कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२५

हुर्केबढेको नै रेडियोसँग

नेपालबाट प्रसारण गरिने कार्यक्रममा रमाइला विज्ञापनहरू प्रस्तुत गरिन्थे । ‘टललल टल्कने स्टिले भाँडो’ देखि लिएर ‘जाऊँ न सरर कन्काई बसैमा’ र ‘सन्तानले डाँडाकाँडा ढाकून् नभन’ अति नै प्रचलित गीति विज्ञापनहरू थिए ।
महेन्द्र पी‍. लामा

सिक्किममा एउटा राष्ट्रिय विश्वविद्यालय स्थापना गर्ने क्रममा हामीले धेरै गैरपारम्परिक पाठ्यक्रम एवं नयाँ शिक्षण प्रणालीहरू अपनायौं । किनकि हामीलाई एउटा थप विश्वविद्यालय बनाउनु थिएन ।

हुर्केबढेको नै रेडियोसँग

भारत सरकारको यस विश्वविद्यालयलाई हामी सम्पूर्ण हिमालय क्षेत्र समेट्ने एउटा नौलो एवं असाधारण संस्था बनाउन चाहन्थ्यौं । र नै पाठ्यक्रममा नवीनताले परिपूर्ण ‘मौखिक इतिहास’ (ओरल हिस्ट्री) को मूल अंश गाभेका थियौं । यस अन्तर्गत बूढापाकाले तीतामीठा–विश्वासै नलाग्ने–नसोचेका कुराहरू हामीअघि राख्थे । विद्यार्थी–शिक्षकहरूले भिडियो रेकर्ड गर्थे अनि पछि लिखित रूप दिएर सबैसँग आदान–प्रदान गर्थे । गान्तोकका एक जना प्रसिद्ध व्यापारीले सन् १९६२ को भारत–चीन युद्धको समाचार सुन्न कसरी वरिपरिका धेरै मानिस आफ्नो मर्फी रेडियोवरिपरि भीड लाग्थे भन्ने चाखलाग्दा घटनाहरू अघि राखे । त्यहाँ माथि, ५०–६० किलोमिटर दूरीमा अवस्थित नथुला सिमाना पारिपट्टि चिनियाँहरू र यतापट्टि भारतीय सैन्य दलहरू युद्धका निम्ति तम्तयार रहेका समाचार जनतासम्म पुर्‍याउन तिनताक रेडियोबाहेक केही थिएन ।

यसरी नै रेडियोमार्फत नै दोस्रो विश्वयुद्धमा बर्मामा जापानी र अंग्रेज–अमेरिकी–चिनियाँबीच भएको घमासान युद्धबारे सबैले सुन्थे । बर्माका कुनाकुनामा गोर्खा फौज ‘आयो गोर्खाली’ भन्दै लडेको आवाजसँगसँगै सयौंको संख्यामा बर्मा छोडी भारतका मणिपुर–मिजोराम–नागाल्यान्ड–असम हुँदै दार्जिलिङ–नेपालतिर आएका गोर्खाहरूको गाथा पनि रेडियोद्वारा नै सुन्न पाइन्थ्यो । सन् १९५० र १९६८ मा दार्जिलिङ–सिक्किम क्षेत्रमा आएका बीभत्स भल–पहिरोबारे पनि रेडियोमार्फत नै सुनिएपछि नै बचाउ कार्यहरू सुरु गरिए । प्रसिद्ध लेखक विक्रम सेठकी आमा लीला सेठ सन् १९५० को पहिरोताका दार्जिलिङको क्रेगमोनस्थिल रेलवे क्वार्टर्समा सपरिवार बसोबास गर्थिन् । विक्रमका पिताजी रेलवे इन्जिनियर थिए । त्यस सालको भल–पहिरोमा परिवारको बेहाल भएको थियो र उनीहरू पनि रेडियोमार्फत नै अरूसँग सम्पर्कमा रहन्थे । हिमाचल प्रदेश उच्च न्यायालयमा प्रमुख न्यायाधीशसमेत रहेकी लीला सेठले आफ्नो पुस्तक ‘अन ब्यालेन्स’ मा यस घटनाको गहकिलो वर्णन गरेकी छन् ।

