१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४०९

शासकलाई प्रश्नैप्रश्न

हो ची मिन्हको पेसा किसानी थियो । उनी खेती गरेर पेट पाल्थे । राजनीति गरेर जनसेवा गर्थे । नेपाली रानीतिज्ञले चाहिँ राजनीतिलाई नै पेसा बनाएका छन् । त्यसैले भ्रष्टाचारी छन् । राजनीतिलाई सेवा बनाए भ्रष्टाचार स्वतः रोकिन्छ ।
विद्यानाथ कोइराला

जनतालाई प्रथम मान्छौं ?
ऋग्वेदको १०.१७३—१७५ ले जनतालाई प्रथम मानेको छ । राजालाई शासक ठानेको छ । राजा व्यक्ति होइन । पदवी हो । त्यो पदवी लिन जनतालाई खुसी पार्नुपर्छ । जनता भनेको प्रकृति हो । सोही ग्रन्थको १०.१२४.८ मा निर्वाचित राजाको प्रावधान छ । अथर्ववेदको ३.४.२ मा पनि निर्वाचित राजाकै व्यवस्था छ ।

शासकलाई प्रश्नैप्रश्न

अर्थात्, जनता खुसी नबनाउनेहरू राजा हुन अयोग्य हुन् भन्ने सन्देश छ । अभ्यासमा हेर्दा नेपालमा वंशानुगत राजा थिए । जापानमा वंशानुगत राजा नै छन् । मलेसियामा निर्वाचित राजा । अमेरिकामा जननिर्वाचित राष्ट्रपति । भारतमा जननिर्वाचित प्रधानमन्त्री । चीनमा प्रतिनिधिद्वारा निर्वाचित राष्ट्रपति । नेपालमा दल–निर्वाचित प्रधानमन्त्री ।

यसरी हेर्दा, नाम जे राखे पनि शासक सन्दर्भले बनाउँदो रहेछ । शासकको नाम पनि सन्दर्भले नै बन्दो रहेछ । राजा भने पनि । राष्ट्रपति भने पनि । प्रधानमन्त्री भने पनि । अरू केही भने पनि । जे नाम दिए पनि शासकको काम ‘प्रकृति रञ्जनात्’ रहेछ । जनता प्रथम रहेछ । वंशानुगत शासक हुने कि आवधिक शासक हुने भन्ने कुरा प्रक्रिया रहेछ । निर्वाचित तथा आवधिक शासक ‘प्रकृति रञ्जनात्’ बन्लान् कि भन्ने आशा गरिँदो रहेछ ।

यही आशामा शासक बन्दो रहेछ । बनाइँदो रहेछ । धर्मसूत्र अनुसार शासकको काम जनताको सुरक्षा हो । संरक्षण हो । बदमासी गरे सजाय दिनु पनि हो । यसो हो भने पूर्वशासक, वर्तमान शासक तथा शासक बन्ने उद्यममा लागेकाहरूले बसेर ‘प्रकृति रञ्जनात्’ हुन के गर्‍यौं, कसरी गर्‍यौं, अब कसो गर्नुपर्ला भनी आवधिक संवाद गर्ने संस्कार बनाउन सकिएला त ? यस क्रममा केही बुँदामा मौनता चाहिएला । आचार संहिता । बुद्धको जस्तो ब्रह्माण्डको स्रष्टा को हो भनी नसोध्ने । आत्मा छ कि छैन भनी विवाद नगर्ने । के हाम्रा शासकमा यो चिन्तन आउला त ? वंशको तागत देखाउनेहरू, बन्दुकको तागत देखाउनेहरू तथा मतपत्रको तागत देखाउनेहरू एक ठाउँमा बस्न सकौंला त ? संवाद गर्न सकौंला त ? आआफ्ना तुजुक बिर्सेर ‘प्रकृति रञ्जनात्’ लाई मूल उद्देश्य बनाउन सकौंला त ?

जनतालाई पञ्चकोषी सुविधा दिन सक्छौं त ?

