२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५७७

बजेटमा जलवायुजन्य असर र अवसर

नेपालमा जलवायु परिवर्तनका चुनौतीहरूका बावजुद जलवायुजन्य क्रियाकलापमार्फत आर्थिक समृद्धि र दिगो विकासका अवसरहरू प्रशस्त छन् । 
मन्जित ढकाल

जलवायु परिवर्तनले नेपालका कृषि, रेमिट्यान्स, जलविद्युत् उत्पादन र पर्यटनजस्ता अर्थतन्त्रमा विशेष योगदान गर्ने क्षेत्रहरूमा ठूलो प्रभाव पारिरहेको छ र भविष्यमा अझ दूरगामी आर्थिक परिणाम निम्त्याउने सम्भवना छ ।

बजेटमा जलवायुजन्य असर र अवसर

यस लेखमा मैले आगामी आर्थिक वर्षको बजेट तयारीका सन्दर्भमा अर्थतन्त्रमा विशेष योगदान गर्ने यी महत्त्वपूर्ण चार क्षेत्रमा जलवायु परिवर्तनका असरबारे छलफल गर्नुका साथै जलवायुमैत्री कार्यमार्फत आर्थिक समृद्धि र दिगो विकासका अवसरहरूबारे विश्लेषण गर्ने प्रयास गरेको छु ।

कृषि ः कृषि नेपालको अर्थतन्त्रको मेरुदण्ड हो, जसले अझै पनि देशको कुल गार्हस्थ्य उत्पादनमा करिब २५ प्रतिशत योगदान पुर्‍याउँछÙ करिब दुईतिहाइ श्रमशक्तिलाई रोजगारी दिइरहेको छ । तर निरन्तर बढ्दो तापक्रम र विषम मौसमी घटनाहरू, अनियमित र अनिश्चित वर्षा र सुक्खा–खडेरीजस्ता जलवायुजन्य प्रकोपहरूले कृषि उत्पादनमा सबैभन्दा ठूलो प्रभाव पारिरहेका छन्, जसको प्रत्यक्ष असर अर्थतन्त्रमा परिरहेको छ । फलस्वरूप बाली उत्पादनमा कमी आएको छ, बालीमा क्षति पुगेका कारण कृषि उत्पादकत्व घट्दै गएको छ ।

कृषि क्षेत्रमा धानको मात्रै योगदान लगभग २० प्रतिशत छ । विगतका वर्षहरूमा धानको उत्पादनमा सामान्य वृद्धि हुँदै गएको भए पनि गत वर्षको बेमौसमी वर्षा र विभिन्न रोगका कारण घटेको थियो । नेपालमा आधाजति कृषियोग्य जमिनमा सिँचाइ पुगेको छैन, त्यसैले मनसुन महत्त्वपूर्ण छ । जल तथा मौसम विज्ञान विभागले यो वर्ष मनसुनको समयमा कम वर्षा हुने आकलन गरेको छ । समयमै धान रोप्न नपाएमा त्यसको असर धान उत्पादनमा पर्ने निश्चित छ ।

बाली उत्पादनमा आएको ह्रासले देशको खाद्य सुरक्षामा असर पार्नाले खाद्यान्नको मूल्य बढ्न जान्छ । यसले कृषिलाई मुख्य पेसा बनाएका नागरिकहरू, विशेष गरी ग्रामीण क्षेत्रमा बसोबास गर्नेहरूको जीवनस्तरमा प्रत्यक्ष प्रभाव पार्छ । यो वर्ष सरदरभन्दा कम वर्षा हुने आकलन भएकाले, समग्र कृषि उत्पादनमा प्रत्यक्ष असर पर्ने स्पष्ट छ । यसरी कृषि उत्पादकत्वमा आएको ह्रासले खाद्यान्न अभाव हुने, खाद्यान्नको मूल्य बढ्ने र देशको निर्यात राजस्वमा ह्रास आउने हुनाले यसको असर अर्थतन्त्रमा पर्नु स्वाभाविक छ । आगामी आर्थिक वर्षको बजेटमार्फत देशको खाद्य सुरक्षा र आर्थिक स्थायित्व सुनिश्चित गर्न, कृषिमा जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्न, सिँचाइ क्षेत्र विस्तार गर्न बदलिँदो जलवायु सुहाउँदो बाली विकास तथा विस्तारका कार्यहरू प्रवर्द्धनमा अविलम्ब कदम चाल्नुपर्छ ।

