२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३७४

रुस-युक्रेन संकट लम्बिनुको अन्तर्य

विश्वको हर क्षेत्रमा आफ्नो प्रभाव र दबदबा कायम रहनुपर्छ भन्ने अमेरिकी मनसाय एकातर्फ र अर्कातर्फ युरेसिया क्षेत्रको खास शक्ति आफू नै भएकाले आफ्नो प्रभावलाई सबैले स्वीकार गर्नुपर्छ भन्ने रुसी दृष्टिकोण नै अस्थिरता र द्वन्द्वको खास कारक भएको ठम्याउन सकिन्छ ।

लम्बिँदै गएको रुस–युक्रेन युद्धका कारण यतिखेर विश्वमा थप अनिश्चितता र अशान्ति बढ्ने चिन्ता एकातर्फ गरिएको छ भने, अर्कातर्फ यस युद्धले निर्माण गरेको विश्व राजनीतिक ध्रुवीकरणका कारण विश्वका साझा समस्या सम्बोधनमा विश्वसमुदायबीच एकबद्धता र सामूहिक प्रयास नरहने हो कि भन्ने सुर्ता छ ।

रुस-युक्रेन संकट लम्बिनुको अन्तर्य

शक्तिराष्ट्रहरूले स्विकार गरेको साझा मान्यता के हो भने, साझा समस्याहरूको सम्बोधनमा सबै शक्तिराष्ट्रबीच सहमति र सहकार्य जरुरी छ । तर विडम्बना, शक्तिराष्ट्रहरूको आपसी बेमेल, वर्चस्ववादी चिन्तन र निषेध प्रवृत्तिले रुस–युक्रेन युद्धको समाधानमा अप्ठ्यारो सृजना भइरहेको छ, जसका कारण अन्य पेचिला मुद्दाहरूको सम्बोधनमा समेत ढिलाइ भइरहेको छ ।

२०२२ को फरवरीमा करिब २ लाख सैनिकसहित रुसले युक्रेनमाथि धावा बोलेपछि धेरैको अनुमान थियो, युक्रेनले चाँडै घुँडा टेक्नेछ र युद्ध केही दिनमै अन्त्य हुनेछ । तर आफ्ना मित्रराष्ट्रहरूको गुप्त सहयोगमा युक्रेनले रक्षात्मक पंक्ति बलियो बनाइदिँदा विश्व सैन्य क्षेत्रमा बलियो मानिएको रुस योजना अनुसार अगाडि बढ्न सकेन । रुसको गिर्दो साखबाट उत्साहित अमेरिकाले नेटो सदस्यहरू लगायतका पश्चिमा शक्तिहरूलाई युक्रेनलाई भरपूर सैन्य सहयोग गर्न आग्रह गरिरह्यो । पहिले केही हच्किएका जर्मनी र फ्रान्सले समेत विभिन्न किसिमबाट सहयोग गरे । युक्रेनको रक्षात्मक क्षमता बढ्दै जाँदा रुस चाँडै कमजोर हुनेछ र आर्थिक रूपमा चरम संकटको सामना गर्नुपर्दा रुसभित्र आन्तरिक

अप्ठ्यारो बढ्दै गई भ्लादिमिर पुटिनको सत्ता पनि ढल्नेछ भन्ने आत्मविश्वास अमेरिकीहरूमा देखिएको थियो, तर स्थिति त्यस्तो पनि रहेन । विश्लेषकहरूका भनाइमा, गतिलो आर्थिक टिमको मिहिनेत र कुशल रणनीतिका कारण रुसी अर्थतन्त्रमा युद्धको असर पश्चिमाहरूले सोचेजस्तो भएन । चीन, भारत लगायतका मुलुकहरूसँग रुसको आर्थिक सहकार्य कायम रहँदा रुसी अर्थतन्त्रलाई थेगिइरहन सहयोग पुग्यो ।

