२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७८१

ज्ञानपुँजीको युगमा उच्च शिक्षा

‘यो युगको सबैभन्दा शक्तिशाली र मूल्यवान् सम्पत्ति मानव ज्ञान हो ।’
वाईपी आचार्य

विश्वमा अहिलेको युगलाई चौथो औद्योगिक क्रान्तिको युगको रूपमा लिने गरिन्छ । अहिले विश्वका सबै मानिस एकैसाथ मोबाइलबाट जोडिन सक्ने भएका छन् । हर सूचनाहरू स्टोर भएर रहने तथा एक अर्कामा जोडिएर थप मूल्यवान् हुँदै जाने भएका छन् ।

ज्ञानपुँजीको युगमा उच्च शिक्षा

टम गुडविन आफ्नो प्रसिद्ध किताब ‘डिजिटल डार्बिनिजम’ मा लेख्छन्– ‘अब जुन चिज डिजिटाइज्ड हुन्छ त्यो अस्तित्वमा रहन्छ, जुन हुँदैन त्यो विस्तारै लोप हुँदै जान्छ ।’ त्यस्तै अमेरिकी गुप्तचर संस्थाबाट सूचना बाहिर ल्याएर चर्चामा आएका व्यक्ति इड्वार्ड स्नोडेन आफ्नो पुस्तक ‘पर्मानेन्ट रेकर्ड’ मा लेख्छन्– ‘अब विश्वका प्रत्येक चिजस्थायी रूपमा रेकर्ड हुन्छन् ।’ उनी भन्छन्, ‘अहिले अमेरिकी गुप्तचर संस्थासँग नभएको विश्वको कुनै त्यस्तो सूचना छैन । डिजिटल युगलाई थर्डवेबका रुपमा व्याख्या गर्दै आफ्नो पुस्तक ‘रिभोलुसनरी वेल्थ’ मा अल्विन टोफ्लर लेख्छन्, ‘यो युगको सबैभन्दा शक्तिशाली र मूल्यवान् सम्पत्ति मानव ज्ञान हो । त्यसैले यो युग ज्ञानपुँजीको युग हो ।’ यसर्थ, जोसँग ज्ञान छ, त्यो शक्तिशाली एवं धनी छ ।

अझ भौतिक सम्पत्तिभन्दा फरक ज्ञानपुँजी नाश नहुने, बहुउपयोगी हुने हुँदा पटक–पटक फरक–फरक अवस्थामा पनि प्रयोग हुने गर्छ । औद्योगिक क्रान्तिपूर्व कृषिमा आधारित अर्थतन्त्रमा जमिन उत्पादनको सबैभन्दा प्राथमिक साधन थियो । हलो, कुटो, कोदालो, बीउविजन आदि सहायक साधन थिए । खाद्य सामग्री यसको मूल उत्पादन थियो । सन् १७६५ पछि प्रथम औद्योगिक क्रान्तिले पानी र स्टिम इन्जिनको प्रयोग गरी उत्पादनलाई यान्त्रिकीकरण गर्‍यो । सन् १८७० पछि दोस्रो क्रान्तिले विद्युतीय शक्तिको प्रयोग गरी ठूलो मात्रामा उत्पादन (मास प्रोडक्सन) गर्न सघायो । १९७० को दशकमा तेस्रो क्रान्तिले विद्युत् र सूचना तथा सञ्चार प्रयोग गरी उत्पादनलाई स्वचालित गरायो ।

अहिले चौथो क्रान्तिले उत्पादनलाई डिजिटाइज गरी भौतिक सीमालाई तोडिदियो । अटोमेसन, कृत्रिम बौद्धिकता, नानो–टेक्नोलोजी, जैविक प्रविधि, ब्रेन इन्जिनियरिङ आदि जटिल प्रकारका प्रविधि विकासले मानव सभ्यतामै क्रान्ति ल्याएको छ । अझ चौथो क्रान्ति अघिल्ला क्रान्तिभन्दा तीनवटा थप विशेषताले गर्दा छलाङ मार्ने प्रकृतिको छ । एक ः परिवर्तनको गति निकै तीव्र छ । हरेक क्षेत्रमा छिन्छिन्मा परिवर्तन आएको छ । दुई, दायरा विशाल छ । यो क्रान्तिको प्रभाव नपर्ने कुनै त्यस्तो क्षेत्र नै छैन । तीन, पुराना पद्धतिमा बदलाब ल्याएको छ । उद्योग, व्यवस्थापन, शिक्षा, राजनीतिलगायतका क्षेत्रमा पद्धतिमै उथलपुथल ल्याएको छ, ल्याउँदै छ । यस्तो क्रान्तिको प्रभाव कुनै समाज वा देशविशेषमा मात्रै सीमित नभएर विश्वव्यापी रूपमा परेको छ । नेपालजस्तो व्यापक औद्योगिक विकास गर्न नसकेको देशमा पनि चौथो औद्योगिक क्रान्तिको प्रभाव छिट्टै परेको छ ।

