२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९२

प्रवास, आप्रवास, निर्वास र दोहोरो चेतना

नेपाल सरकारका मन्त्री तथा कर्मचारीहरूले आर्थिक लाभका लागि मानव बेचबिखनजस्तो संगठित आपराधिक क्रियाकलापको सहारा लिनु अक्षम्य हो । नेपालस्थित यूएनएचसीआर के हेर्दै बसिरहेको थियो ?
कटक मल्ल

भुटानले सन् १९९० को दशकको सुरुआततिर नेपालीभाषी नागरिकहरूमाथि राज्य आतंक मच्चायो । उनीहरूलाई जातीय सफाया (एथ्निक क्लिन्जिङ) सहित देशनिकाला गर्‍यो । त्यसरी लखेटिएकाहरूको पहिलो गन्तव्य भारत थियो । तर भारतले शरण दिएन, ट्रकमा हालेर नेपालको काकरभिट्टामा ल्याएर छोड्ने गर्‍यो ।

प्रवास, आप्रवास, निर्वास र दोहोरो चेतना

भुटानबाट लखेटिएकाहरूको आश्रयस्थल पूर्वी नेपालका झापा र मोरङ बने । शरणार्थी सम्बन्धी राष्ट्रसंघीय उच्चायोग (यूएनएचसीआर) ले गाँस–बासमा सघायो ।

जातीय आधारमा आफ्नै नागरिकलाई देशनिकाला गर्ने भुटानको कदम मानव अधिकारको विश्वव्यापी घोषणापत्रविरुद्ध थियो । २० औं शताब्दीको एउटा दुःखद तथा समाधानविहीन घटना थियो त्यो । तर, यस मुद्दामा भुटानलाई मानवताविरुद्धको अपराधको कठघरामा उभ्याइएन । समस्या समाधानका लागि नेपाल–भुटानबीच भएका दर्जनौं वार्ता असफल रहे । भुटानले ती आफ्ना नागरिक नै नभएको जिकिर गर्‍यो । भारत भुटानका पक्षमा थियो । त्यसअघि पञ्चायत सरकारले सन् १९८९ मै भुटानी मानव अधिकारवादी नेता टेकनाथ रिजाललाई झापाबाट गिरफ्तार गरी भुटानलाई बुझाएको थियो ।

द्विपक्षीय वार्ताबाट शरणार्थीहरूलाई स्वदेश फर्काउने नेपालको प्रयास असफल रह्यो । सन् २००७ मा नेपालमा रहेका १ लाख ८ हजार शरणार्थीलाई यूएनएचसीआरको अगुवाइमा तेस्रो मुलुकमा बसोबासको योजना अघि सारियो । संयुक्त राज्य अमेरिका, अस्ट्रेलिया, क्यानडा, नर्वे, नेदरल्यान्ड्स, डेनमार्क र न्युजिल्यान्ड तिनलाई लैजान सहमत भए । २०१७ सम्म १ लाख ८ हजार ५ सय १३ शरणार्थी तेस्रो मुलुक गए । तर बाँकी ६ हजारको हाराहारीमा अझै नेपालमै छन् । उनीहरूको तेस्रो मुलुक बसाइँसराइ हुन सकेको छैन, न त स्वदेश फर्कनै पाएका छन् ।

पछिल्लो पटक यिनै छुटेका भुटानी शरणार्थीहरूको समस्या समाधान गर्ने नाममा नेपाल सरकार, गृह मन्त्रालयले कार्यदल गठन गर्‍यो । त्यसको अन्तर्य समस्या समाधान गर्नेभन्दा पनि ती छुटेकासँगै नक्कली भुटानी शरणार्थी बनाएर नेपाली नागरिकलाई गैरकानुनी रूपमा पैसा असुल गरी अमेरिका पठाउनु रहेको वास्तविकता सञ्चारमाध्यममा आयो । त्यस प्रकरणमा मुछिएका तत्कालीन मन्त्रीहरू र गृहसचिव लगायत नक्कली भुटानीका नाममा पैसा बुझाउनेहरू पुर्पक्षका लागि थुनामा छन् । यस प्रकरणमा थप अरू पात्र जोडिएको तथ्य अनुसन्धानले अगाडि ल्याउने सम्भावना छ । मानव बेचबिखनजस्तो गम्भीर आपराधिक क्रियाकलापमा राजनीतिक दलहरूका नेता–कार्यकर्ता, मन्त्री र बहालवाला सचिवहरूकै संलग्नता देखिनु शासनको असफलताको सबैभन्दा डरलाग्दो सूचक हो ।

