उखरमाउलो गर्मी

नेपालजस्तो हावापानीमै बढी आश्रित जीविका र अर्थतन्त्र भएको देशलाई जलवायु परिवर्तनले पार्ने असरबारे दोहोर्‍याइरहनुपरेन तर आगामी दिनमा उखरमाउलो गर्मी, लामो खडेरी र भारी वर्षातहरूले ल्याउने चुनौतीसँग जुध्ने हाम्रो तयारी भने फितलो देखिन्छ ।
उत्तमबाबु श्रेष्ठ

केही हप्तायताका सामाजिक सञ्जाल र अन्तर्राष्ट्रिय मिडियाहरूलाई पछ्याउने हो भने मौसमले नयाँनयाँ रेकर्डहरू बनाएका पोस्ट र समाचारहरू देख्न/पढ्न सकिन्छ । तीमध्ये एउटा प्रमुख समाचार अन्टार्कटिका महादेशमा दैनिक हिउँले छोपेको क्षेत्र सन् १९९१–२०२० को औसत क्षेत्रफलभन्दा करिब २ करोड वर्ग किलोमिटरले घट्नु हो । दैनिक हिउँको परिमाण मात्रै होइन, त्यहाँ महिनाभर थुप्रने हिउँको मात्रामा समेत उल्लेख्य कमी आएको छ ।

उखरमाउलो गर्मी

कोपर्निकस क्लामेट सर्भिसका अनुसार, गत मे महिनामा त्यहाँको हिउँको परिमाण औसतभन्दा १७ प्रतिशतले कम थियो । दोस्रो प्रमुख समाचार, यतिखेर पृथ्वीको समुद्री सतहको सरदर दैनिक तापमान अहिलेसम्मकै सबैभन्दा उच्च मापन गरिएको छ । गत मे महिनाको पृथ्वीको समुद्री सतहको औसत तापमान पनि अहिलेसम्मकै उच्च थियो ।

पृथ्वीको समुद्री सतहको उच्च तापमान यसअघि सन् २०१६ मा सरदर २१ डिग्री सेल्सियस रेकर्ड गरिएको थियो तर अहिले गर्मीयामको सुरुमै त्यो २१.१ डिग्री सेल्सियस पुगेको छ । यस्ता विश्वस्तरका जलवायुजन्य रेकर्डहरूसँगै स्थानीय मौसममा पनि रेकर्ड तोडिएका थुप्रै घटना (जस्तै— क्यानडाको वन डढेलो, न्युयोर्कको वायु प्रदूषण, दक्षिण एसियाको उखरमाउलो गर्मी) यतिखेर सार्वजनिक भएका छन् । नेपालका ११३ मौसम मापन केन्द्रमध्ये चारवटामा यसअघिका उच्च तापमानको रेकर्ड तोडिएको र १३ केन्द्रमा जुन महिनाको उच्च तापमानको रेकर्ड तोडिएको जल तथा मौसम विज्ञान विभागले गत बिहीबार नै जनाएको थियो । पृथ्वीको हावापानीमा आएका यस्ता ठूला–साना उथलपुथल र त्यसको असर आगामी वर्ष झनै् प्रबल हुने अनुमान जलवायु वैज्ञानिकहरूको छ ।

एल निनो चरणको आगमन

पृथ्वीको हावापानीको आफ्नै लय र प्रक्रिया छ । विशेष गरी उष्ण प्रशान्त महासागरीय क्षेत्र (भूमध्यरेखादेखि कर्कट र मकर रेखाबीचको भाग) को तापमानमा उक्त क्षेत्रको वायुको चाप र बतासको बहावले ठूलो फेरबदल ल्याउने गर्छ । सामान्य अवस्थामा उष्ण प्रशान्त महासागरीय क्षेत्रमा व्यापारिक बतास (ट्रेड विन्ड) भनिने उच्च गतिको बतास भूमध्यरेखा हुँदै पश्चिम दिशातर्फ बहन्छ । उक्त बतासले उष्ण दक्षिण अमेरिकी समुद्री सतहको न्यानो पानीलाई प्रशान्त महासागरसँग जोडिएका एसिया र अस्ट्रेलियाको भूभागसम्म पुराउँछ ।

