१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३३३

नारायणीलाई टुकुचा बनाए बच्दैन नारायणगढ

जीवन क्षेत्री

नेपालको डोजर–निर्देशित विकासको समग्र ‘मोडल’ भरतपुर महानगरमा पनि भेटिन्छ । केही दशकदेखि नारायणी नदी किनारमा तटबन्धका छिटपुट काम भइरहेका छन् । भरतपुर महानगरले जसरी नदीको सहर छेउको भागमा छेडखानी गरिरहेको छ, त्यो लाखौं मानिसका लागि आत्मघाती बन्ने निश्चित छ । 

नारायणीलाई टुकुचा बनाए बच्दैन नारायणगढ

भरतपुरकी मेयर रेनु दाहालले वाचा गरेझैं हुने हो भने छिट्टै नदीको नारायणगढतर्फ समुद्रको किनारको दृश्य झल्किने कंक्रिटको कैयौं किलोमिटर लामो संरचना बन्नेछ । त्यसो गर्दा स्वतः पारिपट्टि गैंडाकोटको भूभाग डुबानमा पर्ने हुँदा समानान्तर बाँध आवश्यक हुनेछ । स्थानीय जनप्रतिनिधिका अनुसार यसका लागि बजेटसमेत छुट्टिइसकिएको छ । हाल झन्डै १७ करोड रुपैयाँ लागतमा काम भइरहेको पुल माथिपट्टिको ६४० मिटर लामो हिस्सामा, नदीले हरेक वर्षायाममा चर्चिने गरेको भूभागको झन्डै सय मिटर चौडा जमिन तटबन्धभन्दा बाहिर पर्नेछ । त्यही हाराहारीमा पारि पनि तटबन्ध हुने हो भने गैंडाकोट र नारायणगढका घना बस्तीको ठीक बीचमा नदीले हाल चर्चेको चौडाइ एकतिहाइदेखि आधासम्मले कम हुनेछ । अर्थात्, काठमाडौंका टुकुचाजस्ता ससाना खोलाहरूका दुवैतिर पर्खाल र सडक बनाएर तिनको सीमा मिच्दा बर्खामा जस्तो वितण्डा हुन थालेको छ, त्यो यहाँ पनि दोहोरिनेछ । बडीघाट, कालीगण्डकी, सेती, मर्स्याङ्दी र त्रिशूली मिलेर बन्ने नारायणीको पानीढलो काठमाडौं उपत्यकाको भन्दा सयौं गुणा ठूलो हुने भएकाले बाढीको भीषणता पनि सोहीअनुरूप हुनेछ ।

नदीको भरतपुरपट्टि अहिले बनिरहेको तटबन्धका कारण गैंडाकोटको तटीय क्षेत्रका मानिसको निद्रा हराम हुन थालिसक्यो । यस विषयमा उनीहरूले बारम्बार जनप्रतिनिधिलाई भनेका पनि छन् । तर जवाफ भने उताको जस्तै तटबन्ध यता पनि बनिहाल्छ भन्ने पाउँछन् । दोहोरो तटबन्धको परिणाम के हुनेछ भन्ने विषयमा कसैको ध्यान गएको पाइँदैन । यसले एकाध वर्षका लागि दुवैतर्फ डुबान कम गर्न सक्नेछ । तथापि वर्षैपिच्छे नेपालको झन्डै एकचौथाइ भूभागबाट बगेर आएका ढुंगा र बालुवा थुप्रिँदै गएसँगै नदीको पीँधको तह माथि उठ्दै जानेछ । केही वर्षमा तटबन्ध या त निरर्थक बन्नेछ या अग्लो बनाउँदै लैजानुपर्नेछ । तटबन्ध अग्लो बनाउँदा छेउको भूभाग तल पर्दै जानेछ । यसले गैंडाकोटपट्टिको ठूलो तटीय जमिन तटबन्ध र नदीभन्दा तल पर्नेछ । पानी निकास नहुँदा सो क्षेत्र सिमसारझैं हुनेछ ।

एकातिर एकाध वर्ष बाढी छेक्ने तटबन्धले अन्ततः सयौं घर, होटल र कलेजसमेत रहेको भूभागलाई अतिरिक्त डुबानमा पार्नेछ । अर्कातिर दुवैपट्टि तटबन्धको निश्चित हिस्सा फुटेर बाढी आउन सक्ने जोखिम अकासिनेछ । पछिल्ला वर्षमा बंगलादेश र थाइल्यान्डमा तटबन्ध भत्कँदा ठूलो धनजनको क्षति भइरहेको छ । यसबाहेक तटबन्ध सुरु हुने स्थानबाट नदीले बाटो नै बदलेर साबिकभन्दा कैयौं गुणा बढी भूभाग डुबानमा पार्न सक्नेछ । अतिवृष्टिका कारण पनि असामान्य बाढी आएमा, सहजै जत्रोसुकै तटबन्ध पनि काम नलाग्न सक्छ । हाल दुवैतर्फ सयौं मिटरमा फैलिएको बालुवाले ‘स्पोन्ज’ को जस्तो काम गर्दै नदीको बहावलाई कम गर्ने गरेकामा, यसको ठूलो हिस्सालाई कंक्रिटले विस्थापित गर्नासाथ बर्खायाममा अनपेक्षित रूपमा पानीको बहावको दिशा फेरिनेछ र गति पनि तीव्र हुनेछ ।

