२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४९

सेयर बजारमा फर्सीका जरा

छिनमा बढ्ने र छिनैमा घट्ने वित्तको जादुई खेलमा श्रम र उत्पादनको दिगो कथा कुन घुम्तीमा मिल्छ र कहाँ छुट्छ ?
उज्ज्वल प्रसाई

सेयर घटबढ सहरिया नेपालीको दैनिकी भएको छ । शिक्षालयमा जाऔं वा कफीपसल पुगौं, कोही न कोही सेयर बजारका कथा हालेर बसेको भेटिन्छ । एउटा इन्सुरेन्स कम्पनीमा हालेका कित्ता गन्ती गरिरहेको हुन्छ, अर्को लघुवित्तमध्ये कुन कति असफल छ भनेर बताइरहेको हुन्छ, र तेस्रो हाइड्रोपावर कम्पनीको पानीसँगै बगेका कित्ताको सम्झना गरिरहेको हुन्छ ।

सेयर बजारमा फर्सीका जरा

पहिले सीमित मान्छे सेयरका खेलाडी मानिन्थे, अचेल सेयर विज्ञता प्रदर्शन गरिहिँड्नेको संख्यामा उल्लेख्य वृद्धि भएको छ । सेयरको अविरल गफ सुन्ने अवसर प्राप्त हुँदा केही वर्षपहिले एमोय, गोल्ड क्वेस्ट लगायत नेटवर्किङ व्यापारमा लागेकाहरूले रातारात समृद्धिको मोहक कहानी सुनाएको झल्को आउँछ । यी दुई कथा समान लाग्नुको एउटा कारण बुझाइको अल्पता होÙ न त्यसबेला ‘पिरामिड’ भनिने व्यापारको गुत्थी खुल्यो, न अहिलेको ‘नेप्से परिसूचक’ खुट्याउन सकियो ।

कोरोना महामारी र त्यसैसँग आएको लकडाउन कम हुँदै गएको बेलाको घटना हो । चिनारुमध्ये करिब आधा दर्जन जतिले सेयरका रोमाञ्चक कथा हालेको सुन्ने अवसर पाइयो । हरेक पटकको भेटमा उनीहरूले गरेका नयाँ तरक्की थाहा पाइन्थ्यो, दिनप्रतिदिन बढिरहेको सेयरको भाउले उनीहरूका अनुहारमा थपेको चमक देखिन्थ्यो, स्वरमा भरेको मीठास सुनिन्थ्यो । ती कथा तिलस्मी लाग्थे । वरिपरिको यथार्थ र सुनिएको कथाको र्‍याङठ्याङ भने मिल्दैनथ्यो । वरपरको वातावरण त्रासद थियो । आयस्रोतहरू खुम्चेका थिए, पहिले गरेका कामको पारिश्रमिक पाउन महाहम्मे परेको थियो । काम गर्ने ठाउँहरू कतिपय बन्द भएका थिए । समयमा वेतन पाउन सकिएको थिएन । रोजगारीका अवसर यसै कम थिए, बेरोजगारी थपिएको थियो । उत्पादन र श्रममा लाग्नुपर्ने मान्छे घरका बिरामी स्याहार्न वा आफैं बिरामी परेर बस्दैमा ठीक्क थियो । न उत्पादन गरेर केही बेच्न सकेका छन्, न श्रम गरेर धुनधान आर्जन गर्ने स्थिति बनेको छ, तर वित्तीय लेनदेन र जोडघटाउ भने असाधारण रूपमा तीव्र भएको कथा प्रचारमा छ ।