विश्व श्रमबजार र नेपाल

पहिले मानिसलाई मेसिनजस्तो बनाउन खोजिएको थियो भने अहिले मेसिनलाई मानिसजस्तो बनाइँदै छ । यसअघि कामको क्षेत्रमा व्यापक यान्त्रिकीकरण भएपछि मेसिनले मानिसको शारीरिक श्रमलाई विस्थापन गरेको थियो र बौद्धिक श्रमको क्षेत्रमा व्यापक रोजगारी वृद्धि भएको थियो । तर, अहिले बौद्धिक मेसिनको विकास भएपछि शारीरिक र बौद्धिक श्रम दुवैबाट मानिसलाई विस्थापित गरिँदै छ । लर्निङ जेनेरेसन २०१८ को रिपोर्टअनुसार ‘सन् २०३० सम्ममा अहिले भएका ५० प्रतिशत रोजगारीहरू अटोमेसन र कृत्रिम बौद्धिकताले विस्थापित गर्ने छन् । रोजगारीका नयाँ क्षेत्र त खुल्ने छन् तर त्यहाँ उच्च दक्ष जनशक्ति चाहिन्छ । रोजगारीको प्रकृति छिटो–छिटो परिवर्तन हुँदै गएकाले पहिलेको कामबाट नयाँमा संक्रमण हुने दर जम्मा ५० प्रतिशत छ । अर्कातिर बजारको मागअनुसारका उच्च दक्ष जनशक्ति उत्पादन नहुँदा माग र आपूर्तिको बीचमा ४० प्रतिशतको खाडल छ ।’

चौथो औद्योगिक क्रान्तिले समग्रमा विश्वव्यापी आम्दानी बढाउँछ । जीवनस्तर माथि उकास्छ । उत्पादन र सेवा क्षेत्रलाई प्रभावकारी बनाउँछ । यातायात र सञ्चारको खर्च घटाउँछ । तर, अर्थशास्त्री इरिक ब्रिनजोल्फकन र एन्ड्रुको भनाइमा यो क्रान्तिले श्रमबजारमा ठूलो असमानता सिर्जना गर्नेछ । ज्ञान मूल सम्पत्ति हुने र ज्ञान डेटाको रूपमा रहने हुन्छ, जहाँ मानिसको दक्षताको मूल्य धेरै हुनेछ । त्यसैले बजारमा कम दक्षता भएको र धेरै दक्षता–सीप भएको व्यक्तिका बीचमा ठूलो खाडल हुनेछ । यसले समाजमा तनाव सिर्जना गर्नेछ ।

आर्थिक सर्वेक्षण २०७८/७९ का अनुसार नेपालमा हरेक वर्ष ४ लाखदेखि ४ लाख ५० हजार युवा कामको दुनियाँमा प्रवेश गर्छन् । कक्षा १ मा भर्ना भएका जम्मा ८५ प्रतिशत कक्षा ८ मा, ६६ प्रतिशत कक्षा १० मा, ३३ प्रतिशत कक्षा १२ मा र १६ प्रतिशत उच्च शिक्षामा जान्छन् । १ लाख २० हजारदेखि १ लाख ५० हजारले प्रत्येक वर्ष प्राविधिक सीप सिक्न पाउने क्षमता छ । तर, आर्थिक वर्ष २०७६/७७ मा त्यसको ५१ प्रतिशतले मात्रै प्राविधिक सीप सिक्नका लागि फारम भरेको सीटीईभीटीको तथ्यांकले देखाउँछ । अर्कातिर गत वर्षसम्म ५६ लाख ६५ हजारले विदेश जान श्रम स्वीकृति लिएको देखिन्छ । यी तथ्यांकले श्रमबजारमा व्यापक बदलाब आएको र मानवस्रोतको विकास र त्यसको प्रयोगमा पनि खाडल रहेको देखाउँछन् । यस्तो अवस्थालाई उच्च शिक्षाले कसरी सम्बोधन गर्न सक्छ, यो यक्ष प्रश्न हो ।

उच्च शिक्षा र नेपाल

संयुक्त राष्ट्रसंघको डिजिटल इकोनोमी रिपोर्ट–२०२१ अनुसार अधिकांश विश्वविद्यालयले प्रथम सेमेस्टरमा पढाउने ज्ञान र सीप चौथो सेमेस्टरमा पुग्दा ५० प्रतिशत पुरानो भइसक्छ । त्यसो हुँदा अबको दुनियाँमा बाँच्नका लागि वर्ल्ड इकोनोमिक फोरमले ८ वटा सीपहरू (विश्व नागरिक, सिर्जनशील, प्राविधिक, स्व–गति सिकाइ, अन्तरवैयक्तिक, समावेशी, समस्या समाधान तथा सहकार्य र जीवनपर्यन्त सीप) सिक्नुपर्छ भनेको छ ।