हामी स्कुले विद्यार्थी हुँदा रेडियोको प्रभाव दैनिक जीवनमा यति गहिरो हुन्थ्यो, आज पनि त्यो सानो ट्रान्जिस्टर र ठूलो फिलिप्स रेडियो सम्हालेर राखेका छौं । दार्जिलिङमा अखबार लगभग छँदै थिएन । कलकत्ताबाट प्रकाशित हुने दैनिक खबरकागज ‘अमृत बजार पत्रिका’ र ‘द स्टेट्सम्यान’ एक दिनपछि दार्जिलिङ आइपुग्थे । बिहान अल इन्डिया रेडियोमा कार्यक्रम सुरु हुनुअघि मीठो सिग्नेचर ट्युन आउँथ्यो । त्यसपछि हामी सबैले बिहान आठ बजेका हिन्दी र नेपाली खबरहरू सुन्थ्यौं । सन् १९८० को दशकमा सुरु भएका टेलिभिजन कार्यक्रमहरू पहाडतिर निकै अबेर गरी पुगे । रेडियो नै थियो, मनोरञ्जन, कृषि, खेलकुद, राजनीति, प्राकृतिक प्रकोप अनि विश्वस्तरीय समाचारहरूको मुहान । हाम्रा बाजेले रेडियोमै सुनेको भियतनाम युद्धमा अमेरिकी सैन्य दलले गरेको रगरगी र हत्याबारे रात परेपछि हामी सबलाई काठकोइलाको अँगेनावरिपरि राखी सुनाउँथे । तिब्बतबाट भागेर आएका शरणार्थीहरूले रेडियोमार्फत नै चीनले ल्हासा ओगटेका मार्मिक कुराहरू सुन्थे । अंग्रेज शासनले भारतबाट तिब्बतसँग सम्पर्क राखेर त्यहाँ पनि आफ्नो प्रभुत्व जमाउने कोसिस गर्ने सिलसिलामा दलाई लामालाई ह्याम रेडियो उपहारस्वरूप दिएको थियो । कूटनीतिको एउटा प्रमुख साधन त्यो ह्याम रेडियो आज पनि दलाई लामाको गर्मीको दरबार नोर्बुलिंकामा जस्ताको तस्तै राखिएको छ । पोताला दरबारदेखि लगभग दुई किलोमिटर टाढा नोर्बुलिंकामा यो ह्याम रेडियोमार्फत नै दलाई लामा विश्वका कतिपय नेताहरूसँग सम्पर्कमा रहन्थे । सिक्किमका महाराजा छोग्याल पाल्देन थोन्डुप नामग्यालले पनि सुक्लाखङ दरबारमा राखिएको ह्याम रेडियो आफ्नो शासनको अन्तसम्मै विदेशका मित्रहरूसँग सम्पर्क राख्न प्रयोग गरिरहे । रेडियो नै भारत सरकारको विदेशनीतिको एउटा प्रमुख हतियार भएकाले दिल्लीको अल इन्डिया रेडियोमा विभिन्न विदेशी भाषाका प्रसारण र दार्जिलिङको खरसाङ रेडियो स्टेसनमा तिब्बती रेडियो प्रसारण केन्द्रको सुरुआत गरियो ।

भारतको आकाशवाणी (अल इन्डिया रेडियो) बर्मा, तिब्बत, नेपाल, भोटाङ, श्रीलंका, पाकिस्तान, अफगानिस्तानदेखि दक्षिणपूर्वी एसियाका देशहरूसम्ममा सुनिन्थ्यो । पूर्वी पाकिस्तानलाई बंगलादेशका रूपमा स्वाधीनता दिलाउन भारत–पाकिस्तानबीच भएको सन् १९७१ को घमासान युद्धको एकएक समाचार सुन्न हामी सबै तत्पर हुन्थ्यौं । युद्धविरामको घोषणा, पाकिस्तानी सैन्य दलको आत्मसमर्पण, मुक्ति वाहिनीको साहस र अन्तमा भारतका तर्फबाट जनरल जगजितसिंह अरोरा र पाकिस्तानका तर्फबाट जनरल एएके नियाजीले आत्मसमर्पणको घोषणापत्रमा हस्ताक्षर गरेको सबै समाचार रेडियोले नै बताएको थियो । पछि प्रथम प्रधानमन्त्री एवं बंगलादेशको स्वतन्त्रता संग्रामका पिता बंगबन्धु शेख मुजिबुर रहमानको हत्याको खबर पनि रेडियोमै सुन्यौं ।