रेमिट्यान्स ः रेमिट्यान्सले देशको कुल गार्हस्थ्य उत्पादनमा करिब २३ प्रतिशत योगदान पुर्‍याउँछ । श्रम मन्त्रालयका अनुसार २०७८ सम्ममा नयाँ तथा पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या ५६ लाख छ । राष्ट्रिय जनगणना–२०७८ अनुसार लगभग २२ लाख नेपाली नागरिक विदेशमा विभिन्न आर्थिक क्रियाकलापहरूमा संलग्न छन् । विदेशमा रहेका नेपालीले नेपालमा पठाएको पैसा धेरै घरपरिवारका लागि आम्दानीको महत्त्वपूर्ण स्रोत बनेको छ । तर, जलवायु परिवर्तनको विश्वव्यापी असरसँगै यसले नेपाली आप्रवासीको आर्थिक अवसर खुम्च्याइरहेको यथार्थलाई बेवास्ता गर्न सकिँदैन ।

वैदेशिक रोजगारीको प्रमखु गन्तव्यका रूपमा रहेका मलेसिया, कतार, साउदी अरब र यूएईमा मात्र वैदेशिक रोजगारीमा गएका नेपालीमध्ये करिब ९० प्रतिशत कार्यरत छन् । नेपालीहरू सबैभन्दा धेरै भएका मध्यपूर्वका देशहरूमा जलवायु परिवर्तनका कारण विश्वव्यापी औसतभन्दा दोब्बर छिटो तापक्रम बढिरहेको छ । विभिन्न अध्ययन अनुसार, मध्यपूर्वमा यो शताब्दीको अन्त्यसम्ममा तापक्रम लगभग ५ डिग्री सेल्सियससम्म बढ्ने अनुमान छ । यसो भएमा केही क्षेत्रमा अत्यधिक तापक्रम वृद्धिका कारण मानव बसोबास हुन नसक्ने अवस्था आउनेसमेत देखिएको छ ।

साथै, अन्य देशमा जलवायु परिवर्तनका कारण बाढीपहिरोजस्ता विषम मौसमी घटनाहरू बारम्बार भइरहेका छन् र यस्ता घटना तीव्र गतिले बढ्दै जाने सम्भावना छ । बाह्य देशमा कुनै विपत्ति वा महामारी भए रेमिट्यान्स आयमा ठूलो उतारचढाव हुन्छ । यी घटनाहरूले पूर्वाधार र संरचनाहरू नष्ट हुँदा रोजगारीमा प्रत्यक्ष असर र आर्थिक अवसरहरूमा कमी आउन सक्छ ।

हाम्रो अर्थतन्त्र रेमिट्यान्समा निर्भर भएकाले यसको परिणामबारे पुनर्विचार र तदनुसार रणनीति विकास गर्न जरुरी छ । आगामी आर्थिक वर्षको बजेटमार्फत जलवायु परिवर्तनले रेमिट्यान्स क्षेत्रमा पारिरहेका असरहरूबारे विश्लेषण, रेमिट्यान्स निर्भरता घटाउन विशेष योजना र देशमा थप रोजगारी सृजना गर्ने महत्त्वपूर्ण कार्यहरूको सुरुआत हुनुपर्छ ।

पर्यटन ः पर्यटन नेपालको अर्थतन्त्रको अर्को महत्त्वपूर्ण क्षेत्र हो, जसले देशको कुल गार्हस्थ्य उत्पादनमा करिब ७ प्रतिशत योगदान पुर्‍याउँछ र १० लाखभन्दा बढी मानिसलाई रोजगारी दिन्छ । जलवायु परिवर्तनका कारण बाढीपहिरो र खडेरीजस्ता प्रकोपहरूमा भइरहेको निरन्तर वृद्धिले पर्यटन पूर्वाधार, पर्यटकको सुरक्षा र पर्यटकीय गन्तव्यहरूमा असर परिरहेको छ ।

