२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४९

वैकल्पिक राजनीतिको विमर्श

हिंसात्मक क्रान्तिबाट परिवर्तन चाहने दल कानुनी शासन अन्तर्गत मुलुक सञ्चालनमा असफल भएका छन् । अब शान्तिपूर्ण वैकल्पिक राजनीतिक दलको विकास आवश्यक छ । त्यस्तो गुणस्तरका सभ्य, धैर्यवान् र ज्ञानी नेता छन् कि छैनन्, योचाहिा सबभन्दा महत्त्वपूर्ण प्रश्न हो ।
कटक मल्ल

केही वर्षयता नेपालमा वैकल्पिक राजनीतिक दलहरू गठन, विघटन र पुनर्गठन भइरहेका छन् । पछिल्लो आम निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी अप्रत्याशित रूपमा (२१ सांसदसहित) नेपाली संसद्को चौथो ठूलो दल भएको छ । रास्वपाले संसद्मा सैद्धान्तिक अडान लिन्छ कि मात्र रणनीतिक खेल खेल्छ, हेर्न बाँकी छ ।

वैकल्पिक राजनीतिको विमर्श

यो पार्टीले मूलधारका कांग्रेस र कम्युनिस्ट पार्टीभन्दा वैकल्पिक राजनीतिको दाबी गरेको छ । अर्थशास्त्री डा. स्वर्णिम वाग्ले र बैंकर अनिलकेशरी शाह यो पार्टीमा सामेल भएका छन् । सभापति रवि लामिछाने केही विवादित भए पनि वाग्ले र शाहले आफ्नो क्षेत्रमा सीप प्रमाणित गरिसकेका छन् ।

‘विवेकशील नेपाली’ पार्टीका पूर्वसंयोजक नेता उज्वल थापा (जसको कोभिडका कारण निधन भयो) र उनको दलका अन्य नेतसँग मैले वैकल्पिक राजनीति र दलहरूको आन्तरिक लोकतन्त्रका विषयमा धेरै पटक कुराकानी गरेको थिएँ । पछिल्लो समय वैकल्पिक राजनीतिको आख्यान प्रारम्भ गर्ने व्यक्ति डा. बाबुराम भट्टराई हुन् । भट्टराईले ‘नयाँ शक्ति’ सुरु गरेपछि उनीसँग छोटो कुराकानी भएको थियो । कट्टरतावादी साम्यवादको बारेमा पुनर्विचार गरेकामा उनको प्रशंसा हुनुपर्छ । व्यक्तिगत रूपमा मेरो कुनै राजनीतिक महत्त्वाकांक्षा छैन । नेपालमा वैकल्पिक राजनीति र आलोचनात्मक सोचका विचार प्रवर्द्धन गर्न मेरो रुचि छ । चार दशकदेखि घरदेश र परदेशमा मैले राजनीतिलाई नियालेको छु ।

रास्वपाले राजनीतिक प्रतिबद्धता, आर्थिक नीतिको स्पष्टता, भ्रष्टाचारविरुद्ध लड्ने रणनीति, सुस्पष्ट परराष्ट्र नीति विषयमा स्पष्ट पार्न आवश्यक छ । सबैभन्दा पहिले रास्वपाको सामाजिक ‘कित्ता’ के हो, कुन सामाजिक वर्गको प्रतिनिधित्व गर्ने वा सामाजिक न्याय कसरी स्थापना गर्ने ? स्पष्ट नीति चाहिन्छ । पुँजीवाद र खुला बजार भनेको अधिकतम संख्याका जनताका लागि अधिकतम खुसी हो । सबैलाई धनी बनाउने प्रणाली संसारमा छैन । त्यसैले नेपाली ‘संवैधानिक समाजवाद’ अन्तर्गत सबैलाई धनी कसरी बनाउने भन्ने स्पष्ट नीति सार्वजनिक गर्न आवश्यक हुनेछ । लोकवाद (पपुलिज्म) र यथार्थवादी नीति (कार्यहरू) बीच कसरी सन्तुलन राख्न सकिन्छ ? सोच्नुपर्ने देखिन्छ । पार्टीले निःशुल्क शिक्षा र स्वास्थ्य सेवालाई सुनिश्चित गर्न चाहन्छ भनेर मात्र पुग्दैन, यी दुवै सेवालाई सञ्चालन गर्न कहाँ र कसरी आर्थिक स्रोत जुटाउने भन्ने पनि जनतालाई स्पष्ट बताउनुपर्छ ।

