२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५१

सांस्कृतिक साम्राज्यवादको संक्रमण

भूराजनीतिक साम्राज्यवाद सांस्कृतिक साम्राज्यवादमा परिणत भैरहेको छ । सांस्कृतिक साम्राज्यवाद अरूका देशका बौद्धिकहरूलाई लोभ्याइ जनताको जीवनलाई नियन्त्रण गर्न केन्द्रित भएको छ । उपनिवेशवाद मरेको छैन, सांस्कृतिक उपनिवेशको विस्तार भइरहेको छ ।
कटक मल्ल

वर्तमान रुस र युक्रेनको इतिहास १३ औं शताब्दीमा युक्रेनको राजधानी किभबाट सुरुआत भएको ऐतिहासिक अभिलेखले देखाउँछ । यी दुइटै देश शताब्दिऔंदेखि एकअर्काका लागि अरूविरुद्ध लडेका छन् । अहिलको युद्धजस्तै पहिले पनि एकअर्काविरुद्ध लडेका छन् । जर्मनी, फ्रान्स र बेलायतमा भन्दा युक्रेन र रूसमा सांस्कृतिक समानता बढी छ । यद्यपि यी दुई मुलुकबीच राजनीतिक र रणनीतिक भिन्नता बढेको छ ।

सांस्कृतिक साम्राज्यवादको संक्रमण

हुन त पश्चिम युरोपेली वा अमेरिकी एकल (मोनोलिथिक) संस्कृति छैन, यी सबै क्रिस्चियन धर्मावलम्बी मुलुक हुन् । हाल युरोपमा चलिरहेको युद्धलाई सांस्कृतिक दृष्टिकोणबाट कसरी हेर्न सकिन्छ ? यो विशुद्ध राजनीतिक र रणनीतिक युद्ध हो वा लोकतन्त्रका नाममा संस्कृति नियन्त्रण गर्न खोजिएको हो ? अनि, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ‘अखण्ड भारत’ का नाममा दक्षिण एसियाली उपमहाद्वीपको नक्साको ‘भित्तेचित्र’ भारतको नयाँ संसद्भवनमा राख्न लगाउनुको अर्थ के हो ?

आस्था राजवंशीले टाइम म्यागजिन (२६ मे २०२३) मा ‘किन भारतको नयाँ संसद्भवन यति विवादास्पद छ’ शीर्षकमा यसबारे सटीक छलफल गरेकी छन् । यी प्रश्न (वा क्रियाकलापसँग) सम्बन्धी छलफल प्राज्ञिक मात्र छैनन्, यी गम्भीर परिणामका वास्तविक समस्या हुन् । त्यसैले, संस्कृति र साम्राज्यवादमा गम्भीर छलफल आवश्यक छ भन्ने यो लेखको उद्देश्य हो । यस लेखमा परम्परागत भूराजनीतिक साम्राज्यवाद सांस्कृतिक साम्राज्यवादमा परिणत भैरहेको अवस्थामा सांस्कृतिक साम्राज्यवादी शक्तिको रोगविज्ञानबारे छलफल गरिएको छ ।

स्वतन्त्र विचार, धर्म र संस्कृति

बट्रान्ड रसेलले ‘स्वतन्त्र विचार र सरकारी प्रचार’ (‘फ्री थट एन्ड अफिसिएल प्रोपगान्डा’, सन् १९२२) सम्बन्धी लेखमा ‘स्वतन्त्र विचार भनेको धर्मको कट्टरतालाई अस्वीकार गर्नु हो’ भनी तर्क गरेका छन् । कुनै धार्मिक रूढिवादको सदस्य नभएको र ईश्वरमा विश्वास नगर्ने व्यक्ति स्वतन्त्र विचारक हुन्छ, तर नास्तिकता मात्र स्वतन्त्र विचारक बनाउन पर्याप्त नहुन सक्छ भन्ने रसेलको विचार देखिन्छ । रसेल सबै धर्मसँग असहमत थिए । केही निश्चित समय र स्थानहरूमा धर्मले राम्रो गरेको छैन र परम्परागत धर्महरूले व्यापक अर्थमा स्वतन्त्र विचारलाई रोकेका छन् भन्ने उनको धारणा थियो । उनले भनेका छन्, ‘स्वतन्त्र विचारको कमी औसत मानवमा अन्तर्निहित अतार्किकता र (अन्ध)विश्वासको कारक हो, तर विशेष गरी चलनचल्तीको दिमाग धुने (इनडक्ट्रिनेट) शिक्षा, सरकारी प्रचार र आर्थिक दबाबले स्वतन्त्र विचारलाई रोक्छ ।’ कट्टर धार्मिक सोच भएका मानिसहरूले रसेलको दृष्टिकोणलाई घृणा गर्छन् ।