जलवायु परिवर्तनका कारण विश्वव्यापी तापक्रम १.५ डिग्री सेल्सियसमा सीमित हुँदा पनि यस हिन्दुकुश हिमालय क्षेत्रको तापक्रम लगभग २ डिग्री सेल्सियसले वृद्धि हुने अनुमान छ । फलस्वरूप, निरन्तरको तापक्रम वृद्धिले हिमालको हिउँ र हिमनदी पग्लिँदा दीर्घकालीन रूपमा पर्यटकका लागि आकर्षण घट्ने निश्चित छ । साथै, निरन्तर बढ्दो तापक्रम र बदलिँदो वर्षाको स्वरूपले यहाँ उपलब्ध वनस्पति र जीवजन्तुलाई असर गरिरहेको छ, जसका कारण राष्ट्रिय निकुञ्जजस्ता पर्यटकीय स्थलहरूमा प्रभाव पर्न सक्छ । यसबाट नेपालमा पर्यटकको संख्यामा उल्लेख्य कमी आउन सक्छ । पर्यटक संख्यामा कमीले यस क्षेत्रबाट हुने राजस्व घट्दा यसको अर्थतन्त्रमा असर पर्नेछ र विशेष गरी ग्रामीण क्षेत्रमा रोजगारीका अवसरहरू घट्दै जानेछन् । देशको आर्थिक स्थायित्व जोगाउन जलवायु परिवर्तनले पर्यटनमा पारेको असरलाई न्यूनीकरण गर्न यस आर्थिक वर्षको बजेटमा पर्यटकीय क्षेत्रहरूको संरक्षण, दूरगामी प्रभावहरूबारे अध्ययन र यसबारे जनचेतनामा विशेष जोड दिनुपर्ने आवश्यकता छ ।

जलविद्युत् ः जलविद्युत् उत्पादनले देशको कुल गार्हस्थ्य उत्पादनमा करिब ४ प्रतिशत योगदान पुर्‍याउँछ र करिब ४०,००० मानिसलाई रोजगारी दिन्छ । तर, जलवायु परिवर्तनले गर्दा जलविद्युत् उत्पादनमा अहिले नै असर परिरहेको छ, दीर्घकालमा त्यसको मात्रा झन् बढ्न सक्छ । अनि यसको प्रत्यक्ष असर देशको अर्थतन्त्रमा पर्ने पनि निश्चित छ ।

बदलिँदो वर्षाको स्वरूप र मौसमी चक्रको अस्वाभाविक अस्थिरताले छोटो अवधिमा हिमनदी धेरै पग्लिने र अनियमित हुने पक्का छ । दीर्घकालीन रूपमा वर्षाको समय र मात्रामा हुने अनियमितताले पनि जलविद्युत् उत्पादनका लागि पानीको उपलब्धतालाई असर गर्ने निश्चितप्रायः छ । निरन्तर वृद्धि भइरहेका बाढीपहिरोजस्ता विषम मौसमी घटनाहरूले जलविद्युत् पूर्वाधारहरूका साथै विद्युत् प्रसारण लाइनहरूमा धेरै क्षति गरिरहेका छन् । यस्तो क्षति भविष्यमा अझ बढ्न सक्छ ।

जलवायु परिवर्तनले जलविद्युत् आयोजनाहरूमा सम्भावित क्षति र पानी आपूर्तिमा कमी हुँदा विद्युत् उत्पादन गर्ने क्षमता घट्नाले विद्युत् कटौती निम्तिनुका साथै उद्योगधन्दा र रोजगारीमा प्रत्यक्ष असर पुग्ने देखिन्छ । नेपालले आर्थिक स्थायित्व र दिगो विकास सुनिश्चित गर्न जलविद्युत् उत्पादनमा जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न अविलम्ब कदम चाल्नुपर्छ । यस आर्थिक वर्षको बजेटमार्फत जलविद्युत्का क्षेत्रमा जलवायुका तत्कालीन र दीर्घकालीन प्रभावहरूबारे अध्ययन, जलविद्युत् निर्माण गर्दा जलवायु परिवर्तनको दीर्घकालीन प्रभावहरूबारे मूल्यांकन गर्ने प्रावधान राख्नुपर्छ । विद्युत् उत्पादनका स्रोतहरूमा विविधीकरणका लागि जलविद्युत् साथै सौर्य र हावाजस्ता विद्युतीय स्रोतहरूबाट ऊर्जा उत्पादनमा पनि जोड दिनसमेत आवश्यक छ ।

अवसर ः नेपालमा जलवायु परिवर्तनका चुनौतीहरूका बावजुद जलवायुजन्य क्रियाकलापमार्फत आर्थिक समृद्धि र दिगो विकासका अवसरहरू प्रशस्त छन् ।