निर्वाचनमा भाग लिई विजय प्राप्त गरेर सरकार गठन गर्न एकजुट भएका मानिसको संग्रह राजनीतिक दल हो । जीवन प्रणालीको नसा र धमनी (आर्टिरिज एन्ड भेन्स) जस्तै दलहरूले राजनीतिक रक्तसञ्चारको काम गर्छन् । दलले कुनै एक वा अर्को राजनीतिक विचारधारामार्फत जनअभिव्यक्ति एकत्रीकरण गर्दै सत्ताप्राप्ति र जनता–सरकारबीचको सम्बन्ध कायम गर्ने हो । वास्तवमा राजनीति सिद्धान्तभन्दा पनि व्यावहारिक अनुभव हो । सिद्धान्तले अभ्यास हेर्न मद्दत गर्छ र अभ्यासको अवलोकनले सिद्धान्त निर्माण गर्न सघाउँछ भन्ने आधारमा ‘राजनीतिज्ञहरूको इमानदारी, आचरण र जनताको अत्यावश्यकताको सिद्धान्त’ उपयोगी हुन्छ । अर्थात्, राजनीति र नैतिकतालाई छुट्टाछुट्टै सम्झने वा व्यवहार गर्नेहरूले कहिले पनि जनहित गर्दैनन् । कुनै पनि पार्टीले नराम्रो काम गर्न खोजेको भन्दैन । त्यसैले पार्टीहरूको इमानदारी जनताको अत्यावश्यकतासँग मिल्छ वा मिल्दैन भन्ने कसीबाट हेर्नुपर्छ ।

इमानदारी र निष्ठा विद्यमान र वैकल्पिक दल स्थापना गर्न खोज्नेहरूको आत्मचिन्तनको आधारभूत विषय हुन् । पारदर्शी, सत्य बोल्ने, इमानदारी प्रदर्शन गर्ने र दोहोरो बोली नबोल्ने राजनीति सफल हुन्छ । नेपालमा राजतन्त्र राम्रोसँग चलेको थिएन । मुलुक राजतन्त्रबाट गणतन्त्रमा रूपान्तरण भएको छ । तैपनि गणतन्त्र राम्रोसँग चलिरहेको छैन । कुनै बेला निर्दलीय व्यवस्था चलेन । अहिले बहुदल पनि राम्रो चलेको छैन । संसदीय व्यवस्था राम्ररी चल्न सकेको छैन । प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय सक्रिय वैकल्पिक प्रणालीमा छलफल भइरहेको छ । यस्तो अवस्थामा जनताको आधारभूत आवश्यकताको पूर्ति र वैकल्पिक राजनीति चाहनेहरूको निराशा बुझ्न सकिन्छ । वैकल्पिक राजनीतिको सान्दर्भिकता र प्रासंगिकता प्रमाणित भएको छ ।

चुनौतीपूर्ण परम्परागत राजनीति

संसारमा परम्परागत रूपमा मूलतः रूढिवाद, उदारवाद र मध्यमार्गी, पुँजीवादी र साम्यवादी राजनीतिक विचारधारा छन् । देशको आन्तरिक अवस्था अनुसार यी विचारधारामा उपविचारहरूको भिन्नता हुन्छ । मूलधारका राजनीतिक दलले वैकल्पिक विचारका चुनौतीको संसारभर सामना गरिरहेका छन् । यो लेख्दै गर्दा अमेरिकाको पछिल्लो समाचार सान्दर्भिक छ । रोबर्ट एफ केनेडी जुनियरले आगामी सन् २०२४ को निर्वाचनमा राष्ट्रपति बाइडेनलाई डेमोक्र्याट पार्टीभित्रबाट चुनौती दिइरहेका छन् । केनेडीको मुख्य वैकल्पिक एजेन्डा हुन्– सेन्सरसिपको विरोध, नागरिक स्वतन्त्रताको रक्षा, सरकारी सुधार, वातावरण, अर्थतन्त्र पुनरुत्थान र राष्ट्रिय ऋणको सामना, युक्रेन र रक्षा खर्च । केनेडी सफल हुनेछन् वा छैनन् त्यो फरक प्रश्न हो । वैकल्पिक विचार कसरी तयार हुन्छ भन्ने महत्त्वपूर्ण छ । जेरेमी कोर्बिनले ‘टाइम फर रियल चेन्ज’ भन्ने नाराका साथ सन् २०१९ मा बेलायती लेबर पार्टीको घोषणापत्र सार्वजनिक गरे तर चुनाव जित्न सकेनन् । कोर्बिनमाथि ब्रिटिस सञ्चारमाध्यम कठोर थियो किनभने उनी बेलायतमा आमूल परिवर्तन चाहन्थे । केनेडीलाई अमेरिकी मिडियाद्वारा अवरुद्ध गरिएको छ भनिन्छ । अमेरिका र बेलायती उदाहरण वैकल्पिक राजनीतिको सफलता र असफलताको सम्झनलायक उदाहरण हुन् ।