पुर्खाले चार पुरुषार्थको चिन्तन दिए । धर्म । अर्थ । काम । मोक्ष ।

गौतम सूत्र, बौद्धायन, याज्ञवल्क्यस्मृति ग्रन्थ आदिले धर्मलाई प्रमुख माने । उनीहरूको अर्थमा ऋत धर्म हो । ब्रह्माण्डीय नियम अनुसार चल्नु धर्म हो । त्यही ऋत हो । कौटिल्यको अर्थशास्त्र, वृषलाल सूत्र तथा शुक्रनीति अनुसार अर्थ प्रमुख हो । वात्स्यायन, रतिरहस्य, जयमंगला तथा रतिमञ्जरी अनुसार काम वा यौन प्रमुख हो । आदिगुरु शंकराचार्यका अनुसार मोक्ष प्रमुख हो । पञ्चकोषीय (शीथ) चिन्तन अनुसार यी चारै पुरुषार्थका कुरा पञ्चकोषमै हुन्छन् । अन्नमय कोषमा । मनोमय कोषमा । प्राणमय कोषमा । विज्ञानमय कोषमा । आनन्दमय कोषमा । अर्थात्, अन्नमय कोषले खाना खोज्छ । मनोमय कोषले मनोरञ्जन खोज्छ । प्राणमय कोषले गहिरो श्वास–प्रश्वासको अभ्यास खोज्छ । विज्ञानमय कोषले कारण र असरको सहसम्बन्ध खोज्छ । आनन्दमय कोषले ब्रह्मसुख खोज्छ । सर्वदा आनन्दमा बाँच्ने सुख खोज्छ । अर्थात्, हर व्यक्तिलाई पञ्चकोषी सुख सुनिश्चित गर्न हिजो के गर्‍यौं ? आज के गर्दै छौं ? भोलि केके गर्नुपर्ला भन्नेमा सबै खाले शासकहरू घोत्लिन सक्छौं त ?

राजनीतिमा नै किन भन्न सक्छौं त ?

वैदिक चिन्तकले भने— जनसेवा गर्नका लागि राजनीति गरिन्छ । पश्चिमाले भने— अल्पसंख्यकको प्रतिनिधित्व सुनिश्चित गर्न राजनीति गरिन्छ । प्यु रिसर्च सेन्टरको सन् २०२३ को रिपोर्ट अनुसार गरिबी घटाउन, स्वास्थ्यसेवा सुनिश्चित गर्न वामपन्थीले राजनीति गर्छन् । सञ्जालित हुन राजनीति गर्छन् । मिनिसोटा विश्वविद्यालय तथा नेसनल साइन्स फाउन्डेसनको सन् २०२३ रिपोर्ट अनुसार पहिचानका लागि राजनीति गरिन्छ । जनपक्षीय नीतिनियम बनाउन राजनीति गरिन्छ । कौटिल्यको सोच अनुसार व्यक्तिलाई पदार्थीय सुख दिन राजनीति गरिन्छ । तिनलाई नीतिनियममा चलाउन राजनीति गरिन्छ । महिला सुरक्षा सुनिश्चित गर्न राजनीति गरिन्छ । जनतालाई सम्पत्ति, सम्मान तथा सजायमा समन्याय गर्न राजनीति गरिन्छ । माथि उल्लिखित कार्यकै लागि हामी पनि राजनीतिमा लागेका हौं भने हिजोका शासक, आजका शासक, भोलिका शासक बसेर संवाद गर्न सक्छौं त ? जनतालाई पञ्चकोषी सुविधा दिन हामीले कति काम गरेछौं, कति गरेनछौं, कति काम चाहेर पनि गर्न सकेनछौं, भविष्यमा कति काम गर्छौं भन्ने कुराको लेखाजोखा गर्ने–गराउने संस्कृति बनाउन सकौंला त ?

हामी कुन विश्वका हौं भन्न सक्छौं त ?

