२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८०

वैराग्य–नैराश्य र सामाजिक शून्यता

हाम्रो समाजमा निराशा छाउनुको मुख्य कारण के हो ? किन हामी बारम्बार अनैतिक हुनमा, कानुन मिच्नमा रमाउँछौं या यसो गर्दा आफूलाई बहादुर ठान्छौं ? किन नागरिकले चाहेको जस्तो परिवर्तन हुन सकिराखेको छैन ?
धीरेन्द्र नाल्बो

घामको ताप सहन सकिने दूरीमा बसेको हुनाले मानव र अन्य जीवको जीवन र सभ्यता सम्भव भएको हो । तर तापको अर्थलाई नबुझी जब अझै राम्रो होला भनेर हामी घामनजिक जान्छौं, तब जलेर नष्ट हुन्छौं ।’ देशमा हुने गरेका भ्रष्टाचारलाई इंगित गर्दै सप्तरीका एक वृद्धले भनेको कुरा हो यो । झट्ट सुन्दा यो भनाइ सामान्यजस्तै लाग्न सक्छ, तर घोत्लिएर सोच्यौं भने हामी अहिलेजस्तो सामाजिक डिलमा उभिएका छौं, त्यहाँ यो अत्यन्त अर्थपूर्ण छ । नेपाली समाजमा देखिएको प्रवृत्तिलाई मैले शून्यता, स्वामित्वहीनता र वैराग्य–नैराश्य गरी तीनवटा कोणबाट केलाउने प्रयास गरेको छु ।

वैराग्य–नैराश्य र सामाजिक शून्यता

व्यक्तिगत र सामाजिक शून्यता

शून्यता चिकित्सा विज्ञानसँग सम्बन्धित शब्द हो । स्नायु प्रणाली या अन्य समस्याले गर्दा शरीरका अंग–प्रत्यंगले तातो, चिसो, स्पर्श या दुखाइको अनुभूति गर्न नसक्नु शून्यता हो । अर्को शब्दमा, शरीरको सम्पूर्ण भागले पूर्ण रूपमा काम गर्न छोड्नु । यो शब्दलाई यस लेखमा सामाजिक–राजनीतिक अर्थमा व्याख्या गर्दै म व्यक्तिगत र सामाजिक शून्यता र यसको प्रभावबारे केन्द्रित भएको छु ।

ऐतिहासिक दृष्टिकोणबाट व्यक्तिगत तथा सामाजिक शून्यता निश्चित कालखण्ड र परिस्थितिसँग गाँसिएको पाइन्छ । कालखण्ड र परिस्थितिलाइ राजनीतिक, सामाजिक, आर्थिक र वैचारिक अवस्थाका रूपमा बुझ्दा सहज हुन्छ । उदाहरणका लागि, श्रीमान्ले श्रीमतीलाई ‘दुईचार थप्पड लाउनु’ लाई एउटा ‘तथ्य’ का रूपमा स्वीकार गरेर यस खालको महिला हिंसालाई सामान्यीकरण गरी व्यक्ति र समाजलाई कुनै पनि अर्थमा नछुनु अर्थात् नपिरोल्नु शून्यतामा परिणत हुनु हो ।

वर्तमान सन्दर्भमा दलित ‘दलितकै ठाउँ’ मा रहिरहनु या बारम्बार विभेदीकरणमा परिरहँदा जागिर पाउने सवालमा होस् या छुवाछुतमा, व्यक्ति र समाजले अप्ठ्यारो नमान्नु या त्यसविरुद्ध नलड्नु अथवा विद्रोह नगर्नु शून्यताको अर्को उदाहरण हो । उत्पीडित समुदायले आफ्नो अधिकारका निम्ति आवाज उठाउँदा या माग राख्दा कसैद्वारा उचालिएको या असान्दर्भिक भनेर चित्रण गर्नु एक किसिमको सामाजिक शून्यतामा रहनु हो किनकि यस्तो समाजले नयाँ परिवर्तन ल्याउने सम्भावनै हुँदैन । अर्थात्, यथास्थितिमा रहिरहनु नै सामाजिक शून्यताको एउटा विशिष्ट चरित्र हो ।

सामाजिक शून्यतादेखि वैराग्य–नैराश्यसम्म

व्यक्तिगत र सामाजिक शून्यताको सबैभन्दा खतरनाक असर भनेको हाम्रो चेतना र विवेकमाथिको ठाडो प्रभाव हो । जब व्यक्ति र समाजमा शून्यताको बलियो पकड हुन्छ, यसले नजानिँदो किसिमले समाजलाई वैराग्य या नैराश्यतर्फ धकेलिरहेको हुन्छ । यस्तो अवस्थामा विवेक र चेतनाको विकास या परिवर्तनको सम्भावना क्षीण हुन्छ ।