युक्रेनमाथिको आक्रमण पुटिनका लागि निकै भारी पर्‍यो । हालसम्म २ लाखभन्दा बढी सैनिकले ज्यान गुमाइसकेका छन्, दर्जनभन्दा बढी उच्च सैनिक अधिकारीहरूको समेत मृत्यु भइसकेको छ । युक्रेनको पश्चिमा मुलुकहरूसँगको बढ्ता सामरिक हिमचिम र नेटो सदस्य बन्न गरिएका लगातारका प्रयासले रुसलाई बढ्ता चिढ्याएको थियो । यसलाई पुटिनसहितका पुरातनपन्थी रुसी अधिकारीहरूले रुसको अस्तित्वकै लागि खतरा भन्दै युक्रेनमाथिको आक्रमण सन् १८०० को दशकमा नेपोलियनद्वारा र १९४० ताका नाजी जर्मनीद्वारा रुसमाथि गरिएको आक्रमणपश्चात्को तेस्रो महान् देशभक्तिपूर्ण युद्धका रूपमा उल्लेख गर्दै आएका छन् । ब्रुकलिन इन्स्टिच्युटकी अध्येता फिओना हिलको भनाइमा, आफ्ना छिमेकीहरूसहित पूर्वी युरोपमा

आफ्नो प्रभाव क्षेत्रलाई अमेरिका तथा पश्चिम युरोपले स्वीकार गर्नुपर्छ र आफूले इतिहासमा गुमाएका भूभागहरू फिर्ता पाउनुपर्छ भन्ने रुसको दाबी नै समस्याको जड हो, रुस यो धङधङीबाट मुक्त नभएसम्म पूर्वी युरोप शान्त हुन कठिन छ ।

पछिल्लो समय वाग्नर समूह र रुसी सैन्य कमान्डरहरूबीचको खटपट एवं पुटिनका भरपर्दा सहयोगी मानिएका वाग्नर प्रमुख येवगेनी प्रिगोजिनको आक्रोशले पुटिनको आन्तरिक कमान्डमा ठूलो संकट पैदा हुँदै गएको, रुसी नेतृत्वको आत्मबल कमजोर हुँदै गएको र पुटिनसँग स्पष्ट रणनीतिक खाका नरहेको देखिएको छ । यसले गर्दा पुटिन सत्तासामु यसअघि नदेखिएको भयानक अप्ठ्यारो र प्रहार आइपरेको आकलन रुसी मामिलाका जानकारहरूले गरेका छन् ।

र्‍यान्ड कर्पोरेसनका राजनीतिक वैज्ञानिक स्यामुएल चरप रुस–युक्रेन युद्ध अझै केही लम्बिन सक्छ भन्छन् । रुस र अमेरिकाबीचको तनावसमेत यसमा मिसिएकाले तत्काल सुसमाचार चाहनेहरू निराश हुनुपर्ने स्थिति रहेको उनी बताउँछन् । गत सेप्टेम्बरमा युक्रेनमा गरिएको सर्भेले रुसलाई आफ्ना केही भूभाग सुम्पिएर सम्झौता गर्ने हतार कदापि गर्न हुँदैन भन्ने जनमत बलियो रहेको देखाएको छ । युद्धमा रुसविरुद्धको प्रतिकार बलियो बन्दै गएपछि, उनीहरूको भनाइमा, रुस आजसम्म हडपेका सबै क्षेत्रबाट फिर्ता नभएसम्म वार्ता गर्नु हुँदैन भन्ने जनमत प्रबल बनिरहेको छ । रुसी सेना मुख्य गरी सन् १९९१ को सीमारेखाभन्दा बाहिरै बस्नुपर्ने उनीहरूको माग छ । तर यस प्रस्तावलाई वर्तमान रुसी नेतृत्वले सहजै स्वीकार गर्ला भनेर विश्वास गर्नचाहिँ गाह्रो छ ।

