२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५१

उपेन्द्र यादवका चोटपटक

विगत पन्ध्र वर्षको सत्ताभोगबाट उपेन्द्रले बुझेको सत्य सम्भवतः एउटै छ— राजनीतिमा रहनु भनेकै दोहनचक्रको बलियो दाँती हुनु हो, त्यसभन्दा अर्को केही हुनु नेता हुनु होइन, राजनीति गर्नु झन् हुँदै होइन ।
उज्ज्वल प्रसाई

सन् २००७ मा उपेन्द्र यादव परिवर्तनका प्रतिनिधि थिए, सन् २०२३ मा उनी पतित नेपाली राजनीतिक नेतृत्वको सग्लो अनुहार बने । पन्ध्र वर्ष सत्ता राजनीतिमा रजगज गरिसकेपछि उनले जितेको निर्वाचनको शीर्षक यस्तो बन्यो— ‘जोगियो उपेन्द्रको अस्तित्व’ । व्यक्तिगत लाभको राजनीतिक छिनाझपटीमा आफ्नो अस्तित्व कायम राख्न उनले एउटा तिकडम रचे ।

उपेन्द्र यादवका चोटपटक

गत मंसिरमा चुनाव हारेका मान्छेले अपेक्षित नैतिकताको पातलो सतहको एक धरो पनि बाँकी नरहने गरी ध्वारध्वारी च्यातेर वैशाखको उपचुनाव लड्ने तारतम्य मिलाए । चुनावी प्रतिस्पर्धामा स्वयंको गरिमा सिध्याएर उनले आफ्नो दाउपेच सफल तुल्याए । उपराष्ट्रपति पदलाई सत्ताखेलको तुरुप बनाए, बारा–२ बाट जितेका रामसहायप्रसाद यादवलाई सो पद दिलाएर सांसदको ठाउँ खाली गराउँदै संघीय सांसद बन्ने उपक्रम टुङ्ग्याए । सत्ताखेलमा उनले पाएको यो सफलता राजनीतिक पतनको अर्को एउटा कडी मात्र हो ।

सन् २००७ मा मधेशलाई नेपाली राजनीतिको सम्मानजनक विचार, मुद्दा, विषय र चासोका रूपमा खडा गर्ने आन्दोलनका मुख्य प्रतिनिधि उपेन्द्र थिए । त्यसअघि सशस्त्र संघर्षकै बेला माओवादीसँग हिमचिम गरेर मधेशमा आन्दोलन सृजना गर्न सकिएला भन्ने कोसिसमा उनी लागेकै हुन्; सामाजिक विषयमा काम गर्ने संस्थामा संलग्न भएर आम मधेशीका हितमा उनले गरेको जमर्को इतिहासमा अभिलिखित छ । मधेशी पहिचानमा सम्झौता नगरी सम्मानजनक नेपाली नागरिक बन्ने अभियानलाई बल पुर्‍याउन उनले किताब पनि लेखेकै हुन् । मधेशी जनसंख्याको ठूलो हिस्सा ओगट्ने यादव समुदायलाई आन्दोलित तुल्याउन सक्दा मधेश आन्दोलन सबल बन्ला भन्ने अनुमानका आधारमा उनले आफ्नो यादव पहिचानलाई राजनीतिक पुँजी बनाएको पनि उत्तिकै सत्य हो । वर्षौंसम्म यसरी विभिन्न प्रयत्न गरेका उनले सन् २००६ मा नेपाली राजनीतिमा आएको लोकतान्त्रिक मोडलाई खास अवसर बनाउँदै मधेशलाई नेपाली समकालीन इतिहासको प्रवाहमा बेवास्ता गर्नै नसकिने विषय तुल्याएको कसैले सहजै अस्वीकार गर्न सक्दैन ।

तर बिर्सन नहुने अर्को तथ्य के हो भने, नेतृत्वमा उपेन्द्र हुनु भनेको उनी स्वयं आन्दोलन हुनु होइन; र उनको व्यक्तिगत सामर्थ्य, रुचि र निगाह मात्रको विषय पनि होइन राजनीतिक र सामाजिक आन्दोलन । पटकपटक भएका मधेश आन्दोलनमा सयौंले ज्यानको आहुति दिए, कैयौं घाइते भए, अरू हजारौंले बौद्धिक र शारीरिक श्रम लगानी गरे । त्यसो त उपेन्द्रजस्ता समकालीन नेता कतै नहुँदै चलेको मधेशी अस्मिताको आन्दोलनको धेरथोर प्रभाव र गरिमा कायमै थियो । जे होस्, आम मधेशीलाई शिर उँचो बनाएर आफ्ना अधिकारका सवाल खुला रूपमा सामाजीक फलकमा राख्न सामर्थ्य दिने पछिल्ला मधेश आन्दोलनका एक मुख्य नेता हुन् उपेन्द्र । आन्दोलनको नेता भएबापत आम मधेशी समुदाय र सिंगो नेपाली राजनीतिले दिनुपर्ने जति स्याबासी उनलाई दिइसकेको छ । हेक्का राख्नैपर्छ, यिनै आन्दोलन र बलिदानका बलमा उनले पटकपटक सत्तायात्रा तय गरेका हुन् ।