स्विडेनसहित धेरै पश्चिमी युरोपेली र उत्तर युरोपेली देशमा वैकल्पिक राजनीति राष्ट्रवादी जातिवाद उन्मुख छ । धेरै युरोपेली देशमा ‘ग्रिन’ पार्टीहरू पर्यावरण संरक्षण, निशस्त्रीकरण र युद्धविरोधी राजनीतिक एजेन्डाका आधारमा सत्तामा थिए । रुस–युक्रेन युद्धले उनीहरूको एजेन्डा अपेक्षाभन्दा कमजोर बनाएको छ । ग्रीसका भूतपूर्व अर्थमन्त्री यानिस भारोफाकिसले (सन् २०१६ देखि) ‘डेमोक्रेसी इन युरोप मुभमेन्ट’ (डीआईएम २५) युरोपको पहिलो अन्तरदेशीय आन्दोलन स्थापना गरेका छन् । ‘ग्रिन न्यु डिल फर युरोप’ अभियानको उद्देश्य वातावरणीय न्यायको साझा दृष्टिकोण पछाडि युरोपका समुदाय, युनियन, पार्टी र कार्यकर्तालाई एकताबद्ध गर्ने हो । भारतमा अरविन्द केजरीवालले दिल्ली र पन्जाबमा एक दशकमै आफ्नो राजनीति स्थापित गरेका छन् । भारतीय जनता पार्टीको वर्चस्वले प्रतिपक्ष र वैकल्पिक राजनीति दुवैका लागि कठिन छ । सन् १९७० को दशकमा जयप्रकाश नारायणले सर्वोदय आन्दोलन गरेका थिए तर सफल हुन सकेन । सफल पार्टीको स्थापना राष्ट्र निर्माणको एउटा पाटो हो । नेपालमा धेरैले पार्टी निर्माण सुरु गरेका छन् तर थोरै सफल भएका छन् । समाजमा ठोस परिवर्तनका लागि राजनीतिक दल बनाउन कम्तीमा एक पुस्ता लाग्छ ।

भ्रष्ट राजनीतिक संस्कृति

नेपालको राजनीतिक इतिहासमा सन् १८४६ मा जंगबहादुर राणा सत्तामा नआएसम्म (ब्रिटेनमा ‘विग’ एन्ड ‘टोरी’ पार्टीहरूजस्तै) थापा, पाण्डे र बस्न्यात परिवार एकअर्काका लागि वैकल्पिक राजनीतिक दल थिए । राणा शासनकालमा शासक परिवारलाई मूलतः तीन वर्गमा (‘ए’, ‘बी’, ‘सी’) विभाजन गरिएको थियो, जसले एकअर्काका लागि विकल्पको रूपमा (वा सत्ताधारी र विपक्षी दलहरू) काम गर्‍यो । विश्व इतिहासमा नेपालको एउटा अनौठो चरित्र यो हो कि त्यहाँ वंशानुगत राजा र वंशानुगत प्रधानमन्त्री थिए । तत्कालीन राजनीतिक संस्कृतिको बारेमा डायमण्डशमशेरले ‘सेतो बाघ’ उपन्यासमा ‘कप्तान–केशर’ र ‘सुब्बा–भोला’ नामक दुई पात्रमार्फत सजगतापूर्वक वर्णन गरेका छन् । यी दुई पात्र ‘सात र सत्र भाइ’ राणासँग झूट बोल्छन्, छल र षड्यन्त्र गर्न मद्दत गर्छन् । यो नेपाली राजनीतिको अविच्छिन्न आपसी दुस्मनी संस्कार भएको छ । दलहरू एकअर्काका पारिवारिक शत्रुजस्तै व्यवहार गर्छन् । इमानदारी र निष्ठा नेपाली मूलधारको सांस्कृतिक विशेषता थिए भनिन्छ । तर राजनीतिकवर्गबीच षड्यन्त्र, प्रतिषड्यन्त्र, छल र दोहोरो बोलीको संस्कृति भीमसेन थापादेखि जंगबहादुर राणा र उनका उत्तराधिकारीहरूको पालादेखि नै विकसित भएको थियो । सन् १९५० को लोकतान्त्रिक क्रान्तिसँगै कांग्रेस मुख्य पार्टी थियो र वैकल्पिक पार्टीको रूपमा कम्युनिष्ट पार्टी स्थापना भएको थियो । पञ्चायतकालमा राजनीतिक दलहरू औपचारिक रूपमा प्रतिबन्धित भए पनि ‘थापा’ र ‘चन्द’ समूह एकअर्काका लागि वैकल्पिक अस्तित्वमा थिए । वर्तमान समयमा दलहरूबीचको प्रतिस्पर्धाको सट्टा, पार्टीभित्रको व्यक्तिगत षड्यन्त्र, पार्टीबीचको षड्यन्त्र, प्रतिषड्यन्त्र, नेतृत्व वर्गको दोहोरो बोली कप्तान–केशर र सुब्बा–भोला प्रवृत्ति नेपाली राजनीतिको राजनीतिक डीएनए हो ।

