२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७५४

सुषुप्त आर्थिक संकट

हाम्रो अर्थतन्त्र त्यस्तो सिरकजस्तो छ जसले मुख ढाक्यो खुट्टा नांगिने, खुट्टा छोप्यो मुख उदांगिने हुन्छ । आयात कम हुँदा शोधनान्तर स्थिति र वैदेशिक मुद्राको सञ्चिति त राम्रो देखियो तर राजस्व घट्यो । भोलि माग बढ्ला, आयात बढ्ला, राजस्व पनि बढ्ला तर शोधनान्तर फेरि नकारात्मक हुन्छ ।
विशाल चालिसे

नेपालको अर्थतन्त्रको वर्तमान अवस्थाबारे दुई थरी भनाइ सुनिन्छन् । एक थरी धारणाले अर्थतन्त्रमा समस्या नरहेको, पछिल्लो समय सुधारोन्मुख रहेको वा समष्टि आर्थिक अवस्था स्थिर रहेको चित्रण गर्छ । अर्कोतर्फ अर्थतन्त्र संकटको डिलैमा रहेको वा अर्थतन्त्र सुस्ताएको भन्ने विश्लेषण पनि सँगसँगै हुने गरेको छ । यस्तो फरक–फरक धारणाले अर्थतन्त्रको विश्लेषण अलि अलमलिएको जस्तो देखिन्छ । यो लेख त्यसलाई पर्गेल्ने प्रयास हो ।

सुषुप्त आर्थिक संकट

सकारात्मक पक्षबाटै सुरुआत गरौं । महामारीमा नकारात्मक भएको आर्थिक वृद्धिदर अहिले ४ प्रतिशतको हाराहारीमा छ । मुद्रास्फीति दोहोरो अंकमा पुगेको छैन, बिस्तारै घट्दै पनि छ । विप्रेषणको प्रवाह पनि स्वास्थ्यकर छ । केही महिना अघि द्रुत गतिमा घटेको विदेशी मुद्राको सञ्चय हाल १० महिना हाराहारीको आयात धान्ने सुविधाजनक अवस्थामा छ, जसका कारण अर्थतन्त्र पाकिस्तान वा श्रीलंकाको जस्तो संकटमा पर्ने सम्भावना छैन । हाल सरकारको राजस्व सोचेजस्तो नउठेकाले अर्थतन्त्रको चक्र केही बिग्रेको मात्र हो, समयक्रममा यो पनि लयमा आउँछ । त्यसैकारण अर्थतन्त्रलाई विशेष हस्तक्षेपको जरुरत नभएको दलिल पनि केहीको छ ।

यी तथ्यतथ्यांकहरू आफैंमा गलत हैनन्, न त ती कम महत्त्वका हुन् । पक्कै पनि ती तथ्यांकले केही भन्छन् । तर तिनले अर्थतन्त्रको सबैभन्दा महत्त्वपूर्ण कुराचाहिँ भन्दैनन् । त्यो महत्त्वपूर्ण कुरा भनेको जनताको कल्याण वा ‘वेलफेयर’ हो । अर्थात्, प्रस्तुत तथ्यतथ्यांकहरूले अर्थतन्त्रको पूर्ण चित्रण गर्दैनन् ।

यसलाई अर्थशास्त्रको सामान्य खाकाबाट व्याख्या गर्न सकिन्छ । विद्यालयमा अर्थशास्त्र दुई प्रकारका हुन्छन् भनेर पढाइन्छ— बृहत् र सूक्ष्म । बृहत् अर्थशास्त्रले आर्थिक अवस्थाको समष्टिगत दृष्टि राख्छ । जस्तो— देशको कुल उत्पादन कति भयो वा आय कति छ, देशले कति व्यापार गर्‍यो वा सरकारीले कर कति उठायो र खर्च कति भयो आदि । सूक्ष्म अर्थशास्त्रले भने घर–परिवार वा व्यक्तिको आर्थिक अवस्था वा व्यवहारसँग सरोकार राख्छ । घर–परिवार वा व्यक्तिको रोजगारीको अवस्था, आयको स्तर, उत्पादन वा उपभोगको मात्रा–तह आदि यसका चासोका विषय हुन् । पक्कै पनि यी एकै अर्थतन्त्रका दुई पाटा हुन् । नदी–नदी मिलेर महासागर बनेजस्तै सूक्ष्म अर्थतन्त्रका अवयवको समष्टिगत रूप नै बृहत् अर्थतन्त्र हो । तर जसरी महासागर बनाउने सबै नदी एकनासका हुँदैनन्, समष्टिगत रूपमा अर्थतन्त्रले राम्रो गरे पनि सबै घर–परिवारको आर्थिक अवस्था उस्तै राम्रो नहुन सक्छ ।