वर्तमान विश्वमा प्रवासन, आप्रवासन, निर्वासन र मानव तस्करी जटिल समस्या बनिरहेको तथ्य सर्वविदित छ । नेपाल सरकारका मन्त्री तथा कर्मचारीहरूले आर्थिक लाभका लागि मानव बेचबिखनजस्तो संगठित आपराधिक क्रियाकलापको सहारा लिनु अक्षम्य हो । नेपालस्थित यूएनएचसीआर के हेर्दै बसिरहेको थियो ?

आप्रवासनमा ‘मुनामदन’ र ‘उतभन्द्रना’ को सन्दर्भ

लगभग एक शताब्दीपहिलेको समयमा आधारित लक्ष्मीप्रसाद देवकोटाको खण्डकाव्य ‘मुनामदन’ र स्विडिस लेखक विललिम मोबारीको उपन्यास ‘उतभन्द्रना’ (प्रवासन) मा कथावस्तुमा समानता देखिन्छ । ‘मुनामदन’ मा काठमाडौंका युवा मदनको जीवनको वर्णन छ, जो सुन कमाउन ल्हासा जान्छन् । घर फर्कने क्रममा मदन बिरामी हुन्छन् र उनका साथीहरूले बाटामै छोडिदिन्छन् । तर ल्हासाको एक साथीले उनलाई बचाउँछ । मदनकी श्रीमती पतिवियोगको पीडाले तड्पिन्छिन् । दुःख भोगेर मर्छिन् । जब मदन काठमाडौं फर्किन्छन् तब कथाको अन्त्य मदन र उनकी बहिनीबीचको वार्तालापबाट हुन्छ ।

‘उतभन्द्रना’ ले त्यस बेलाको गरिबीग्रस्त दक्षिण स्विडेनको एउटा गाउँ ‘स्मोल्यान्ड’ का मानिसहरू, त्यो गाउँको एउटा स्विडिस परिवार, मुख्य पात्र कार्ल–ओस्कर निल्सन, श्रीमती क्रिस्टिना र कान्छो भाइ रोबर्टको अमेरिकामा बसाइँसराइ सम्बन्धी करुणादायी कथा भन्छ । देवकोटाको ‘मदन’ ल्हासा गएजस्तै मोबारीको ‘रोबर्ट’ सुनको खोजीमा क्यालिफोर्निया जान्छ । तर जन्डिसका कारण त्यहीँ मर्छ । अमेरिकाको मिनेसोटाबाट कार्ल–ओस्करले स्विडेन पठाएको अन्तिम पत्रमा बहिनीलाई सम्बोधन गरिएको छ । देवकोटा र मोबारीका कथामा दिदीबहिनीको भूमिकालाई महत्त्व दिइएको पाइन्छ ।

एकअर्कासँगको सम्बन्ध नभएका, अलग ठाउँका देवकोटा र मोबारीका कथाका विषयवस्तु र कथाको अन्त्यमा किन समानता रहन गयो होला ? यसमा संयोग र दोहोरो चेतना दुइटैले काम गरेको हुन सक्छ । यस लेखमा आजभोलि नेपालमा चलनचल्तीको ‘दोहोरो नागरिकता’ शब्दावलीको सट्टा प्रवासन, आप्रवासन, निर्वासन र दोहोरो चेतनाबारे सम्बोधन गर्ने प्रयास गरिएको छ । कुनै एउटा मुलुकको एक ठाउँबाट अर्को ठाउँमा भएको बसाइँसराइ आन्तरिक आप्रवासन हो । एउटा मुलुकबाट (वा, एक महादेशबाट अर्को महादेश) अर्को मुलुकमा हुने बसाइँसराइलाई प्रवासन भनिन्छ । राजनीतिक वा अन्य कारणले एउटा मुलुक छोडेर अर्को मुलुकमा हुने बसाइँसराइलाई प्रवासन, आप्रवासन र निर्वासनसँग जोड्ने गरिन्छ ।

