१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३८

पर्यावरण संरक्षणमा बुद्धको शिक्षा

बुद्धले भिक्षु–भिक्षुणीलाई रूख काट्न मनाही गरेका छन् । देवताको वास वृक्षमा पनि हुन सक्ने भएकाले त्यसो गरिएको वर्णन बौद्ध साहित्यमा पाइन्छ ।
वसन्त महर्जन

गौतम बुद्धका तस्बिर तथा मूर्तिहरूको सृजनामा अनेकौं शैली र प्रवृत्ति देख्न पाइन्छन् । तर तिनमा एउटा साझा विशेषता प्रकृतिको सुन्दरतम चित्रण हुने गर्छ । कुनै पनि चित्र र मूर्तिमा फूल, रूख, बिरुवा, लता, नदी तथा पशुपक्षीको चित्रणलाई छुटाइँदैन । बौद्ध विषयवस्तुका अन्य सृजनामा पनि शान्त मनोरमपूर्ण वातावरणको चित्रण गर्न कलाकारहरू भुल्दैनन् । यसरी पर्यावरण (इको सिस्टम) बुद्ध र बुद्ध शिक्षाको ‘ब्रान्ड’ जस्तै भएको छ । यो ब्रान्ड बुद्ध र बुद्ध शिक्षालाई चिन्ने र चिनाउने सशक्त माध्यम पनि हो ।

पर्यावरण संरक्षणमा बुद्धको शिक्षा

गौतम बुद्धको जन्मस्थल लुम्बिनीलाई कुनै स्रोतमा सुन्दर वन भनेर चिनाइएको छ त कतै सुन्दर बगैंचा । बुद्ध जीवनी सम्बन्धी प्राचीन ग्रन्थ ‘ललितविस्तरसूत्र’ मा लुम्बिनीलाई कानन भनेर काव्यिक स्वादमा अत्यन्तै मार्मिक चित्रण गरिएको छ । त्यस्तो वनमा उनको जन्म इपू ५६३ को वैशाख पूर्णिमाका दिन सालको वृक्षमुनि भएको थियो । ३५ वर्षको उमेरमा गयामा पीपलको रूखमुनि उनलाई बुद्धत्व मिलेको थियो । बुद्धत्व वा बोधिलाभ भएका कारण पीपललाई बोधिवृक्ष भनी बौद्ध समाजले विशेष सम्मान दिने गरेको छ । बुद्धलाई ८० वर्षको उमेरमा साल वृक्षमुनि नै कुशीनगरमा महापरिनिर्वाण लाभ भएको थियो । अर्थात्, बुद्धका जीवनका महत्त्वपूर्ण घटनाहरू रूखमुनि नै भएका पाइन्छन् ।

बुद्धले भिक्षु–भिक्षुणीहरूलाई रूख काट्न मनाही गरेका छन् । देवताहरूको बास वृक्षमा पनि हुन सक्ने र वृक्ष कटानले देवताहरूलाई आघात पर्ने हुँदा रूख काट्नमा रोक लगाइएको वर्णन बौद्ध साहित्यमा पाइन्छ । रूखहरू नकाटिऊन् भनी नियम बनाइनुमा भलै अरू नै कारण होलान्, तर यसले पर्यावरण जोगाउन प्रेरित गरिरहेको हुन्छ । यस्तै, कुनै पनि ठाउँमा प्रदूषण बढ्ने काम गर्न नहुने उपदेश छ । जसरी मौरीले रस चुसे पनि फूललाई कुनै हानिनोक्सानी हुँदैन, त्यसरी नै प्रव्रजितले कुनै पनि ठाउँको विचरण गर्नुपर्छ भन्नुको अर्थ प्रदूषण नगर्नु तथा नबिगार्नु हो । पानी र घाँस भएको ठाउँमा दिसापिसाब तथा बालीनाली भएको ठाउँमा फोहोर फाल्नु हुँदैन भन्नुमा पर्यावरण संरक्षणको सन्देश निहित छ ।

बुद्धको जीवनीमा ऋद्धि प्रातिहार्य शक्तिको प्रसंग पनि आउँछ । यो भनेको सर्वसाधारणका लागि चामत्कारिक शक्तिको प्रदर्शन हो । बुद्ध यस्तो शक्तिलाई जथाभावी प्रदर्शन गर्न रुचाउँदैनथे र आफ्ना शिष्यहरूलाई पनि यसबाट टाढा राख्थे । तर तीर्थंकर नामक सम्प्रदायले ऋद्धि प्रातिहार्यकै कुरामा अत्तो थापेर बुद्धसँग यस्तो क्षमता नै नभएको हल्ला फिँजाउँदा एउटा निश्चित दिन, समय र ठाउँ तोकेर ऋद्धि प्रातिहार्य प्रदर्शन गर्ने घोषणा गरे । ती तीर्थंकरहरूले त्यस ठाउँमा भएका जम्मै आँपका रूख काटिदिएका थिए । तर बुद्धले पूर्वनिर्धारित दिन, समय र ठाउँमा गई एउटा आँपको बियाँ भुइँमा रोपेर सोही दिन उमारेर ठूलो पारी आँप फलाई खान दिएको प्रसंग पनि छ ।

आफूमा आध्यात्मिक विकास गर्न पर्यावरणको महत्त्व छ । ध्यान गर्न चित्त शान्त हुनुपर्छ अनि चित्त शान्त पार्नका लागि स्वस्थ ठाउँ चाहिन्छ । यसका लागि जंगल उपयुक्त ठाउँ भनिनुको कारण त्यहाँ भौतिक पर्यावरण राम्रो हुनु हो ।