सन् १९५२ मा अल्फ्रेड सौभेले तेस्रो विश्व (थर्ड वर्ल्ड) भन्ने शब्दावलीको प्रयोग गरे । उनले पुँजीवादी देशलाई पहिलो विश्व भने । साम्यवादी देशलाई दोस्रो विश्व । कुनै बेला विदेशी उपनिवेशमा रहेका देशहरू तेस्रो विश्व । क्रमशः तेस्रो विश्वको अर्थमा बदलाव भयो । अर्थात्, पुँजीवादी तथा साम्यवादी देशका प्याक्टमा नभएका देशहरू असंलग्न मानिए । अहिले यो परिभाषामा पनि फेरबदल भएको छ । आर्थिक स्थिति कमजोर भएका देशहरूको समूहलाई तेस्रो विश्व भन्न थालिएको छ । इसेन एरमस एरटुर्कले सन् २०१५ मा लेखेको पुस्तक ‘पोलिटिक्स इन द थर्ड वर्ल्ड’ मा भनेका छन्— तेस्रो विश्व भनेको एकल नेतृत्वको देश हो ।

अस्थिर राजनीतिको देश हो । अस्वस्थ कर्मचारीतन्त्रको देश हो । केन्द्रीय शासनसत्ता भएको देश हो । भ्रष्टाचार व्याप्त भएको देश हो । आर्थिक उदारीकरणमा फसेको देश हो । विश्व बैंक, एसियाली विकास बैंक तथा अन्तर्राष्ट्रिय मुद्राकोषका सुझाव कार्यान्वयन गर्ने–गराउने देश हो । विदेशीको सिद्धान्त तथा दर्शन बोक्ने देश हो । आफ्ना मान्छेमा अविश्वास गरी विदेशीलाई ढोका खोल्ने देश हो । परिणामतः राष्ट्रवाद कमजोर बनाउने देश हो । वर्गीय समाजका कुरा गरेर रैथाने जातजाति तथा धर्मलाई ध्यान नदिने देश हो । नेताहरूले बोले अनुसारको काम नगर्ने देश हो । राजनीतिक शक्ति हत्याउन लोकरिझ्याइँका लागि वितरणमुखी अभ्यासमा रमेको देश हो । योजना बनाउने तर कार्यान्वयन नगर्नेहरूको देश हो । तस्करीको समस्या भोगेको देश हो ।

इसेनको खुलासाबाहेक हाम्रो देशलाई कसैले विकासशील देश भनेका छन् । कसैले विकासोन्मुख । कसैले अल्पविकसित । यी सबै परिभाषाका आधारमा हेर्दा हामी कुन देशका जनता हौं भन्ने प्रश्न आउँछ । हाम्रा शासकहरू यसबारे के भन्छन् ? कुनै दिन बसेर संवाद गर्ने कि ? हामी यो देशमा बस्छौं । यो स्थितिमा नेपालको साझा पहिचान के हो भनी टुंगो गर्ने कि त ? हामी अर्कैको सिद्धान्त बोकेर पो बिग्रियौं कि भनी विश्लेषण गर्ने कि ? हाम्रा जातजाति तथा धर्म–संस्कृतिका कुरा नजोडेर पो हामी पछि परेका हौं कि त ?

हामी किन फेल हुँदै छौं भनी घोत्लिने कि त ?

२०४५ सालतिर हाम्रो ऋण ४–५ खर्ब थियो । अहिले २१ खर्ब ७० अर्ब छ । ऋण लिएर बने–बनाइएका हवाई मैदानहरू चीनको भारत पस्ने सहज बाटो हो भन्ने बुझाइले हामीलाई हवाईमार्ग पाउन कठिन छ ।