हामी तीनवटा रेडियो प्रसारण घरीघरी कोट्याउँदै सुन्थ्यौं । आकाशवाणी प्रसारण दिल्लीबाट, रेडियो खरसाङ अनि रेडियो नेपाल । खोइ त्यति बेला सर्टवेभ, मिडियम वेभ भन्थे तर यो के हो भन्ने थाहा थिएन । नेपालबाट प्रसारण गरिने कार्यक्रममा रमाइला विज्ञापनहरू प्रस्तुत गरिन्थे । जीवित थिए ती विज्ञापनहरू र मनै हर्ने थिए गीत–नाटकहरू । ‘टललल टल्कने स्टिले भाँडो’ देखि लिएर ‘जाऊँ न सरर कन्काई बसैमा’ र ‘सन्तानले डाँडाकाँडा ढाकून् नभन’ अति नै प्रचलित गीति विज्ञापनहरू थिए । यसरी धेरै दार्जिलिङेहरू काकरभिट्टादेखि काठमाडौंसम्म कन्काई बसमा पुग्थे । ऋतुराज गुरुङको अंग्रेजी खबर वाचन सुन्नुपर्थ्यो, किनकि हाम्रै अंग्रेजी पनि तिखारिन्छ अरे भनिन्थ्यो । नातिकाजी, तारादेवी, गोपाल योञ्जन, नारायण गोपाल, अम्बर गुरुङ सबैलाई रेडियोमा भेट्थ्यौं, सुन्थ्यौं र सायद देख्थ्यौं पनि । मेरा पिताजी आरपी लामासँग अम्बर गुरुङको घनिष्ठ सम्बन्ध थियो । पिताजीले नै अम्बर गुरुङ अनि अन्य कलाकारहरूलाई भारतीय सांस्कृतिक सरकारी टोलीमार्फत राजा महेन्द्रको जन्मदिवसमा भव्य अनुष्ठान प्रस्तुत गर्न लगेका थिए । तिनताक सूर्यबहादुर थापा प्रधानमन्त्री थिए । यसै भेटघाटबाट अम्बर गुरुङसँग राजा महेन्द्रको मित्रता अघि बढेको हो । रेडियो नेपालले ‘सुन है सुन नेपाली हामीलाई डाक्छ हिमाल’ प्रसारण गर्दा हामी भावुकता र नेपालित्वमा चुर्लुम्म डुब्थ्यौं ।

खरसाङ रेडियोमा त्यस्तै मन खाने कलाकार–अधिकारीहरू थिए । रविदास, शिवकुमार राई, एलपी थोल्मो, रेणु सिन्हा तामाङ, देविका मोक्तान, आईके सिंह, सीडी सिन्हा, राई बाबु, एसबी सुनुवार र अन्य धेरै । फुटबलको कमेन्ट्रीमा जस योञ्जन प्यासी, ठूलो कार्यक्रम सञ्चालनमा एनोसदास प्रधान । नेपाली भाषा मान्यता सम्बन्धी कार्यक्रमदेखि कविता, नाटक, खेलकुद, विद्यार्थी जीवन, युवा वाणी र साँझको स्थानीय समाचार कसले सुन्दैनथ्यो र ? दार्जिलिङ क्षेत्रमा जातीय जागरण ल्याउनमा खरसाङ रेडियोको ठूलै भूमिका छ । मैले पनि खरसाङ रेडियोबाटै रेडियो कार्यक्रम प्रसारणको ज्ञान र अनुभव पाएँ । दिल्लीको गणतन्त्र दिवस परेडमा बंगाल, सिक्किम र अण्डमान निकोबर महाद्वीपलाई प्रतिनिधित्व गर्दै नेसनल क्याडेट कोरमार्फत भाग लिएर सन् १९७८ मा फर्केपछि, खरसाङ रेडियोले मेरो निकै लामो अन्तर्वार्ता लिएको थियो र पछि सन्त जोसेफ कलेजमा स्वर्णपदक प्राप्त गर्दा पनि ।