प्रवासन, आप्रवासन र निर्वासनलाई दोहोरो चेतनासँग जोडेर छलफल गर्नुका पछाडि केही विशेष कारण छन् । आफ्नै ठाउँ छोड्नुको दुःख भए पनि निर्वासनले संसारलाई अनौठो भूमिका रूपमा हेर्ने मौका दिन्छ । आफ्नो पहिचान एकअर्काविरुद्धको प्रयोगमा भन्दा एकअर्काको सह–अस्तित्व बुझ्नलाई उपयोगी साबित हुन सक्छ । समावेशी लोकतन्त्रलाई प्रतिनिधित्वका रूपमा परिभाषित गरिएको विश्वव्यापी अवस्थामा दोहोरो चेतना सह–अस्तित्वको साझा आधार खोज्ने माध्यम साबित हुन सक्छ । कुलीन वर्गले सीमान्तीकृत दलितउपरको ऐतिहासिक अन्याय बुझ्न र पितृसत्तावादीले नारीवाद बुझ्न दोहोरो चेतना आवश्यक छ । पहाडका मानिसलाई पहाडे मात्र र मधेशका मानिसलाई मधेशी मात्र देख्नेहरूलाई दोहोरो चेतना उपयोगी हुन सक्छ । दोहोरो चेतना व्यक्तिगत रूपमा आफूलाई अरूमा र अरूलाई आफूमा बुझ्ने माध्यम पनि हुन सक्छ ।

मोबारीको कथामा अमेरिका प्रवास गएका स्विडिसहरूका केही सन्तान स्विडेन फर्किरहेका छन् । उनीहरूले दोहोरो नागरिकताको माग गरेनन् । कोही अमेरिका र स्विडेनका दोहोरो नागरिक पनि छन् । स्विडेनको निर्वाचनमा भोट हाल्न स्विडेनको नागरिकता आवश्यक छैन । स्विडेनमा काम गर्ने विदेशी नागरिकहरूले समेत स्थानीय निर्वाचनमा मतदान गर्न सक्छन् तर राष्ट्रिय संसदीय निर्वाचनमा चाहिँ स्विडेनी नागरिकलाई मात्र त्यस्तो अधिकार छ । स्विडेन र अमेरिका सरकारले दोहोरो कर नियमन गर्ने सन्धिमा हस्ताक्षर गरेका छन् । दोहोरो करको समस्याका कारण केही अमेरिकीले अमेरिकी नागरिकता त्यागेका छन् । मोबारीको कार्ल–ओस्कर र क्रिस्टिनाको प्रवासको वर्तमान कथा धेरै दुःखद छैन जसरी अहिलेका मुनामदनहरूको भएको छ । देवकोटाका वर्तमान मुनामदनहरू विदेश जान्छन् । वैदेशिक रोजगारी नेपालीको आम्दानीको स्रोत बनेको छ । रेमिट्यान्स जीडीपी वृद्धिमा प्रमुख कारक बनेको छ भनिन्छ । कैयौं प्रवासी मुनामदनहरू शव बनेर बाकसमा फर्किन्छन् ।

