२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३७४

दर्कनैपर्ने त्यो पानी !

लोकतन्त्रलाई साँचो अर्थमा आम मान्छेको जीवन रूपान्तरणको ऊर्जामा परिणत गर्न अलि ठूलै मुसलधारे वर्षाको आवश्यकता छ । त्यस्तो वर्षा कहिले होला ? पर्खनुमा रोमाञ्चकता कम, पीडा ज्यादा हुन्छ ।
उज्ज्वल प्रसाई

पानी पर्न खोज्छ, सक्दैन । बादल ड्याम्म लाग्छ, घाम हराएर दिन अँध्यारिन्छ, छाता नबोकी हिँडेका मान्छेहरूका अनुहार कताकति सिमसिम पानीले छुन थाल्छ, तर केही बेरको सुरसार यसै हराएर जान्छ, पानी पर्दैन ।

दर्कनैपर्ने त्यो पानी !

गर्जन डरलाग्दो सुनिन्छ, चट्याङचुटुङ बढ्तै गर्दा पनि, दर्केला भनेको पानी उतैकतै बिलाउँछ । दुई दिनअघि साँझ यस्तै अवस्था थियो, रात परेपछि हुरी चल्यो । इन्द्रबहादुर राईको कथाजस्तो रातैभरि पनि चलेको होइन त्यो हुरी । तर, अब दर्केला भनेको पानी त्यही हुरीले उडाएर सम्भवतः आकाशतिरै फर्काइदियो । दर्के पानीले नबगाएसम्म हिउँदभरि काठमाडौंको हावामा जमेर तैरिरहेको विषाक्त धूवाँले आम मान्छेलाई अस्वस्थ बनाइरहने भयो ।

पानी दर्किन जति सकस मानिरहेको छ, आम मान्छेका जीवनमा लागेका दुःखका बादल फाट्न त्यसभन्दा कठिन भइरहेको छ । महँगीका दाह्रानंग्रा साह्रै बिखालु छन्, लघुवित्तहरूले दिएका दुःख र हैरानीका कहर उस्तै, मिटरब्याज असुल्ने साहुले दिएका धम्की ध्वनि प्रदूषणभन्दा ज्यादा विषाक्त छन् । चामल र दाल, फलफूल र तरकारी, मासु र अण्डा, घरभाडा र गाडीभाडा — सबै पहिलेभन्दा महँगा भएका छन् । बालबालिकाका आवश्यकता दिन–प्रतिदिन बढेका छन्, उनीहरू पढ्ने विद्यालयको शुल्क त्यसरी नै महँगिएको छ । मासिक आय खस्केको छ, व्ययका प्रकार र आयतन भने तनक्क तन्केका छन् । दुःखले जोहो गरेका हजारका एक–दुई नोट घरबाट ननिस्कँदै सकिन्छन् । गोजी रित्याएर घर फर्कंदा झोलामा केही दिनलाई पुग्ने सामल पनि बटुलिएको हुँदैन । दीर्घरोगी भएका घरका कहर सम्झिएर साध्य छैन । सहरको विषाक्त हावाले साबिकमा स्वस्थ र गरिखाइरहेका मान्छेका नाक, कान, घाँटी र फोक्सो नै विषाक्त बनाइदिएर हप्तौंसम्म अस्वस्थ बनाइदिएको छ । तिनका काम अवरुद्ध भएका छन्, आम्दानीमा असर गरेको छ ।

