२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७८१

सासका लागि संघर्ष

स्वास्थ्य मन्त्रालयको ढोकैमा झुन्ड्याइएको कृत्रिम फोक्सो नहेर्ने छुट पाएका नीतिनिर्माताहरूले कति निर्मम र निर्दयी नाफाखोरहरूको हातमा यो भूमि, यो हावा, यो वातावारण, यो सिंगो पृथ्वी र प्रकृति छाडेर जाने हुन्, चिन्ता सडक र सदनमा पोखिनु अत्यावश्यक भइसकेको छ ।
राजेन्द्र महर्जन

मृत्यु बाँच्दा रहेछन्
जिउँदाहरुको मानसमा सम्झना भएर
अन्यायमा परेर मरेका मृत्युहरु
डरलाग्दा आक्रोश भएर जुरमुराउँदा रहेछन्
- पारिजात/मृत्यु
२०८० सालसँगै अस्सीको दशकको पहिलो दिन सुरु भएकै बिहान एउटा जीवनको अन्त्य भयो । खेती–किसानीमा रमाउने एक जना मिहिनेती ज्यापूको ज्यान गयो । येँ (काठमाडौंं) सहरका घर सजाएर जीविका चलाउने एक जना कुशल सिकर्मीको सास रोकियो 

सासका लागि संघर्ष

कला, संगीत र खेलमा रुचि लिने एक जना नाट्यकर्मीको हात स्थिर भयो । महामारीकालमा दुईदुई पटकसम्म कोभिड हुँदा पनि हार नखाएको शरीर अन्ततः क्रोनिक दमका कारण ढल्यो । अनेक मृत्यु र महामारीबीच पनि जीवनका लागि, श्वास–प्रश्वासका लागि, स्वच्छ हावाका लागि संघर्षरत बुबा नातिबहादुर महर्जनको ८३ वर्षको उमेरमा देहान्त भयो ।

बुबा आधा दशकसम्म सासका लागि कठोरतापूर्वक लडे, स्वच्छ वायुका लागि प्रत्येक पल भिडे । बुबाको देहान्तपछि उनी र उनीजस्ता दमका रोगीका लागि नभइनहुने स्वच्छ हावा, वातावरण र प्रकृतिका लागि लडेका मानिसहरू समवेदनाका फूल चढाउन आए । त्यस्तै, कीर्तिपुरका खेत–खेतमा इँटाभट्टा राखेर वायु दूषित पार्दै पैसा कुम्ल्याउनेहरू पनि श्रद्धाञ्जलिका शब्द पोख्न आए । जजसले सत्कर्म वा दुष्कर्म जेजे गरे, उनीहरू कोही पनि वायु प्रदूषणका कारण मृत्युको मुखमा पर्ने बढ्दो

जोखिमबाट मुक्त छैनन् । आजभोलि कीर्तिपुर वरपरका चिहानमा दैनिक रूपमा ल्याइने लाश हामीमध्ये कसै न कसैको हो, जसमा प्रदूषित हावाको योगदान पक्कै कम नहोला ।

स्वच्छ वायु र स्वास्थ्यकर जीवनको लडाइँ बुबाको देहान्तसँगै निजी स्तरमा समाप्त भएको छ, सामूहिक र सार्वजनिक स्तरमा जारी छ । कसैको जीवन र मृत्युसमेत निजी वा व्यक्तिगत मात्रै हुँदैन, किनभने कुनै पनि लडाइँ निजी मात्रै हुँदैन, न त कुनै मुद्दा व्यक्तिगत मात्रै हुन्छ । न स्वच्छ वायुसँग जोडिएको सरोकार गैरराजनीतिक हो, न त स्वास्थ्यकर जीवनको माग नै असामाजिक सवाल हो । यस अर्थमा स्वच्छ वायुका लागि संघर्ष अनेक जोड–कोणबाट सामूहिक र सार्वजनिक रूपमा जारी छ ।

