कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७७

न आफ्नो गोत्र, न आफ्नो थर

रामेश्वरी पन्त

गृह मन्त्रालयले गत चैत २२ गते देसैभरका ७५३ पालिकाका ६,७४३ वडालाई परिपत्र गर्दै एकल महिलाका सन्तानको जन्मदर्ता मावलीको थर र ठेगानाबाट गरिदिनू भन्ने आदेश जारी गर्‍यो ।

न आफ्नो गोत्र, न आफ्नो थर

एकल महिला अर्थात् विवाहअघि आमा एक्लैले जन्म दिएर हुर्काएका, बाबुको पत्तो नलागेका सन्तानले जन्मदर्ताको अभावमा खेप्नुपरेका विविध सामाजिक अप्ठेराहरूलाई सम्बोधन गर्दैर् राज्यका तर्फबाट गरिएको यो परिपत्रले जन्मदर्ता प्रमाणपत्रको अभावमा शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा लगायतका राज्यबाट पाउनुपर्ने विभिन्न किसिमका सुविधाबाट वञ्चित भइरहेका कैयौं बालबालिका पनि लाभान्वित हुने देखिए । तर, अविवाहित आमाका सन्तानको जन्मदर्तामा ‘आमाको थर राख्नू’ भन्न नसकेर मावलीको थर राख्नू भनिएको थियो र ‘आमाको अस्तित्व नस्विकारिएको’ भन्दै महिलाहरूबाट यसको चर्को विरोध भयो । सर्वत्र विरोध भएपछि बल्ल ‘आमाकै थर राख्नू’ भनेर परिपत्र सच्याइयो । तर राज्यको मानसकिता छरपस्ट भइसकेको थियो ।

आमा ! जसले सन्तानलाई नौ महिना गर्भमा राखेर जन्म दिन्छे, उसैको हक आफ्ना सन्तानमा हुँदैन र ऊ एक्लैले आफ्नो नाम र ठेगानाबाट सन्तानको जन्मदर्ता गराउन पाउँदिन, नागरिकता बनाइदिन पाउँदिन ! यसका लागि उसको लोग्ने अर्थात् सन्तानको बाबुको स्वीकृति र सहीछाप जरुरी हुन्छ ! कुनै पनि स्वार्थ, रिस, द्वेष वा बदलाको भावले बाबुले सन्तान नस्विकारेको अवस्थामा यस्ता सन्तानहरू अनागरिक बन्नुपर्ने हुन्छ ! यस्ता कैयौं अनागरिक सन्तान अहिले ‘हामीलाई नागरिकता देऊ’ भनेर राज्यसँग हारगुहार गरिरहेका छन् ।

बाबुले सन्तान स्विकार्दैन, राज्य सञ्चालन गर्नेहरूले आमालाई स्विकार्दैनन् । समस्या यहीँ छ । अनेकौं संघर्षका बावजुद बल्लतल्ल संविधानले आमाको अस्तित्व स्विकारेको छ तर अन्तिम टुंगो लगाउने जिम्मा संसद्लाई दियो । संसद् सधैं यसरी डराउँछ मानौं आमाको अस्तित्व स्विकार्ने हो भने देशै बर्बाद हुन्छ । नागरिकता सम्बन्धमा संविधानमा प्रस्टै लेखिएको छ, ‘कुनै व्यक्तिको जन्म हुँदाका बखत निजको बाबु वा आमा नेपालको नागरिक रहेछ भने त्यस्तो व्यक्ति वंशजको आधारमा नेपालको नागरिक हुनेछ ।’ तर आमाको अस्तित्व स्विकार्न नचाहनेहरूबीच ‘वा’ को सट्टा ‘र’ हुनुपर्छ भन्ने बहसले गर्दा प्रस्तावित नागरिकता विधेयक टुंगोमा पुग्न पाएको छैन । आशा गरौं, पछिल्लो परिपत्रका कारण आफ्नै देशमा अनागरिक बन्न बाध्य पारिएका सन्तानको भविष्यको ढोकामा लागेको ताला खुल्नेछ र साथै यथाशीघ्र नागरिकता विधेयकले ऐनको रूप लिएर आमाको अस्तित्वलाई पनि स्विकार्नेछ ।

