त्र, जीवविज्ञानजस्ता प्राकृतिक विज्ञान र इन्जिनियरिङ पृष्ठभूमिका प्राज्ञहरूको बाहुल्य छ । विदेशी र गैरआवासीय नेपाली नास्टको प्राज्ञ हुन अयोग्य हुन्छन् । वैज्ञानिक एकेडेमीको मस्तिष्क मानिने प्राज्ञ सदस्य चयनको यस्तो प्रणालीले नास्टलाई एकांगी र असमावेशी मात्रै बनाएको छैन, त्यहाँ नयाँ विधाको प्रवेशलाई र अन्तर्राष्ट्रिय वैज्ञानिक अन्तरघुलनलाई समेत रोकेको छ । संसारभरका एकेडेमीका सदस्यहरू निश्चित समयका लागि (जस्तै— अमेरिकामा चार वर्षका लागि) मनोनीत गरिन्छन् । मनोनयनमा उत्कृष्टतासँगै समावेशिताको सिद्घान्तलाई अंगीकार गरिएको हुन्छ । त्यसकारण नास्टले पनि प्राज्ञहरूको कार्यावधि निश्चित समयको बनाउन, समाज विज्ञानका विधाहरू समेट्न एवं विदेशी र गैरआवासीय नेपालीले पनि नास्टको प्राज्ञ सदस्यका रूपमा मनोनीत हुन पाउने गरी ऐन संशोधन गर्न जरुरी छ । त्यसो भएमा नास्ट अहिलेभन्दा बढी समावेशी, अन्तर्राष्ट्रिय प्रतिनिधित्व भएको बहुविधागत एकेडेमीमा रूपान्तरण हुन सक्नेछ र यसका प्राज्ञहरूले आफ्नो प्राज्ञिकताप्रति थप गर्व गर्न सक्ने अवस्था हुनेछ । विज्ञानमा विविधताले उत्कृष्टता जन्माउँछ भन्ने हेक्का नास्ट जस्ता संस्थाको नेतृत्वले राख्नुपर्छ ।

वैज्ञानिक अनुसन्धान र सहकार्यको विस्तार

वैज्ञानिक अनुसन्धान र सहकार्यको प्रवर्धन नास्टको दोस्रो महत्त्वपूर्ण अभिभारा हो । नेपालजस्तो सीमित स्रोत र साधन भएको देशमा विज्ञान, प्रविधि र नवप्रवर्तनका क्षेत्रमा गरिने लगानीले समाजोपयोगी ज्ञानको उत्पादन र प्रविधिको विकास गर्न सकेमा मात्रै त्यसलाई न्यायोचित ठहर्‍याउन सकिन्छ । त्यसका लागि अनुसन्धानबाट उत्पादित ज्ञान सान्दर्भिक र विश्वसनीय हुन जरुरी छ । तर नास्टमा भएका अनुसन्धानहरू व्यक्तिकेन्द्रित, छरपस्ट र दिशाहीन लाग्छन् । कतिपयले विश्वसनीयता हासिल गर्न सकेका छैनन् त कतिपय असान्दर्भिक छन् । देशको आवश्यकता र विकास प्राथमिकतासँग मिल्ने गरी वैज्ञानिक अनुसन्धानको रणनीति तयार गर्न वैज्ञानिक, नीतिनिर्माता र निजी क्षेत्रका प्रतिनिधिहरूबीच नियमित छलफल गरी नेपालका लागि ५–१० वर्षसम्म गर्न सकिने अनुसन्धानका विषयहरू छनोट गरेर (जस्तै— होराइजन स्क्यान विधि) अनुसन्धानलाई प्राथमिकीकरण गर्न जरुरी छ । त्योसँगै नास्टले विभिन्न विश्वविद्यालय, निजी र सार्वजनिक रूपमा सञ्चालित प्रयोगशाला र अनुसन्धान केन्द्रमा उपलब्ध स्रोत, क्षमता र मानव संसाधानको परिचान र मूल्यांकन गरी यथोचित जिम्मेवारीको बाँडफाँट गर्दै अनुसन्धान सहकार्यमार्फत बृहत् सामूहिक नतिजा निकाल्ने वातावरण बनाउनुपर्छ । विज्ञान–प्रविधिको चुचुरो संस्था भनेर दाबी गर्ने संस्थाको दृष्टिकोण चुचुरोबाट देखिनेजस्तै विराट् हुन जरुरी छ ।