संस्कृति ईश्वरको विचार (द आइडिया अफ गड) भन्दा फरक र पुरानो विषय हो भन्ने एउटा तार्किक विचारधारा छ । यसविपरीत, ईश्वरबिना संस्कृति र धर्मको अस्तित्व हुँदैन; विचार, ब्रह्माण्ड, मानिस र चराचर सबै भगवान्का रचना हुन् भन्ने अर्को आध्यात्मिक विचारधारा (आस्था) छ । जीवात्मा, परमात्मा, निराकार परब्रह्मको आध्यात्मिक अनुभूति व्यक्तिगत (हुने वा नहुने) भएकाले संस्कृति र धर्मबीचको पारस्परिक अन्तरक्रियामा कसले कसलाई प्रभाव पार्छ, यो विवादास्पद विषय हो ।

धर्म मान्ने सबै मानिस नैतिक हुन्छन् भन्ने हुँदैन । नास्तिक वा अज्ञेयवादीहरू अनैतिक हुन्छन् भन्ने हुँदैन । धार्मिक विश्वास र अभ्यासले व्यक्तिगत नैतिक मापदण्ड बनाउनमा योगदान दिन्छ वा धार्मिक विश्वासबिना संस्कृतिले पनि त्यस्तो भूमिका खेल्छ भन्नु पनि विवादास्पद विषय हो । यद्यपि धर्मभन्दा संस्कृति बढी समावेशी हुन्छ र मानिसलाई एकबद्ध गर्छ भन्नेहरू पनि छन् । धर्म विश्वास हो (जस्तै, ‘भगवान्को इच्छाबिना पात हल्लिँदैन’) र धर्म तर्क होइन भनिन्छ । धर्मजस्तो संस्कृति महत्त्वपूर्ण होइन भन्नेहरू पनि छन् । धर्मबिनाको संस्कृति हुँदैन भन्नेहरू पनि छन् ।

संस्कृतिउपरको यो लेख आस्तिक र नास्तिकबारे होइन । तर अर्को बौद्धिक दृष्टिकोण पनि छ जसले आध्यात्मिकता र धर्मलाई फरक मान्छ । अर्थात्, अध्यात्मलाई कुनै खास धर्मको आवश्यकता पर्दैन भन्नेहरू पनि छन् । तर ‘विश्वास’ वास्तविकता (थोमस थोरियम, ‘बिलिफ एज ए रियालिटी’) पनि बन्न सक्ने हुनाले धर्म र संस्कृति पर्यायवाची पनि बन्छन् ।

फलस्वरूप, राजनीतिमा धर्म र संस्कृति द्वन्द्वका तथाकथित ‘फल्ट लाइन’ बन्छन् । दुष्ट राजनीतिज्ञहरूले आफ्नो व्यक्तिगत स्वार्थका लागि धर्मको राजनीतिक दुरुपयोग गर्छन् । जस्तै, ‘सेकुलर’ (वैज्ञानिक स्वभाव) शब्दको गलत अर्थ गरेका कारण नेपाल र भरतमा ‘धर्मनिरपेक्षता’ र ‘धर्मसापेक्षता’ को कृत्रिम राजनीतिक द्वन्द्व चलिरहेको छ ।