वैकल्पिक राजनीतिको प्रमुख एजेन्डा भनेको जंगबहादुर राणादेखि हालसम्म नेपालमा जारी भ्रष्टाचारको संस्कृति अन्त्य गर्नु हो । राजनीति दरबारीहरूको विषय थियो । जनता शिक्षा र राजनीतिबाट वञ्चित थिए । सन् १९५० को क्रान्तिपछि राजनीतिक दलहरू नामका मात्रै बने । वास्तविक दलको रूपमा काम गर्न सकेनन् । पञ्चायती सरकारका मन्त्रालयहरू आफैंका लागि र राजतन्त्रका लागि पनि भ्रष्टाचारका एकाइ बने । बहुदलीय प्रजातन्त्रको पुनःस्थापनाले भ्रष्टाचार रोक्न सहयोग गरेन । माओवादी विद्रोहले आर्थिक लुटलाई तिव्रता दियो । सत्तामा बस्ने व्यक्तिको काम भ्रष्टाचारलाई निरन्तरता दिने मात्र नभएर थप भ्रष्टाचार भयो । लोकतन्त्रको बीभत्स रूप घूसखोरी भएको छ । भनिन्छ, इमानदारी ढोका ढकढक्याउँछ तर घूसखोरी भित्र पस्छ । जनताको लागि जनताको सरकार छैन । विभिन्न रूपमा घूसखोरी चलिरहेको छ । नक्कली शरणार्थी र ललिता निवास भ्रष्टाचार केही उदाहरण मात्र हुन्, भ्रष्टाचारको ऐतिहासिक सूची लामो छ ।

यस परिस्थितिमा भ्रष्टाचारको महामारीसँग जुध्न वैकल्पिक राजनीतिलाई इमानदारी र पारदर्शिताको संस्कृति चाहिन्छ । नेता आफू भ्रष्टाचारमुक्त हुनुपर्छ, आफूलाई भ्रष्टाचारमुक्त देखाउन सक्नुपर्छ । किनकि नेपालमा सबै भ्रष्टाचारको विरोध गर्छन्, भ्रष्टाचार नियन्त्रण गर्न कोही सफल हुन सकेका छैनन् । वैकल्पिक राजनीति, सामाजिक–आर्थिक संस्कृतिले भावी पुस्ताका लागि सामूहिक व्यवस्था सुनिश्चित गर्ने हो भने भ्रष्टाचारविरोधी सांस्कृतिक क्रान्ति आवश्यक छ । भ्रष्ट व्यक्तिहरूलाई किटेरै निन्दा गर्नुका साथै सामाजिक बहिष्कार गर्ने सांस्कृति विकास गर्न वैकल्पिक राजनीतिक दलले पहल गर्न सक्छन् ।