सरकारलाई विज्ञान सल्लाह दिने थिंक ट्यांक

वर्तमानमा नास्टका प्राज्ञहरू र प्राज्ञसभाको भूमिका नास्टभित्रै खुम्चिएको जस्तो देखिन्छ । मुलुकको वैज्ञानिक क्षेत्रको उपल्लो स्वायत्त निकायको भूमिका सरकारलाई नीति र कार्यक्रमहरू बनाउँदा तथ्य र प्रमाणमा आधारित सल्लाह र सुझाव दिन सक्ने हुनुपर्छ । त्यसका लागि वायु प्रदूषण, जलवायु परिवर्तन, हरित ऊर्जाजस्ता जल्दाबल्दा विकासका मुद्दाहरूमा भएका अनुसन्धानहरूको नीति–उपयोगी संश्लेषण हुन र त्यसलाई नीति–सान्दर्भिक (पोलिसी रेलभेन्ट) बनाउन जरुरी छ, जसमा नीतिनिर्माता र ज्ञान–उत्पादकबीच सहकार्य आवश्यक पर्छ । नास्टले त्यसमा नेतृत्वदायी वैज्ञानिक थिंक ट्यांकको भूमिका खेल्न सक्छ, किनभने एकेडेमीको प्राज्ञसभा भनेको सिद्घान्ततः मुलुककै उत्कृष्ट प्राज्ञिक व्यक्तित्वहरूको समूह हो ।

राष्ट्रिय प्राथमिकतामा विज्ञान–प्रविधि

नेपालमा वैज्ञानिक क्षेत्र उपेक्षित भएको यथार्थ हो । त्यसैले बन्दै गरेको नेपालको १६ औं योजनामा विज्ञान, प्रविधि र नवप्रवर्तनलाई प्राथमिक क्षेत्रका रूपमा राख्नुपर्छ । साथै राष्ट्रिय विज्ञान, प्रविधि तथा नवप्रवर्तन निति–२०७६ लाई समयानुकूल संशोधन गर्न र प्रस्तावित विज्ञान, प्रविधि तथा नवप्रवर्तन कोष विधेयक–२०८० लाई नास्टको उद्देश्य र भूमिकाअनुरूप परिमार्जन गर्न आवश्यक छ । त्यसका लागि नास्टले सहयोगीका रूपमा होइन, पहलकर्ताको भूमिकामा आफूलाई उभ्याउन जरुरी छ । त्यसो गरिएमा विज्ञान–प्रविधि देशको विकास रणनीति, कार्ययोजना र नीतिको मूलधारमा आउन सक्छ ।

साथै अहिले नेपालका छिमेकीहरू चीन र भारत विश्वकै वैज्ञानिक क्षेत्रको नेतृत्वदायी भूमिकामा देखिँदै छन् । छिमेकी देशहरूको प्रगतिबाट नेपालले लिन सक्ने वैज्ञानिक लाभका क्षेत्रहरू पहिचान गरी दुई देशका एकेडेमीहरूसँग घनिष्ठ सम्बन्ध बनाएर क्षेत्रीय महत्त्वका विषयहरूमा वैज्ञानिक अनुसन्धान सहकार्यलाई अघि बढाउन आवश्यक छ । त्यसका लागि नास्टले परराष्ट्र मन्त्रालय र गैरआवासीय नेपाली संघजस्ता निकायसँगको सहकार्यमा विज्ञानमा अग्रणी र नेपालसँग ऐतिहासिक सम्बन्ध भएका देशहरू चीन, भारत, अमेरिका र बेलायतका नेपाली दतावासहरूमा कम्तीमा एक जना विज्ञान कूटनीतिज्ञ राख्ने प्रबन्धका लागि अहिले नै प्रयास बढाउन आवश्यक छ ।