रुसी राजनीतिलाई नजिकबाट नियालिरहेका सान डिएगो स्टेट युनिभर्सिटीका राजनीतिशास्त्रका प्राध्यापक मिखाइल अलेक्सी भन्छन्— सैन्य विजयबिना रुस युद्धविरामका लागि राजी भयो भने मान्नुहोला, अर्को भयानक हमलाका लागि रुसले तयारी गरिएको छ । तर यो युद्धमा न रुसले चाहेजस्तो सफलता हासिल हुने अवस्था छ न त युक्रेनमा देखिएको केही हदसम्मको आत्मविश्वासले नै सकारात्मक नतिजा दिन सक्छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका हालसम्मका धारणा विश्लेषण गर्दा उनी रुसले चाहेजसरी सजिलै सम्झौतामा जानेछैनन् । रुसविरुद्धको जवाफी लडाइँमा उच्च आत्मविश्वास र अडानका साथ प्रस्तुत भएका उनी हाल विश्वभर लोकप्रिय छन् र विश्वसमुदायको सहानुभूति बटुलिरहेका छन् । जर्मनी, फ्रान्स र बेलायतको सहयोगले पनि उनको मनोबल थप बढाएको विश्लेषकहरू बताउँछन् । क्राइमियासमेत रुसबाट फिर्ता ल्याउने दाबी पनि जेलेन्स्कीले गरेका छन् ।

प्राध्यापक रोबर्ट एच. वेड अनुसार, अमेरिका र रुसबीचको वैचारिक भिन्नता र एकअर्कोलाई कमजोर बनाउने प्रपञ्चले युक्रेन संकटलाई यो अवस्थामा ल्याइपुर्‍याएको हुँदा ती दुई राष्ट्रबीच नयाँ समझदारी हुनेबित्तिकै यस युद्धको अन्त्य हुन्छ । युक्रेन संकटका विभिन्न आयाम हेर्दा विश्वको हर क्षेत्रमा आफ्नो प्रभाव र दबदबा कायम रहनुपर्छ भन्ने अमेरिकी कुत्सित मनसाय एकातर्फ र अर्कातर्फ युरेसिया क्षेत्रको खास शक्ति आफू नै भएकाले आफ्नो प्रभावलाई सबैले स्वीकार गर्नुपर्छ भन्ने रुसी दृष्टिकोण नै अस्थिरता र द्वन्द्वको खास कारक भएको ठम्याउन सकिन्छ । अमेरिकी संस्थापन रुस र चीन कुनै पनि हालतमा क्षेत्रीय वा एकल शक्तिका रूपमा उदाउन नसकून् भन्ने चाहन्छ । र त रुसी सीमापारिका देशहरूमा नेटो विस्तारको कुरा होस् वा पूर्वी एसिया तथा दक्षिणपूर्वी एसियामा चीनविरुद्ध प्रतिद्वन्द्विता बढाउन होस्, अमेरिका अनेक रणनीतिक योजनासाथ आक्रामक रूपमा अगाडि बढेको छ ।

अन्तर्राष्ट्रिय मामिलाका कतिपय जानकारहरू रुसले पनि जित्न नसक्ने र युक्रेन पनि हार्न नहुने गरी समाधानको विकल्पमा जानुपर्ने सुझाव दिन्छन् । मिन्स्क सम्झौताजस्तै मध्यमार्गी बाटो खोजिनुपर्नेमा उनीहरूको जोड छ । रुसी एवं युक्रेनी राष्ट्रपतिका अहिलेसम्मका धारणा सुन्दा तत्काल समाधान निस्किहाल्ने स्थिति पनि देखिँदैन । पुटिन युक्रेनलाई पाठ पढाउँदै युरेसियामा

आफ्नो प्रभाव रहेको सन्देश दिन चाहन्छन् भने जेलेन्स्कीचाहिँ क्राइमियासहितका भूभाग फिर्ता गराएरै छाड्ने अडानमा छन् । अमेरिकाचाहिँ रुस–युक्रेन तनावले रुसमा आन्तरिक राजनीतिमा संकट बढोस् र पुटिन–सत्ता परिवर्तन होस् भन्ने चाहन्छ ।

