१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१४

कांग्रेसको भविष्य र रूपान्तरणको सम्भावना

कांग्रेसको रोग वंशानुगत होइन, सत्ताको अवाञ्छित तृष्णाले अप्राकृतिक सम्झौता गर्दा संक्रमित भएको हो । सत्तालाई नै अन्तिम सत्य ठान्ने संक्रामक रोग र सम्झौतामुखी प्रवृत्तिबाट मुक्त भयो भने कांग्रेसको पुनर्जीवन र रूपान्तरण सम्भव छ ।

गठबन्धनका बावजुद अपेक्षित परिणाम पाउन नसकेपछि कांग्रेसको भविष्य, औचित्य र सान्दर्भिकताबारे शक्तिकेन्द्रदेखि सामाजिक सञ्जालसम्म बहस चलिरहेको छ । यद्यपि निर्वाचन परिणाम अपेक्षा अनुसार नआए पनि कांग्रेसको संघीय संसद्मा सबैभन्दा ठूलो दलका रूपमा स्थापित भई सरकारको प्रमुख साझेदार भएको छ । तीन प्रदेशमा कांग्रेसकै नेतृत्वमा सरकार छन् भने अन्य तीन प्रदेश सरकारमा सहभागी छ । यसै गरी ३२९ वटा स्थानीय सरकार कांग्रेसको नेतृत्वमा बनेका छन् ।

कांग्रेसको भविष्य र रूपान्तरणको सम्भावना

गणितीय र सत्ताका दृष्टिले यो उल्लेखनीय उपलब्धि हो । त्यसैले यो कांग्रेसले विजयोत्सव मनाउने घडी हो । तर मंसिरको आम निर्वाचन र वैशाख १० को उपनिर्वाचनले शक्तिशाली झट्का दिएपछि सफलताको विजयोत्सवसमेत मनाउन नसकेर कांग्रेसका शीर्ष नेतृत्व पंक्तिदेखि कार्यकर्तासम्म अहिले शोकमग्न देखिन्छन् । गणितीय दृष्टिले त रास्वपाको प्रतिनिधिसभामा केवल २१ सिट छ र उपनिर्वाचनबाट कांग्रेसले एक सिट मात्रै गुमाएको हो, तर राजनीतिक दृष्टिले त्यसले कांग्रेसलाई अर्थपूर्ण सन्देश दिएको छ ।

कांग्रेसको नीति र नेतृत्वप्रति मध्यम वर्ग र बौद्धिक समुदाय असन्तुष्ट भई निरपेक्ष भएपछिको निर्वाचन परिणामका कारण यो पार्टीलाइ राजनीतिक र सांगठनिक दृष्टिले क्षति भएको छ । यही वास्तविकतालाई आत्मसात् गरेर होला, कार्यकर्ताहरूमा व्यापक निराशा देखिन्छ भने शीर्ष नेतृत्व पनि आत्मविश्वास गुमाएर मौन बसेको छ । २०३७ को जनमतसंग्रहमा बहुदलको पराजय तथा २०७४ को निर्वाचनमा सीमान्तीकृत हुँदा पनि कांग्रेसका नेता–कार्यकर्ताको आत्मबल अहिलेको जस्तो कमजोर भएको थिएन ।

के अहिले प्रचलित भाष्यजस्तै कांग्रेसको भविष्य र सान्दर्भिकता समाप्त भएकै हो ? अब कांग्रेसको सैद्धान्तिक–वैचारिक र वर्गीय आधार छैन ? के कांग्रेसमा सुधार र रूपान्तरणको सम्भावना छैन ? पटकपटक राज्यसत्ता सञ्चालन गर्ने अवसर पाएर पनि कांग्रेस किन दिन–प्रतिदिन कमजोर हुँदै छ ? यो कांग्रेसको असफलता हो कि नेतृत्वको ? यस्ता अनन्त प्रश्न उठेका छन् । यिनै प्रचलित भाष्य, प्रश्न र प्रतिप्रश्नको परिधिमा कांग्रेसको भविष्य, औचित्य र सान्दर्भिकताबारे यहाँ वस्तुनिष्ठ विश्लेषण गर्ने प्रयास गरिएको छ ।