सेयर बजारका नवखेलाडी बनेका चिनारुले एक साँझ सुनाए, ‘आजै मात्र मैले करिब साढे तीन लाख कमाइ गरें । तपाईंलाई त्यत्रो सम्झाएँ, कुरो बुझ्नुभएन, बसीबसी कमाइन्थ्यो नि पैसो ।’ केही सातापछि, अर्का उस्तै उत्साही आफन्तले लकडाउन खुलेलगत्तै थाइल्यान्डतिर घुम्न जाने योजना बनाइरहेको सुनाए । नभन्दै अलिपछि ती सपरिवार थाइल्यान्ड घुम्न गए, घुमेका तस्बिर फेसबुकमा अपलोड गर्न भ्याईनभ्याई भयो भन्थे । उनको दाबी थियो, ‘सेयरले राम्रो आम्दानी दियो, अब यसरी कमाइ भएको मौकामा घुम्न नगए कहिले जानु भनेर थाइल्यान्ड घुमेर आइयो । प्याकेज टुरलाई एकमुस्ट पैसा बुझाएपछि ढुक्कै हुने रहेछ ।’ त्यसरी नै अर्का एक नजिकका मान्छेले सेयरबाट गरेको आम्दानीमा थोरैतिनो थपेर जग्गा किनेको बयान गरे । कति थोरै कित्ताबाट बढाउँदै लगेर कति धेरै कित्ता बनाएर, अझै कति धेरैमा बेच्दा, यति सग्लो आम्दानी भयो भनेर ठूलो अंकको हिसाब सुनाएका थिए । उहिल्यैदेखि बडो जतनले मनमा पालेर स्याहारेको गाडी चढ्ने रहर लकडाउनकै बेला बेपत्ता बढेको सेयरको भाउले पूरा गरेको सुनाउने दुई जना चिनारु भेटिइसकिएका छन् । त्यस्तै, कसैले बिहेको खर्च उतारेको त कसैले सेयरकै नाफाबाट महँगा ‘ग्याजेट’ खरिद गरेका गफ सारै सामान्य बनेको थियो । यस्तो लाग्थ्यो- मानौं, उनीहरू बाकसमा हालेको चिठ्ठा तानेर एक्कासि भाग्य चम्काउँदै, फुत्तफुत्त लाखौं कमाइ गरिरहेका छन् ।

अर्थशास्त्रका कुनै गहिरो ज्ञान नभएको मजस्तालाई महामारीसँगै आइपरेको त्रासदीपूर्ण आर्थिक एवं सामाजिक यथार्थ र कतिपय चिनारुका बैंक खाता र समृद्धिमा भइरहेको द्रुत प्रगतिको असंगति बुझ्न सारै कठिन भयो । वरपर भएका अर्थशास्त्र तथा व्यवस्थापनका जानकारबाट केही जान्ने कोसिस नगरेको होइन, तर उनीहरूले बताएका हिसाबकिताब बुझ्ने बौद्धिक क्षमता नभएर होला, स्पष्ट हुन सकिएन । थोरै बुझेजस्तो लागेर घोत्लिन थाल्यो, केही बेरपछि उही पुरानै अलमल दोहोरिन्छ, र दिमागमा कुनै स्पष्ट चित्र कोर्न सकिन्न । घरीघरी ‘छु मन्तर’ जादु वा चिठ्ठा तान्ने खेलजस्तो मात्र देखिन पुग्छ ।

उबेला यी विषय राम्ररी बुझ्न पाएको भए, अहिले केही साथीहरूले निरन्तर गरिरहेका गुनासाको गुह्य अझै स्पष्टसँग बुझ्न सकिन्थ्यो । हाल विभिन्न कम्पनीका सेयर किनेर नेप्से हेरिबसेका साथीहरू दिनहुँ एउटै कथा दोहोर्‍याइरहेका छन् । प्रायः भेटमा उनीहरू भन्छन्, ‘सेयर घट्यो, सबै बर्बाद भयो, अर्थतन्त्र धराप हुँदै छ, अब अझै कति समय सेयरबाट उक्सिन गाह्रो हुने भयो, यस्तै पाराले हो भने यो देश चुर्लुम्मै डुब्छ, श्रीलंकाभन्दा खतम हुन्छ, केके भोग्नुपर्ने हो, थाहा छैन ।’ केही सातापहिले मात्रै उनीहरू नै अर्को एउटा वाक्य पूर्ण उत्साहसाथ दोहोर्‍याउँथे, ‘विष्णु पौडेल अर्थमन्त्री भए, गजबै हुने भयो, अब ढ्याकढ्याकी कमाइ हुन्छ ।’ केही साताको अन्तरालमा दुई विपरीत भावभंगीमा देख्दा, यो अर्थशास्त्रीय खेल बडो विचित्र मात्र होइन, झनै दुरूह लाग्यो ।