यसरी समुद्री सतहको न्यानो पानी बताससँगै अन्यत्र बगेपछि त्यसलाई आपूर्ति गर्न त्यहाँ समुद्री पीँधको चिसो पानी सतहमा आउँछ, जुन प्रक्रियालाई अपवेलिङ भनिन्छ । पीँधको पोषणयुक्त चिसो पानी सतहमा आउँदा त्यसले फाइटोप्लाङ्टन लगायतका जीवहरूलाई हुर्काउन मद्दत गर्छ । फाइटोप्लाङ्टनको वृद्घिसँगै त्यसलाई खाने माछा लगायतका समुद्री जीवहरू ठूलो संख्यामा उक्त क्षेत्रमा उपलब्ध हुने वातावरण बन्छ । त्यसैले भूमध्य क्षेत्रका पेरु, इक्वेडर, चिली लगायतका समुद्री क्षेत्रहरूमा माछा प्रशस्त पाइन्छ ।

तर पृथ्वीको हावापानी सधैं यस्तो सामान्य रहिरहँदैन । कुनै बेला भूमध्यरेखावरपर भएर बहने पश्चिमी बतासको शक्ति सामान्यभन्दा कमजोर भइदिन्छ त कुनै बेला शक्तिशाली । पश्चिमी बतासको शक्ति कमजोर हुँदा त्यससँगै प्रशान्त महासागरको पश्चिमतर्फ बहने न्यानो पानी पश्चिमतर्फ होइन दक्षिणपूर्व (उत्तर र दक्षिण अमेरिकाको पश्चिमी तट) तिरै फर्कन्छ । सतहमा न्यानो पानी थपिएपछि त्यहाँको समुद्रको पीँधबाट सतहमा उत्रने चिसो र पोषणयुक्त पानी झन् पीँधतर्फै धकेलिन्छ, जसले गर्दा त्यस्तो समयमा त्यहाँको समुद्रमा औसतभन्दा कम माछा पाइन्छ ।

१७ औं शताब्दीमा पेरुका मछुवारे समुदायले पृथ्वीको हावापानीको यस्तो असामान्य अवस्थाबारे मेसो पाएका थिए, माछा घटेका कारण । तथापि स्पेनिस औपनिवेशिक शासकहरूले क्रिसमसको समयमा देखिने मौसमको उक्त असाधारण अवस्थालाई एल निनो (सानो केटो) नामकरण गरे । पछिल्लो समय वैज्ञानिकहरूले एल निनोलाई उष्ण प्रशान्त महासागरीय क्षेत्रवरपरको तापमान बढ्ने वा माछा कम पाइने चरण मात्रै होइन, यसले पृथ्वीको जलवायुमा उल्लेख्य परिवर्तन ल्याउने असाधारण अवस्थाका रूपमा मानेका छन् । एल निनो चरणमा पृथ्वीको समग्र समुद्री सतहको र जमिनको तापमान वृद्घि हुने, समुद्री छालको गति र प्रबलतामा हेरफेर हुने, अस्ट्रेलिया र एसियाका मनसुनी भूभागमा सुक्खापना बढ्ने अनि दक्षिण अमेरिकामा भारी वर्षात हुने गरेको छ ।

पृथ्वीको हावापानीमा दोस्रो असामान्य चरण भनेको एल निनोको विपरीत अवस्था अर्थात् पश्चिमी व्यापारिक बतास सामान्यभन्दा थप शक्तिशाली बन्नु हो, जसले न्यानो पानीलाई सामान्यभन्दा बढी मात्रामा पश्चिम एसिया प्रशान्त क्षेत्रतिर लैजान्छ । त्यसलाई पूर्ति गर्न अमेरिकाको पश्चिम तटीय समुद्री क्षेत्रमा पीँधबाट चिसो पानी सतहमा उक्लने प्रक्रिया सामान्य अवस्थामा भन्दा बढ्छ । त्यति बेला सामान्य अवस्थामा भन्दा बढी माछा समुद्रमा पाइन्छ । साथै उक्त क्षेत्रको तापमान सामान्य अवस्थाको भन्दा कम भई जाडो बढ्छ । भूमध्य क्षेत्रमा बढेको पानीको सतहको केही न्यानो पानी जेट स्ट्रिमसँगै पृथ्वीको उत्तरी क्षेत्रतिर लाग्दा अमेरिका र क्यानडाको उत्तरपश्चिमी क्षेत्रमा साबिकभन्दा बेसी पानी पर्छ तर दक्षिण अमेरिकामा कम वर्षात हुन्छ । साथै यस्तो बेला अस्ट्रेलिया र एसियाका मनसुनी भूभागमा सामान्यभन्दा बढी वर्षा हुन्छ । पृथ्वीको हावापानीको यस्तो असामान्य अवस्थालाई ला निना भनिन्छ ।