स्मरण रहोस्, हाल छेडखानी भइरहेको नारायणीको हिस्सा निकै संवेदनशील हो, जहाँ पहाडका कापमा गडगडाउँदै बगेको नदीले ९० डिग्रीले दिशा परिवर्तन गर्छ र अचानक मैदान भेट्टाउँछ । तसर्थ नदीको सीमा त्यहाँबाट सुरु गरेर फैलँदै जानु स्वाभाविक हो । नारायणगढ र गैंडाकोटमा बनिरहेका बस्ती कैयौं दशकदेखि नदीको बहावसित सम्झौता गर्दै र सम्हालिँदै बनेका हुन् । विशाल नदीलाई हठात् टुकुचाझैं कंक्रिटका सीमारेखा खिचिदिनु भनेको अकल्पनीय अवस्था निम्त्याउनु हो ।

नारायणी नदी मैदानमा फैलिइसकेपछि चितवन र नवलपुरको पुछारतिरका भूभागमा बर्सेनि बाढी र डुबानको समस्या बढिरहेको छ । नदीको बर्खे सीमालाई सम्मान गर्दै ती ठाउँमा बन्ने तटबन्धले धेरै मानिसको ज्यान, घर र जीविकाको रक्षा गर्न सक्छ । उनीहरूको विवशता देखाएर आयोजना पार्ने अनि नदीको साँघुरो भागलाई खुम्च्याउने काम भने कुनै हालतमा क्षम्य हुन सक्दैन । यसले डुबान र कटानको समस्या समाधान गर्ने नभई थप समस्या सृजना गर्ने निश्चित छ । त्यसमाथि चुलिँदो जलवायु संकटका कारण अरू देशले वास्तविक संकट पहिचान गरेर तिनको मोचन गरिरहँदा, नेपालमा भने यस्ता आत्मघाती आयोजना बनिरहेको छ ।

यस्तो विनाशकारी आयोजना अघि बढिरहँदा चितवनका मानिसको आमबुझाइ छ, यसले सुरुमा गैंडाकोटमा डुबानको समस्या ल्याउँछ, हामी किन बोल्ने । गैंडाकोटका धेरैलाई लागेको हुन सक्छ, यसपालिदेखि नै नदीको धार बदलिएर सुरुमा डुबानमा पर्ने नदी किनारका विपन्न हुन्, हामी किन बोल्ने । वारिपारिका धेरैलाई लाग्छ, दुवैतिरका जनप्रतिनिधि तटबन्धका लागि हुने बालुवा, ढुंगा र गिटीको व्यापारमा सुनखानी खोजिरहेका छन्, त्यसैले आफ्नै घर डुब्दासम्म पनि तिनले केही गर्नेवाला छैनन् ।

विभिन्न बहानामा सबै चुप लाग्दै जाने हो भने, निश्चित छ नारायणीलाई टुकुचा बनाउने भरतपुर महानगरको प्रयत्नले एउटा अकल्पनीय विपत्ति निम्त्याउनेछ । अहिलेसम्म कहिल्यै जोखिम महसुस नगरेका भरतपुर र गैंडाकोट दुवैपट्टिका बस्तीलाई उजाड बनाउन सक्नेछ । त्यसको सापेक्षमा अघिल्लो वर्ष मेलम्ची र मनाङमा भएको पहिरोजन्य मानवीय क्षति सानो प्रतीत हुनेछ । नदी किनारको सौन्दर्यकरणको बहानामा सुरु भएको ध्वंसकारी विकासले अन्ततः नदीका दुवै किनारका लाखौं मानिसको उठीबास लगाउन सक्नेछ । यसलाई रोक्ने सम्भवतः अन्तिम मौका अहिले छ । हाल नदीको हिउँदे सीमानजिकै र बर्खे सीमाभन्दा झन्डै सय मिटरभित्र जग खनिँदै गरेको तटबन्धको काम रोक्न सक्ने हो भने यो विनाशलीलालाई यहीं रोक्न सम्भव हुनेछ । आउँदो बर्खामै नारायणीले त्यहाँ थुप्रेको माटो बगाएर बालुवा ल्याएर राख्नेछ ।

प्रकाशित : वैशाख १, २०८० ०७:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?