वित्तीय पुँजीवाद यस्तै होÙ साता होइन, घण्टा र मिनेटका भरमा केके भइसक्छ, पत्तो हुन्न । सेयर बजार सम्बन्धका सामान्य जिज्ञासालाई यसो भनेर सम्बोधन गर्नेहरू पनि थुप्रै भेटिएका छन् । यस्ता मोटा व्याख्याले बुझाइ मजबुत बनाउने होइन, बरु समस्यालाई थप गुजुल्टो पार्ने हो । सबै बन्दाबन्दी हुँदाको वित्तीय दुनियाँको अति उत्साह र अहिले महामारी र ठूला भवितव्य केही नहुँदा देखिएको अति निराशाको अर्थ खोज्न रुस–युक्रेन युद्धसम्मै पुग्नुपर्ने हो ? सिलिकन भ्यालीमा भइरहेका उथलपुथल पनि समेटेर मात्र बुझ्न सकिने हो कि ? अथवा, पर्यावरणीय समस्यासमेत जोडिएका पत्र उक्काउनुपर्ने हो ? वरपर घटिरहेका घटना र भइरहेका गतिविधि मात्रको सहज सिलसिला पहिल्याएर भने यो बुझ्न कठिन भयो । कतै आम मान्छेका यस्तै अज्ञानता स्वयं वित्तीय दुनियाँका जौडे खेलाडीको पुँजी त होइन ?

केही दिनपहिले नेपाली कांग्रेसका महामन्त्री तथा संघीय सांसद गगन थापाले सार्वजनिक रूपमा भने, ‘अहिले जति तन्नेरीहरू निराश भएको यसअघि कहिल्यै देखेको थिइनँ ।’ उनले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटघाट गर्ने समय घटाएर केही घण्टा निकालेर देशको परिस्थितिमा घोत्लिन सुझाव दिँदै यो निराशाको चित्र कोरेका थिए । दाहाललाई आफैंले भेटेर यस्तो सुझाव दिएको पनि उनले बताए । नेता थापाले चित्रण गरेको तन्नेरीहरूको यो निराशा र नेप्से परिसूचकबीच कुनै साइनो छ वा छैन ? यी दुईबीच कुनै सम्बन्ध छ भने, भोलि फेरि ह्वात्त बढ्न सक्ने परिसूचकले युवाको निराशामा त्यसरी नै फुत्त कमी ल्याउन सक्छ ? वा, अहिले थापाले सतहमा स्पष्ट देखेको निराशा अलि पहिल्यैदेखि हुर्कँदै, बढ्दै र विस्तारित हुँदै आएको निराशा हो ? के नेप्स परिसूचक बढे पनि त्यो निराशा रहन्छ र त्यो थप बढ्दै जान्छ ? अर्थशास्त्रका दुरूह गुजुल्टा फुकाउन नसक्ने मजस्ताले यी प्रश्नका सहज र संयक उत्तर कहाँ खोज्ने ?

सांसद थापाले देखेको चित्र र नेप्सेको जोर्नीमा गाँस्न मिल्ने प्रश्नका लहरा अरू पनि छन् । तीन वर्षपहिले साउदी अरबबाट केही लाख रुपैयाँ जोहो गरेर गाउँ फर्केको एक तन्नेरी साथीले बाख्रा, सुँगुर, र कुखुरापालन सुरु गर्‍यो । आफूसँग भएको पुँजी कम भएपछि, बैंकबाट ऋण लियो । कसिएर व्यवसायमा लाग्यो, मानसिक र शारीरिक रूपमा दत्तचित्त भएर बोयर बाख्रादेखि सयौं केजीका बंगुर, लोकलदेखि ब्रोइलर कुखुरासमेत हुर्काउन थाल्यो । तर लगालग दुई वर्षसम्म दैनिक घण्टौं खट्दा पनि उसको व्यापार फस्टाएन, ब्याज तिर्न नसकेर ऊ निराश छ । नेप्से परिसूचकसँग यस्ता तन्नेरीको श्रम, उनीहरूले गरेको उत्पादन, र उनीहरूका असफलता जोडिन्छन् वा यी दुई कुनै सम्बन्ध नभएका अलग विषय हुन् ? कुनै सम्बन्ध भए, कसरी र कहाँ जोडिन्छन् यी दुई विषय ? छिनमा बढ्ने र छिनैमा घट्ने वित्तको जादुई खेलमा श्रम र उत्पादनको दिगो कथा कुन घुम्तीमा मिल्छ र कहाँ छुट्छ ?