भारतले आफ्नो संसद्मा दक्षिण एसियाली उपमहाद्वीपको ‘भित्तेचित्र’ देखाएर नक्कली सांस्कृतिक इतिहासको थालनी गरेको छ । समाजमा यस्तो पाखण्डपूर्ण संस्कृतिको विकास भएको छ जहाँ धार्मिक कट्टरपन्थीहरूले मन्दिर बनाउन आफैं योगदान गर्न चाहँदैनन्, राज्य कोष माग्छन्; अस्पताल र विद्यालयहरूको निजीकरण गरिन्छ । बेइमान बौद्धिकहरू ‘सभ्यताको युद्ध’ अवधारणालाई प्रयोग गर्छन् ।

‘सभ्यताको युद्ध, अज्ञानताको युद्ध’

स्यामुएल पी हन्टिङ्टन ‘सभ्यताको युद्ध’ का आधुनिक गुरु हुन् (‘द क्ल्यास अफ सिभिलाइजेसन्स ?’ लेख सन् १९९३, पुस्तक १९९६) । हन्टिङ्टनका दृष्टिमा, ‘सभ्यताको युद्ध’ का फल्ट लाइनका कारण उत्पन्न द्वन्द्वहरू स्थानीय स्तरका हुन्छन् र विभिन्न सभ्यतासँग सम्बन्धित छिमेकी राज्यहरू वा विभिन्न सभ्यताको जनसंख्याको घर भएका राज्यहरूबीच हुन्छन् । हन्टिङ्टनको विचारविपरीत एडवर्ड सइद (कल्चर एन्ड इम्पेरिअलिजम, सन् १९९३) ले ‘सभ्यताको युद्ध अज्ञानताको युद्ध’ हो भनेका छन् ।

आफ्नो पुस्तकमा सइदले पश्चिमी शक्तिशाली राष्ट्रहरू सांस्कृतिक प्रभुत्वमार्फत अन्य राष्ट्रलाई नियन्त्रण गर्न केन्द्रित छन् भन्दै सांस्कृतिक पहिचान, प्रतिनिधित्व र संरक्षण महत्त्वपूर्ण हुने सुझाएका छन् । सांस्कृतिक फल्ट लाइनहरूलाई द्वन्द्वको स्रोतका रूपमा हेर्नुको सट्टा सइदले संस्कृतिलाई एकताबद्ध गर्ने शक्तिका रूपमा लिएका छन् । संस्कृति र साम्राज्यवाद उनको ‘ओरिएन्टलिजम’ (सन् १९७८, पछिल्लो संस्करण २००३) पुस्तकमा उल्लेख गरिएका विचारहरूको विस्तार हो ।

‘ओरिएन्टलिजम’ मा सइदले पश्चिमी ‘ओरिएन्टलिस्ट बौद्धिकहरू’ कसरी गैरपश्चिमी संस्कृतिको तुलनामा पश्चिमी संस्कृति तर्कसंगत र शक्तिशाली छ भन्दै दुष्प्रचार गर्छन् भनी उजागर गरेका छन् । सबै पश्चिमी नेताहरूले विगत दशकहरूमा युद्ध गर्न हन्टिङ्टनको विचार प्रयोग गरेका छन् । सइदको पुस्तक ‘कल्चर एन्ड इम्पेरिअलिजम’ धेरैका लागि तथाकथित सांस्कृतिक युद्धविरुद्ध प्रतिरोधको प्रेरणा बनेको छ भनिन्छ । धार्मिक कट्टरपन्थी र चरम राष्ट्रवादीहरूले सइदका विचारहरूको दुरुपयोग गरिरहेका छन् ।

अन्धविश्वासलाई जोगाउन धार्मिक कट्टरपन्थीहरूले सइदको साम्राज्यवादविरुद्धको विचारको दुरुपयोग गर्दै आएका छन् । तानाशाही कायम राख्न चरम राष्ट्रवादीहरू सइदको ‘राष्ट्रिय चेतना’ विचारको दुरुपयोग गर्छन् । वामपन्थीहरू मार्क्सवादीविरोधी भनेर र दक्षिणपन्थीहरू धर्मविरोधी भनेर सइदको आलोचना गर्छन् ।