सैद्धान्तिक–वैचारिक आधार

राजनीतिक विचारधारा र सैद्धान्तिक वर्गीकरणका दृष्टिले कांग्रेस लोकतन्त्रवादी, उदारवादी, मध्यमार्गी र बहुलवादी पार्टी हो । स्थापनाकालदेखि कांग्रेसले अख्तियार गर्दै आएका मार्गनिर्देशक सिद्धान्तहरू — राष्ट्रियता, लोकतन्त्र र समाजवाद — आज पनि उत्तिकै सान्दर्भिक छन् । त्यसैले लोकतन्त्रवादी, मध्यमार्गी, उदारवादी पार्टी कांग्रेसको सैद्धान्तिक–वैचारिक आधारशिला बलियो छ । कांग्रेसको जस्तो स्पष्ट र मूर्त सैद्धान्तिक–वैचारिक धरातल अन्य पार्टीको छैन । अन्य पार्टीले लोकतान्त्रिक प्रणाली र अहिलेको संविधानलाई उपयोग मात्रै गरेका हुन् । तर कांग्रेसले परिकल्पना गरेको राजनीतिक प्रणाली र संविधान नै यही हो । त्यसैले सैद्धान्तिक–वैचारिक दृष्टिले यो कांग्रेसको ठूलो विजय हो ।

तर २१ औं शताब्दीको परिवर्तित राष्ट्रिय–अन्तर्राष्ट्रिय परिदृश्यमा राजनीतिक, भूराजनीतिक, आर्थिक, सामाजिक, व्यापारिक, धार्मिक तथा सांस्कृतिक चुनौतीहरू अत्यन्त जटिल र पेचिला हुँदै गएका छन् । उक्त चुनौतीहरू सामना गरी कांग्रेसले परिकल्पना गरेको समन्यायिक र समतामूलक समाज निर्माण गर्न केही विचार र सिद्धान्तलाई समयानुकूल परिभाषित गर्नु आवश्यक देखिएको छ । संविधानसभाबाट बनेको संघीय लोकतान्त्रिक गणतान्त्रिक संविधानको सफल अभ्यास गरी समुन्नत नेपाल निर्माण गर्न केही नयाँ विचार र नीति अनुसरण गर्नुपर्ने अपरिहार्य राजनीतिक परिस्थिति सृजना भएको छ । परिवर्तित राजनीतिक तथा संवैधानिक परिदृश्यमा कांग्रेसको सैद्धान्तिक–वैचारिक रूपान्तरण अहिलेको अनिवार्य आवश्यकता हो ।

लोकतान्त्रिक समाजवादलाई मार्गनिर्देशक सिद्धान्तका रूपमा अंगीकार गरेको कांग्रेसले २०४८ पछि अवलम्बन गरेको उदार अर्थनीतिले राष्ट्रिय अर्थतन्त्र सकारात्मक योगदान गर्‍यो । राष्ट्रिय अर्थतन्त्र वृद्धि भयो । उच्च, मध्यम तथा निम्न मध्यम वर्ग लाभान्वित भए । तर गरिब, विपन्न, किसान, मजदुर, समाजमा पिछडिएका तथा वञ्चितीकरणमा परेका सीमान्तीकृत समुदायको अपेक्षित उत्थान र विकास हुन नसकेको प्रश्न पनि उठिरहेको छ । कांग्रेसको परिकल्पना अनुसार समन्यायिक तथा समतामूलक समाज स्थापना गर्न हालसम्म अनुसरण गरेको नीतिले कति सकारात्मक योगदान गर्‍यो भन्ने प्रश्न अब समीक्षाको विषय हो ।