इतिहासमा अंकित छ, सत्तामा उक्लिन उपेन्द्र यादवले टेकेको प्रत्येक फलेक सयौं मधेशीका ज्यानले बनेको हो । उनी बस्ने प्रत्येक कुर्सी उभ्याउने खुट्टा आम मधेशीले सडकमा खटेर बगाएको पसिनाको उपज हो । आज आफ्ना सन्तानका लागि नेपाली सत्ता राजनीतिमा उनले खोजिरहेको स्पेस आम मधेशीले आफ्नो गर्विलो पहिचानका लागि लगाएको ज्यानको बाजीको फल हो । र साथै, नेपाली लोकतन्त्रका लागि खटेका हजारौं आम मान्छेका सपना गालेर नै उनले पछिल्ला पन्ध्र वर्षमा ठूला सफलता हासिल गरेका हुन् । मालदार भनेर भद्दा विशेषण जोड्ने गरिएका विभिन्न मन्त्रालयका मोटा भागमा जहाँजहाँ उपेन्द्र यादवको नाम लेखिएको छ,

त्यो उनको व्यक्तिगत साहस, शौर्य, मिहिनेत र षड्यन्त्र–सामर्थ्य मात्रको परिणाम कदापि होइन । उनले एक्लै लड्दै वा तिकडम गर्दैमा यस्तो सम्भव थिएन ।

सन् २००७ र त्यसभन्दा धेरैअघिदेखि आफू स्वयंले र उनको आह्वानमा खटेका हजारौं मधेशीले जोगाएको अस्मितालाई केवल आफ्ना लागि सत्ताको र आफू मात्रैका लाभको बहीखातामा परिणत गरे उपेन्द्र यादवले । उनको सोही राजनीतिक असफलताको छिद्रबाट उदाएका हुन् सीके राउत । अघिल्लो निर्वाचनमा बेमौज हार बेहोर्नुपर्नाको कारण पनि त्यही थियो । सो हारलाई उनले आफ्ना कमजोरी समीक्षा गर्ने, हिजो देखेका समताको सपना स्मरण गर्ने, आम मान्छेका बलिदानप्रति नतमस्तक हुने, भविष्यमा सम्पन्न गर्नुपर्ने गुरुत्तर जिम्मेवारी बोध गर्ने, र मधेशलाई नेपाली राजनीतिको फलकमा अविच्छिन्न उँचो प्रतिष्ठा दिलाउने अभियानलाई पुनर्ताजगी गर्ने समय बनाएनन् । त्यसो गर्न आफैंप्रति निर्मम हुन सक्नुपर्थ्यो, आफ्ना तिकडमका असली नियत उजागर गर्नुपर्थ्यो, र आफ्नै बेइमानीका हिसाब निकाल्ने आँट गर्नुपर्थ्यो । त्यो सम्भव भएन किनभने उपेन्द्र पतनको पर्याय बनिसकेका थिए । बरु फेरि सत्ताकै दलदलमा भ्रमित भएर बसिरहने सजिलो बाटो रोजे । पुष्पकमल दाहाल, शेरबहादुर देउवा, केपी ओली लगायतका भ्रष्ट अनुहारमध्ये एक बन्नुमा ज्यादा सुबिस्ता देखे ।

कसैले यस तर्कलाई अस्वीकार गर्छ भने, उसले केही जरुरी प्रश्नको सम्यक् उत्तर दिनुपर्छ । यो निर्वाचनबाट उपेन्द्र यादवको सांसद अस्तित्व जोगिँदा खासमा के जोगिएको हो ? संसद्को गरिमा जोगिएको हो ? संघीय गणतान्त्रिक व्यवस्थाप्रति आम मान्छेको भरोसा बाक्लिएको हो ? मौजुदा दलप्रतिको विश्वास बढेको हो ? संसद् वा सरकारमा बसेर गर्नैपर्ने कुन त्यस्तो काम थियो जसका लागि उनी संसद् र सरकारबाहिर बस्नै नहुने थियो ? सांसद बनेर निर्वाह गर्ने कुनकुन भूमिकालाई एजेन्डा बनाएर उनले मत मागेका थिए ? हिजो सांसद अथवा मन्त्रीका रूपमा उनले गरेका त्यस्ता कुनकुन कामका आधारमा आजको यो जितप्रति आम मान्छे ढुक्क हुने ? यी प्रश्न राजनीतिमा चासो भएका आम मान्छे र उनैलाई भर्खरै मत दिएर जिताएका मतदातासमेतलाई सोधियो भने के भन्लान् ?