शब्दको अर्थ जेसुकै होस्, विभिन्न कारणले प्रवासन, आप्रवासन, निर्वासनमा रहेका नेपालीहरूलाई ‘गैरआवासीय नेपाली’ नामकरण गरिएको छ । विदेशमा रहेका सबै नेपालीका नाममा एउटा गैरआवासीय नेपाली संघ (एनआरएनए) को स्थापना भएको छ, यद्यपि सबै जना यस संस्थाको सदस्य छैनन् । एनआरएनएलाई एउटै समूहका रूपमा चित्रण गरिए पनि दक्षिण एसियाका नेपालीलाई सदस्य लायक मानिएको छैन । देशको कामको अवस्था हेरेर प्रवासी नेपालीहरूको ज्यान जोखिममा छ । देवकोटाका कैयौं आधुनिक मुनामदन मरिरहेका छन् (मैले पश्चिम एसिया वा मध्यपूर्वमा कार्यरत आप्रवासी नेपालीहरू सम्बन्धी डकुमेन्ट्रीहरू स्विडिस टीभीका लागि अनुवाद गर्दा त्यस्तो पीडा महसुस गरेको छु) । एनआरएनएको मुख्य माग ‘दोहोरो नागरिकता’ को अधिकार सुनिश्चित गर्नु भनिएको छ । सो अधिकार माग गर्नेहरूमध्ये कतिका विदेशी नागरिकता होलान्, तर सबैले सार्वजनिक गर्दैनन् । नेपाल सरकारसँग त्यस्तो जानकारी छ वा छैन, अझै स्पष्ट छैन । ‘दोहोरो नागरिकताको अधिकार मानव अधिकार हो’ भन्ने लेख एनआरएनए वेबमा भेटिन्छ । कानुनको मान्य सिद्धान्त अनुसार नागरिकताको अधिकार मानव अधिकार हो तर दोहोरो नागरिकता होइन, मुलुकविशेषले दोहोरो नागरिकता दिनचाहिँ सक्छ । मुलुकहरूले आफ्नो भूराजनीतिक अवस्थाका आधारमा दोहोरो नागरिकता स्वीकार वा अस्वीकार गर्न सक्छन् । नागरिकतासम्बद्ध सबैभन्दा महत्त्वपूर्ण पक्ष दोहोरो करको व्यवस्थापन हो । यसबारे न एनआरएनए न त नेपाल सरकारले नै कुनै नीति सार्वजनिक गरेका छन् ।

एनआरएनएले नेपाललाई सहयोग गर्ने भनी चर्को आवाज उठाइरहेको भए पनि यसमा संलग्न व्यक्तिहरू दोहोरो नागरिकता (नेपालले दिन सक्नेभन्दा बढी) लिन इच्छुक देखिन्छन् । विश्वको अर्को कुनै पनि प्रवासी समूहले दोहोरो नागरिकता मागेको छैन, जस्तो प्रवासी नेपालीले मागिरहेका छन् । एनआरएनए नयाँ ‘जात’, सिन्डिकेट वा राजनीतिक दलका रूपमा देखा परेको छ ।

राष्ट्रियता र नागरिकता एउटै होइन । जन्मजात पाएको राष्ट्रियता परिवर्तन हुँदैन (त्यसैले हामी अफ्रिकन–अमेरिकन, आइरिस–अमेरिकन वा इटालियन–अमेरिकन शब्द पढ्छौं) तर नागरिकता परिवर्तन गर्न सकिन्छ । नागरिकता राजनीतिक अवधारणा भए पनि नेपालको संविधानले नागरिकतालाई सामाजिक, सांस्कृतिक र आर्थिक आधारमा परिभाषित गरेको छ । के यो पर्याप्त छैन ? के तपाईं साँच्चै आफ्नो राज्यप्रमुख र सरकारप्रमुख वा सर्वोच्च अदालतको न्यायाधीश दोहोरो नागरिकतावाला भएको चाहनुहुन्छ ?