विषाक्त हावा : हजारौंको मृत्यु

बुबाको मृत्यु हुनुभन्दा एक दिनअघि बुबाको स्वास्थ्य र वायु प्रदूषणबारे वैज्ञानिक मित्र उत्तमबाबु श्रेष्ठको चिन्ता, चासो र चिन्तनमिश्रित फोन आएको थियो । २०७९ सालको अन्तिम दिन, बढ्दो वायु प्रदूषणले झन्भन्दा झन् बेसी मात्रामा मानिसहरूको ज्यान लिन थालेकामा उनले पोखेको गहिरो चिन्ता बुबाको जीवन र मरणसँग मात्रै जोडिएको थिएन । यो नेपालमा हुने वार्षिक ४२ हजार जना, त्यसमा पनि स्वनिगः (काठमाडौं उपत्यका) कै ५ हजारभन्दा बेसी मेरा बुबाजस्ता आम मानिसको अकाल मृत्युको कारकतत्त्व मानिने वायु प्रदूषणसँग सम्बन्धित छ । यो त वायु प्रदूषणका कारण लाग्ने अनेक रोग र संक्रमणले विश्वभर प्रत्येक वर्ष लिने ७० लाख मानिसको ज्यानसँग सरोकार राख्ने सार्वजनिक विषय हो ।

यही चिन्ता र चासोका साथ उत्तमबाबु श्रेष्ठले ‘स्टेट अफ ग्लोबल एयर’ को प्रतिवेदनलाई उद्धृत गर्दै लेखेका थिए, ‘उच्च रक्तचाप, धूमपान र खानपानको गडबडी/कुपोषणपछिको मानवमृत्युको चौथो ठूलो वैश्विक जोखिम वायु प्रदूषण हो । वायु प्रदूषणले श्वास–प्रश्वाससँग सम्बन्धित रोगहरू दम र ब्रोङ्काइटिस, हृदयाघात, मुटुको रोग, फोक्सोको क्यान्सर लगाएर मानिसको ज्यान लिन्छ । वायु प्रदूषणले संक्रमण र रोग लगाएर मार्ने मात्रै होइन, प्रदूषित हावाले मानिसको आयुलाई छोट्याउने सिकागो विश्वविद्यालयका अध्येताहरूको अनुसन्धानको निष्कर्ष छ ।’

नेपालसहित दक्षिण एसिया र विश्वमा वायु प्रदूषणले लिँदै आएको मानव–ज्यानको तुलना विश्वयुद्धको मानवीय क्षतिसँग गर्नु कसैलाई भावुकता र अतिशयोक्ति पनि लाग्न सक्छ । हुन त मानवीय क्षतिको तुलना गर्नु आफैंमा बहस र विवादको विषय हो, तर दुई–दुईवटा विश्वयुद्धपछि पनि अनेक वैश्विक युद्ध जारी छन्, जसको मूल सिकार पृथ्वी, प्रकृति र प्राणी हुँदै आएका छन् । यस युद्धका लागि आफूलाई प्राणीहरूमा पनि सबैभन्दा सचेत, सभ्य र श्रेष्ठ ठान्ने मनुवाहरू नै जिम्मेवार छन् । विशेष गरी स्रोत–साधन–शक्ति–शिक्षामा रजाइँ गर्ने मानिसहरू, पश्चिमेली पुँजीवादी मुलुकहरू र समाजवादको मन्त्र जप्ने दुई छिमेकी एसियाली देशको अपराध भयानक देखिन्छ । उनीहरूले पृथ्वी र प्रकृतिविरुद्ध छेडेको दोहनको युद्धको विभीषिका विश्वयुद्धको क्षतिभन्दा कम खतरनाक छैन । विडम्बनाको कुरा, पृथ्वी र प्रकृतिको दोहनमा दिनरात लाग्ने प्राणीहरूमा हामी पनि पर्छौं, कम वा बेसी मात्रामा ।

वायु प्रदूषणमा काठमाडौंको रेकर्ड

यी शब्द लेखिरहँदा येँ (काठमाडौं) ले विश्वमै धेरै वायु प्रदूषण हुने सहरहरूको सूचीमा पहिलो नम्बरको सहरको रेकर्ड राखेको छ, एयर क्वालिटी इन्डेक्स २०८ का साथ । संसारभरिका सहरको हावाको गुणस्तर मापक सूचक (एक्यूआई) का अनुसार आइतबार सबैभन्दा धेरै वायु प्रदूषण भएको सहरमा येँ एक नम्बरमा पुगेको हो । कुनैकुनै विषयमा प्रथम हुनु सगरमाथा र बुद्धको देशका लागि के हो, यो हर्षको सूची हो कि विस्मातको तथ्य हो, मस्तिष्क नै बिलखबन्दमा पर्ने अवस्था छ ।