कांग्रेस पुँजीवादी पार्टी होइन, लोकतान्त्रिक समाजवादी भए पनि शास्त्रीय समाजवादी पनि होइन । कांग्रेसले हालसम्म अख्तियार गर्दै आएको आर्थिक तथा विकास नीतिको समीक्षा र पुनर्विचार गर्ने घडी यही हो । उदार अर्थनीतिका आधारभूत सिद्धान्तलाई अनुसरण गरी समावेशी आर्थिक वृद्धि गर्दै वातावरणमैत्री दिगो विकास नीति अवलम्बन गर्नु जरुरी छ । लोकतान्त्रिक समाजवादलाई समयानुकूल पुनः परिभाषित गर्नुपर्छ । कांग्रेसलाई लोकतान्त्रिक समाजवादी (डेमोक्रेटिक सोसलिस्ट) भन्दा पनि एक कदम अगाडि बढेर सामाजिक लोकतन्त्रवादी (सोसल डेमोक्रेटिक) पार्टीमा रूपान्तरण गर्नु समयको माग हो ।

गणतन्त्र, लोकतन्त्र, संघीयता, धर्मनिरपेक्षता, बहुलता, समावेशीकरण, मिश्रित निर्वाचन प्रणाली संविधानका आधारभूत सिद्धान्त हुन् । तर यी आधारभूत सिद्धान्तलाई कांग्रेस आफैंले कति आत्मसात् गरेको छ भन्ने प्रश्न पनि उठिरहेको छ । बीपी कोइरालाले अंगीकार गरेको संवैधानिक राजतन्त्र र बहुदलीय लोकतन्त्रको मौलिक सिद्धान्त त्यागेर गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता स्वीकार गरेका कारण परम्परागत वर्गाधार कमजोर भएको विवादास्पद अभिव्यक्तिहरू कांग्रेस पंक्तिबाटै आउने गरेका छन् । तर त्यस्ता उदारवादी र प्रगतिशील एजेन्डा अनुसरण गरेका कारण होइन, जनताको भावना अनुरूप परिवर्तनलाई पूर्ण रूपमा आत्मसात् गर्न नसकेको तथा विवादास्पद अभिव्यक्तिका कारण कांग्रेस अलोकप्रिय भएको हो ।

बीपी समयको गति र जनताको भावना बुझ्ने लोकतन्त्रवादी, उदारवादी, प्रगतिशील र जनताप्रति उत्तरदायी नेता थिए । बीपीको कार्यकालमा कांग्रेस लोकतन्त्रवादी, क्रान्तिकारी, उदारवादी, प्रगतिशील र जनताप्रति उत्तरदायी पार्टी थियो । त्यसैले कांग्रेसलाई कन्जरभेटिभ र अनुदार होइन, थप लोकतन्त्रवादी, उदार र प्रगतिशील पार्टीमा रूपान्तरण गर्नुपर्छ । अनि मात्र सैद्धान्तिक–वैचारिक आधारशिला थप सुदृढ हुनेछ । यदि कन्जरभेटिभ वा अनुदारवादी दिशातर्फ उन्मुख भयो भने कांग्रेसको सान्दर्भिकतामाथि गम्भीर प्रश्नचिह्न खडा हुनेछ ।

वर्गीय आधार

गत आम निर्वाचनमा करिब २६ प्रतिशत जनमत हासिल गरेको कांग्रेस सम्पूर्ण नेपाली जनताको प्रतिनिधित्व गर्ने पार्टी भए पनि यसको प्रमुख वर्गीय आधार मध्यम वर्ग तथा निम्नमध्यम वर्ग, बौद्धिक समुदाय र युवा पंक्ति हुन् । करिब २५ प्रतिशत मध्यम वर्ग र करिब १५ प्रतिशत निम्नमध्यम वर्ग गरी लगभग ४० प्रतिशत मध्यम तथा निम्नमध्यम वर्ग भएकाले कांग्रेसको वर्गीय आधार पनि कमजोर छैन । मध्यम वर्ग तथा निम्नमध्यम वर्ग स्वाभाविक रूपमा लोकतान्त्रिक प्रणाली तथा लोकतन्त्रवादी पार्टीप्रति प्रतिबद्ध हुन्छन् । यद्यपि कांग्रेसले केवल मध्यम वर्ग, निम्नमध्यम वर्ग र बौद्धिक वर्गको मात्रै होइन, गरिब, किसान, मजदुर, उत्पीडित, अल्पसंख्यक, दलित, वञ्चितीकरणमा परेका समाजका निम्न वर्गको समेत विकास र उत्थान गर्ने नीति अख्तियार गर्नुपर्छ । यसले वर्गीय आधार पनि कायम रहन्छ र कांग्रेस मध्यमार्गी, उदारवादी, प्रगतिशील पनि हुन्छ ।