यस सन्दर्भमा यहाँ मैले वैराग्यको अर्थ यसरी लगाएको छु— हरपल दिक्क महसुस गर्नु, समाज अर्थात् पराईसँग केही लिनुदिनु नहुनु या नलिनु/नलाग्नु । नैराश्यको अर्थचाहिँ— परिवर्तनको झिनो अपेक्षा या राख्दै नराख्नु जहाँ न आफू परिवर्तनको संवाहक बनिन्छ न त समाजबाटै आशा राखिन्छ ।

वैराग्य एवं नैराश्यका धेरै उदाहरण हामी देख्न–सुन्न पाउछौं; जस्तो— राजनीतिक दलका नेताहरूलाई इंगित गर्दै फ्याट्ट ‘यिनीहरूले केही गर्दैनन्’ भन्नु; ‘नेपाल सतीले सरापेको देश हो’, ‘शक्ति र स्रोत नभएका मान्छेको यहाँ केही हुँदैन’, ‘कडा परिश्रमले भन्दा सोर्सफोर्स लाएर मात्र जागिर पाइन्छ’, ‘जुनसुकै सरकारी कार्यालयमा जाँदा पनि घूस नदिई काम फत्ते हुँदैन’ भन्नु ।

स्वामित्वहीनता

केही अपवादबाहेक, सामान्यतया मान्छेले आफ्नो इच्छा र चाहना व्यक्त गर्ने अवस्थादेखि नै आफूलाई ‘सही’ अरूलाई गलत मान्ने, आफ्नो गल्ती ढाकछोप र भरसक अर्कोमा थोपर्ने अनि आफू अरूभन्दा अगाडि बढ्ने प्रयास गर्छ । यस्तो प्रयास गरिरहँदा व्यक्तिविशेष अन्याय तथा अनैतिक बाटो अनुसरण गर्न पनि पछि पर्दैन । यस्ता गलत आचरणहरूलाई निरुत्साहित तथा दण्डित गर्न समाज र राज्यले लिखित–अलिखित नीति तथा कानुनहरूको व्यवस्था गरेका हुन्छन् । तर जब व्यक्ति आफ्नो भलो तथा फाइदाका निम्ति कदम चाल्छ, तब उसले लिखित–अलिखित व्यवहार, नीति तथा कानुनसँग द्वन्द्व निम्त्याउँछ । यस द्वन्द्वले व्यक्तिगत तथा सामाजिक विवेकको चित्रण र स्वरूपको निर्धारण गर्छ जुन समग्र देशको भविष्यसँग जोडिएको हुन्छ । यस सन्दर्भमा स्वामित्वलाई मैले जिम्मेवारीसँग जोडेर हेर्ने प्रयास गरेको छु ।

मेरो परिभाषामा स्वामित्व भनेको आफ्नो निर्णय, कार्य र कदमको पूर्ण जिम्मेवारी लिनु हो । स्वामित्वहीनतालाई यसको ठ्याक्कै उल्टो अर्थात् आफ्नो कार्य, निर्णय र कदमको पूर्ण जिम्मेवारी नलिई पन्छिनुको अर्थमा प्रयोग गरेको छु ।

भाषिक रूपमा, स्वामित्वहीनता नेताहरूका भाषणदेखि दैनिकजसो आउने समाचारसम्म देख्न पाइन्छ । उदाहरणका लागि, ‘संवैधानिक परिषद्को बैठक बोलाइएको छ’ भन्ने समाचार शीर्षकलाई लिन सकिन्छ । झट्ट हेर्दा स्पष्टजस्तो देखिन्छ तर एक छिन सोच्दा कसले बोलाएको होला भन्ने प्रश्न आउँछ । योभन्दा पनि अझै महत्त्वपूर्ण पक्ष भनेको, ‘बोलाइएको’ ले अप्रत्यक्ष या नजानिँदो पाराले जवाफहीनताको बाटो लिन्छ । बैठक बोलाउने निकाय प्रस्ट नभएपछि उक्त बैठक भए–नभएको बारे जनचासो हुँदा कसलाई सोध्ने ? स्वतः थाहा नहुने भयो ।

नीति तथा कानुनमा स्पष्ट भए पनि, धेरैजसो कार्यालयमा फाइल कोठाकोठा डुलाउँदै हस्ताक्षर लिनुपर्ने बाध्यतालाई कर्मचारीहरूको जिम्मेवारी र स्वामित्वका रूपमा लिने कि गैरजिम्मेवारी र स्वामित्वहीनताका रूपमा ? यो पनि बहसको विषय हो । नेताहरूका भाषणमा ‘गरिँदैन,’ ‘भनिँदैन,’ ‘मानिँदैन,’ ‘सकिँदैन’ लगायतका शब्दहरू पाइन्छन् । अपनत्वविहीन तथा जिम्मेवारीविहीन यस्ता शब्दहरूको चयन गर्ने प्रवृत्तिले जानी–नजानी समाजलाई स्वामित्वहीनताको संस्कारतर्फ घचेटिराखेको छ । ती शब्दको साटो अपनत्व र स्वामित्व जनाउने ‘भन्दिनँ,’ ‘गर्दिनँ,’ ‘मान्दिनँ,’ ‘सक्दिनँ’ लगायतको प्रयोग नगर्नुको तात्पर्य के होला ? तर आश्चर्य के छ भने, सडक, खानेपानी योजनाहरू राम्ररी सम्पन्न भएको अवस्थामा चाहिँ ‘मेरो पालामा’ या ‘मैले गरेको’ भनेर गर्वसाथ स्वामित्व लिने गर्छन् नेताहरू !