येँ नजिकैको म बस्ने कीर्तिपुर धेरै वायु प्रदूषण भएको स्वनिगः (उपत्यका) का शंखपार्क क्षेत्र, भैंसेपाटी, खुमलटार, रत्नपार्ककै पछि–पछि छ । एक महिनाअघि बुबालाई अस्पताल भर्ना गर्नुअघिदेखि बढ्दो वायु प्रदूषण आजभोलिसम्ममा रेकर्ड नै तोड्ने गरी बढेको छ । र, स्वनिगःको वायुमण्डलमा मात्रै होइन, यस स्वनिगःवासीको मनमा समेत धुम्म तुँवालो लागेको छ । यस्तो तुँवालोबीच धेरै हदसम्म विषाक्त हावा खाँदै, घरभित्रै मास्क लगाउँदै वायु प्रदूषण र जीवन–मरणको प्रश्नबारे शब्द कोर्नुको सकस पनि भोग्दै छु ।

यतिखेर स्वनिगः धूवाँ, धूलो र तुँवालोले गर्दा न डाँडापाखा देखिन्छन्, न त आकाश नै देखिन्छ । यस्तो अस्पष्ट र दिक्कलाग्दो वातावरणबीच देशभर साढे २ सय ठाउँमा वनमा डढेलो लागिरहेको छ । प्रत्येक वर्षजस्तै यस पटक पनि भारतका हरियाणा, पन्जाब र उत्तर प्रदेश लगायतमा गहुँको छ्वाली, धानको पराल र उखुको पातसँगै कृषिका कुडाकर्कट बालिएपछि त्यसको विषाक्त धूवाँ पनि नेपालसम्म विस्तार भएको हुनुपर्छ । त्यसमा पनि यहाँ नेपालभित्रै समेत तराई क्षेत्रमा बालिने कृषिका कुडाकर्कट, वनमा लाग्ने र लगाइने आगलागी, सहरमा बालिने फोहोर, गाडीको धूवाँ र सडकको धूलो पनि मिसिँदा हामीले फेर्ने हावा कति प्रदूषित हुँदै छ, अनुमान गर्दा नै कहाली लाग्छ ।

२०७९ कात्तिकमा मैले भारतको राजधानी दिल्ली वायु प्रदूषणकै कारण ‘ग्यास च्याम्बर’ मा फेरिएको बेला दस दिन भ्रमण गरेको थिएँ, जसको दुष्प्रभाव २० दिनभन्दा बेसी समयसम्म श्वास–प्रश्वासमा समस्या आएपछि निरन्तर खोक्दै भोगेको थिएँ । अब नेपालभित्र फैलिएको विषाक्त हावाका कारण, हावामा हुने क्यान्सर रोग लाग्न सक्ने कण कार्सिनोजिककै कारण, वायु प्रदूषण गर्ने कार्बन मोनोअक्साइड, कार्बन डाइअक्साइड, सल्फर डाइअक्साइड र पार्टिकुलेट म्याटर भनिने सूक्ष्म कण तथा कालो धूवाँ (ब्ल्याक कार्बन) ले कति मानिसको ज्यान जाने हो, बुबाको मृत्युसँगै मनमा चिन्ताको घनत्व बढेको छ ।

प्रश्नको कठघरामा आफैंलाई पनि उभ्याऊँ

धूवाँ, धूलो र तुँवालोको उत्पादनमा; विषाक्त वायुको फैलावटमा; प्रकृतिको दोहनबाट वातावरण विनाशमा; जलवायु संकट निम्त्याउने काममा; अझ बालेन शैलीमा ‘फोहोरकै राजनीति’ गर्ने मामिलामा आफ्नो भूमिका के कस्तो रह्यो ? हामीले गरेका काम–कारबाही जीवनको पक्षमा छन् कि विपक्षमा, मृत्युको विरोधमा छन् कि समर्थनमा, प्रकृतिको पक्षमा छन् कि पुँजीको पक्षमा ? यी र यस्ता प्रश्नको कठघरामा आफूलाई, आफ्ना विचारलाई, आफ्ना व्यवहारलाई उभ्याएर, आफैंसँग कठोर रूपमा जिरह गरियो भने, ठण्डा दिमागले स्व–मूल्यांकन गरियो भने आ–आफ्नो भागको अपराध प्रस्ट हुनेछ ।