संस्कृतिका ‘अवधारणा’ हरू

‘द वर्ल्ड द टेक्स्ट एन्ड द क्रिटिक’ (सन् १९८३) निबन्धमा सइदले ‘आधिपत्यवादी’ संस्कृतिको आलोचनामा जोड दिएका छन् । प्रभुत्ववादी वा आधिपत्यवादी संस्कृतिको शक्तिलाई चुनौती दिने जिम्मेवारी आलोचकको रहेको उनको तर्क छ । त्यसका लागि उनी सीमान्तीकृतको स्थितिबाट गरिने आलोचनामा विश्वास गर्छन् । सबै ग्रन्थ (ट्रेटाएज) वा सबै पुस्तक सांसारिक हुन्छन् (अर्थात्, कुनै पनि पुस्तक भगवान्ले लेखेका छैनन्) र विशेष ऐतिहासिक परिस्थितिसम्बद्ध हुन्छन् भन्ने सइदको तर्क छ । ग्रन्थको अध्ययनमा सामाजिक, सांस्कृतिक र आर्थिक घटनासँग सम्बन्धित पाठको सांसारिकतामा निरन्तर जोड दिनुपर्छ भन्छन् सइद ।

संस्कृतिबारे सइदको दृष्टिकोणको निम्नानुसार निष्कर्ष निकाल्न सकिन्छ— संस्कृतिको अर्थका विशेष गरी दुई पक्ष हुन्छन् । पहिलो, ‘वर्णन’, ‘सञ्चार’ र ‘प्रतिनिधित्व’ जस्ता आर्थिक, सामाजिक र राजनीतिक क्षेत्रमा आधिपत्यवादी संस्कृतिविपरीत सापेक्ष स्वायत्तता । संस्कृतिको अध्ययन एथ्नोग्राफी, इतिहासशास्त्र, फिलोलोजी, समाजशास्त्र र साहित्यिक इतिहासजस्ता विषयहरूमा केन्द्रित हुनुपर्ने सइदको भनाइ छ । उनी सबै ज्ञान उत्पादनलाई राजनीति मान्छन् । केही पढ्दा त्यो कसले लेखेको हो, के लेखेको छ र कसका लागि लेखेको हो भन्ने महत्त्वपूर्ण प्रश्नहरूलाई मनमा राख्नुपर्छ । उनले उन्नाइसौं र बीसौं शताब्दीका आधुनिक पश्चिमी साम्राज्यहरूलाइ केन्द्रमा राखी उपन्यास लेखेकामा बेलायती, फ्रान्सेली र अमेरिकी सर्जकहरूको आलोचना गरेका छन् ।

दोस्रो, संस्कृति यस्तो ‘अवधारणा’ हो जसमा परिष्कृत र उन्नत तत्त्व समावेश हुन्छ । अर्थात्, संस्कृति राष्ट्र वा राज्यसँग सम्बन्धित हुन्छ, जसले ‘हामी’ र ‘तिनीहरू’ लाई फरक पार्छ । यस अर्थमा संस्कृति पहिचानको स्रोत हो । ‘हामी’ र ‘तिनीहरू’ संस्कृतिको गलत बुझाइ हो किनभने कुनै पनि संस्कृति शुद्ध हुँदैन, यो मिश्रण हो । जाति र संस्कृतिको शुद्धता मानवीय समझको सबैभन्दा खराब प्रवृत्ति हो । यस्तो प्रवृत्तिले ‘बहुसांस्कृतिकता’ र ‘हाइब्रिडिटी’ जस्ता अपेक्षाकृत उदार दर्शनको विरोध गर्छ । शुद्ध संस्कृतिको परिकल्पनामा संस्कृति सुरक्षात्मक घेरा बन्न सक्छ ।

‘वर्णसंकर संस्कृति र स्थान’

भारतीय–बेलायती तथा उत्तरऔपनिवेशिक सिद्धान्तवादी होमी भाभाले एडवर्ड सइद र गायत्री स्पिभाकका विचारका आधारमा आफ्नो पुस्तक ‘इन द लोकेसन अफ कल्चर’ (सन् १९९४) मा ‘नक्कल’, ‘मध्यवर्ती परिप्रेक्ष्य,’ ‘वर्णसंकर,’ ‘सिमाना’ (मिमिक्री, इन्टरस्टिटिएल, हाइब्रिडिटी र लिमिनलिटी) का अवधारणाहरू प्रयोग गरेका छन् । विशेष गरी उपनिवेशवादी र पराधीन मानिसहरूको संस्कृतिको मिश्रणको विवादास्पद ‘हाइब्रिडिटी’ को नयाँ अवधारणा भाभाले उल्लेख गरेका छन् ।