चीनले माथिका आठ सीपमा सघाउने र एक पूर्णमानव बनाउने भनी कन्फ्युसियनिजमसँग जोडेर मानविकी शिक्षामा जोड दिएको छ, र उच्च दक्षतायुक्त जनशक्तिका लागि सूचना प्रविधि र अन्वेषणमा लगानी गरेको छ । सिंगापुरले एकीकृत प्रकारको शिक्षा नीति अवलम्बन गरेको छ, जसले बदलिएको परिस्थितिलाई आत्मसात गर्न सक्ने बौद्धिक लचकताको विकास गर्ने अपेक्षा गरिएको छ । अमेरिकाले उच्च तहको सीपका साथमा व्यवहार कुशल सीपहरू सिकाउनका लागि आवासीय विश्वविद्यालयलाई प्राथमिकता दिएको छ । यस्ता विश्वविद्यालयबाट विद्यार्थीले माथि भनिएका आठ सीप सिक्न सहयोग पुग्नेछ भनिएको छ । दक्षिण अफ्रिकाले ‘छिटो आत्मसात, छिटो अनुकूलनको’ नीति लिएको छ, जसबाट परिवर्तित दुनियाँअनुसार आफूलाई अद्यावधिक गर्न सक्ने लचक जनशक्ति उत्पादन गर्ने विश्वास लिइएको छ ।

नेपालको उच्च शिक्षा दुनियाँभन्दा धेरै पछाडि देखिन्छ । अबको विश्वमा सिर्जना हुन सक्ने रोजगारीका क्षेत्रमा आवश्यक पर्ने उच्च दक्ष जनशक्ति उत्पादन गर्ने नीति र लगानी देखिँदैन । बरू बजारबाट छिट्टै प्रतिस्थापन हुने कम दक्षतायुक्त सीप सिकाउने शिक्षामा जोड दिइएको छ । विश्वले २१औँ शताब्दीका सीप सिकाउन ‘लिवरल आर्ट’ मा जोड दिइरहेको अवस्थामा नेपालले शिक्षा नीति–२०७६ मार्फत साधारण धारलाई क्रमशः प्राविधिक धारमा रूपान्तरण गर्ने भनेको छ । र, त्यो प्राविधिक पनि साधारण सीप सिकाउने प्राविधिक हो । विश्व बैंक, एसियाली विकास बैंक र अन्य दातृ निकायहरूले नेपालमा विकसित देशहरूबाट विस्थापित भएका तल्लो तहका सीप सिकाउने गरी परियोजना लिएर आएका छन् । अहिलेको ज्ञानपुँजीलाई आर्जन र विकास गर्ने तागत उच्च दक्षता भएकाहरूमा हुन्छ । कमजोर सीप कमसलै आम्दानी, उच्च सीप उच्चै आम्दानी हुने हुँदा नेपालजस्ता विकासोन्मुख देश कमसल सीपमै भुल्नु उपयुक्त हुन्न । साथै कमसल सीपले पुँजीको काम काम गर्दैन, यो ज्यालामा सीमित हुन्छ । उच्च दक्षता पुँजीकृति हुन्छ, र यसले थप आम्दानीमा सघाउँछ । विकसित भनिने देशले ज्ञानपुँजी आफूसँगै राख्न विश्वका तीक्ष्ण मस्तिष्कलाई आफ्नै देशमा लैजान्छन् । यसो गर्दा हाम्रो उच्च शिक्षाले ज्ञानपुँजीलाई उपयोग गर्न सघाउन सक्दैन, बरू प्रथम विश्वका देशको रणनीतिलाई सफलिभूत बनाउँछ । त्यस्तै अमेरिकाले आवासीय विश्वविद्यालयबाट ‘सफ्ट स्किल’ सिकाइ रहँदा हामीले भएका छात्रवासहरू बन्द गर्दै गएका छौँ । चीनले कन्फ्युसियनिजमलाई र भारतले पूर्वीय दर्शनलाई उच्च शिक्षासँग जोडेर बहुआयामिक जनशक्ति उत्पादन गर्न खोजिरहँदा हामीले हाम्रो मौलिक दर्शनलाई दुत्कार्दै कोरा प्राविधिकको रटान दिएका छौँ । यो उल्टो बाटो हो ।

मानिसको ज्ञान र सिर्जनात्मकता कुनै प्रकारको प्रविधिले प्रतिस्थापन गर्न सक्दैन बरू अझ बढेर जानेछ । नेपालको मूलधन भनेको जनशक्ति हो । यही जनशक्तिले ज्ञानको निर्माण, विकास र विस्तार गर्ने हो । ज्ञानको कुनै सीमा हुँदैन र यसको उत्पादन र विकास गर्ने संस्थाहरूलाई कुनै प्रकारको घेरामा सीमित गर्नु हुँदैन । अब ज्ञानपुँजीको विकासमा राज्यको प्राथमिकता हुनुपर्छ । यसका लागि अनुसन्धान र आविष्कारमा लगानी गर्नुपर्छ । उच्च तहका सीप सिकाउने साथै नयाँ वातावरणमा अनुकूलित हुने उच्च शिक्षामा जोड दिनुपर्छ ।

आचार्य त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक हुन् ।

प्रकाशित : चैत्र १५, २०७९ ०७:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?