शून्यता एवं वैराग्य–नैराश्य : व्यक्तिगत र सामाजिक प्रभाव

ती सप्तरीवासी वृद्धको भनाइलाई जोड्दा, व्यक्तिगत र सामाजिक शून्यता र वैराग्य–नैराश्य र स्वामित्वहीनताको प्रत्यक्ष–अप्रत्यक्ष प्रभाव हाम्रो चेतना, विचार र विवेकमा हुने गर्छ । हाम्रो चेतना र विवेकमा दैनिक बोलचाल, व्यवहारदेखि संवेदनशील घटनाहरूसम्म नजानिँदो पाराले सामान्यीकरण भइराखेका हुन्छन् । यसलाई बेलैमा हस्तक्षेप या सम्बोधन नगरे हाम्रो विवेक, चेतना र बुझाइले यसलाई सामाजिक यथार्थका रूपमा स्विकार्छ, जुन समाजका लागि प्रत्युत्पादक तथा हानिकारक हुन्छ ।

हामीले धेरै क्रियाकलापलाई सामान्यीकरण गरिसकेका छौं; जस्तै— भ्रष्टाचार, महिलामाथि दुर्व्यवहार, दलित र अन्य उत्पीडित समुदायप्रति अन्याय, अख्तियारको दुरुपयोग, झुटो बोलीवचन । उदाहरणका लागि, सहरमा जहाँ ‘नो पार्किङ’ लेखिएको छ, हामी त्यहीँ सवारीसाधन पार्क गर्छौं । जहाँ ‘नो यु टर्न’ चिह्न छ, त्यहीँ यु टर्न गर्छौं । व्यवहार या लेनदेनमा जानीजानी असम्भव प्रतिबद्धता गर्छौं । ‘चिया खाने’ खर्च भनेर भ्रष्टाचारलाई प्रश्रय दिन्छौं, तर भन्छौं— ‘कमर्चारी पूरै भ्रष्ट छन्,’ ‘भ्रष्टाचारले आजित भएँ,’ ‘यो समाज यस्तै हो, कहिल्यै सुध्रिँदैन ।’ ‘नेताहरू खत्तम छन्, चोर हुन्’ भन्छौं तर आफैं नमस्ते गर्दै उनीहरूको पछिपछि कुद्छौं । भन्नुको अर्थ, गैरकानुनी, अनैतिक र अधोगतिका क्रियाकलापहरूलाई हामी सामाजिक तथ्य तथा यथार्थका रूपमा स्वीकार गर्छौं । यस अवस्थाले हामीलाई नजानिँदो पाराले वैराग्य–नैराश्यमा डुबाई स्वामित्वहीनताको संस्कारतर्फ धकेलिरहेको हुन्छ जुन व्यक्ति र समाजको सकारात्मक विकास तथा परिवर्तनका लागि ठूलो तगारो हो ।

नेपाली समाजको वर्तमान अवस्था शून्यता, स्वामित्वहीनता र वैराग्य–नैराश्यका चारित्रिक विम्बहरूले मात्र भरिएको छ भन्नेचाहिँ पक्कै होइन । झट्टै हेर्दा नदेखिने सुषुप्त तर अत्यन्तै गम्भीर प्रश्नहरूबारे थप छलफल होस् भन्ने यस लेखको उद्देश्य हो । उदाहरणका लागि, हाम्रो समाजमा निराशा छाउनुको मुख्य कारण के हो ? किन हामी बारम्बार अनैतिक हुनमा, कानुन मिच्नमा रमाउँछौं या यसो गर्दा आफूलाई बहादुर ठान्छौं ? किन नागरिकले चाहेको जस्तो परिवर्तन हुन सकिराखेको छैन ? व्यक्तिगत रूपमा होस् या सामाजिक, हामीले किन आफूलाई सुधार्न सकिराखेका छैनौं ? किन आफूले गरेको कामको स्वामित्व लिनसमेत सकिरहेका छैनौं ? यी प्रश्नहरूको उत्तर पाउन त्यति सजिलो त छैन तर आत्मजागरुकता, निरन्तर आत्मालोचना र नियमित आत्मपरीक्षणबाट सुरुआत गरे राम्रो होला कि ?

प्रकाशित : जेष्ठ १, २०८० ०८:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?