भाभाले निबन्धहरूको शृंखलामा पश्चिमी आधुनिकताको संस्कृतिलाई उत्तरऔपनिवेशिक परिप्रेक्ष्यबाट किन स्थानान्तरण गर्नुपर्छ भनेर वर्णन गरेका छन् । ‘तेस्रो क्षेत्र’ (थर्ड स्पेस) भाभाद्वारा विकसित अवधारणा हो जसले हाइब्रिड सांस्कृतिक पहिचानको वर्णन गर्छ र जुन विभिन्न संस्कृतिहरूका भित्री तत्त्वहरूबाट उत्पन्न हुन्छ । भाभा तर्क गर्छन्— हाइब्रिडिटी विभिन्न प्रकारका उपनिवेशहरूको परिणाम हो, जसले सांस्कृतिक टक्कर र विनिमयलाई निम्त्याउँछ । यो हाइब्रिडले आदिवासी संस्कृतिहरूलाई नियन्त्रण गर्ने प्रयास र सांस्कृतिक अलगाव वा शुद्धताको भ्रम दुइटैको विरोध गर्छ ।

भाभाका अनुसार, नक्कल भनेको भाषा, संस्कृति, शिष्टाचार र विचारहरूको प्रतिलिपि हो; भिन्नतासँगको दोहोरी हो । संस्कृतिबारे आत्म–सचेत परिप्रेक्ष्य हुनुपर्छ । हाइब्रिड सांस्कृतिक पहिचानको वर्णन विभिन्न संस्कृतिका भित्री तत्त्वहरूबाट उत्पन्न हुन्छ । विदेशी भूमिमा नेपालीको बसाइँसराइ बढिरहेको अवस्थामा हाइब्रिड नेपाली संस्कृतिलाई कसरी लिने भन्ने नयाँ चुनौती बनेको छ । ‘पैले त दाहालबाबु भन्थे, अहिले देल्बो पो भएछन्’ भन्ने भैरव अर्यालको हास्यव्यंग्य वास्तविकता बनेको छ । यस सन्दर्भमा भाभाको ‘मध्यवर्ती परिप्रेक्ष्य’ लगायतका बुँदा उपयोगी हुन सक्छन् ।

साम्राज्यवादी शक्तिको रोगविज्ञान

राजनीतिमा ‘प्याथोक्रेसी’ (पथभ्रष्टतन्त्र) शब्द आजभोलि सामान्य भएको छ । शक्तिको रोगी (प्याथोलोजिकल) व्यक्तिबाट सञ्चालित प्रणालीलाई पथभ्रष्टतन्त्र भन्नुपर्ने हुन्छ । पथभ्रष्ट शासन प्रणाली अन्तर्गत सामान्य जनतामाथि एउटा सानो शक्तिको रोगी अल्पसंख्यकले नियन्त्रण लिन्छ । सूक्ष्म रूपमा हेर्दा, वर्तमान विश्वका लोकतन्त्रहरू कुनै न कुनै रूपमा पथभ्रष्टहरूले चलाएको पाइन्छ । जब व्यक्ति वा प्रणालीहरू नियम र नैतिकता अन्तर्गत नियन्त्रण गर्न असम्भव हुन्छन्, ती पथभ्रष्ट भइसकेका हुन्छन् (वा मानिन्छन्) । पथभ्रष्टतन्त्र राजनीतिको पथभ्रष्टतन्त्र संस्कृति पनि हुन्छ । एक ‘पथभ्रष्ट राजनीतिक संस्कृति’ अन्तर्गत नेताविशेषको व्यक्तिगत रुचि, उसको राजनीतिक शक्ति र उसको नियन्त्रणमा भएका स्रोतसाधनहरूमा केन्द्रित हुन्छ, वा सञ्चालित हुन्छ ।

