१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३२

स्वच्छ र मर्यादित महिनावारी : महिलाको नैसर्गिक अधिकार

स्पेनले महिनावारीका बेला महिलालाई तीन दिन बिदा दिने कानुन लागू गरेको छ । त्यहाँ अब महिलाले आफ्नो आवश्यकताअनुसार महिनावारीका बेला थप अतिरिक्त दुई दिन गरी पाँच दिनसम्म रजस्वला बिदा लिन पाउनेछन् ।
मीना मरासिनी

पहिलो पटक रजस्वला हुँदा सूर्य र मर्दको अनुहार हेर्नु हुँदैन भन्ने मान्यतामा पन्ध्र दिनसम्म भैंसीगोठको घाँस राख्ने तलामा लुकेर बस्न बाध्य भएका क्षणहरू धेरै वर्षपछि पनि स्मृतिबाट ओझेल भएका छैनन् । त्यसरी लुक्ने क्रम दोस्रो र तेस्रो महिनावारीसम्म पनि चलिरहेको थियो ।

स्वच्छ र मर्यादित महिनावारी : महिलाको नैसर्गिक अधिकार

चौथोदेखि चाहिँ लुक्नु नपर्ने तर छोइछिटो बार्नुपर्ने, चार दिनसम्म । किशोरावस्थाको प्रारम्भिककालको त्यो समयमा त्यसरी लुक्ने र लुकाइने प्रथालाई सहजै स्विकार्नुको विकल्प थिएन किनकि दिदीहरूले पनि त्यही भोगेका थिए । काँचो उमेर, पहिलो रजस्वलाको डर र अत्यास, मनोवैज्ञानिक तनाव, संवेगात्मक अस्थिरता, दुखाइ र पीडा अनि सरसफाइको आवश्यकताजस्ता परिस्थितिबीच सूर्य र मर्दको अनुहार नै हेर्न नपाउने गरी भकारोमाथिको घाँस तथा पतिंगरमा कीरा–फट्यांग्रा, माउसुली, मुसा, सर्प तथा लामखुट्टेहरूबाट त्रस्त रहँदै दिनरात कटाउनु सजिलो त पक्कै थिएन । तर आफ्नै उमेरका साथीहरू र त्यो कर्म भोगिसकेका दिदीहरूको हाँसोठट्टा, ढाडस, उन्मुक्तता र कुराकानीहरूले गोठमा बिताएका रातहरूसमेत रमाइला लाग्थे । महिनावारी स्वच्छता, दैनिक व्यक्तिगत सरसफाइ, अभिभावकको सल्लाह र परामर्शजस्ता पक्षको सायद त्यो बेला कल्पनै गरिएन । त्यो प्रथा हरेक छोरीको जीवनको अभिन्न अंगजस्तै गरी स्वीकार गरिएको थियो र सबैले पालो पर्खिनु नियति नै बनेको थियो । कतिपय दिदी तथा साथीले गोठमा लुक्नुपर्ने पहिलो महिनावारीकै कारण स्कुलको अन्तिम परीक्षासमेत गुमाउनुपरेको पीडा आफैंले देखेको हुनाले धन्न आफ्नोचाहिँ परीक्षाको बेला परेन भनेर खुसी हुनुपर्ने अवस्था थियो । सायद अहिले मेरो गुल्मीस्थित जन्मगाउँका बहिनी तथा छोरीहरूले पहिलो महिनावारीमा गोठमा लुक्नुपर्दैन होला तर रजस्वलामा हुने छोइछिटोको चलनमा भने कमी आएको छैन ।

बाँच्नका लागि अनिवार्य रहेका खानपान, श्वास–प्रश्वास, मलमूत्र विसर्जनजस्ता जैविक परिघटनाजस्तै प्रजननशील महिलाका लागि रजस्वला पनि शरीरको स्वाभाविक र अनिवार्य क्रिया हो । तर सृष्टि धान्ने यो चक्रलाई हाम्रो समाजले अझै पनि स्वाभाविक रूपमा स्वीकार गर्न सकेको छैन, जसका कारण महिलाहरू महिनावारीजन्य छुवाछुत तथा समस्याहरूबाट ग्रस्त भैरहनुपरेको छ । देशका कतिपय ठाउँमा छाउगोठमै राखेर महिनावारीमा महिलालाई प्रताडित गरिन्छ । महिनावारी बार्ने नाममा देशका अधिकांश महिलालाई अहिले पनि आधारभूत स्वास्थ्य तथा सरसफाइ, खानपान, आराम र बसाइका साथै न्यूनतम मर्यादाको अधिकारबाट समेत वञ्चित गराइएको छ । यसमा हाम्रा कतिपय धर्मशास्त्रका मान्यताहरूलाई मात्र दोष दिने ठाउँ छैन । किनभने धार्मिक आस्था पालना गर्न नरुचाउने र आफूलाई आधुनिक पुस्ताका मान्ने धेरै पुरुष नै आफ्ना पत्नी, बहिनी, छोरीलाई रजस्वलामा छोइछिटो गर्नेमा अग्रपंक्तिमा देखिन्छन् । उता कतिपय आधुनिक पुस्ताका किशोरी तथा युवती वा विवाहित महिलाहरूसमेत महिनामा चार दिन भए पनि भान्साको कामबाट छुट्टी पाइन्छ भनेर आफ्नै मर्जीले महिनावारी बार्न लालायित हुने गरेको समेत पाइन्छ । यस्तो क्रियाकलाप वास्तवमा महिनावारीमा हुने विभेद तथा समस्याका कारण प्रताडित हुनुपरेका महिलामाथिको मजाक हो ।