पृथ्वीको हावापानीमा एल निनो र ला निनाको जबरजस्त प्रभाव भएकाले वैज्ञानिकहरूले यी घटनाहरूलाई नजिकबाट नियाल्ने गरेका छन् । यी चरणहरूको सुरुआत र अन्त्य थाहा पाउन यतिखेर जमिनमा समुद्रको तापमान, समुद्री छालको बहाव, आर्द्रता, बतासको मापन गर्दै भूउपग्रहबाट तथ्यांक बटुलेर विश्लेषण गरिन्छ । त्यसका आधारमा एल नियो वा ला निना अवधि सुरु भएको पूर्वानुमान गरिन्छ । विश्व मौसम संगठनले गत मे महिनामा यस वर्ष एल निनो चरण सुरु हुने पूर्वानुमान गरेको थियो । त्यसै गरी अमेरिकी संघीय वायुमण्डल तथा समुद्री प्रशासनिक एकाइ (नोवा) ले अबका केही महिनामै एल निनो चरण सुरु हुने र त्यो सन् २०२४ सम्मै कायम रहने सम्भावना ९० प्रतिशत रहेको पूर्वानुमान गरेको छ ।

तीन वर्षयता ला निना अवधि भएकाले पृथ्वीमा तापमान वृद्घिको दर थोरै खुम्चिएको थियो । तर उक्त चरणको समाप्ति र एल निनो चरणको सुरुआतबीचको संक्रमणकालमै हावापानीमा रेकर्ड तोड्ने हिसाबले फेरबदल आउनुलाई वैज्ञानिकहरूले जलवायु परिवर्तनसँग जोडेका छन् ।

१.५ डिग्री सेल्सियसको थ्रेसहोल्ड

एल निनो चरण सुरु हुने अनुमानसँगै यस वर्ष पृथ्वीको तापमान थप उच्च हुने; दक्षिण अमेरिका, अफ्रिका र मध्यएसियाका केही भूभागमा साबिकभन्दा बढी वर्षात हुने; तर मनसुनी एसिया, अस्ट्रेलिया लगायतका भूभागमा खडेरी पर्ने अडकल गरिएको छ । साथै, समुद्री सतहको तापमान एल निनो चरणभरिमा सरदर १ डिग्री सेल्सियसले बढ्ने आकलन छ । थप, यतिखेर रेकर्ड तोड्ने गरी बढिरहेको समुद्रको तापमान र एल निनोले थप बढाउन सक्ने समुद्री तापमानले ल्याउने असरबारे अझै निर्क्योल हुन सकेको छैन । तथापि त्यसको असर नकारात्मक हुने पक्का छ, किनभने पछिल्ला एल निनोहरूको विध्वंस ऐतिहासिक थियो ।

भारतको मौसम निकायले यस वर्षको मनसुन सामान्य हुने बताए पनि नेपालमा सरदरभन्दा कम वर्षात हुने भविष्यवाणी छ । नेपालको भविष्यवाणी सत्य साबित हुन सक्छ किनभने मनसुन र एल निनोको सहसम्बन्ध पहिलेका एल निनो चरणहरूमा पनि देखिएको थियो । गत सात दशकमा १५ एल निनो चरण देखिएकामा ६ वटामा भारतमा सामान्य वा सामान्यभन्दा बेसी पानी परेको थियो । तर सन् २००९ को एल निनो चरणमा त्यहाँ वर्षातको मात्रामा ७८ प्रतिशतले गिरावट आएको थियो, जुन पछिल्ला एल निनो चरणहरूमा समेत निरन्तर रह्यो ।