विज्ञान शिक्षाको गुणस्तरमा सुधार

शिक्षालाई गुणस्तरीय, वैज्ञानिक र आलोचनात्मक चेतयुक्त बनाउनको विद्यालयदेखि विश्वविद्यालयसम्मका विज्ञान सम्बन्धी पाठ्यक्रमहरूको वैज्ञानिकता र सान्दर्भिकताको मूल्यांकन समयसमयमा हुनुपर्छ । त्यसका लागि नास्टले त्यहाँका प्राज्ञसम्मिलित अध्ययन कार्यदल बनाएर पाठ्यक्रम विकाससम्बद्ध निकायहरूलाई नियमित सुझाव दिने परिपाटी बसाल्न सकेमा मात्र विज्ञान शिक्षा विश्वसनीय र सान्दर्भिक बनाउन सकिन्छ । साथै नास्टले विद्यालयस्तरका विज्ञान शिक्षकहरूको क्षमता अभिवृद्घिका लागि पाठ्यक्रम तथा अध्ययन सामग्रीहरूको निर्माण गर्न सकेमा विज्ञान शिक्षालाई गुणस्तरीय र समायानुकूल बनाउन मद्दत पुग्नेछ । साथै अटोमेसन, कृत्रिम बौद्घिकी, मेसिन लर्निङ, डेटा साइन्स, दिगोपना विज्ञानजस्ता विज्ञान–प्रविधिका नयाँ विधाहरूबारे देशभित्र अध्ययन, प्राध्यापन र अनुसन्धान गर्नका लागि त्यस्ता विषयका वैज्ञानिक जनशक्ति नास्टमा भित्र्याउने र विभिन्न विश्वविद्यालयसँग सहकार्य गरी त्यस्ता विषयहरूमा अध्ययन र अनुसन्धान गराउन पहल गर्ने काममा नास्टको ध्यान जानुपर्छ । साथै, नेपाललाई भूगोलले साथ दिएका क्षेत्रहरू — जस्तै : जैविक विविधता, जलवायु परिवर्तन, आनुवांशिक स्रोत, जलस्रोत, नवीकरणीय ऊर्जा, पर्वतीय विज्ञान लगायत — मा दीर्घकालीन अनुसन्धान (लंगिच्युडिनल स्टडिज) को कार्यक्रम सुरु गर्ने कामको नेतृत्व लिन सकेमा नास्टको गरिमा बढ्न सक्छ । यस्ता पहलकदमीले देशमा घट्दै गएको विज्ञान शिक्षाप्रतिको आकर्षण र प्रतिभा पलायनको समस्यालाई केही हदसम्म हल गर्न सक्छन् ।

विज्ञानको प्रचारप्रसार र अनुसन्धान वातावरण निर्माण

नास्टले विज्ञान, प्रविधि र नवप्रवर्तनको प्रचारप्रसार गर्नका लागि विज्ञान मेला, विज्ञान प्रदर्शनी, मोबाइल एप्सहरूको प्रतिस्पर्धा लगायतका युवाकेन्द्रित कार्यक्रमहरूको सञ्चालन वार्षिक क्यालेन्डर नै बनाएर गर्न सक्छ । साथै छद्म विज्ञान, विज्ञान सम्बन्धी मिथ्या सूचना र भ्रमको खण्डन गर्न एवं सत्यतथ्य वैज्ञानिक सूचना दिने एकाइ नास्टभित्र खडा गर्न सकेमा त्यसले विज्ञानको प्रचारप्रसार, वैज्ञानिक चेतनाको विकास र वैज्ञानिक सत्यको पैरवीमा मद्दत गर्छ ।