हुभर डाइजेस्टको एउटा लेखमा इतिहासकार नियल फर्गुसनले रुसी आक्रमणविरुद्ध युक्रेनको सशक्त प्रतिकारले विभाजित रहेको युक्रेनी समाजलाई एक बनाएको र देशभक्तिपूर्ण भावना एकीकृत रूपमा प्रकट भएको बताएका छन् । त्यसो त पश्चिमा मुलुकहरूको व्यापक सामरिक सहयोगबिना युक्रेन आफ्नै बलबुताले लडिरहेको छ भन्नुचाहिँ बेतुकको कुरा हुने बताउँछिन् सेन्टर फर स्ट्राटेजिक एन्ड इन्टरनेसनल स्टडिजकी अध्येता इमिली हार्डिङ ।

अमेरिकी अधिकारीहरू रुसी आक्रमणलाई देखाएर रुसमाथि अनेक प्रतिबन्ध लगाउन पाए रुसभित्र आन्तरिक विद्रोह सुरु हुन सक्छ, अर्थतन्त्र गम्भीर अवस्थामा पुग्छ र रुसी सत्ताले कडा दबाबको सामना गर्छ भन्न भ्रममा थिए । । तर युद्ध सुरु भइसकेपछिका यी १६ महिनालाई हेर्ने हो भने रुसको हालत अमेरिकासहितका पश्चिमा शक्तिहरूले सोचेजस्तो खराब भएन । अप्ठ्यारो अवस्थाको सामना त पक्कै गरिरहेको छ तर कच्चा पदार्थहरू सस्तोमै सही निर्यात गरेर रुसले भयानक संकट टारिरहेको छ । यो अवस्था दीर्घकालीनचाहिँ नहुन सक्छ । हार्वर्ड प्राध्यापक स्टेफन वाल्टले टिप्पणी गरेजस्तो, पुटिनका लागि तत्कालको हिसाबले ठीकै त रहला तर रुसको दीर्घकालीन भविष्यका लागि चाहिँ कडा मूल्य चुकाउनुपर्ने हुन्छ ।

रुसविरुद्ध युक्रेनलाई प्रोत्साहन गरिरहेको अमेरिकाचाहिँ यस युद्धमा आफू प्रत्यक्ष सहभागी हुन चाहँदैन । जो बाइडेन प्रशासन रुससँग सीधा टकराव नहोस् भन्नेमा चाहिँ निकै होसियार देखिन्छ । आणविक अस्त्र प्रयोग गर्न सकिने पुटिनको धम्की एक किसिमको ब्ल्याकमेल मात्र भएको टिप्पणी गरिए पनि रुसविरुद्ध अमेरिका बढ्ता खुल्दै गएमा पुटिनले खराब विकल्प नलेलान् भन्न सकिन्न । हुन त जेलेन्स्कीमा पनि आत्मविश्वास उत्तिकै देखिएको छ । ‘हतियार देऊ, बाँकी काम म गर्छु’ भन्ने किसिमको उनको टिप्पणी सन् १९४१ ताकाको ‘साधनहरू उपलब्ध होऊन्, सबै काम म सिद्ध्याउँछु’ भन्ने विन्स्टन चर्चिलको उद्घोषजस्तो भएको कतिपयको भनाइ छ । तर त्यो बेलाको शक्तिशाली बेलायतका प्रधानमन्त्री र अहिलेको कमजोर युक्रेनका नेतामा देखिएको आत्मविश्वासको गहिराइमा पक्कै पनि समानता छैन । कमजोर युक्रेनको यथार्थ के हो भने, रुसविरुद्ध लड्ने आफ्नो आँत बलियो छैन, हरपल मित्रराष्ट्रहरूको सहयोग र आडभरोसामै टिकिरहनुपरिरहेको छ ।