भन्नुको अर्थ, माथि उल्लिखित तथ्यहरू बृहत् अर्थतन्त्रसँग मात्र सम्बन्धित छन् । तिनले घरपरिवार वा व्यक्तिको स्तरमा भएको आर्थिक अवस्थाको जानकारी दिँदैनन् । ती तथ्यांकले मानिसको दैनिक जीवनको वास्तविकतालाई छोएका छैनन् । त्यसैले ती तथ्यमा मात्र रहेर अर्थतन्त्र राम्रो वा नराम्रो छ भन्नु अर्धसत्य मात्र हुन्छ । यति महत्त्वपूर्ण पक्षलाई उपेक्षा गरेर अर्थतन्त्र सुध्रियो वा संकटमा छैन भन्नु अपुरो विश्लेषण हुन जान्छ ।

जस्तो— अहिलेसम्मको आर्थिक विश्लेषणमा मैले रोजगारीको अवस्था देखेको छैन जबकि व्यक्तिको रोजगारीको अवस्था अर्थतन्त्रको स्वास्थ्यको अनिवार्य मापक हो । कुनै व्यक्तिले कस्तो कति कहाँ रोजगारी पाउँछ भन्ने कुराले घरपरिवारको आय–आम्दानी तय हुन्छ । यसले परिवारविशेषको स्वास्थ्य, शिक्षासहित उपभोगको स्तरलाई समेत निर्धारण गर्छ र आर्थिक वा गरिबीको अवस्था मापन हुन्छ ।

हुन त नेपालमा व्यक्ति वा घरपरिवारको आर्थिक अवस्थाको अद्यावधिक तथ्यांक उपलब्ध छैन । नेपालमा रोजगारी अवस्थाको भरपर्दो तथ्यांक भनेको करिब छ वर्षअगाडि भएको श्रम सर्वेक्षण हो जबकि रोजगारी भन्ने कुरा हप्ता वा महिनामा परिवर्तनीय हुन्छ । त्यही उपलब्ध तथ्यांकलाई जोडजाम गरेर हेर्ने हो भने अर्थतन्त्रको निराशाजनक तस्बिर उजागर हुन्छ ।

हाम्रो देशमा कृषि सबैभन्दा बढी रोजगारी दिने क्षेत्र हो । कृषि मन्त्रालयका अनुसार जनसंख्याको ६५ प्रतिशत कृषिजन्य पेसामा छन् । तर यो क्षेत्रले कुल गार्हस्थ्य उत्पादनमा दिने योगदान २४ प्रतिशतमा खुम्चिसक्यो र ओरालो लाग्ने क्रम निरन्तर छ । गत तीन वर्षको कृषि क्षेत्रको वृद्धिदर २ दशमलव ४, २ दशमलव ८ र २ दशमलव ३ प्रतिशतको दयनीय अवस्थामा छ । कृषिमा संलग्न मानिसहरूको जीविका कसरी चलेको होला, यसबाट सहजै अनुमान गर्न सकिन्छ ।

कृषिपछि अर्थतन्त्रको ठूलो क्षेत्र भनेको थोक तथा खुद्रा व्यापार हो । यो क्षेत्रले तुलनात्मक रूपमा बढी, करिब १७ दशमलव ५ प्रतिशत, रोजगारी त दिएको छ तर प्रायः कामहरू कम ज्याला, बिनासामाजिक सुरक्षा र अनौपचारिक प्रकारका हुन्छन् । फलस्वरूप त्यस्तो काम सामान्य जीवननिर्वाहमुखी मात्र हुन्छ ।

सबैभन्दा दुःखदायी, हाम्रोजस्तो अर्थतन्त्रमा घरजग्गा व्यापार तेस्रो ठूलो क्षेत्र हो । तर यस क्षेत्रले सृजना गर्ने रोजगारीको मात्रा अत्यन्त नगण्य, ० दशमलव २३ प्रतिशत छ । अर्थात्, यसमा थोरै मानिसले धेरै पैसा कमाउँछन् । अर्कोतर्फ, कुनै पनि विकासशील देशमा ठूलो संख्यामा रोजगारी प्रदान गर्नुपर्ने क्षेत्र उत्पादन र निर्माणको हो । तर हाम्रोमा दुवै क्षेत्रको अर्थतन्त्रको हिस्सा खुम्चिँदै गएर ५ दशमलव ७ र ६ दशमलव २ प्रतिशतमा सीमित भएको छ जबकि ती क्षेत्रले दिने रोजगारी करिब १५ दशमलव १ र १७ दशमलव ५ प्रतिशत छ । अर्थतन्त्रको यो ढाँचाले गर्दा बर्सेनि श्रम बजारमा जोडिने करिब ४–५ लाख युवालाई आवश्यक रोजगारी सृजना गर्न सकेको छैन र उपलब्ध धेरै काम पनि आय र सुरक्षाका हिसाबले गुणस्तरीय छैनन् ।