‘डायस्पोरा’ को शक्ति

‘डायस्पोरा’ शब्दले मातृभूमि छोडेर गएकाहरूलाई जनाउँछ । एउटा अमेरिकी सर्वेक्षण अनुसार, सन् २०२० सम्म अमेरिकामा नेपालीको संख्या करिब २,०८,००० भइसकेको छ । शताब्दीपछि नेपाली–अमेरिकी डायस्पोराका सन्तान अमेरिकामा राष्ट्रपति निर्वाचित हुन असम्भव छैन किनकि हालसम्मका सबै अमेरिकी राष्ट्रपतिहरूको पारिवारिक पृष्ठभूमि विदेशी छ (आदिवासी ‘नेटिभ अमेरिकन’ हरू राष्ट्रपति बनेका छैनन्) । सन् १८४५ देखि १८५५ सम्म गरिबी, भोकमरी र रोगबाट पीडित (लगभग १.५ लाख) आइरिस अमेरिका प्रवासनमा गएका थिए । अमेरिकाका पहिलो आइरिस क्याथोलिक मूलका राष्ट्रपति जोन एफ केनेडी हुन् । हालका अमेरिकी राष्ट्रपति जो बाइडन पनि आयरिस क्याथोलिक मूलका हुन् ।

नेपाली मूलका अमेरिकी राष्ट्रपति निर्वाचित हुन असम्भव नभए पनि गाह्रो पक्कै छ किनभने अमेरिकाको लोकतन्त्रमा राजनीतिक सफलता व्यक्तिगत धनमा आधारित हुन्छ । बेलायतमा भारतीय मूलका प्रधानमन्त्री ऋषि सुनकजस्तै धनी भए नेपाली मूलको व्यक्ति अमेरिकाको राष्ट्रपतिमा निर्वाचित हुन असम्भव छैन । पाकिस्तानी मूलका प्रवासीहरू पनि कम छैनन् । पाकिस्तानी मूलका हुम्जा युसुफ स्कटल्यान्डको नयाँ प्रथम मन्त्री बनेका छन् (र हुम्जा स्कटिस स्वतन्त्रता खोज्दै छन्, भारतको विभाजनजस्तै बेलायत विभाजनका विषयमा सुनक र हुम्जा राजनीतिक मजाक बनेका छन्) । सुनकले आफू भारतीय मूलको भएकामा भन्दा बढी गर्व भारतीयहरूले गरेको देखिन्छ । तर व्यक्तिवशेष अमेरिकाको राष्ट्रपति वा बेलायतको प्रधानमन्त्री निर्वाचित भएपछि उनीहरूका पुर्खाका देशहरूमा सकारात्मक प्रभाव पर्ला भनी गर्व गर्नु (वा सन्तुष्ट हुनु) भ्रम मात्र हो । उदाहरणका लागि, अमेरिकी राष्ट्रपतिमा बाराक ओबामाको निर्वाचनले अफ्रिकीमा कुनै सकारात्मक प्रभाव पार्न सकेन । यदि सुनक भारतका तर्फबाट बेलायती साम्राज्यसँगको बदलाको प्रतीक हुन् भने भारतीयले सन्तुष्टि लिन सक्छन् तर यसले भारतको लोकतन्त्रका लागि धेरै अर्थ राख्दैन ।