रुस र युक्रेनसँग सौहार्दपूर्ण सम्बन्ध रहे पनि युद्ध समाधानमा गम्भीरता नदेखाएको आरोप खेपिरहेको चीनले युद्धको एक वर्षपश्चात् संकट समाधानको १२ बुँदे प्रस्ताव सार्वजनिक गर्दै दुवै पक्षसँग वार्ता गर्नका लागि विशेष दूतसमेत नियुक्त गरेको छ । सबै मुलुकको सार्वभौमिकताको सम्मान, शीतयुद्धकालीन मानसिकताको अन्त्य, तनाव अन्त्यका उपायहरू, शान्ति वार्ताको प्रारम्भ, मानवीय संकटको सम्बोधन, नागरिक एवं युद्धबन्दीहरूको रक्षा, आणविक केन्द्रहरूको सुरक्षा, औद्योगिक तथा आपूर्ति व्यवस्थाको स्थिरता लगायतका बुदाहरू चिनियाँ प्रस्तावमा समेटिएका छन् । चीनको धारणाबारेको प्रतिक्रियामा युक्रेनी राष्ट्रपति जेलेन्स्कीले वार्ताका लागि चीनको प्रयास सकारात्मक भएको र युद्ध अन्त्यका लागि चीनको प्रयासमा सहकार्य गर्न सकिने बताएका छन् । ‘हामी सबैलाई जोड्न चाहन्छौं न कि कसैलाई निषेध गर्ने पक्षमा छौं,’ उनले भनेका छन् ।

रुस–युक्रेन दुवै पक्षलाई वार्ताको टेबलमा ल्याउने पहलकदमीका लागि बेइजिङले शान्तिदूत नियुक्त गरेका अनुभवी कूटनीतिज्ञ ली हुईले दुवै पक्षसँग संवादको थालनी गरिसकेका छन् । करिब एक दशक मस्कोमा राजदूत रहिसकेका लीको चयनलाई मस्कोले अत्यन्त उपयुक्त पात्रका रूपमा त लिएको छ नै, युक्रेनले समेत सकारात्मक सुरुआत भन्दै उनको गहन अध्यन र अनुभवले निष्पक्ष र प्रभावकारी काम गर्न सहयोग पुग्ने विश्वास लिएको छ । । शान्त र भद्र स्वभावका लीले युद्ध अन्त्य र शान्ति स्थापनार्थ कस्तो भूमिका खेल्न सक्छन्, त्यो हेर्न पक्कै पनि धेरै कुर्नुपर्दैन । कतिपय विश्लेषक पश्चिमा मुलुकहरूको पहलकदमीभन्दा चीनको प्रयास रहँदा रुसलाई पनि सहज हुने र युक्रेन पनि सकारात्मक हुने स्थिति रहेकाले चीनका लागि द्वन्द्व समाधानका लागि महत्त्वपूर्ण कूटनीतिक अवसर रहेको टिप्पणी गर्छन् । रुस–युक्रेन युद्ध अन्त्यका लागि आफूले सक्ने सामान्य प्रयाससम्म नगरेको भन्दै विभिन्न कोणबाट चीनको आलोचना पनि हुँदै आएको थियो । फ्रान्सका राष्ट्रपति इमानुल म्याक्रोन र जर्मन चान्सलर ओलाफ शोल्जले पनि रुस–युक्रेन संकट समाधानमा पहल गर्न चिनियाँ पक्षलाई आग्रह गरेका थिए । तर चीनको पहलकदमीमा चाहिँ अमेरिकी अधिकारीहरू विश्वास गर्दैनन् । रुसलाई चिढ्याउन नचाहने चीनको प्रयासले कुनै निष्कर्ष निकाल्न नसक्ने उनीहरूको दाबी छ ।