दिल्लीबाट रेडियो प्रसारण अति नै रोचक ढंगमा हुन्थ्यो । हिन्दी–अंग्रेजी सेवाका समाचार वाचकहरू अति नै लोकप्रिय थिए । रामानुजप्रसाद सिंह, देवकी नन्दन पाण्डे, लतिका रत्नम, सुरोजित सेनगुप्तका आवाजहरू अझैसम्म पनि कानमै छन् । राति सवा नौ बजे स्पट लाइट कार्यक्रम सुनेर मात्रै हामी सुत्ने तरखर गर्थ्यौं । ‘विविध भारती’ बाहेक हामीलाई अति नै लोभ्याउने कार्यक्रमचाहिँ विश्वकप र ओलम्पिकमा खेलिएको हकीको ‘आँखों देखा हाल’ (डाइरेक्ट कमेन्ट्री) हुन्थ्यो । हल्यान्डमा बनाइएको सानो रातो तर तीक्ष्ण र सफा आवाज दिने फिलिप्सको ट्रान्जिस्टरअघि पिताजी हामीलाई सँगै राखी जसदेव सिंहको कमेन्ट्री सुन्नुहुन्थ्यो । सन् १९७५ मा भारतले क्वालालम्पुरमा भएको विश्वकप हकीमा विजय हासिल गर्दाको जसदेव सिंहको कमेन्ट्री–सीधा प्रसारणमा को चाहिँ रमाएन होला ? हाम्रोपट्टिबाट अशोक कुमार, अजीत पाल सिंह, माइकल किन्डु, असलाम शेर खान आदि अनि पाकिस्तानका तर्फबाट इस्लाउद्दिन, मन्जुर जुनियर र समिउल्ला । क्या भयानक म्याच–गेम थियो ! जसदेव सिंहले ‘और एक गोल, सानदार गोल’ भन्दा हामी सब बुरुकबुरुक उफ्रिएका थियौं । आजसम्म पनि हल्यान्डको पल लिटजेन र जर्मनीको बमगार्जको नाम मुखाग्र छ । रेडियोको छाप अति नै गहिरो हुँदो रहेछ । लगभग ३५ वर्षपछि सिक्किम विश्वविद्यालयको ‘सेयरिङ अफ एक्सपेरियन्स’ कार्यक्रममा जसदेव सिंहलाई आफ्नो अनुभव विद्यार्थी–शिक्षक–जनसाधारणसँग बाँड्न बोलायौं । उनले बोल्नअघि मैले उनको परिचय दिँदा, सन् १९७५ को सीधा प्रसारण गर्दा उनले भनेको ‘और एक गोल, सानदार गोल’ दोहोर्‍याएको थिएँ । जसदेव सिंह अनि उनकी श्रीमती कार्यक्रम हलमै धुरुधुरु रोए ।

रेडियो यति बहुमूल्य कुरो थियो तिनताक । सबैकोमा हुन्थेन । दिल्लीका ठगारहरूले यसर्थ फाइदा उठाउँथे । एउटा साधारण कागजमा सामान्य गणितको क्रसवर्ड ठीक गरेर पठाए रेडियो गिफ्ट पाइन्छ भनेर चारैतिर पठाइन्थ्यो । हामी विद्यार्थी–गाउँलेहरू रेडियोको लोभले सो फार्म–गणित क्रसवर्ड ठीक गरेर पठाउँथ्यौं । दिल्लीको रैगरपुरा, करोलवागबाट नभन्दै एउटा बक्समा रेडियो आउथ्यो । बक्स थाप्न र खोल्नअघि, भीपीपी गरिएर रेडियो पठाइएकाले पोस्टम्यानलाई पैसा पहिल्यै दिनुपर्थ्यो । घर लगेर बक्स खोली हेर्दा दंग पर्थ्यौं, किनकि रेडियोको खोल मात्रै राम्रो हुन्थ्यो, भित्र कागज–काठ आदिले भरिपूर्ण हुन्थ्यो । त्यति बेलाको ठग्ने तरिका यस्तो थियो । को दिल्ली जाने, कसलाई रैगरपुरा, करोलबागमा खोज्ने ? दिल्ली दूर है भन्दै, आफ्नै चित्त बुझाउँथ्यौं ।