२०४६ मा लोकतन्त्र स्थापना भएपछि विकसित भएको स्वतन्त्र प्रेस, सूचना प्रविधि र सामाजिक सञ्जालको भूमिकाका कारण नेपालमा बौद्धिक समुदाय र ‘क्रिटिकल मास’ को विकास र प्रभाव पनि उल्लेखनीय रूपमा बढ्दै गएको छ । आलोचनात्मक चेत भएको बौद्धिक समुदाय, मध्यम वर्ग, नागरिक समाज र क्रिटिकल मास स्वार्थ, सिद्धान्त र स्वभाव तीनवटै दृष्टिले लोकतन्त्रप्रति प्रतिबद्ध र लोकतन्त्रवादी पार्टी समर्थित हुन्छन् । मध्यम वर्ग, बौद्धिक समुदाय, नागरिक समाज र क्रिटिकल मासले आलोचनात्मक नै भए पनि हालसम्म कांग्रेसलाई नै समर्थन र सहयोग गर्दै आइरहेका छन् । अर्को विश्वसनीय लोकतन्त्रवादी पार्टी नभएकाले हालसम्म कांग्रेसले यसको एकल र उच्चतम राजनीतिक लाभांश पाउँदै आएको छ । त्यसैले २०६४ को संविधानसभा र गत मंसिरको आमनिर्वाचनबाहेक कांग्रेसले सधैं ३० देखि ३८ प्रतिशत मत पाउन सफल हुँदै आएको छ ।

अनुत्तरदायी पार्टी सञ्चालन प्रवृत्ति, अलोकप्रिय नेतृत्व तथा विचार र सिद्धान्तलाई तिलाञ्जली दिएर सत्तास्वार्थका लागि गरिएको अवाञ्छित सम्झौताका कारण बौद्धिक समुदाय र नागरिक समाजले कांग्रेस र शीर्ष नेतृत्वको कटु आलोचना गर्दै आएका छन् । अनुत्तरदायी शासन, कुशासन र भ्रष्टाचारका कारण बौद्धिक समुदाय र मध्यम वर्गको वितृष्णा बढ्दै गएपछि यो समुदाय कांग्रेसबाट क्रमिक रूपमा टाढिँदै गएको छ । कांग्रेसमा रूपान्तरण, सुधार र शुद्धीकरण भई जनता र कार्यकर्ताको भावना अनुसार भिजनरी, लोकप्रिय र ऊर्जावान् नेतृत्व स्थापित हुने सर्तमा मात्र यो समुदायले कांग्रेसको विकल्प नखोज्न सक्छ । त्यसैले रूपान्तरण, सुधार, शुद्धीकरणका साथै नेतृत्व परिवर्तनका लागि यो समुदायले निरन्तर आलोचनात्मक सुझाव दिँदै खबरदारी गर्दै आइरहेको छ ।

तर अब पनि रूपान्तरण र नेतृत्व परिवर्तन गरी वास्तविक लोकतन्त्रवादी पार्टीका रूपमा स्थापित हुन नसके कांग्रेसको विकल्प खोज्ने स्पष्ट सन्देश जनताले निर्वाचनमार्फत दिएका छन् । कांग्रेसले विगतमा गरेका गल्तीको विवेचना गर्दा खण्डकाव्य नै तयार हुन्छ । तर अर्को विश्वसनीय लोकतन्त्रवादी पार्टी नभएका कारण बौद्धिक समुदाय र मध्यम वर्गसँग पनि विकल्प सीमित छन् । कांग्रेसको विकल्प खोज्ने नाममा अर्को दक्षिणपन्थी, पपुलिस्ट, अनुदारवादी र अतिवादी पार्टीको पासोमा पर्ने जोखिमप्रति बौद्धिक समुदाय र मध्यम वर्ग उत्तिकै सचेत छन् । रास्वपाको उदयपछि कांग्रेसको सैद्धान्तिक–वैचारिक र वर्गीय आधार केही हदसम्म संकुचित भएको देखिन्छ, तर सामाजिक सञ्जाल तथा सहरकेन्द्रित प्रचलित भाष्यजस्तो चाहिँ होइन ।