गौतम बुद्धसँग सम्बन्धित नभए पनि उनका चिकित्सक जीवक वैद्यसँग पनि पर्यावरणको महत्त्व सम्बन्धी एउटा कुरा जोडिएको छ । तक्षशीलामा भैषज्य विद्या (चिकित्सा विज्ञान) को अध्ययन गरिरहेका बेला एक दिन उनलाई गुरुले काम नलाग्ने घाँस खोजेर ल्याउन जंगल पठाएका थिए । सबै घाँसको आआफ्नै महत्त्व भएको देखेर उनी खाली हात फर्किए । आफ्नो शिष्यले सबै घाँसको महत्त्व बुझेको भनेर गुरु खुसी भएका थिए ।

पशुपक्षी पनि पर्यावरणका अंग हुन् । तिनीहरूको घर बिगारेर हामी सुखी हुन सक्दैनौं । यही कुरालाई दर्साउन पशुपक्षीको घर बिगार्न नहुने उपदेश बुद्धले दिएका छन् । बौद्ध साहित्यमा जातक कथा प्रसिद्ध छ, जुन गौतम बुद्ध र वरपरका विभिन्न चरित्रको पूर्वजन्मको कथा हो । बुद्धले कुनै बेला हात्ती भएर जन्म लिएको पाइन्छ भने कहिले मृग । बाँदर लगायतका जनावरका रूपमा पनि उनले जन्म लिएको र आफ्ना बन्धुबान्धवको हितमा काम गरेका वर्णनहरू त्यसमा पढ्न पाइन्छ । यी कथाप्रसंगले एकातर्फ पशुपक्षीको महत्त्व दर्साउँछन् भने अर्कातर्फ पशुपक्षीउपर मैत्री र करुणाको भाव राख्नुपर्ने शिक्षा दिन्छन् । एकपल्ट गौतम बुद्धको हत्या गराउन पागल हात्ती बाटामा छाडिएछ । त्यो हात्ती सीधै गौतम बुद्धमाथि आक्रमण गर्न दौडियो । तर छेउमा पुगेपछि बुद्धको मैत्रीभावका कारण अजंगको हात्ती द्रवीभूत भएर उल्टो बुद्धकै शरणमा पर्‍यो । बुद्धत्व प्राप्तिको दसौं वर्ष पुग्नै लाग्दा बुद्ध आफ्ना भिक्षुहरूसँग रिसाएर जंगलमा बस्न गएका बेला हात्ती र बाँदरसँगको उनको सम्बन्धले पनि यस्तै शिक्षा दिन्छ ।

त्यसताका बुद्ध विहारभन्दा केही दूरीमा रहेको पारिलेइयक वनमा बस्न गएका थिए । घना वनभित्र डरलाग्दा जनावरहरू थिए । तर बुद्धको करुणाले ओतप्रोत भई एउटा हात्ती र एउटा बाँदर सेवामा हाजिर भए । बुद्धका लागि पिउने पानी हात्तीले सुँडमा भरेर ल्याइदिन्थ्यो भने भिक्षाटनका लागि बुद्ध गाउँतिर हिँड्ने बेला भिक्षापात्र बोकेर सँगसँगै हिँड्ने गर्थ्यो । हात्तीलाई लिएर गाउँमा पस्न असजिलो हुने भएका कारण बुद्ध उसलाई जंगलको छेउमा पर्खन लगाएर भिक्षाटनमा जान्थे, फर्केपछि हात्तीसँगै जंगल पस्थे । बुद्धलाई अरू पशुले व्यवधान खडा नगरून् भनेर त्यो हात्ती राति रखवाली पनि गर्थ्यो । बाँदर पनि त्यस्तै सहयोगी थियो । बाँदरले बुद्धलाई कटहर दान गरेको वर्णन कपि जातकमा पढ्न पाइन्छ ।

पञ्चशीलमा प्राणी हिंसा गर्न नहुने कुरा परेको छ । सम्यक् आजीविकामा पशुपक्षीको व्यापार गर्न हुन्न भनिएको छ । पशुपक्षीका अंग अर्थात् दाँत, हाड, सिङका सामानहरू भिक्षु–भिक्षुणीले प्रयोग गर्नु हुँदैन । बुद्ध र बुद्धको शिक्षाबाट प्रेरित भएर तत्कालीन कतिपय राजा–महाराजाले सिकार खेल्न छाडेका थिए । मौर्य सम्राट् अशोकले बौद्ध धर्म अनुसरण गर्नुअघि दरबारको पाकशालामा धेरै सिकारको मासु पाक्थ्यो, तर पछि त्यो मात्रा निकै घटाइएको उल्लेख पनि पाइन्छ ।

पर्यावरणको सम्बन्ध मानिसको मनसँग हुन्छ । मानिसको मन दूषित भयो भने पर्यावरण पनि दूषित हुन्छ । अर्थात्, पर्यावरणसम्बन्धी ज्ञान नहुने हो वा लापरबाही अपनाउने हो भने पर्यावरण दूषित हुन पुग्छ । दूषित मन बोकेर हिँडनेले धर्मको अभ्यास पनि गर्न सक्दैन । यसरी बौद्ध शिक्षाका माध्यमबाट पर्यावरणको संरक्षण गर्न सकिन्छ ।

महर्जन बौद्ध अध्ययन, अध्यापन तथा लेखनमा संलग्न छन् । उनका बौद्ध धर्म सम्बन्धी एक दर्जन पुस्तक प्रकाशित छन् ।

प्रकाशित : वैशाख २२, २०८० ०८:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?