मेरो व्यक्तिगत अध्ययनमा नेतृत्व चयनको सन्दर्भमा स्विडिस ‘सोसल डेमोक्रेट’ भन्दा अमेरिकी ‘डेमोक्रेटिक’ पार्टी प्रजातान्त्रिक छ, यद्यपि यो उत्तम पार्टी होइन । अमेरिकी ‘डेमोक्रेटिक’ तलबाट माथि उभिएको छ, स्विडिस ‘सोसल डेमोक्रेट’ यसको विपरीत छ । त्यसैले नेपालका वैकल्पिक पार्टीले प्रत्येक गाउँ र नगरपालिकामा प्रतिनिधि छानून् र प्रत्येक वर्ष निर्वाचित प्रतिनिधिको पार्टी अधिवेशन गरून् । यसो भए तलबाट माथि उठेको पार्टी हुनेछ । माथिल्लो तहबाट तलको संगठनमा आधारित पार्टी विद्यमान दलभन्दा फरक हुनेछैन । त्यसैले वैकल्पिक पार्टीमा सामूहिक केन्द्रीय नेतृत्व र लैंगिक सन्तुलन, कम्तीमा दुई प्रवक्ता प्रभावकारी हुन सक्छ ।

विद्यमान दलहरूको प्रमुख समस्या नेतृत्व छनोट हो । एउटा अध्यक्ष र धेरै उपाध्यक्ष नै अनौठो प्रणाली देखिन्छ । आन्तरिक संयन्त्र पनि विकृत र बहुरूपी राजनीतिक नेतृत्व वर्गको नियन्त्रणमा छ । एकातिर वामपन्थी दलमा मार्क्सवाद, लेनिनवाद र माओको नक्कल गर्ने प्रवृत्ति देख्न सकिन्छ, मौलिक सोच र राजनीतिक दिशाको अभाव छ । अर्कोतिर सामाजिक प्रजातन्त्र ग्रहण गरेको कांग्रेस अहिले नवउदारवादी र विचलित वामपन्थीको वैचारिक शून्यतामा परिणत भएको छ । परम्परागत राजतन्त्रवादी शक्तिहरू विगतको सम्झनामा बाँचिरहेका छन् ।

निरन्तर एकीकरण र विभाजनको प्रक्रियाबाट गुज्रिरहेका राजनीतिक शक्तिहरू इतिहास र भविष्यको बीचमा अलमलमा छन् । यस्तो राजनीतिक चरित्र मुलुकको वर्तमान राजनीतिक समस्याको कारण र परिणाम रहेको अनुमान गर्न सकिन्छ । नेपालका राजनीतिक दलबाट लोकतान्त्रिक रूपान्तरण असम्भव होइन तर देखासिकी प्रवृत्ति मुख्य समस्या हुन् । उम्मेदवार तथा नेतृत्व चयन, नीति निर्माण, सदस्यता वितरण, लैंगिक सन्तुलन, अल्पसंख्यक समुदाय, युवा र दलहरूको अर्थव्यवस्थापन अरू समस्याका रूपमा देखिन्छन् ।

दलहरूको आन्तरिक लोकतन्त्र

उम्मेदवारी चयन दलहरूको लोकतान्त्रिक चरित्रको सामर्थ्य वा कमजोरीलाई मापन गर्ने एउटा प्रमुख कसी हो । माथिबाट तलको क्रममा गरिएको पद विभाजनले दलको नेतृत्वलाई नियन्त्रण कार्यमा सहज बनाएको हुन सक्छ तर यसले अलोकतान्त्रिक प्रवृत्तिलाई चिरस्थायी बनाउन मद्दत गर्छ । नेतृत्व चयनमा जस्तै उम्मेदवार चयनमा बुद्धिमतापूर्ण निर्णयको अभाव खट्किएको छ । व्यक्ति पूजा तथा दलभित्रका प्रतिद्वन्द्वी नेता तथा तिनका समर्थकबीच विभिन्न खेमामा बाँडिने खेलको सिकार भएका छन् । केही दलका कार्यकारिणी समितिमा नेताको नातागोताकै हाबी छ । नयाँ नेतृत्वलाई अगाडि ल्याउन दलहरूको केन्द्र तथा जिल्लास्तरका समितिका पदाधिकारी अत्यधिक रूपले निर्वाचन प्रक्रियाद्वारा छानिनुपर्छ । नेतृत्व तहको चयन प्रत्यक्ष निर्वाचनबाट हुनुपर्छ र कार्यकाल अवधि स्पष्ट तोकिनुपर्छ । कुनै पनि पद जीवनभरका लागि हुनु हुँदैन ।