रूपान्तरण र नेतृत्व परिवर्तनको सम्भावना

रूपान्तरण र नेतृत्व परिवर्तनको वस्तुगत आधार र सम्भावना पनि समकालीन अन्य पार्टीभन्दा सापेक्षिक रूपमा कांग्रेसमा बढी देखिन्छ । एमाले, माओवादी, रास्वपा, जसपा, जनमत लगायतका नयाँ–पुराना सबै पार्टीमा नेतृत्वको देवत्वकरण वा नेतृत्वको प्राधिकार स्थापित गरिएको छ । एमालेमा केपी ओलीलाई, माओवादीमा प्रचण्डलाई, रास्वपामा रवि लामिछानेलाई, जसपामा उपेन्द्र यादवलाई, जनमतमा सीके राउतलाई कि देवत्वकरण गरिएको छ कि त नेतृत्वको प्राधिकार स्थापित गरिएको छ । त्यसैले सुदूर भविष्यसम्म पनि ती पार्टी विधिसम्मत, विधानसम्मत र संस्थागत रूपमा सञ्चालित हुने सम्भावना क्षीण देखिन्छ । तत्कालका लागि यो रणनीतिले आंशिक सफलता हासिल गरे पनि पार्टी निर्माण तथा संस्थागत विकासका दृष्टिले त्यो अन्ततः आत्मघाती हुने निश्चित छ ।

अन्य पार्टीका तुलनामा कांग्रेसमा रूपान्तरणकारी र परिवर्तनकारी धार र नेतृत्व पनि प्रभावशाली देखिन्छ । विगत महाधिवेशनमा रूपान्तरण, सुधार र नेतृत्व परिवर्तनको प्रमुख एजेन्डासहित शेखर कोइराला–गगन थापा समूहले शेरबहादुर देउवा नेतृत्वको संस्थापन पक्षसँग प्रतिस्पर्धा गरेको थियो । पराजित भए पनि शेखर–गगन समूहले ४० प्रतिशत सम्मानजनक मत हासिल गरेको थियो । बलियो संस्थापन पक्षसँग प्रतिस्पर्धा गरेरै गगन थापा र विश्वप्रकाश शर्मा महामन्त्री निर्वाचित भए । मंसिरको आम निर्वाचन र वैशाखको उपनिर्वाचनपछि सभापति देउवा र संस्थापन पक्ष थप कमजोर र अलोकप्रिय भएको देखिन्छ भने रूपान्तरणकारी र परिवर्तनकारी धार र नेतृत्वले थप राजनीतिक तथा मनोवैज्ञानिक शक्ति हासिल गरेको देखिन्छ ।

विगतमा देउवाका कटु आलोचक शेखरले केही समयदेखि अर्थपूर्ण द्वैध रणनीति अख्तियार गरे पनि गगन थापा, विश्वप्रकाश शर्मा, प्रदीप पौडेल, गुरुराज घिमिरे, बद्री पाण्डे, जीवन परियार लगायतका नेताहरूले रूपान्तरण, सुधार, शुद्धीकरणका साथै नेतृत्व परिवर्तनका लागि सशक्त आवाज उठाउँदै आएका छन् । आगामी महाधिवेशनबाट स्वाभाविक रूपमा नेतृत्व परिवर्तन भई कांग्रेसले नयाँ जीवन पाउने सम्भावना छ । किनभने कांग्रेसको विधान अनुसार सभापतिको दुई कार्यकाल मात्रै हुने भएकाले देउवाले पुनः प्रतिस्पर्धा गर्नेछैनन्, जुन उनले सार्वजनिक रूपमा घोषणा गरिसकेका छन् ।