२०४६ सालको जनआन्दोलनपछि नेपालको सार्वजनिक वृत्तमा दलगत सक्रियता र राजनीतिक हस्तक्षेप मात्रै तीव्र भएको थिएन, जनजीवनका अनेक विषयमा विमर्श र वैकल्पिक उपायको खोजी पनि भएको थियो । त्यस उथलपुथलको समयमा वामपन्थी विचारका मित्रहरूका साथ म पनि आफ्नो युवा ऊर्जा लेखन–सम्पादन–प्रकाशनसँगै सामाजिक रूपान्तरणको व्यावहारिक अनुवादमा खर्च गर्नमा व्यस्त थिएँ । त्यसै सक्रियताको एउटा अध्याय थियो— २०४८ सालमा कीर्तिपुरमा ‘वातावरण बचाउ आन्दोलन’ को थालनी र त्यस क्षेत्रमा फैलिन खोजेका इँटाभट्टाको विस्थापनका लागि संघर्ष ।

मित्र तुलसीदास महर्जनसँग सहकार्यमा यस संघर्षको अगुवाइ गर्ने क्रममा इँटाभट्टाबाट उत्पन्न हुने धूवाँ र धूलोले आम मानिसमा पार्ने घातक प्रभाव, अरूको स्वास्थ्य र ज्यानको ख्याल नगरीकन अगाडि बढाइने प्रकृतिको दोहन तथा मुनाफाका लागि गरिने राजनीतिक–आर्थिक गठबन्धनविरुद्ध अभियान नै चलाइएको थियो । सडक नाटक देखाउनेदेखि जुलुस प्रदर्शन गर्ने तथा प्रख्यात वातावरण अभियन्ता सुन्दरलाल बहुगुणालाई बोलाएर सम्बोधन गर्न लगाउने हदसम्म सार्वजनिक हस्तक्षेप गरिएको थियो । त्यसको प्रभावस्वरुप केही वर्षसम्म कीर्तिपुर क्षेत्रमा इँटाभट्टा स्थापना गर्ने क्रम रोकिएको थियो, तर वातावरण अभियान निरन्तर टिकाउ नभएपछि एकदुई इँटाभट्टा स्थापित भए ।

त्यसको प्रभाव हाम्रै घरमा समेत पर्‍यो, हाम्रै खेतसमेत एउटा भट्टाका लागि माटो लिन पाउने गरी भाडामा दिइएको रहेछ । यी र यस्ता इँटाभट्टाले फैलाएको विषाक्त धूवाँ र धूवाँले मेरा बुबासहित कीर्तिपुरवासी र समग्र स्वनिगःवासीको जीवनलाई कति छोट्याइदियो होला, मुनाफाकर्ताहरूकै मृत्युलाई पनि कति नजिक्यायो होला, पुनर्विचार गर्नुपर्ने बेला आएको छ । फेरि पनि नागरिकस्तरमै जीवन–मरणका सवालमा दिगो अभियान चलाउनु, सामुदायिक स्तरमा आफ्नो जीवन र जगत्लाई प्रकृतिमैत्री ढंगले फेर्न थाल्नु, कदाचित् आम नागरिकप्रति प्रतिबद्ध भएमा राज्यस्तरबाटै यसलाई मूल मुद्दा बनाउनु जरुरी हुन्छ ।