सन् १९८० मा म दिल्लीको जवाहरलाल नेहरू विश्वविद्यालयमा एमए पढ्न गएँ । भव्य विश्वविद्यालय, चारैतिरका विद्यार्थीहरू, अति नै प्रसिद्ध शिक्षकहरू । टेलिभिजनले भर्खरै प्रवेश गर्दै थियो । विद्यार्थीहरूको मनोरञ्जन अखबार, राजनीति, अध्ययन आदिबाहेक रेडियोका कार्यक्रमहरूबाट । दिल्लीको आकाशवाणी (अल इन्डिया रेडियो) मा नेपालीमा समाचार वाचक एवं अनुवादकको पार्टटाइमको नोकरीको अन्तर्वार्तामा म सफल भएँ । तीनवटा अति स्मरणीय कुराहरू भए । नेपाली समाचार वाचकहरूको आवाज मात्रै सुनेको थिएँ, सबैलाई एउटै थुम्कामा भेटें । दर्शन ठाकुर, देवराज कँडेल, चूडामणि उपाध्याय र विदेश नेपाली सेवाका प्रेमकुमार सिन्हा, युगेन्द्र छेत्री, विष्णु गुरुङ अनि मणिप्रसाद राय पनि । आईके सिंह नाटक अभिनय, समाचार वाचन सबै गर्थे । म पहिलेपहिले अनुवाद मात्रै गर्थें र समाचारचाहिँ वरिष्ठ वाचकहरूले पढ्थे । एक दिन समाचारवाचक नै आएनन् । कार्यक्रम सञ्चालकले ‘अब तिमीले नै पढ्नुपर्छ’ भन्ने आग्रह गरेर, झन्डैझन्डै ठेलेरै–घचेटेरै स्टुडियोमा हालेपछि होसहवास उडेको थियो । ‘रातो बत्ती बल्नासाथ सुरु गर’ भनेर ऊ मेरो पछि उभिइरह्यो । मैले कसरी त्यो पहिलो समाचार पढें, अन्दाज पनि छैन । त्यसपछि त मज्जा लाग्न थाल्यो । समाचार कक्ष (न्युज रुम) मा दौडादौड हुन्थ्यो । लगभग २० भाषाका अनुवादक–वाचक थुप्रिन्थे । यहीँ भेटें मैले हिन्दी–अंग्रेजीका आफ्ना आदर्श समाचार वाचकहरू— रामानुज, देवकी, मेलभिल, लतिका, सुरोजित आदि । यहीँ नै सिकें अनुवाद गर्ने वैज्ञानिक ढंग र तरिका । यहीँ नै बसाएँ हातैले लेख्ने आदत ।

आजभोलि रेडियो सुन्नै छोडे जनसाधारणले । कति जना एफएम च्यानलतिर गए भने कोहीकोही केवल मनोरञ्जनात्मक कार्यक्रमपट्टि लागे । रेडियोलाई कसैले अझै पनि एउटा विशेष प्रकारको प्रचार–प्रसारको (प्रोपगान्डा) का रूपमा चलाउँछन् । चीनले सम्पूर्ण सिमाना क्षेत्रमा अर्को छिमेकी राष्ट्रलाई प्रभाव पार्ने हिसाबले रेडियोमार्फत कार्यक्रम प्रसारण गर्छ । हिन्दी, नेपाली, तिब्बती, उर्दू आदि भाषामा रेडियो कार्यक्रम अघि राख्छ । यता भारतमा भने विदेशी भाषामा गरिने रेडियो–प्रसारण अति नै घटाइएको छ । तर रेडियो भने अझसम्म एउटा विश्वसनीय, कम्ती खर्च लाग्ने अनि भरोसायोग्य साधन रहेकै छ । धेरै मानिस आज पनि रेडियो नेपाल, आकाशवाणी, बीबीसी आदि सुनेर मात्रै ओछ्यान पल्टाउनतिर लाग्छन् । मोबाइलको हानिकारक किरणबाट बाँच्न चाहन्छन् ।