संयुक्त राष्ट्रसंघको एउटा तथ्यांक अनुसार, विश्वमा ५० करोड महिला तथा किशोरीलाई आफ्नो महिनावारी व्यवस्थापनका लागि पर्याप्त सरसामानको पहुँच छैन, महिनावारी स्वास्थ्यको सुविधाबाट पनि वञ्चित छन् । न्यूनतम मानवीय आवश्यकतासमेत परिपूर्ति हुन नसकेको यो अवस्थालाई राष्ट्रसंघले रजस्वला गरिबीका रूपमा परिभाषित गरेको छ । रजस्वला गरिबी भनेको रजस्वला हुने महिला तथा किशोरीमा उक्त समयमा चाहिने सरसमान किन्ने क्षमता नहुनु हो, जुन विकासोन्मुख देशहरूका लागि गम्भीर चिन्ताको विषय बनिरहेको छ । सरकारी तथ्यांक अनुसार नेपालमा महिनावारी हुने किशोरीमध्ये १५ प्रतिशतले मात्रै स्यानिटरी प्याड प्रयोग गर्ने गर्छन् । विद्यालय शिक्षामा यौन तथा प्रजननको विषयलाई समावेश गरिएको त छ, तर निकै सतही रूपमा । त्यसैले व्यावहारिक तथा जीवनोपयोगी ज्ञान तथा सीप दिने काम शिक्षक–शिक्षिकाबाट हुन सकेको छैन । स्वास्थ्य तथा विज्ञान विषयको प्रजनन स्वास्थ्यको पाठ पढाउँदा शिक्षक र विद्यार्थी सबै लाजले रातोपिरो हुने र घुसेमुन्टो लगाउने चलन अझै पूर्णतः हट्न सकेको छैन । विद्यालय पढ्ने किशोरीलाई महिनावारी रगत तथा स्वच्छता व्यवस्थापनको विषय निकै जटिल बन्ने गरेको छ । कतिपय सहरी क्षेत्रका सार्वजनिक विद्यालयहरूले समेत स्कुलमा छात्राहरूलाई निःशुल्क रूपमा स्यानिटरी प्याड दिने र प्याड फेर्नका लागि गोप्य तथा सुरक्षित शौचालय कक्षको व्यवस्था गर्ने गरेका भए पनि ग्रामीण क्षेत्रका छात्राहरूका लागि यो सुविधा अहिलेका लागि दिवास्वप्न मात्रै हो । निःशुल्क प्याड तथा महिनावारी सम्बन्धी शिक्षाको व्यवस्था त परको कुरा, विद्यालयहरूमा छात्राका लागि छुट्टै शौचालयको समेत अभाव छ । सोही कारण रजस्वला भएका कैयौं छात्राका लागि हरेक महिना रक्तस्रावको अवधिसम्म स्कुल जान नपाउनु नियमजस्तै बनेको छ । युनेस्कोको एउटा अध्ययन अनुसार, सब–सहारा अफ्रिका क्षेत्रका १० प्रतिशत छात्रा रजस्वला भएको बेला स्कुल जान पाउँदैनन्, जसका कारण वर्षेनि २० प्रतिशत कक्षा छुट्ने गर्छ ।

२१ औं शताब्दीको दोस्रो दशक पार गरिसक्दा पनि महिनावारीलाई हाम्रो समाजले अझै अन्धविश्वासी एवम् नकारात्मक दृष्टिबाट हेर्ने गरेकै कारण जनसंख्याको आधा हिस्साले अमर्यादित र असुरक्षित जीवन गुजार्न बाध्य हुनुपरिरहेको छ । यो परिप्रेक्ष्यमा महिनावारीलाई मर्यादित, सुरक्षित तथा स्वस्थ बनाउने दिशामा सबै तहबाट भरमग्दुर प्रयास हुनु जरुरी छ ।