देशभित्र प्रकाशित भइरहेका जर्नलहरूको उत्कृष्टता, गुणस्तरीयता र निरन्तरताका लागि जर्नल प्रकाशन सम्बन्धी मापदण्ड र प्रकाशनका लागि सहयोगी वातावरण बनाउने कामको नेतृत्व नास्टले लिन जरुरी छ । सँगै नेपाली अध्येता र विदेशका अध्येताहरूका नेपाल सम्बन्धी अनुसन्धान प्रकाशनहरूलाई एउटै थलोमा पाइन सक्ने अनलाइन संग्रहको सुरुआत गर्न सके त्यसले अनुसन्धानमा निकै सहयोग गर्ने थियो । देशको अनुसन्धान वातावरणमा हाल तगारोका रूपमा रहेको वैज्ञानिक जर्नलहरूमा नेपाली अध्येताको पहुँचको समस्या हल गर्न राष्ट्रिय रूपमा एकीकृत सब्स्क्रिप्सन प्रणाली (जस्तै— वान नेसन वान सब्स्क्रिप्सन) लागू गर्न सकिन्छ । एकातिर अध्येताहरू जर्नलका लेख पढ्नबाट वञ्चित हुने र अर्कातिर वैज्ञानिक संस्थाले बजेट खर्च गर्ने ठाउँ नपाउने विडम्बनापूर्ण स्थितिको अन्त्य गर्नका लागि पनि जर्नलमा पहुँच बनाउने काममा कसैले पहलकदमी लिन जरुरी छ र यसमा नास्ट नै उपयुक्त संस्था हुन सक्छ ।

अहिले नेपालको सूचना प्रविधिका क्षेत्रमा आशाको किरण देखा पर्न थालेको छ । तर यस क्षेत्रसँगको सहकार्य र सामीप्यमा नास्ट कतै देखिँदैन । सूचना लगायत प्रविधिका क्षेत्रमा सफलता प्राप्त गरिरहेका निजी कम्पनीहरूसँग सहकार्य गरीÙ प्रविधिका क्षेत्रमा देखिएका कम्पनी दर्ता, पेटेन्ट, लगानी लगायतका समस्याको पहिचान गरी तिनलाई हल गर्न सरकार र निजी क्षेत्रबीचको पुलका रूपमा नास्टलाई विकास गरिनुपर्छ । त्योसँगै प्रदेश सरकारको समन्वयमा प्रत्येक प्रदेशमा स्टार्ट अप, वैज्ञानिक नेतृत्व विकास एकाइ, मेकरस्पेस, इन्कुवेटर सेन्टर बनाउने कामको समन्वयकारी भूमिकामा नास्ट लाग्नुपर्छ ।

अन्त्यमा, अनुसन्धान संस्थामा प्रशासकीय नेतृत्व हावी हुने र अनुसन्धानभन्दा प्रशासकीय जनशक्ति अधिक हुने नेपालका अनुसन्धान संस्थाहरूको रोग नास्टमा पनि देखिन्छ । त्यसका लागि नास्टमा अनुसन्धानकर्ता र प्रशासकीय कर्मचारीको अनुपात पनि अन्तर्राष्ट्रिय प्रचलनअनुरूप मिलाउनका लागि जनशक्ति व्यवस्थापन योजना चाहिन्छ । नास्टभित्र गरिने वैज्ञानिक अनुसन्धानको गुणस्तर र सान्दर्भिकता बढाउन नास्टका अध्येताहरूको कार्यप्रगति मापन गर्न एउटा सूचकांक बनाई त्यसका आधारमा अध्येताहरूका लागि आवश्यक उत्प्रेरणाका कार्यक्रमहरू सञ्चालन हुन जरुरी छ । सँगै त्यहाँ अनुसन्धानरत जनशक्तिलाई प्रयोगशाला समूहको अवधारणा अन्तर्गत लैजाने र नास्टका अनुसन्धानकर्ता पनि पीएचडी र मास्टर्स थेसिसको सुपरभाइजर हुन मिल्ने गरी विश्वविद्यालयसँग समझदारी गर्ने हो भने त्यहाँका अनुसन्धानकर्ताले थप उत्प्रेरणा पाउने मात्रै होइन, वैज्ञानिक अनुसन्धानको दायरा फराकिलो हुन र सहकार्य बढ्न सक्छ । यस्ता कार्यसूची थुप्रै हुन सक्छन् तर केही वर्ष यस्ता काम गर्न सकेमा नास्टको पुनःसंरचना, पुनर्जागृति र रूपान्तरणका लागि महत्त्वपूर्ण कदम हुन सक्छ ।

प्रकाशित : श्रावण २५, २०८० ०८:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनबारे संसदीय छानबिन समिति गठन गर्ने/नगर्ने विवादले प्रतिनिधि सभा फेरि अवरुद्ध भएको छ । संसद् चलाउन के गर्नुपर्ला ?