भूराजनीतिक उपनिवेशवाद शक्तिशाली राष्ट्रहरूद्वारा अरूको भूमिका स्रोतहरूको नियन्त्रणमा केन्द्रित थियो । सांस्कृतिक साम्राज्यवाद अरूका देशका बौद्धिकहरूलाई लोभ्याई जनताको जीवनलाई नियन्त्रण गर्न केन्द्रित भएको छ । उदाहरणका लागि, सन् १९५० मा बेलायती उपनिवेशवादको अन्त भए पनि बेलायती राष्ट्रप्रमुख (तत्कालीन महारानी एलिजाबेथ र हाल राजा चार्ल्स) ले विदेशीहरूलाई ‘इम्पिरियल’ पुरस्कार वा सम्मान प्रदान गर्न जारी राखेकै छन् ।

बंगाली लेखक र विद्वान् नीरद सी चौधरी बेलायती उपनिवेशवादलाई निरन्तरता दिनुपर्ने पक्षमा थिए । उनलाई सन् १९९२ मा ‘अनरेरी कमान्डर अफ दी अर्डर अफ द ब्रिटिस एम्पाएर’ (सीबीई) उपाधि दिइयो । सीबीईजस्तै ‘अफिसर अफ द अर्डर अफ द ब्रिटिस एम्पाएर’ (ओबीई) प्रायः पूर्वउपनिवेशका विदेशी व्यक्तिहरूलाई दिने गरिन्छ जसको देशमा ब्रिटिस राष्ट्रप्रमुख ‘मानार्थ प्रमुख’ हुन्छन् । नेपाल कहिल्यै ब्रिटिस उपनिवेश भएन भनिन्छ, तर नेपालीलाई ओबीई प्रदान गरिएको छ र उनीहरूले स्वीकार पनि गरेका छन् (म यहाँ नाम लिन चाहन्नँ) ।

नेपाली नागरिकका हैसियतले बेलायतबाट ओबीई स्वीकार गर्नु नैतिक र कानुनी रूपमा गलत हो । त्यस्ता व्यक्ति नेपालमा विदेशमा मान र सफलता पाएका रोल मोडलका रूपमा चिनिने गरेका छन् । विदेशी व्यक्तिहरूलाई सम्मान प्रदान गरेर बेलायतले कसरी टाढाका देशहरूका बौद्धिकहरूलाई नियन्त्रण गर्न जारी राखेको छ भन्ने यी केही उदाहरण हुन् । यो सांस्कृतिक प्रभावको सबैभन्दा शक्तिशाली साधन हो । सन् २०२० मा प्रकाशित ‘द गार्जियन’ को एउटा रिपोर्ट अनुसार, बेलायती सम्मान अस्वीकार गर्नेहरूको संख्या पछिल्लो दशकमा दोब्बर भएको छ । सांस्कृतिक साम्राज्यवादविरोधी यी सकारात्मक कार्य हुन् ।

प्रतीकात्मक होस् वा वास्तविक रूपमा, संस्कृति भनेको मानव समुदाय, सामाजिक ढाँचा र गतिविधिको संरचना हो । संस्कृतिमा सामाजिक, राजनीतिक, आर्थिक, कानुनी, वैज्ञानिक र अन्य धेरै विधा हुन्छन् । रीतिरिवाज, परम्परा, वेशभूषा, खानपिन, वास्तुशैली, सामाजिक स्तर सबै सांस्कृतिक तत्त्वका उदाहरण हुन् । संस्कृतिहरू प्राचीन सभ्यताहरूबाट व्युत्पन्न भएका मानिन्छन् । संस्कृतिबिना सभ्यता हुँदैन । सभ्यता र संस्कृति गतिशील हुन्छन्, निरन्तर निर्माण भैरहन्छन् । कुनै पनि संस्कृति शुद्ध वा अखण्ड हुँदैन । संस्कृतिहरूमा मूलधार र असहमतिहरू हुन्छन् । संस्कृति गतिशील अवधारणा हो, जुन मानिसद्वारा सृजना र परिवर्तन गरिन्छ ।