मुलुकी संहिता–२०७४ ले महिनावारी सम्बन्धमा हुने सबै किसिमका भेदभाव, छुवाछुत तथा अमानवीय व्यवहारहरूलाई दण्डनीय बनाएको छ । तर पनि राष्ट्रिय मर्यादित महिनावारी नीति–२०७५ अनुसार नेपालका विभिन्न समुदायमा महिनावारीलाई अन्धविश्वास, छुवाछुतजस्ता विभेदका दृष्टिले हेरिन्छ र रजस्वलाको रगतलाई लाज, भेदभाव, अपवित्रता तथा फोहोर र प्रदूषित मानिन्छ । केवल १५ प्रतिशत किशोरीले मात्र रजस्वलाका बेला स्यानिटरी प्याड प्रयोग गर्ने गरेको तथ्यबाट हाम्रोमा रजस्वला गरिबीको अवस्था कति भयानक छ भनी सहजै अनुमान गर्न सकिन्छ ।

महिनावारीकै कारण महिलाहरू कार्यस्थल, विद्यालय आदिमा लज्जित हुनुपर्ने, काम वा पढाइ नै छाड्नुपर्ने, जागिरमा असुरक्षा उत्पन्न हुने, अमर्यादित व्यवहार हुने तथा हीनताबोध हुने अवस्था छ । कमजोर महिनावारी स्वास्थ्य तथा स्वच्छताले रजस्वला हुने महिला तथा छोरीहरूलाई काम गर्न पाउने तथा विद्यालय जान पाउने आधारभूत अधिकारबाट वञ्चित गराउँछ । यसले महिलामाथिको सामाजिक तथा आर्थिक असमानतालाई झनै बढाउँछ । आफ्नो महिनावारी व्यवस्थापन गर्न पर्याप्त स्रोतको अभाव हुनुका साथै बहिष्करण र लज्जाका कारण धेरै महिला तथा छोरीहरूको आत्मसम्मानमै ठेस पुग्छ ।

रजस्वलालाई स्वाभाविक जैविक प्रक्रियाका रूपमा लिई छोरी, बुहारी तथा दिदीबहिनीको मर्यादित महिनावारी तथा महिनावारी स्वच्छताका लागि हरेक अभिभावक, समाजका अगुवा तथा ठालुहरू र राजनीतिक नेतृत्वले जिम्मेवारीपूर्वक आफ्नो भूमिका निर्वाह गरिरहेका छन् कि आफैं परम्परागत सामाजिक मनोवृत्तिको सिकार बनिरहेका छन् ? यो सोचनीय विषय हो । अहिले हरेक स्थानीय तहको प्रत्येक वडामा कम्तीमा दुई महिला जनप्रतिनिधि छन् । तर तिनले आफ्नो घर–समाजमा महिनावारी सम्बन्धी भ्रम, किशोरी तथा महिलामाथि हुने गरेका विभेद तथा रजस्वला स्वच्छताको विषयलाई खासै प्राथमिकतामा राखेको देखिँदैन । महिनावारी स्वच्छता तथा जनचेतना अभिवृद्धिमार्फत छोरीहरूमाथिको यस्तो विभेद हटाउन गाउँगाउँमा रहेका महिला स्वास्थ्य स्वयंसेविका तथा सामाजिक कार्यकर्ताहरूको भूमिका पनि सन्तोषजनक रहन सकेको छैन । दुःखको कुरा त, अधिकांश उनै जनप्रतिनिधि, अगुवा तथा जनस्वास्थ्यका क्षेत्रमा क्रियाशील महिलाहरू नै आफ्नै घरभित्र महिनावारीको विभेदबाटै गुज्रिरहनुपरेको छ ।

हालै युरोपेली मुलुक स्पेनले महिनावारीका बेला महिलालाई तीन दिन बिदा दिने कानुन लागू गरेको छ । त्यहाँ अब महिलाहरूले आफ्नो आवश्यकता अनुसार महिनावारीका बेला थप अतिरिक्त दुई दिन गरी पाँच दिनसम्म रजस्वला बिदा लिन पाउनेछन् । जापान, दक्षिण कोरिया, फिलिपिन्सका साथै अफ्रिकी मुलुक जाम्बियामा समेत महिनावारीका बेला महिलाले आफ्नो कार्यस्थलमा बिदा लिन पाउने कानुन छ । हुन त नेपाली महिलाहरूले अमर्यादित, अस्वस्थ, छुवाछुतयुक्त तथा पीडादायी महिनावारीको चक्रबाट गुज्रिरहनु परेको परिप्रेक्ष्यमा महिनावारी बिदा हाम्रा लागि स्वैरकल्पना हुन सक्छ, तर समाजलाई न्यूनतम मानवीय मर्यादासहितको सभ्य, सुसंस्कृत तथा समुन्नत बनाउने हो भने रजस्वलालाई स्वच्छ र मर्यादित बनाई महिलामाथि हरेक महिना हुने पाशविक व्यवहारको अन्त्य गर्नैफर्छ ।

प्रकाशित : असार ५, २०८० ०८:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?