यो परिदृश्यबाट विश्लेषण गर्दा अबको महाधिवेशनबाट रूपान्तरणकारी र परिवर्तनकारी, जनतामा स्थापित, लोकप्रिय, भिजनरी र सापेक्षिक रूपमा युवा नेतृत्व स्थापित हुने सम्भावना र आधार प्रबल देखिन्छ । कांग्रेसको रोग वंशानुगत होइन, सत्ताको अवाञ्छित तृष्णाले अप्राकृतिक सम्झौता गर्दा संक्रमित भएको हो । सत्तालाई नै अन्तिम सत्य ठान्ने संक्रामक रोग र सम्झौतामुखी प्रवृत्तिबाट मुक्त भयो भने कांग्रेसको पुनर्जीवन र रूपान्तरण सम्भव छ ।

पर्याप्त नभए पनि आन्तरिक लोकतान्त्रिक अभ्यास पनि अन्य पार्टीका तुलनामा कांग्रेसमै बढी देखिन्छ । संस्थापन पक्षसँग फरकमत राखेर प्रतिस्पर्धा गरी महाधिवेशनमार्फत महामन्त्री वा कार्यकारी भूमिकामा पुग्न सक्ने वातावरण र सम्भावना अन्य पार्टीमा छैन । एमाले र माओवादीका महाधिवेशन औपचारिकतामा सीमित भए, महाधिवेशनमा कुनै लोकतान्त्रिक अभ्याससमेत गरिएन ।

विगत निर्वाचनपछि एमाले, माओवादी, रास्वपा, समाजवादी एकीकृत, जसपा, जनमत, नागरिक उन्मुक्ति लगायत कुनै पनि पार्टीको संसदीय दलमा निर्वाचन भएन । तर कांग्रेसको संसदीय दलमा निर्वाचन भई स्वस्थ लोकतान्त्रिक अभ्यास गरिएको थियो । आगामी महाधिवेशनबाट कांग्रेसबाहेक कुनै पनि पार्टीको प्रमुख नेतृत्व परिवर्तन हुने सम्भावना छैन । कार्यकारी भूमिकाका लागि ७० वर्षे उमेर हद संशोधन गर्ने निर्णय गरेपछि एमालेमा नेतृत्व विकास र हस्तान्तरण प्रक्रियालाई त स्थायी बन्ध्याकरण नै गरिएको छ ।

बेलायतको लेबर पार्टी रूपान्तरणको शिक्षा

बेलायतमा कन्जरभेटिभ पार्टीभन्दा लेबर पार्टी उदार र प्रगतिशील मानिन्छ । तर इतिहासको कुनै कालखण्डमा कन्जरभेटिभ पार्टीभन्दा पनि लेबरको नीति कन्जरभेटिभ र नेतृत्व अलोकप्रिय थियो । त्यसैले सन् १९८० को दशकमा इतिहासमै लेबर पार्टी कमजोर र अलोकप्रिय थियो । विशेष गरी शास्त्रीय तथा मार्क्सवाद–उन्मुख राज्यनियन्त्रित अर्थतन्त्रको पक्षमा भएका कारण लेबर पार्टी राजनीतिक–आर्थिक दृष्टिले असान्दर्भिक हुँदै गएको थियो ।

तर परिवर्तित राष्ट्रिय–अन्तर्राष्ट्रिय परिवेश बुझेका भिजनरी नेता टोनी ब्लेयर परम्परागत राज्यनियन्त्रित अर्थतन्त्रपक्षधर शास्त्रीय सिद्धान्तलाई मौलिक रूपमा परिवर्तन गरी लेबरलाई उदारवादी र प्रगतिशील अर्थनीति अनुसरण गर्ने पार्टीमा रूपान्तरण गर्न सफल भएका थिए । अर्थनीति र ट्रेड युनियनको अधिकार तथा भूमिका सम्बन्धी पार्टीको विधानको धारा ४ लाई संशोधन गरी नेतृत्वमा पुग्न ब्लेयरले करिब १२ वर्ष पार्टीमा आन्तरिक संघर्ष गर्नुपरेको थियो । ब्लेयरले लेबरलाई परम्परागत लोकतान्त्रिक समाजवादीबाट सामाजिक लोकतन्त्रवादी पार्टीमा रूपान्तरण गरेका थिए । पार्टीलाई सैद्धान्तिक–वैचारिक रूपान्तरण गरी समयानुकूल प्रगतिशील, उदारवादी र जनमुखी बनाएका थिए ।