पछिल्लो समय उपेन्द्रका सबै भूमिका ख्याल गर्नेले सहजै बुझ्छ, उनी सांसद बन्दा मौजुदा संघीय संसद्मा भएको कुनै पनि अपूर्णता सम्बोधन हुँदैन । संसद्लाई मधेशका आम मानिसका दुःखमा गहकिलो विमर्श गर्ने थलो बनाउन उनी इमानदारीपूर्वक लाग्छन् भन्ने कुनै ठोस आधार छैन । नेपालको भविष्यप्रति आशाको त्यान्द्रो समाउन खोजिरहेका आम युवाका मनमा सांसदका रूपमा उनले आशाको कुनै तरंग उत्पन्न गर्न सक्नेछैनन् । संघीयतालाई अहिलेभन्दा बढी मजबुत बनाउन संघीय संसद्ले खेल्नुपर्ने भूमिकामा कुनै गुणात्मक परिवर्तन आउला भन्ने झीनो आशा सञ्चार गर्ने कुनै गतिविधिका नेता उनी होइनन् । कार्यकारीलाई आफ्नो जिम्मेवारीमा खरो उतार्न उनले सांसदका रूपमा अरू सांसदले निर्वाह गर्नै नसक्ने भूमिका पूरा गर्लान् भन्न पटक्कै सकिन्न । सांसदका रूपमा रामसहायप्रसाद यादवले जति गहकिला काम गर्न सक्थे, त्यसभन्दा ज्यादा उपेन्द्र यादवले के गर्लान् ? कुनै सकारात्मक जवाफ दिन सकिँदैन ।

त्यसो भए केका लागि उनी यतिका तिकडम र दाउपेच रच्दै, नैतिकता धूलिसात् पार्दै सांसद बनेका हुन् ? स्पष्ट छ, उनलाई सीके राउतसँग निर्वाचन हारेको क्षुब्धता कम गर्नु थियो; उनको दम्भले बेहोरेको चुनौतीको सामना गरेको तुष्टि लिनु थियो; र सांसद पदको उपयोग गर्दै सत्ताखेलमा मार्न पाइने बाक्लो तरको अंश फेरि एक पटक हातलागी गर्नु थियो । मन्त्रालय बाँडफाँटमा आफ्ना बलिया पाखुरा तेर्स्याउन सांसद हुनैपर्ने उनको निष्कर्ष थियो । आफ्नो दलका अरू कोही नेताका लागि होइन, स्वयं आफ्नो व्यक्तिगत पोल्टामा फेरि एक पटक कथित मालदार र शक्तिशाली पद पार्न पनि तिकडमको यो शृंखला रच्न उनले अत्यावश्यक ठहर्‍याएका हुन् । विगत पन्ध्र वर्षको सत्ताभोगबाट उनले बुझेको सत्य सम्भवतः एउटै छ— राजनीतिमा रहनु भनेकै दोहनचक्रको बलियो दाँती हुनु हो, त्यसभन्दा अर्को केही हुनु नेता हुनु होइन, राजनीति गर्नु झन् हुँदै होइन ।

आगामी चुनाव जित्न दोहनकै फल आवश्यक छ भन्ने उपेन्द्र यादव र उनी जस्ता नेताको मुख्य शिक्षा हो । उनीहरूको अनुभवले भन्छ— चुनाव मुद्दा र कार्यक्रम, प्रगति र समताको सपना, आम मान्छेको जीवन इज्जतिलो बनाउने विश्वसनीय खाकाले जिताउने उपक्रम होइन; पैसा र पदीय शक्तिले उछिन्ने खेल हो । त्यसैले दोहनको चक्र अकण्टक चलाउने पदमा नपुग्दा आफू असान्दर्भिक हुने भय रहन्छ । हारेको छ महिना नपुगेर के भो, जित्ने अर्को अवसर छोप्नु पो राजनीतिक कौशल हो ! सोही दाउपेचेको सीपमा सिद्धहस्त भएको साबित गर्दै उपेन्द्रले आफ्नो अस्तित्व जोगाए ।

उपेन्द्र यादवको चुनावी जितले जोगाएको अस्तित्वले आन्दोलनको गरिमा वा मधेशको अस्मिता जगेर्ना गरेको होइन । उनले अब पाउने कुनै पनि सफलता आम मतदाता वा आम नागरिकको सफलता हुनेछैन । सत्ताखेलमा संलग्न हुँदै उनले हात पार्ने पदको लाभ न आम मधेशीको हुनेछ, न कुनै आन्दोलनको हुनेछ । दाउपेच र तिकडमको जित खासमा लोकतान्त्रिक राजनीतिको हार हो । हिजो आन्दोलन हाँकेर स्थापित भएका दलप्रतिको विश्वसनीयताको क्षय हो । संघीयता जो उनले नेतृत्व गरेको आन्दोलनको परिणाम हो, त्यसप्रति बाँकी रहेको थोरैतिनो विश्वासको खण्डीकरण हो । दोहनचक्रको दाँतीका रूपमा आफू सग्लै बचेर, यादवले जीतेको सांसद पद यस व्यवस्थाको विडम्बनापूर्ण त्रासदी हो ।

प्रकाशित : वैशाख १५, २०८० ०८:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?