रुस–युक्रेन युद्ध तत्काल अन्त्य हुने संकेत देखिएको छैन । अमेरिकासहितका पश्चिमा देशहरू रुसवरपर नेटो विस्तारको अभियानलाई थप सक्रिय बनाउन लागिपरेका छन् । युक्रेनलाई मद्दत गर्न भन्दै नियमित भइरहेको आधुनिक हतियारहरूको सहयोगले पनि यस युद्धलाई थप जटिल बनाएको छ । युक्रेन हार स्वीकार नगर्ने स्थितिमा छ, रुस पनि पराजित हुन कदापि मान्दैन । ऊ कुनै पनि किसिमले आफ्नो हैसियत माथि नै हुनुपर्छ भन्ने चाहन्छ । युद्धको विश्व अर्थतन्त्रमा नकारात्मक असर पनि थप पेचिलो बनेको छ । यो युद्ध एक हिसाबले अन्तर्राष्ट्रिय आयामको रहेकाले जिम्मेवार शक्तिराष्ट्रहरूबीचको प्रयास र सहमतिबिना शान्तिपूर्ण समाधान सम्भव देखिँदैन ।

अनावश्यक रूपमा लम्बिरहेको युद्धको मानवीय क्षति र संकट कम्ती कहालीलाग्दो छैन । अर्को विडम्बना, यस युद्धको समाधान एवं मानवीय संकट सम्बोधनमा संयुक्त राष्ट्रसंघ लगायतका अन्तर्राष्ट्रिय निकायहरूको भूमिकालाई लिएर पनि धेरै आलोचना भइरहेको छ ।

जित–हारको नदेखिएको स्थितिमा कतिपय सामरिक विज्ञहरू कोरियाली प्रायद्वीपमा सन् १९५३ मा भएजस्तो युद्धविरामको मोडलमा जानुपर्ने सुझाउँछन्, जसले युद्धको औपचारिक अन्त्य नगरीकनै युद्धविरामको अवस्था ल्याउँछ । यसैको जगमा थप वार्ता प्रक्रियाहरूद्वारा दिगो समाधान पहिल्याउन त नसकिने होइन तर अमेरिकासहितका पश्चिमा शक्तिहरूले रुसलाई चिढ्याउने र अनुचित रूपमा मुठभेडमा ल्याउने प्रयासचाहिँ गर्नु हुँदैन ।

निष्कर्षमा, रुस–युक्रेन युद्ध समाधानका लागि शक्तिराष्ट्रहरूले विश्वसमुदायको चाहना, आफ्ना सीमाहरूको ज्ञान, एकले अर्कोलाई चिढ्याउने प्रवृत्तिको अन्त्य, वर्चस्वशाली मान्यताको निषेध, शीतयुद्धकालीन सोचको अन्त्य एवं अन्तर्राष्ट्रिय मूल्य–मान्यताको सम्मानजस्ता महत्त्वपूर्ण विषयहरूलाई आत्मसात् गर्न सक्नुपर्छ । तर युक्रेन संकटको बहाना बनाएर एकअर्कोलाई ठेगान लगाउछु भन्ने ढंगबाट प्रस्तुत भइरहे यो युद्ध निकै लामो समयसम्म तन्किन सक्छ । अमेरिका जसरी पनि रुसलाई कमजोर बनाउने रणनीतिमा रहेकाले यस युद्धबाट उत्साहित त भएको हुन सक्छ तर यसबाट विश्वमञ्चमा पर्ने दीर्घकालीन असरबारे अमेरिकी रणनीतिकारहरू बेखबर हुनु पनि घातक साबित हुन सक्छ । यस युद्धको अन्त्य गराउन सक्ने क्षमता एकल शक्तिमा छैन, छ भने सुरक्षा परिषद्का स्थायी सदस्यहरू अमेरिका, रुस, चीन, बेलायत र फ्रान्स तथा अन्य केही मुलुक जर्मनी, ब्राजिल र भारतसहितको ठोस अग्रसरतामा मात्र सम्झव छ ।

प्रकाशित : असार १३, २०८० ०८:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?