संकटको पुनरुत्पादन गर्ने राज्यको चरित्र

खास नागरिकप्रति मात्रै प्रतिबद्ध रहेको नेपाली राज्यलाई मेरा बुबाको जीवन–मरणको प्रिज्मबाट हेर्दा सकारात्मक पाउन मुस्किल छ । सात दशक गुजारेको पुरानो घर, छिमेकी र समाजबाट बुबालाई विस्थापित गरेको भुइँचालोमा नेपाली राज्यले कति हदसम्म अकर्मण्यता व बेकामेपन देखायो, जगजाहेर छ । भुइँचालोको भयलाई भजाउँदै; केही स्वास्थ्य, शिक्षा, रोजगारी र बासको आश्वासनको भारी बोकाउँदै आम नेपालीको हातमा एक थान संविधान थमाउने एकलजातीय शासकहरूले अर्थ–राजनीतिक संकटको पुनरुत्पादन गर्दै आएका छन् । त्यसैको मुनाफा संरचनागत लाभांश पाउँदै आएका वर्ग–वर्ण–जात–जाति–लिंग–क्षेत्रकै पोल्टामा सुरक्षित छ । दुईदुई पटक कोभिड झेल्दै, अस्पताल धाउँदै, जीवनभरको कमाइ खर्चंदै बुबाले भोगेको कोरोना महामारीमा राज्य र राज्य सञ्चालकहरूले आम मानिसका संकटलाई केही खास मानिसको संकटमोचनको अवसरका रूपमा दुरुपयोग गरेको तथ्य कसैबाट छिपेको छैन ।

अब फेरि पनि महामारी आउन सक्छ, वायु प्रदूषण र त्यसले पारेको दुष्प्रभाव महामारीको भन्दा कम छैन । अस्पतालमा वायु प्रदूषणका कारण मुटु र फोक्सोका रोगीको चाप बढ्दो छ । त्यसमा पनि कोभिडको दुष्प्रभाव झेलेका मेरा बुबाजस्ता आम मानिसको स्वास्थ्य चिन्ताजनक रहेको खबरले मनै भरङ्ग हुन्छ । विडम्बना, उनीहरूको मृत्यु अस्पतालमा होस् या घर या सडकमा, त्यसलाई निजीकृत गरिँदा राज्यले नागरिकको अभिभावकीय भूमिका खेल्नुपर्ने दायित्वबाट मुक्ति पाउँछ र जनताबाट गाल पाउने अवस्थामा पनि सहुलियत पाउँछ । त्यसैले उनीहरूको उपचारको रकम र अनाहक मृत्युको अनुपातबारे राज्य र एकलजातीय शासकहरूलाई बेखबर बस्ने सुविधा छ । स्वास्थ्य मन्त्रालयको ढोकैमा झुन्ड्याइएको कृत्रिम फोक्सो नहेर्ने छुट पाएका नीतिनिर्माताहरूले कति निर्मम र निर्दयी नाफाखोरहरूको हातमा यो भूमि, यो हावा, यो वातावारण, यो सिंगो पृथ्वी र प्रकृति छाडेर जाने हुन्, चिन्ता सडक र सदनमा पोखिनु अत्यावश्यक भइसकेको छ ।

उरुग्वेका लेखक इडुआर्दो गालियानो भन्ने गर्थे— मुनाफाखोर पुँजीपतिहरूको वशमा मात्रै भएका भए यो हावा, यो आकाश, यो प्रकृतिको पनि निजीकरण गर्दै बेच्थे । उनीहरू अतिशय मुनाफाका लागि यसलाई विषाक्त पार्न र मानिसहरूको ज्यान लिन सक्ने भएकै छन् । यही त्रासदी देखेर अमेरिकी विद्वान् नोम चोम्स्कीले भनेका छन्, ‘वर्तमान राजनीतिक–आर्थिक व्यवस्थामा निर्मित शोषणका संकीर्ण नैतिकताले समाजमाथि प्रभुत्व कायम राखिराखेमा केही दशक वा केही शताब्दीमा यस ग्रहको वातावरण पूर्णतः समाप्त हुनेछ !’ जीवनको सट्टा मृत्युलाई मात्रै पोस्ने तथा व्यक्तिगत लोभ र लाभलाई नै सर्वोच्चता दिने अर्थ–राजनीति र नैतिकताहीन संस्कृतिले गाँजेको समाज व्यवस्थालाई फेर्न सम्भव–असम्भव सबै प्रयास गरिएन भने हामीले पनि फृथ्वीलाई मृत्युको मुखमा धकेल्न सघाएको नै ठहरिनेछ ।

प्रकाशित : वैशाख ५, २०८० ०७:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?