विद्युतीय यातायातको प्रयोग र बिजुलीमा खाना पकाउने अभ्यास बढाउन सके खनिज इन्धनमा देशको निर्भरता कम गर्दै व्यवसाय र उद्यमीहरूका लागि महत्त्वपूर्ण नयाँ अवसरहरू सृजना गर्न सकिन्छ । गत वर्ष देशमा कुल निर्यातबाट लगभग २ खर्ब रुपैयाँ आम्दानी हुँदा पेट्रोलियम पदार्थको आयातमा मात्रै ३ खर्ब ३४ अर्ब खर्च भएको थियो । यसले समग्र व्यापार घाटामा प्रमुख योगदान गर्नुका साथै ऊर्जामा परनिर्भरता बढाएको छ । त्यसैले यातायात र भान्सामा बिजुलीको प्रवर्द्धनले आयातित पेट्रोलियम पदार्थमा देशको निर्भरता घटाउन सकिन्छ, जसले ऊर्जा सुरक्षामा सुधार गर्न र देशको कार्बन फुटप्रिन्ट कम गर्न सक्छ । यसले स्वदेशी कम्पनीहरू, घरेलु तथा साना उद्योगहरूलाई विद्युतीय सवारीसाधन र पूर्वाधार विकास र निर्माणका साथै विद्युतीय खाना पकाउने उपकरण र सहायक उपकरणहरू बनाउने अवसरहरू दिलाउन सक्छ, जसले गर्दा नयाँ व्यापार र रोजगारी उत्पन्न हुनेछन् ।

जलवायुमैत्री कार्यहरूका लागि अन्तर्राष्ट्रिय स्रोत परिचालन र विदेशी लगानी आकर्षित गर्न सकिन्छ । अन्तर्राष्ट्रिय संस्थाहरू र सरकारहरू जलवायु परिवर्तनलाई सम्बोधन गर्न बढ्दो रूपमा केन्द्रित छन् । यस्ता सहयोगहरू हरितगृह ग्यास उत्सर्जन कम गर्न, यसबाट हुने क्षति र नोक्सानी सम्बोधन गर्न अनि जलवायु परिवर्तनका प्रभावहरूलाई अनुकूलन गर्ने प्रयासहरूमा विकासोन्मुख देशहरूलाई महत्त्वपूर्ण स्रोतहरू उपलब्ध गराउन केन्द्रित छन् । यी स्रोतहरू प्रयोग गरेर आफ्नै जलवायु कार्य–प्रयासहरूलाई समर्थन गर्न र दिगो विकास परियोजनाहरूमा विदेशी लगानी आकर्षित गर्न सकिन्छ ।

वर्षौंदेखि पेट्रोलियम पदार्थको प्रयोगबाट संकलित रकम हालसम्म १० अर्बभन्दा बढी भइसकेको छ । यस्ता आन्तरिक स्रोत वैदेशिक सहयोगका तुलनामा कम झन्झटिलो हुने र सहज परिचालन गर्न सकिने हुँदा ठूला जलवायुजन्य विपत्तिहरूमा यस्ता स्रोतहरू प्रभावित नागरिकहरूका तत्कालका आवश्यकता पूरा गर्न महत्त्वपूर्ण हुन सक्छन् । तर प्रक्रियागत अलमलले यस्ता आन्तरिक स्रोतलाई परिचालन गर्न सकिएको छैन ।

निष्कर्षतः, जलवायु परिवर्तनले नेपालका लागि महत्त्वपूर्ण आर्थिक चुनौतीहरू खडा गरिरहँदा जलवायुमैत्री कार्यका माध्यमबाट आर्थिक समृद्धि र दिगो विकासका अवसरहरू प्रशस्तै छन् । आगामी आर्थिक वर्षको बजेटमा जलवायु परिवर्तनको विषयलाई औपचारिकतामा मात्र सीमित नराखियोस्Ù नागरिकहरूको दिगो र समृद्ध भविष्य सुनिश्चित गर्न अर्थतन्त्रका मुख्य क्षेत्रहरूमा पर्ने असरहरूलाई ध्यानमा राखी जलवायुमैत्री क्रियाकलापबाट मिल्न सक्ने अवसरहरूको सदुपयोगमा पनि बजेट केन्द्रित हुन सकोस् ।

ढकाल जलवायु परिवर्तन सम्बधी अन्तर्राष्ट्रिय नीतिका विश्लेषक हुन् ।

प्रकाशित : जेष्ठ ३, २०८० ०७:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?