मेलम्ची खानेपानीको निरन्तरता शंकास्पद छ । गण्डक, शारदा, बागमती सिँचाइजस्ता नहरहरू पानी चाहिएका बेला नेपालका लागि कामलाग्दा छैनन् । अनुदानमै बने–बनाइएका कलकारखानाहरू बन्द गरिँदै छन् । बेचिंदै छन् । ऋणकै रकममा विश्वविद्यालयका क्याम्पसहरू पुरेतले पुरेतलाई सिकाउने तालिम दिइरहेका छन् । अनुत्पादक । पुनरुक्ति । विदेशीको प्राविधिक सल्लाह अन्तर्गत दस्तावेजहरू बनिरहेका छन् । हिजोका अभ्यास तथा सोचसँग नजोडिएका । सधैं नयाँ नामका । पुरानै कुरा दोहोर्‍याइने गरेका ।

प्रतिवर्ष घण्टौं लागेर फलाक्ने गरिएका बजेट भाषणजस्ता । यो उद्देश्य नयाँ हो । यो रणनीति नयाँ हो । यो कार्यक्रम नयाँ हो । यो कार्यनीति नयाँ हो भन्न नसक्ने दस्ताबेज । अर्थात्, संस्थागत संझना (इस्टिच्युसनल मेमोरी) नराखिने दस्ताबेजहरूको चिहान छ । त्यस्तै योजनाको चिहान छ । आयोगका प्रतिवेदनको चिहान छ । अस्थिर सरकारलाई चाहिने ती चिहाने दस्तावेजहरू थिए नि त । तिनमा नयाँ के थपियो भन्न । के झिकियो भन्न । के काटियो भन्न । के संशोधन गरियो भन्न । त्यसो गरेको भए विगतलाई न्याय हुन्थ्यो । कुन सरकार कति रूपान्तरित भयो भनी जानकारी हुन्थ्यो । संस्थागत सम्झना भइरहन्थ्यो । छोटो प्रतिवेदन लेख्ने संस्कृति बन्थ्यो । पुनरुक्तिबाट पाठक तथा प्रयोगकर्ताहरू बच्थे । यसबारे हामीले कतै केही सोच्न थाल्ने हो कि त ?

शिक्षाको योगदान र हाम्रो लगानी गर्ने के ?

आर्थिक सर्वेक्षण प्रतिवेदन–२०७९–८० ले भन्यो— गार्हस्थ्य उत्पादनमा शिक्षाको योगदान ८.२२ प्रतिशत छ । झन्डै ४ प्रतिशत विद्यार्थी विद्यालयमा भर्ना भएकै छैनन् । भर्ना भएकाहरूमध्ये ७७ प्रतिशतले मात्र कक्षा ८ उत्तीर्ण गर्छन् । माध्यमिक तहको भर्नादर ७६ प्रतिशत छ । कक्षा ८ सम्मको विद्यार्थी टिकाउ दर ८५.७ प्रतिशत छ । कक्षा १० सम्मको ६७.३ प्रतिशत छ । कक्षा १२ सम्मको विद्यार्थी टिकाउ दर ३५.६ प्रतिशत छ । साक्षरता दर ७६ प्रतिशत छ । निजी विद्यालयमा पढ्नेहरू २५.७ प्रतिशत छन् । विदेश अध्ययन स्वीकृति लिनेहरू २०७०–७१ मा २८,००० थिए । अहिले यो संख्या ७९,००० पुगेको छ । यो तथ्यांकले हामीलाई धेरै कुरा सिकाउँछ । हाम्रा अभ्यास । विगतका कामको लेखाजोखा । यसरी यी र यस्ता तथ्यांक अगाडि राखेर राजनीतिक दलहरूले आआफ्ना भ्रातृ संघ–संगठनहरूसँग संवाद गर्ने कि त ? यसका निम्ति को जिम्मेवार हुनुपर्छ भनी छलफल गर्ने कि त ? यसरी शिक्षाको लगानी अनुसार प्रतिफल निकाल्न कसो गर्ने हो भनी संवाद गर्ने हो कि त ?

शिक्षक तथा विद्यार्थीहरूलाई के बनाउने हो ?