सैद्धान्तिक–वैचारिक रूपान्तरण गरी शास्त्रीय लेबरलाई ब्लेयरले ‘न्यु लेबर’ मा रूपान्तरण मात्रै गरेनन्, पार्टीको संगठन प्रणालीमा समेत आमूल परिवर्तन गरेका थिए । सैद्धान्तिक–वैचारिक रूपान्तरण गरी प्रगतिशील नीति अख्तियार गरेपछि, संगठन प्रणालीमा समेत आमूल परिवर्तन गरेपछि तथा ब्लेयरजस्तो भिजनरी नेतृत्व स्थापित भएपछि लेबरले पुनर्जीवन पाएको थियो । त्यसैले सन् १९९७ को निर्वाचनमा लोकप्रिय जनमतसाथ लेबर पार्टी विजयी भएको थियो । नयाँ अर्थनीति र संगठन प्रणालीका कारण लगातार तीन पटक विजय भई प्रधानमन्त्री बनेका ब्लेयरले बेलायतको अर्थतन्त्र र अन्तर्राष्ट्रिय सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याएका थिए । त्यसैले ब्लेयरले लेबरको रूपान्तरण गरेको इतिहासबाट शिक्षा लिनु स्वयं कांग्रेस र कांग्रेसजनका लागि लाभदायक हुनेछ ।

निष्कर्ष

कुनै पनि पार्टीको सान्दर्भिकता र भविष्य उसको नीति र नेतृत्वमा निर्भर रहन्छ । कांग्रेसको सैद्धान्तिक–वैचारिक र वर्गीय आधार बलियो छ, तर किन कमजोर हुँदै गइरहेको छ ? अहिलेको यक्षप्रश्न यही हो । सैद्धान्तिक–वैचारिक र वर्गीय आधार बलियो भए पनि पटकपटक अवसर पाउँदासमेत पनि डेलिभरी गर्न नसकेको अलोकप्रिय नेतृत्वप्रति जनताको व्यापक असन्तुष्टि, आक्रोश र वितृष्णा भएका कारण कांग्रेस त्यसको सिकार भएको हो । यो कांग्रेस पार्टीको असफलता होइन, नेतृत्वको असफलता हो । त्यसैले आजको बहस कांग्रेसको विकल्पबारे होइन, असफल र अलोकप्रिय नेतृत्वको विकल्पबारे हो ।

कांग्रेसको रूपान्तरण भनेको प्रगतिशील सिद्धान्त, उदारवादी नीति, गतिशील संगठन र भिजनरी नेतृत्व हो । जनताको भावना र कांग्रेसजनको चाहना पनि यही नै हो । जनता, कार्यकर्ता, मध्यम वर्ग र बौद्धिक समुदायको खबरदारी पनि यसैका लागि हो । त्यसैले आसन्न नीति महाधिवेशनमार्फत वैचारिक–सैद्धान्तिक र सांगठनिक रूपान्तरण गरी आगामी महाधिवेसनबाट भिजनरी, लोकप्रिय, ऊर्जावान् र जनतासँग प्रत्यक्ष संवाद गर्ने नेतृत्व स्थापित गर्नु सबैभन्दा स्वाभाविक, वैधानिक र लोकतान्त्रिक प्रक्रिया हुनेछ ।

कांग्रेसको भविष्यका लागि मात्रै होइन, इतिहासलाई अक्षुण्ण राख्न पनि योभन्दा अर्को श्रेष्ठ विकल्प छैन । यो वास्तविकतालाई नेतृत्व पंक्ति, रूपान्तरणकारी तथा परिवर्तनकारी समूह र कांग्रेसजनले जति छिटो आत्मसात् गर्छन, त्यति नै छिटो कांग्रेसको पुनर्जन्म हुनेछ ।

प्रकाशित : असार ३, २०८० ०७:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपेन्द्र यादव नेतृत्वको पार्टीमा फेरि विभाजन आउनुको मुख्य कारण के होला ?