मानवको उत्पत्ति र विकाससँगै उसको वंशीय निरन्तरताको कुराले इतिहासमा महत्त्व राख्छ । व्यक्तिविशेष कुन कुल–गोत्र र कुन वंशको हो भनेर जान्नका निम्ति वंशावली अभिलेखीकरण गर्ने परम्परा प्रायः जातजातिमा छ । पछिल्लो समय वंशावली लेख्ने प्रचलन पनि बढ्दै गएको छ । यस्ता वंशावलीहरूमा महिला वा छोरीको स्थान छ कि छैन भन्ने विषयमा कमैको चासो होला । स्वयं छोरीहरूले नै यस्ता कुरामा आफ्नो स्थान र अस्तित्वको खोजी कत्तिको गरिरहेका छन् भन्ने प्रश्न अझ महत्त्वपूर्ण हुन्छ ।

प्रायः वंशावलीमा केवल पुरुष–नाम देख्दा मलाईचाहिँ असाध्यै पीडा हुन्छ । मेरा बुबाको वंशावली, बुबाका मावलीको वंशावली, आमाका माइती र मावलीका वंशावली कुनैमा पनि महिला अर्थात् आमाहरू - जसले सन्तान जन्माएर वंशको निरन्तरता दिएकी हुन् - कै नाम समावेश भएको मैले पाएकी छैन । न आमाहरूका नाम छन् न त छोरीहरूकै ! आक्रोशित हुन्छु, विरोध गर्छु तर एक्लै पर्छु ।

वंशावलीमा महिलाहरूलाई किन छुटाइन्छ ? यसबारे सार्वजनिक बहस हुन सकेको छैन । कुनैकुनै घरभित्र भने बहस सुरु भैसकेको पाइन्छ । पछिल्लो समय विभिन्न थर, गोत्र र परिवारबाट विवाह गरी भित्रिएका बुहारीहरूको एउटै साझा गुनासो सुनिन थालेको छ, ‘वंशावली लेखिन्छ तर आमा, छोरी र बुहारीहरूलाई छुटाइन्छ ।’ यो बहस अब एउटा कोठा वा घरभित्र मात्रै सीमित हुनु हुन्न । हरेक छोरीले अस्तित्वबोध गर्दै घरघरमा आवाज उठाउनुपर्छ, सम्बन्धित फोरममा हरेक महिलाले आवाज उठाउनुपर्छ । दिमागमा अब पनि कति बोकेर हिँड्ने पितृसत्ताको भारी ?

गत चैत २४ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित पन्त समाजको ‘शुभकामना आदान–प्रदान कार्यक्रम’ मा मलाई पनि उपस्थित हुने मौका जुर्‍यो । हलभरि खचाखच ‘पन्त बन्धुहरू’ बीच मुस्किलले छ–सात जना मात्र महिला थियौं । विविध विषय–प्रसंगबीच वंशावलीका कुरा पनि उठे । एकत्वका कुरा उठे । मैले कार्यक्रम सञ्चालकसँग दुई मिनेट समय मागें र सबैसामु प्रश्न गरें, ‘वंशावलीमा हामी महिलाहरू किन अटाउँदैनौं ? सन्तान जन्माएर तपाईंहरूको वंश बढाइदिने हामी आमाहरूलाई किन छुटाइन्छ ? के तपाईंहरूका छोरी तपाईंका वंश होइनन् ? छोरीहरूको शरीरमा तपाईंहरूको अंश सिञ्चित छैन ? किन छुटाइन्छ छोरीहरूलाई ?’ यो सुनेर केही गम्भीर देखिए ।

त्यसपछिको सम्बोधनका क्रममा इतिहासकार दिनेशराज पन्तले मेरो भनाइको समर्थन गर्दै र गल्ती स्विकार्दै आगामी दिनमा महिलाहरूलाई पनि वंशावलीमा समावेश गर्नुपर्नेमा जोड दिनुभयो । अध्यक्षको मन्तव्यमा पनि गल्ती महसुस गर्दै आगामी दिनमा सच्याइने प्रतिबद्धता जाहेर भयो । तर सिंगो राष्ट्रले बौद्धिक व्यक्तित्व मान्दै आएका एक विद्वान्ले प्रमुख अतिथिको हैसियतले मेरा प्रश्नमा असहमति जनाउँदै ‘वंशावली एउटा परम्परा हो र परम्परा तोडेर समाजमा विशृङ्खलता र विचलन ल्याउन सकिँदैन’ भन्दै ‘एक्स’ र ‘वाई’ क्रोमोजोमको व्याख्या गर्नुभयो, ‘महिला अर्थात् छोरी भनेको एक्स क्रोमोजोम हो र वंशवृद्धिमा महिलाको कुनै भूमिका हुँदैन । यसर्थ प्राकृतिक नियमको विरुद्धमा जानु उचित हुँदैन । छोरी बिहे गरेर अर्कैको गोत्रमा जाने भएकाले पनि वंशावलीमा छोरीहरूलाई समावेश गरिँदैन ।’