शिक्षक तथा प्राध्यापकहरू सम्बन्धित दललाई आफ्नो आम्दानीको १० प्रतिशत मासिक लेभी बुझाउँछौं । साम्यवादी दलसँग जोडिएका शिक्षक तथा प्राध्यापकहरू यो कार्यमा अब्बल छौं । त्यत्रो रकम बुझाउनेले दलहरूबाट केही अपेक्षा गर्नु स्वाभाविक हो । पटके सहायता बुझाउने नेपाली कांग्रेसमा आबद्ध शिक्षक तथा प्राध्यापकले पनि दलबाट त्यस्तै अपेक्षा गरेका हुन्छन् । यो स्थितिका आफ्ना कार्यकर्तालाई तिनको पेसामा दत्तचित्त बनाउन नसक्नु दलकै कमजोरी हो । चीनको अनुभवले यो कुरा स्पष्ट पारेको छ । अर्थात्, चीनले शिक्षकहरूलाई दलीय चेत पनि दियो । पेसाकर्मी पनि बनायो ।

हाम्रा दलहरू किन त्यसो गर्न चाहँदैनौं ? किन दलका शिक्षक तथा प्राध्यापकहरूले आआफ्ना दलका शिक्षानीति लागू गर्दैनौं ? किन आआफ्ना दलमा यी कुरा चलाउँदैनौं ? एमालेमा जनमुखी शिक्षा बनाउने कुरा । माओवादीमा जनवादी शिक्षा बनाउने कुरा । नेपाली कांग्रेसमा समाजवादी शिक्षा बनाउने कुरा । आहुति, विप्लव तथा मोहनविक्रमका दलहरूमा वैज्ञानिक समाजवादी शिक्षा बनाउने कुरा । राप्रपामा राष्ट्रवादी शिक्षा बनाउने कुरा । यसबारे किन हाम्रा दलहरू मौन छौं ? चीनले यो काम गर्न सक्छ । हामी किन सक्तैनौं ? किन गर्दैनौं ?

विद्यार्थी नेताहरू दलका हतियार हुन् । पूर्णकालीन । आंशिक । आशीर्वादप्राप्त । तिनले सिकेको वा तिनलाई सिकाइएको लुट्ने, कुट्ने, तर्साउने तरिकाले ती भोलिका नेता बन्न सक्तैनन् । प्रकारान्तरले बनिहाले पनि ती बेकामे हुन्छन् । तिनलाई सिद्धान्त सिकाएको खै ? तिनलाई राजनीतिक अभ्यास गराएको खै ? तिनलाई गरिखाने बनाएको खै ? तिनलाई भोलिका अब्बल विद्यार्थी बन्न–बनाउन सघाएको खै ? यी र यस्ता कुरामा दलहरू घोत्लिने हो कि त ? विद्यार्थीसँग बसेर । दलका नेताहरू बसेर ।

रहनी के त ?

शासक प्रवृत्ति हो । यस्ता प्रवृत्तिवालाहरू सर्वत्र छौं । जातमा । जातिमा । धर्ममा । वर्गमा । क्षेत्रमा । लैंगिक पहिचानमा । भाषिक पहिचानमा । भूगोलमा । राजनीतिमा । तर ती संवादहीन छौं । वडातहको संवादमा । पालिका तहको संवादमा । प्रदेशतहको संवादमा । संघीय तहको संवादमा । यसो गर्नासाथ सरकार एवं संस्कारका शासकहरूबीच मतैक्य हुन्छ । मतभिन्नता पाट्ने स्थानीय तरिका जानिन्छ । पेट माझामाझ हुन्छ । निर्क्योल निस्कन्छ ।

सिद्धान्त बोकेको भए विस्तार हुन्छ । खोजेको भए सिद्धान्त बन्छ । परीक्षण गरे नतिजा बुझिन्छ । यो काम गर्नासाथ हामी रैथाने बन्न थाल्छौं । नभए होमी भाभाले भनेझैं असलहरूको वर्णसंकर बन्छौं । दुवै विन्दुमा हामी जित्ने समूह बन्छौं । राजनीतिक दलका शासक भए पनि । जात, जाती, धर्म, वर्ग, लैंगिक, भाषिक तथा भूगोलका शासक भए पनि । यो काम गर्नासाथ हामी आफ्नालाई जोड्न सक्छौं । जनतासँग जोडिन पनि सक्छौं । तिनकै जात, जाति, धर्म, वर्ग, लैंगिक, भाषिक तथा भूगोलका शासकमार्फत । दलीय शासकमार्फत । सरकारका तहहरूमार्फत ।