रोजगारीको यस्तो अवस्थाले बलियो मध्यमवर्ग बनिसकेको छैन । अहिले अर्थतन्त्रमा देखिएको शिथिलता त्यसैको परिणाम हो । कोभिड महामारीपश्चात् केही समय थाती रहेको मागले गर्दा बजार केही चलायमान देखियो । तर लगत्तै विश्व परिवेशका कारण जीवनयापनको लागत बढ्नाले र चुनावपछिको राजनीतिक खिचातानीले भविष्यप्रतिको अनिश्चितता बढेर गयो । यस्तोमा धनीलाई खासै असर पर्दैन भने गरिबले पहिलादेखि नै अत्यावश्यक मात्र उपभोग गरेको हुन्छ ।

तर मध्यमवर्गले भने आयमा उतारचढाव आउँदा वा अनिश्चितता बढ्दा आफ्नो उपभोगमा समायोजन गर्ने गर्छ । अर्को शब्दमा, हाल गरिरहेको उपभोगलाई भविष्यसम्म पनि स्थिर गरी अहिलेको जीवनस्तर निरन्तर कायम राख्ने प्रयास गर्छ । त्यसका लागि वर्तमानमा खर्च पनि कम गर्ने र भैपरी आउने समयका लागि सञ्चित पनि गर्ने गर्छ । यसले गर्दा बजारको समष्टि मागमा कमी आउँछ । कम माग हुँदा व्यापारीले कम सामान उत्पादन वा आयात गर्छन् । हाम्रो अर्थतन्त्रको चक्र त विप्रेषण–उपभोग–आयात–करको हो । यस्तोमा उपभोग कम हुँदा अर्थतन्त्रको चक्र बिग्रियो ।

यसले के देखाउँछ भने, हाम्रो अर्थतन्त्र त्यस्तो सिरकजस्तो छ जसले मुख ढाक्यो खुट्टा नांगिने, खुट्टा छोप्यो मुख उदांगिने हुन्छ । अर्थात्, आयात कम हुँदा शोधनान्तर स्थिति र वैदेशिक मुद्राको सञ्चिति त राम्रो देखियो तर त्यही आयातमा कर लगाएर संकलन हुने राजस्व घट्यो । भोलि माग बढ्ला, आयात बढ्ला, राजस्व पनि बढ्ला तर शोधनान्तर फेरि नकारात्मक हुन्छ । त्यही संख्याको खेललाई मात्र अर्थतन्त्र राम्रो छ वा नराम्रो छ भन्नुको केही तुक हुन्छ । जबसम्म यो सालबसाली चक्रबाट बाहिर निस्किएर अर्थतन्त्रका आधारभूत चरहरूमा ध्यान दिइँदैन तबसम्म छ महिना अर्थतन्त्र सुध्रिन्छ, अर्को छ महिना बिग्रिन्छ ।

हो, प्राविधिक रूपमा हाल अर्थतन्त्र मन्दीमा छैन, तर सुषुप्त खाले संकटको अवस्थामा छ । आधारभूत रूपमा अर्थतन्त्र भनेको भविष्यप्रतिको आशा हो । भविष्यमा प्रतिफल पाइन्छ भन्ने आशामा वर्तमानमा लगानी गर्ने हो । चाहे त्यो रोजगारीको आशामा शिक्षामा विद्यार्थीले गर्ने लगानी होस् वा नाफाको आशामा व्यापारीले गर्ने लगानी नै ।

अन्त्यमा, नेपाली अर्थतन्त्रको अवस्थाबारे मूल्यांकन गर्न पाठकलाई नै छोड्छु । के तपाईं आफ्नो तत्काल वा सुदूरको आर्थिक भविष्यप्रति निश्चिन्त हुनुहुन्छ ? नेपालमा बसेर आफ्ना बालबालिकाको स्वास्थ्य र शिक्षामा लगानी गर्न सक्छु भन्ने विश्वास गर्नुहुन्छ ? आफ्नो दक्षता अनुसारको काम पाउँछु भन्नेमा ढुक्क हुनुहुन्छ ? हुनुहुन्छ भने तपाईंका लागि आर्थिक अवस्था संकटोन्मुख छैन, नत्र संकटमा छ ।

प्रकाशित : वैशाख १३, २०८० ०८:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?