यद्यपि प्रवासी (डायस्पोरिक) प्रभाव महत्त्वपूर्ण हुन्छ । डायस्पोराहरूले युद्ध, द्वन्द्व, राज्यहरूको गठन वा विघटन र सांस्कृतिक घटनाहरूलाई उक्साउन र प्रभाव पार्न सक्छन् । फ्रान्सेली डायस्पोराले बेलायतीविरुद्ध अमेरिकी स्वतन्त्रताको युद्धमा मद्दत गर्‍यो । बेलायतीमाथि अमेरिकीहरूको विजय फ्रान्सेली क्रान्तिको उत्प्रेरक भएको छ । झन्डै एक शताब्दीदेखि विदेशमा रहेको चिनियाँ डायस्पोराले चीनको आधुनिकीकरणमा भाग लिएको छ । चीनले पहिलो परमाणु बम परीक्षण गर्दा चिनियाँ–अमेरिकी नागरिकहरू खुसी भएका थिए । अमेरिकी राजनीतिमा आइरिस लबी र इजरायली लबी शक्तिशाली छन् । भारतीय डायस्पोराले धेरै देशमा भारतको सफ्ट पावर बढाउने काम गर्छ जसले सांस्कृतिक वा वैचारिक माध्यमबाट द्विदेशीय चासोलाई अप्रत्यक्ष रूपमा प्रभाव पारिरहेको हुन्छ । विदेशी भूमिमा आफ्नै जाति–जिल्ला आधारित संगठन बनाएर होइन, विदेशी समाजसँग सक्रिय अन्तरक्रियाबाट प्रभाव छाड्न सकिन्छ । त्यसो गर्नुको सट्टा गैरआवासीय नेपालीहरू नेपालबाट अधिकारको माग गर्दै एक किसिमको दबाब समूह (अ डिफरेन्ट काइन्ड अफ एथ्निसिटी) सृजना गर्न इच्छुक देखिन्छन् । दक्षिण एसियामा नेपाली डायस्पोरा प्रभावकारी हुनुपर्ने हो तर उनीहरूलाई नेपाली कानुन र एनआरएनएले दोस्रो दर्जाको डायस्पोराका रूपमा व्यवहार गरिरहेको छ । उदाहरणका लागि, नेपाल र भारतबीच बढ्दो अविश्वासलाई हेर्दा भारतमा रहेको नेपाली डायस्पोराले विभिन्न भाषा (तमिल, तेलुगु, कन्नड, पन्जाबी, बंगाली र अन्य २२ भाषा) मा सञ्चारमा मद्दत गर्न सक्छ । किनकि सम्पूर्ण भारतले हिन्दी बोल्दैन ।

दोहोरो चेतना

परदेशी हुँदा हामीले जसरी आफ्नो ठाउँ, भाषा र समाज गुमाउँछौं, त्यसरी नै नयाँ भाषा, संस्कृति र समाज पनि प्राप्त हुन्छन् । बौद्धिक मनको दोहोरो चेतना साहित्य, राजनीति र सांस्कृतिक घुमन्ते अवस्था हो । बौद्धिक मन यहाँ पनि हुन सक्छ र त्यहाँ पनि हुन सक्छ, कतै नहुन पनि सक्छ । एकै समयमा सबै ठाउँमा हुन पनि सक्छ । दोहोरो चेतना मानवतावादी प्रकृतिको सार हो, अरूको पीडालाई महसुस गर्नु र त्यो हटाउन समानुभूति प्रयोग गर्नु हो ।

झुठो चेतना र विश्वासविरुद्ध दोहोरो चेतना सामाजिक बहसको विषय हो । भूमण्डलीकरण, स्थानीयवाद, अनिश्चितता र परिवर्तनको समयमा प्रवासन, आप्रवासन र निर्वासनबारे यथोचित चिन्तन गर्नु आवश्यक छ । यी विषयहरूमा ‘दोहोरो चेतना’ को विन्दुबाट छलफल हुनुपर्छ । दोहोरो चेतनाले एकभन्दा बढी ठाउँका अनुभव र भावनालाई बुझाउँछ । एकातर्फ गुमाएको ठाउँ वा मुलुकको सम्झना, अर्कातर्फ अपनाएको मुलुकमा संघर्ष, भेदभाव र वञ्चिति वा सफलताको मिश्रित अनुभव । दोहोरो चेतनाले राम्रो ज्ञान दिन्छ । आफू जन्मेको ठाउँबाट विस्थापित हुने मानिसको जीवन, जीविका र जीवित समयको नष्ट हुन्छ । जन्मस्थानबाट विस्थापित हुँदा फरक स्थानमा बस्न बाध्य हुनुपर्छ । फरक स्थान र समाजमा बाँच्ने कला सिक्न बाध्य हुनुपर्छ । त्यस्तो कला सिक्ने प्रक्रियामा घर फर्कने आशा नष्ट हुन्छ । स्वदेशमा ‘मातृभूमि त्याग्ने’ भनेर श्राप दिइन्छ, विदेशी भूमिमा ‘तिमीहरू बाहिरिया’ भनेर निन्दा गरिन्छ । (विस्थापनको यस्तो त्रासदी, विरोधाभास र विडम्बना इराकी–अमेरिकी लेखक र ‘काउन्टरपन्च’ पत्रकार लुइस याको पुस्तक (‘बुलेट इन एन्भलप्स ः इराकी एकेडमिक्स इन एग्जाइल’, सन् २०२१) बाट यहाँ उद्धृत गरिएको हो ।)