पञ्चकोषी हाम्रो अस्तित्व हो । सबै कोषको सन्तुलन शरीरधर्म हो । विकासलाई पञ्चकोषी बनाउनु हाम्रो मौलिकता हो । यसो गर्नासाथ हामी व्यष्टिलाई केन्द्रमा राख्छौं । समष्टिलाई सञ्जालित गर्छौं । अहं ब्रह्मास्मि स्विकारेर । सहना भवतु स्विकारेर । अर्थात्, व्यष्टिमा समष्टिले शासन गर्छौं । समष्टिमा व्यष्टिको अस्तित्व स्विकार्छौं । अर्को शब्दमा, व्यक्ति तथा समाजको पञ्चकोषी आवश्यकता एकसाथ पूरा गर्छौं ।

राजनीति सेवा हो । हो ची मिन्ह त्यसै भन्थे । किसानी तिनको पेसा थियो । अर्थात्, उनी खेती गरेर पेट पाल्थे । राजनीति गरेर जनसेवा गर्थे । नेपाली रानीतिज्ञले चाहिँ राजनीतिलाई नै पेसा बनाएका छन् । त्यसैले तिनीहरू भ्रष्टाचारी छन् । राजनीतिलाई सेवा बनाए भ्रष्टाचार स्वतः रोकिन्छ । नेताले पेट पाल्न कुनै न कुनै काम गर्छन् । यो संस्कार बनाउनासाथ हामी माओले भनेझैं नयाँ मान्छे बन्छौं । बनाउँछौं ।

पुर्ख्यौली पहिचान बदल्नेहरू अर्कैका हुन् । कालान्तरमा हुन पुग्छन्  काटिएका चंगाजस्ता । घरैमा भेटिए भने ओल्ड टेस्टामेन्टका शब्दमा हराएका नेपाली हुन्छन् । विदेशमा भेटिए इसेन एरमस एरटुर्कको ठम्याइका मान्छे हुन्छौं । आफू नभएका । आफ्नोपना नभएका । बिचरा पहिचानवादी । यो स्थितिबाट जोगिन आजैदेखि सोचौं । शैव, कपिल, बुद्ध, जनक, सहलेसको दर्शन के हो ? तिनमा हामीले बोके–बोकाएको दर्शन कसरी मिलाउन सक्छौं ? कुनकुनमा हाम्रापना के हुन् ? कसरी हामी तिनको खोजी गर्न सक्छौं ? कसरी हर पुस्तामा ती कुरा जोड्न सक्छौं ? कसरी बहुपुस्तालाई एकअर्काका पूरक बनाउन सक्छौं ? भाषामा ? संस्कृतिमा ? राजनीतिमा ? शासन सञ्चालनमा ?

देशको समग्र तथ्यांक राखेर बसौं । हाम्रा प्रतिबद्धता खोजेर बसौं । कहाँ राम्रो गर्‍यौं । गर्व गरौं । कहाँ चुक्यौं । पहिचान गरौं । अब कसो गरौं भनी सोही विन्दुबाट सोचौं । त्यहीँ शिक्षाको योगदान खोजौं । त्यहीँ विद्यार्थीको जिम्मेवारी जोडौं । लेभी तिर्ने वा पटके सहयोग गर्नेको जिम्मेवारी तोकौं । तिनले जिम्मेवारी पूरा गरे–नगरेको कुराको लेखाजोखा गरौं । यति गरे बन्छौं । नगरे अधपतन भोग्न तयार बनौं । शासकको धर्म त यही होला नि ! ‘प्रकृति रञ्जनात् ।’

प्रकाशित : जेष्ठ २८, २०८० ०८:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?