आमा नै नभए छोराचाहिँ कहाँबाट जन्मिने रहेछ ? सन्तान जन्माउने आमाहरू वंशावलीमा नसमेटिने, आफ्नै सन्तान छोरी भएकैले वंशमा नगनिने ? यता बाबु भन्छ, ‘छोरी अर्कैको गोत्रमा गएर अर्कैको वंश बढाउने जात हो, यसलाई आफ्नो वंशावलीमा अभिलेखीकरण किन गर्ने ?’ उता ससुरा भन्छ, ‘बुहारी त अर्कैको सन्तान पो हो त ! यसलाई हाम्रो वंशावलीमा किन समावेश गर्ने ?’ त्यसो भए छोरीको स्थान कहाँ छ ? छोरीको अभिलेखीकरण हुँदै नहुने त ? छोरीहरू पनि सन्तान हुन्, तिनीहरू पनि वंश हुन् । ‘पुरुषको’ भनिएको वंश बढाउने पनि छोरीहरू नै हुन् । तर यो समाजले किन छोरीलाई वंश मान्दैन ? छोरी नभए कसरी अघि बढ्छ तिमीहरूको वंश ? कसले बनायो ती परम्परा र नियम ? यही समाजले होइन ? अनि समाजले अनेक परिवर्तनका उतारचढाव खेप्दै गर्दा यस्ता कथित परम्परामा परिवर्तन ल्याउन किन सक्दैनौं ?

‘भावी पुस्ताका लागि वंशावली आफ्ना पुर्खाहरूको, अग्रजहरूको इतिहास हो, दस्ताबेज हो तर यसलाई अभिलेखीकरण गर्न निकै कठिन छ,’ भन्छन् पत्रकार दिनेश रेग्मी । आफूले रेग्मीहरूको वंशावली संकलन गर्ने क्रममा आफ्ना पुर्खाहरूको नामावली र विवरण संकलन गर्न कठिन भएको बताउँछन् । त्यसमा पनि अग्रज महिलाहरुको नाम पत्ता लगाउन झनै गाह्रो भएको छ भन्दै उनी थप्छन्, ‘मेरी आमाको नाम नै वंशावलीमा छैन भने मैले आफ्नो नाम कसरी लेखाउन सक्छु ? त्यसैले हामीले सकेसम्म जिजु हजुरआमा, हजुरआमा, आमा, फुपू र दिदीबहिनी अनि छोरीहरूका नाम समावेश गर्ने कोसिस गरेका छौं ।’ यस्तै गुनासो छ, पन्तहरूको इतिहास र वंशावली सम्बन्धमा अनुसन्धान गर्दै गरेका पर्वत घर भएका प्रोफेसर सरोज पन्तको पनि । उनी भन्छन्, ‘सबैजसो परिवारको वंशावली माग्दा महिलाहरूका नामै दिँदैनन् । सोध्यो भने थाहा छैन भन्छन् ।’

महिलाविशेष कुन कुल–गोत्रबाट आई, कुन कुल–गोत्रमा गई भन्ने अभिलेख परिवार र समाजले राख्नुपर्दैन ? ‘आइमाई’ को न आफ्नो थर छ, न कुल–गोत्र छ न घर छ ! सायद यसैले होला, राज्यले पनि सुरुमा ‘एकल आमाका सन्तानको जन्मदर्ता मावलीको थरबाट गराउनू’ भन्ने आदेश जारी गरेको । राज्य नै विभेदकारी भएपछि सदियौंदेखि संकीर्ण मानसिकता बोकेर बाँचिरहेको समाजको के कुरा गर्नु ! संविधानले छोरीलाई अंश र वंशको हकदार मानिसकेको छ तर राज्यसत्तामा बसेकाहरूको सोचमा किन खिया परेको पर्‍यै छ ? छोरा हुनेको मात्रै वंश हुन्छ ? त्यसो भए छोरी मात्रै जन्माउने ‘बाबुहरू’ को वंश त्यहीँबाटै टुंगिने हो ? यी यावत् प्रश्नहरूको जवाफ दिनुपर्‍यो यो समाजले ।

प्रकाशित : वैशाख १०, २०८० ०७:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

खेलकुद मन्त्रालयको बजेटले लुडो, चेस र बाघचाल मात्रै खेलाउन सकिन्छ भन्ने युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठको भनाइबारे तपाईंको धारणा के छ ?