नीति निर्माण गर्दा दलका सदस्यको रायलाई उचित मूल्यांकन गर्ने प्रवृत्ति सबै दलमा छैन । बहुदलीय राजनीतिक दलको सिद्धान्त र कार्यक्रमका आधारमा कार्यकर्ता परिचालित गर्ने विशेषता हुन्छ, यसबाट कार्यकर्ताले आफ्नोपन महसुस गर्छन् । तर दलहरूले नीति निर्माण गर्दा कार्यकर्ताको भनाइलाई समाविष्ट गर्ने प्रवृत्तिको अभाव छ । त्यसैले दलहरू तिनको विचारलाई बेवास्ता गरेर कार्यसमितिमा राखिदिएर चित्त बुझाइदिने कोसिस गर्छन् ।

दलहरूको नेतृत्व तथा सदस्यता वितरणमा लैंगिक समानता सधैं खट्किएको छ । यस सिलसिलामा कैयौं सुझाव सिफारिस भए पनि कार्यान्वयन ज्यादै थोरै मात्र भएको छ । दलहरूले लैंगिक असमानतालाई घटाउन महिला र पुरुषको संख्या ५०/५० प्रतिशत रहनेगरी आपसी मतैक्य गर्न सक्छन् । सीमान्तीकृत वर्गलाई समेट्ने समावेशी लोकतन्त्रको अवधारणा अगाडि सारिएको थियो । दलहरूले सबै तहका संगठनमा अल्पसंख्यकलाई समावेश गर्ने कदम चाल्नुपर्छ र उम्मेदवार तथा नेतृत्व चयनमा कोटाको व्यवस्था कार्यान्वयन गर्नुपर्छ ।

राजनीतिक भाषाको प्रयोग

घृणा, आक्रोश र बदला राजनीति होइन । घृणा गर्नेले असल राजनीति गर्न सक्दैन । सार्वजनिक असन्तुष्टिको गलत उपयोग र लोकवाद समाजलाई घातक हुन्छ । दलहरूका नेताले राजनीतिक भाषा प्रयोग गर्नुपर्छ । कम्युनिस्ट र कांग्रेसले फरक भाषा प्रयोग गर्छन् । कांग्रेसका गगन थापा र विश्वप्रकाश शर्माले राजनीतिक भाषा प्रयोग गरिरहेका देखिन्छन् । यद्यपि कांग्रेस समय अनुसार परिवर्तन हुन सकिरहेको छैन । भारतमा राजनीतिक भाषाको दुरुपयोग सत्ता र प्रतिपक्षमा रहेका व्यक्तिले गर्छन् । अमेरिकामा पूर्वराष्ट्रपति ट्रम्पले राजनीतिक भाषालाई ध्वस्त पारेका छन् । विशेषज्ञहरू भन्छन्, ‘भाषा भनेको राजनीति र लोकतन्त्रको आधारशिला हो, जब भाषा बिग्रन्छ, हामीले धेरै गुमाउँछौं । ऐतिहासिक रूपमा रोमको पतनदेखि अधिनायकवादको उदयसम्म, सञ्चारको साझा विघटनले समग्र रूपमा समाजलाई विघटनमा पुर्‍याउँछ ।’

वैकल्पिक राजनीति भनेको सामाजिक न्याय र सहअस्तित्वका लागि साझा ठाउँ खोज्नु हो । यो विचारको विकल्प होइन तर पुरानो विचारलाई पुनः परिभाषित गर्नु पनि हो । नयाँ संस्कृति र नयाँ राजनीतिक सभ्यताको सुरुआत गर्नुजस्तै हो । चुनाव जित्नु आवश्यक हुन्छ तर पर्याप्त हुँदैन । हिंसात्मक क्रान्तिबाट परिवर्तन गर्ने सबै दल कानुनको शासन अन्तर्गत मुलुक सञ्चालन गर्न असफल भएका छन् । त्यसैले शान्तिपूर्ण वैकल्पिक राजनीतिक दलको विकास आवश्यक छ । त्यस्तो गुणस्तरका सभ्य, धैर्यवान् र ज्ञानी नेताहरू छन् कि छैनन्, योचाहिँ सबभन्दा महत्त्वपूर्ण प्रश्न हो ।

प्रकाशित : श्रावण १०, २०८० ०८:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?