आपत्विपत्मा रेडियो नै काम लाग्छ । सिक्किममा सेप्टेम्बर २०११ मा आएको भुइँचालोमा धेरै समयसम्म मोबाइल सेवा नहुँदा, रेडियोलाई नै चलाएर धेरै जग्गामा बचाउ कार्य गरियो । तिनताकका सिक्किमका राज्यपालले, राज्य सरकारका अगुवा नै अतालिएर आलसतालस भएपछि, आफ्नो कार्यालय राजभवनमा सबैलाई बोलाई रेडियोलाई प्रयोगमा ल्याई बचाउ कार्यक्रम सुरु गरे । यसर्थ हामीले सिक्किम विश्वविद्यालयमा सामुदायिक रेडियो (कम्युनिटी रेडियो) सेवा सुरु गर्न सबै चाजो मिलायौं । तर हामीपछिका कुलपतिले राष्ट्रमा ३७४ सामुदायिक रेडियो स्टेसन चालु भइसक्दा पनि केही गरेनन्, सायद बुझेनन् पनि । संस्थाका ‘अगुवा नै बाटो...’ भएपछि संस्था–शिक्षक–विद्यार्थी ओरालो लाग्ने नै भए । नेपालका ‘चेलीको आवाज’ एवं ‘हाम्रो अधिकार’ जस्ता सामुदायिक रेडियोका कार्यक्रमहरूको भूमिका व्यापक एवं विस्तृत हुँदै जादै छ । यस्ता रेडियो कार्यक्रममार्फत विकासदेखि राजनीति–मानव अधिकारसम्म, खेतीपाती–जलस्रोत आदिमा जलवायु परिवर्तनले पुर्‍याएको आघातदेखि शिक्षा, स्वास्थ्य सम्बन्धी ज्ञानसम्म र प्राकृतिक प्रकोपदेखि विश्वमा चलिरहेको हलचल र सांस्कृतिक विकाससम्म सबैलाई समेट्न सकिन्छ । रेडियोले जनमानसलाई ठीक ढंगमा सचेत–सजीव बनाउने परम्परा बनाइदिएको छ । कुन उमेरमा कुन ज्ञान हासिल गरेर अघि बढ्ने भन्नका लागि रेडियो एउटा प्रभावशाली साधन हो । इन्टरनेट र मोबाइलले उमेर–ज्ञान–अनुभव नछुट्याई अनेक विषयवस्तु अघि राखेका कारण समाजमा उथलपुथल अझै गहिरिँदै जाँदै छ ।

रेडियोको भाषा स्थानीय नै रहँदै आएकाले सामाजिक एवं सामुदायिक एकता–दायित्व सदैव रहने गर्छ । समाचार–सूचनालाई नियन्त्रण गरेर चाहेको हिसाबमा बाँड्ने शक्ति पनि रेडियोमै छ, आधुनिक सामाजिक सञ्जालमा त्यो हुनै सक्तैन । आधुनिक सामाजिक सञ्जाल एक किसिमले लागूपदार्थको लत लागेझैं हो; सुत्दा, उठ्दा, खाँदा, बस्दा, सोच्दा, हिँड्दा, चढ्दा, झर्दा कहीँ पनि यसले छोड्दैन । सबैलाई जाबो मेसिनको मुट्ठीभित्र हालिदिन्छ; कहाँ कसले चलाउँदै छ, हेर्दै छ, खिच्दै छ, निचोर्दै छ, घचेट्दै छ, कसैलाई थाहै हुँदैन । रेडियो भने यी सब अपभ्रंश एवं पतनबाट टाढै रहन्छ । एक समय आउला, सबै फेरि रेडियोतिरै लाग्लान्; धेरै मानिस इमेल र एसएमएसदेखि वाक्कै भएर हातैले लेख्ने चिठीतिर लागेझैं; दुइटा औंलालाई मात्रै भार दिएर मोबाइल चलाउनुपर्ने विरह र उराठलाग्दो स्थितिलाई त्यागेर कलम, कागज र पाँचै औंला चलाउनतिर लागेझैं ।

प्रकाशित : वैशाख ५, २०८० ०७:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

खेलकुद मन्त्रालयको बजेटले लुडो, चेस र बाघचाल मात्रै खेलाउन सकिन्छ भन्ने युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठको भनाइबारे तपाईंको धारणा के छ ?