अर्का एक तन्नेरी विदेशको राम्रो विश्वविद्यालयबाट समाज विज्ञानको एक हाँगामा विद्यावारिधि गरेर फर्किए, उचित काम र सोही अनुसारको पारिश्रमिकको खोजीमा लागेको महिनौं भयो, तर कतै फेला पार्न सकेनन् । आफैं केही नयाँ गर्न सकिएला भनेर कोसिस गरे, तर साथीसंगीले उत्साह दिन सकेनन्, राजनीतिक परिस्थिति औंल्याएर, यहाँ खास केही गर्न नसकिने चित्र देखाइदिए । उनीजस्तै जाँगर बोकेर नेपाल फर्केका चिकित्सक होऊन् वा वैज्ञानिक, सबैमा निराशा छाएको छ । यीमध्ये धेरैजसो बाहिरिने उपक्रममा लागेका होलान् । विष्णु पौडेल अर्थ मन्त्रालय प्रवेश गर्दा बढेको नेप्से परिसूचक र केही सातामै गिरेको त्यसको अंकमा यी तन्नेरी शिक्षितको आगमन र हुन खोजिरहेका पलायनको कथा जोड्न मिल्छ वा मिल्दैन ?

थप केही ‘नाइभ’ प्रश्नहरू जोड्दा कसैले अर्थ्याउन खोजे अझै सहज होला । मिटरब्याजपीडितका कथा सेयर बजारको कुनै कुनामा कतै जोडिएको छ वा ती पीडितसँग यो बजारको कुनै मानेमा पनि लिनुदिनु हुँदैन ? अहिले चलिरहेको उनीहरूको आन्दोलनको सम्बन्ध सेयर बजारसँग कतै छ कि छैन ? त्यसै गरी लघुवित्तबाट पीडित भयौं भनिरहेका तन्नेरीको निराशा सेयर बजारको परिसूचकमा आएको गिरावटमा कति र कसरी परावर्तित भएको छ ?

गहिरोसँग बुझ्न चाहँदा उपन्यास होओस् वा कविता, साहित्य भनौं वा दर्शन, सबै जटिल हुन्छ । जटिलता छिचोल्दा, दर्शन र साहित्यले आनन्दित तुल्याउँछ । अर्थतन्त्र जटिल बन्दा, त्यो सम्भवतः अर्थवाद बन्दो हो र बढ्ता दुरूह हुँदो हो । मोहन कोइराला ‘फर्सीका जरा’ कविता लेखेबापत नामी छन्, र सारै नबुझिने लेख्यो भनेर उस्तै बदनाम । अर्थवादले नबुझिने भएकामा कवि कोइरालाले जस्तो बदनामी कमाएको भने छैन, बरु उल्टै इज्जत र सम्भवतः नाफा पनि कमाएको छ । अर्थवादका आडमा नाफा कमाउने को हुन् ? फर्सीका जरा नबुझ्दा कवि कोइरालाको नाम किट्न सजिलो छ, नेप्से परिसूचकका नाममा आउने अर्थवाद नबुझिँदा, कोइरालाझैं नामै किट्न सहज कुनै स्थूल व्यक्ति भेटिँदो रहेनछ । कहिल्यै भेट्न नसकिने त्यो मोटो पुँजीवादलाई सरापेर बस्नुको तुक पनि हराउँदै जाँदो रहेछ ।

प्रकाशित : चैत्र १७, २०७९ ०६:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?