बसाइँसराइपछिका सम्झनाहरू, सफलता र असफलता, जन्मस्थान फर्कने आशा र निराशाको विडम्बनापूर्ण परिस्थितिमा सृजना हुने दोहोरो चेतनाको अनुभूतिबारे साहित्य, राजनीति र सांस्कृतिक विधामा गम्भीर छलफल गाह्रो भए पनि फलदायी हुन सक्छ । अफ्रिकी–अमेरिकी बौद्धिक डब्लूबीई डिबोइस (सन् १९०३) ले दोहोरो चेतनालाई अनौठो संवेदनाका रूपमा व्याख्या गरेका छन्, जसलाई दुई आत्मा, दुई विचार, दुई असंगत प्रयास, एउटै अँध्यारो शरीरमा दुई युद्धरत आदर्श शक्तिले च्यातिनबाट बचाउँछ । दोहोरो चेतना अब अफ्रिकी–अमेरिकीहरूको जीवनमा सीमित छैन । विभिन्न अमेरिकीले आफ्ना विशिष्ट सांस्कृतिक सम्पदाहरूलाई प्रभावशाली तुल्याउने प्रयास गर्दा चेतनामा यो विभाजन अनुभव गर्छन् । डिबोइसको अवधारणामा मूल निवासीले अमेरिकी अनुभवलाई दोहोरो चेतनासाथ चित्रण गर्ने गर्छ ।

दोहोरो चेतनाका रूपहरू विभिन्न हुन सक्छन् । दोहोरो चेतनाको अभावमा विरोधाभासी पहिचानहरू गलत रूपमा चित्रण गरिएका हुन सक्छन् । डिबोइसले आफूलाई अरूका आँखाबाट हेर्ने दोहोरो चेतनालाई परिभाषित गरेका थिए । आफ्नो आत्मकथा ‘आउट अफ प्लेस’ (सन् १९९९) र ‘रिफ्लेक्सन अन एग्जाइल’ (सन् २०००) लेखमा एडवर्ड सइदले निर्वासनको अवस्थालाई रूपकका रूपमा प्रयोग गरेका छन् । निर्वासन जटिल, चिसो, रंगहीन र निराशाजनक स्थिति हो । तैपनि निर्वासनले नयाँ विचार जन्माउने अवसर दिन सक्छ । सइदका शब्दमा, सिमानाले हामीलाई परिचित क्षेत्रको सुरक्षाभित्र घेर्छ । राज्यको सिमाना जेलको पर्खालजस्तै हुन सक्छ । तसर्थ, मातृभूमिबाट टाढा हुँदा बिछोडको पीडा घटाउन निरन्तर जागरुक रहिरहँदा निर्वासनबारे सोच्न बाध्य होइन्छ ।

निर्वासन छनोट होइन, मनको बौद्धिक अवस्था हो । दोहोरो चेतना हुन निर्वासनमा हुनु आवश्यक छैन । घरमै निर्वासनको अनुभूति गर्न सकिन्छ । यो बौद्धिक मनको अवस्था हो- ‘घरमा हुनु’ र ‘घरमा नहुनु’ एकैसाथ महसुस गर्न सकिन्छ । संलग्नता र अलगाव एकै समयमा महसुस गर्न सकिन्छ । सांस्कृतिक उत्पादन सधैं सबैभन्दा उत्पादक र द्विविधापूर्ण हुन्छ । दोहोरो चेतना दुई समानान्तर रेखाका रूपमा दौडन्छ, ती रेखाले कहिलेकाहीँ एकअर्कालाई भेट्छन् भने कहिलेकाहीँ आफ्नै बाटामा दौडिन्छन् । जब तिनीहरू भेटिन्छन्, सह–अस्तित्वको ठाउँ खोज्छन् ।

प्रकाशित : जेष्ठ १८, २०८० ०७:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?