हिंसा र प्रतिरोधको सट्टा राष्ट्रिय चेतनाले कस्तो राज्य निर्माण गर्छ, यो महत्त्वपूर्ण प्रश्न हो । औपनिवेशिक यातना दिने र यातनामा परेका मानिसहरूको मनोविज्ञानको जाँच गर्दा फ्रान्ज फानोनले पीडक र पीडितबीच हानिकारक सम्बन्ध फेला पारे, तर नतिजा निकाल्न सकेनन् । इकबाल अहमदले फ्याननसँगको कुराकानीका आधारमा फ्याननको दृष्टिकोणको व्याख्या गरेका छन् ।

भित्तेचित्र : सांस्कृतिक प्रभुत्वको नयाँ स्रोत

अंग्रेजहरूले औपनिवेशिक समयमा जे गरे, भारतले ‘भित्तेचित्र’ मार्फत आज दक्षिण एसियामा त्यही गरिरहेको छ । अंग्रेजहरूले सीमा तोके तर सीमाभन्दा बाहिर प्रहार गर्न आफूखुसी खेल बनाए । युरोपेली संस्कृतिले युरोपेली साम्राज्यवादी गतिशीलतालाई आकार दिन्छ । भाषा, प्रतीक, मानदण्ड, मूल्य र कलाकृतिहरू संस्कृतिका प्रमुख तत्त्व हुन् ।

सांस्कृतिक प्रभावका लागि आधुनिक अमेरिकी साम्राज्यले अन्य माध्यम प्रयोग गर्छ । म्याकडोनाल्ड, कोकाकोला र हलिउड फिल्महरू, संगीत अमेरिकी सांस्कृतिक साम्राज्यवादका माध्यम र ‘अमेरिकीकरण’ का प्रतीक हुन् (मन परून् वा नपरून्, यी विश्वसंस्कृति बनेका छन्) । २० औं शताब्दीको सुरुमा सांस्कृतिक साम्राज्यवाद सैन्य हस्तक्षेपसँग जोडिएको थिएन, तर शक्तिशाली देशहरूको आर्थिक–राजनीतिक प्रभावको प्रयोगसँगै सांस्कृतिक साम्राज्यवाद जोडिँदै गयो ।

युरोपेलीहरूले चीनमा निरन्तर आफ्नो उपस्थिति र प्रभाव बढाए । सन् १९४९ पहिले चीन विदेशी आक्रमण र नियन्त्रणमा थियो । आधुनिक र उदाउँदो चीनले विश्वलाई कसरी प्रभाव पार्छ, त्यो हेर्न बाँकी छ । रुस–युक्रेन युद्ध द्विपक्षीय मात्र होइन, यो ट्रान्स–युरोपियन र अमेरिकी राजनीतिक संस्कृतिको युद्ध हो । यद्यपि गैरआक्रमणको अन्तर्राष्ट्रिय नियम उल्लंघनका लागि रूस जिम्मेवार छ ।

तथाकथित उत्तरऔपनिवेशिक युगमा राष्ट्रवादको गलत प्रयोग हुन गयो । राष्ट्रियता र राष्ट्रिय चेतनाका कमजोरीहरूका कारण इतिहास समाप्त हुँदैन । उपनिवेशवाद मरेको छैन, सांस्कृतिक उपनिवेशको विस्तार भइरहेको छ । राष्ट्रवाद औपनिवेशिक संघर्षका लागि शक्तिशाली विचार थियो । तर राष्ट्रवादलाई धार्मिक कट्टरपन्थी र जातिवादी तानाशाहहरूले दुरुपयोग गरिरहेका छन् ।

भारतको नयाँ संसद्भवनमा भारतीय उपमहाद्वीपको ‘भित्तेचित्र’ नेपालका लागि सबैभन्दा ठूलो सांस्कृतिक चुनौती हो, जसको सामना र प्रतिरोध बौद्धिक बहसका साथ गर्नुपर्छ । नक्कली इतिहास, भूगोल र संस्कृतिको खण्डन बौद्धिकहरूले गर्नुपर्छ । भारतीय हिन्दु संस्कृतिको नेपाली संस्कृतिसँगको मिसावटविरुद्ध, नेपालको सार्वभौम राजनीतिक पहिचान जोगाउन नेपालका हिन्दु धर्मावलम्बीहरू पनि सचेत हुनुपर्छ ।

प्रकाशित : असार १४, २०८० ०७:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?