जलवायुबारे पूर्वानुमान गर्ने विभिन्न मोडलले यस पटकको एल निनो चरण सशक्त हुने जनाएकाले यो वर्ष र आगामी वर्ष सुक्खा र गर्मी असामान्य रूपमा बढ्न सक्ने अनुमान गर्न सकिन्छ । त्यसो भएमा पृथ्वीमा औद्योगिक क्रान्तिपछि वृद्घि भएको १.१ डिग्री सेल्सियसको तापक्रम झनै उचालिनेछ । विश्व मौसम संगठनले एक महिनाअघि जारी गरेको वक्तव्यले त्यसैको संकेत गर्छ । उक्त वक्तव्य अनुसार, सन् २०२३ देखि २०२७ बीच पृथ्वीको वार्षिक औसत तापक्रम वृद्धिले १.५ डिग्री सेल्सियसको थ्रेसहोल्ड छुने सम्भावना ६० प्रतिशतले छ । उक्त वक्तव्यमा आगामी पाँच वर्ष पृथ्वीको इतिहासमै सबैभन्दा गर्मी कालखण्ड हुने सम्भावना ९८ प्रतिशतले रहेको जनाइएको छ । हुन त पृथ्वीको औसत तापक्रमले १.५ डिग्री सेल्सियस थ्रेसहोल्डलाई छोए पनि त्यो स्थायी रूपमा नबस्ने र फेरि झर्ने अनुमान छ । जसरी ला निनाको अवधिले तापमान वृद्घिलाई अघिल्ला वर्षहरूमा थोरै कम गरेको थियो ।

१.५ डिग्री थ्रेसहोल्ड किन पनि महत्त्वपूर्ण छ भने, पृथ्वीको तापमान औद्योगिक क्रान्तिताकाको तुलनामा १.५ डिग्री सेल्सियसमा सीमित राख्ने वा २ भन्दा बढ्न नदिने प्रतिबद्धता पेरिस जलवायु सम्झौतामा गरिएको थियो । तर विश्व मौसम संगठनको पछिल्लो भविष्यवाणी ठीक ठहरिएमा पहिलो पटक दुर्भाग्यवश पृथ्वीको तापमानले उक्त थ्रेसहोल्डलाई छुनेछ ।

हाल पृथ्वीमा कार्बन उत्सर्जन बढिरहेकाले तापमान वृद्घिमा तत्कालै ब्रेक लाग्ने सम्भावना देखिँदैन । यसरी निरन्तर तापमान वृद्घि भइराखेमा आगामी एल निनो चरणहरू थप विषम र खतरनाक बन्न सक्ने अध्ययनहरूले देखाएका छन् । पीएनएस जर्नलमा प्रकाशित एउटा लेख अनुसार, जलवायु परिवर्तनले एल निनो अवधिलाई थप चरम बनाउनेछ । त्यसै गरी, नेचर जर्नलमा प्रकाशित एउटा लेख अनुसार, जलवायु परिवर्तनसँगै आगामी समयमा पृथ्वीको हावापानी सामान्यभन्दा पनि दुई असामान्य परिस्थिति एल निनो र ला निनाबीचमै रुमलिरहनेछ । र, यी दुई असामान्य परिस्थितिहरू बारम्बार दोहोरिनेछन् र शक्तिशाली पनि हुँदै जानेछन् ।

यतिखेर देखिएका हावापानी सम्बन्धी नयाँ रेकर्डहरू, विश्वमा कार्बन उत्सर्जन घटाउनमा भइरहेको ढिलासुस्ती र उपलब्ध वैज्ञानिक तथ्यहरूले हामी जलवायु संकटको नयाँ भुमरीमा पसिसकेको संकेत गर्छन् । तर नेपालजस्तो विकासशील र कमजोर राष्ट्रसामु सीमित स्रोतसाधनले जलवायु संकटसँग जुध्ने र अनुकूलन हुनेबाहेक अन्य विकल्प कम छन् । तथापि विकसित देशहरूसँग जलवायुजन्य हानिनोक्सानीको तिरो भराउने, उत्सर्जन कटौतीमा दबाब दिने काम भने निरन्तर गरिराख्नुपर्छ ।

अहिले नै सुक्खाका कारण चुरेका पानीका मुहानहरू सुकेर बस्तीहरू सार्नुपरेको छ, गर्मीका कारण विद्यालयहरू बन्द गर्नुपरेको र जनजीविका प्रभावित बनेको छ । नेपालजस्तो हावापानीमै बढी आश्रित जीविका र अर्थतन्त्र भएको देशलाई जलवायु परिवर्तनले पार्ने असरबारे दोहोर्‍याइरहनुपरेन तर आगामी दिनमा उखरमाउलो गर्मी, लामो खडेरी र भारी वर्षातहरूले ल्याउने चुनौतीसँग जुध्ने हाम्रो तयारी भने फितलो देखिन्छ ।

प्रकाशित : जेष्ठ ३२, २०८० ०६:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनबारे संसदीय छानबिन समिति गठन गर्ने/नगर्ने विवादले प्रतिनिधि सभा फेरि अवरुद्ध भएको छ । संसद् चलाउन के गर्नुपर्ला ?