दिन–प्रतिदिन थपिएका मोटर, उसै गरी प्रतिदिन बढिरहेको उपभोगबाट निःसृत फोहोर, प्लास्टिक डढेर निस्केको धूवाँ अनि वरपर फैलिइरहेका इँटाभट्टाबाट अनवरत बगेको मुस्लो ! नदेखिने र सितिमिति थाहा नपाइने प्रदूषणका स्रोत कति होलान् कति ! आम मान्छे सडकमा हुन्छ, वातानुकूलित गाडीमा सयर गर्ने सुविधा उसलाई हुँदैन । घरभित्र हावा सफा पार्ने विद्युतीय ‘एयर प्युरिफायर’ जडान गर्न ऊ सक्दैन । त्यसैले उसैका मुख र नाकबाट सबैभन्दा बढी विषाक्त हावा पस्छ, उसैको घाँटीलाई सबैभन्दा बढी असर पुर्‍याउँछ र उसैको फोक्सो छिटो क्षतिग्रस्त हुन्छ । दुइटासम्म मास्क बेरेर हिँड्दासमेत धूवाँ निलिएकै हुन्छ । बेलुका ठीकै सुतेको मान्छे बिहान उठ्दा घाँटी क्याप्प बनाएर, शरीर कटकटी दुखेर, सास फेर्न गाह्रो भएर अनि ज्वरो आएर काममा जान नसक्ने भएको हुन्छ । पहिल्यै साठी रुपैयाँजति तिरेर किनेको जारको पानी पुनः महँगो एलपीजी बालेर तताउनुपर्ने बाध्यतामा भएको मान्छे अस्पताल धाउन बाध्य बनेपछि, सामान्यजस्तो लाग्ने स्वास्थ्यको गडबडीले हजारका अरू आठ–दस नोटको व्यय गराइदिन्छ । एकातिर काममा अवरोध, अर्कातिर मासिक हिसाबमा नपरेको आकस्मिक खर्च !

अनि आन्दोलन कसले गरिदिन्छ ? यी आम मान्छेका दुःख घटाउन आवश्यक सडक प्रदर्शनमा को सामेल भइदिन्छ ? माइतीघर मण्डलादेखि वानेश्वरसम्म मार्च कसले गरिदिन्छ ? सामाजिक आन्दोलनको उपादेयता बुझेका र किञ्चित् राम्रो आर्थिक अवस्था भएका केही जान्नेसुन्नेहरू अघि लागे पनि आन्दोलनमा जोसजाँगर भर्न, प्रतिरोधलाई साँच्चै प्रतिरोध बनाउन आम मान्छेकै उपस्थिति आवश्यक हुन्छ । आन्दोलनमा जुन मुद्दा उठाउने हो, त्यो खास विषयले जसलाई सबैभन्दा बढी असर गरेको छ, सोही समूहका मान्छे सयौंको संख्यामा सडकमा उत्रँदा मात्रै आन्दोलनको ‘तेवर’ सतहमा देखिने हो । नत्र दुई–चार जना अगुवा मात्रको बलमा न प्रतिरोध प्रभावकारी हुन्छ, न त्यसले सम्बन्धित निकाय वा राज्यबाट उचित सम्बोधन नै पाउँछ । ठूलै प्रदर्शनको ठाँगेले समेत हत्तपत्त नछुने नेतृत्व भएको मुलुकमा दुई–चार दिनको प्रदर्शनले पटक्कै पुग्दैन, आन्दोलन महिनौं लम्बिन्छ ।

काठमाडौंका सडकमा दिनहुँ निस्कने आन्दोलनकारीको सबैभन्दा ठूलो संख्या तिनै आम मान्छेको छ, जसलाई सास फेर्ने शुद्ध हावा र जिउनका लागि सबैभन्दा आधारभूत आवश्यकता पिउने पानी नै सबैभन्दा महँगो भइरहेको छ । विषाक्त हावाले अस्वस्थ बनाएर काममा बाधा पुर्‍याएको छ, सडक प्रदर्शनमा पुग्नैपर्ने बाध्यताले पनि दैनिक कामलाई नै सबैभन्दा बढी प्रभाव पारेको छ । अनि थोरैतिनो कमाइ गर्ने काम छुटाउँदै, ऋण थप्दै, सारा कष्ट सहेर मुस्किलले समय र जाँगर जुटाई तताएको सडकमा सबैभन्दा अघिल्लो पंक्तिको कुर्सीमा बस्न फुत्त एउटा व्यापारी आइपुग्छ । त्यस्तो व्यापारी आइपुग्छ, जसका लोकतन्त्र र समताविरोधी कुत्सित उद्देश्य छन्, जसलाई मौजुदा संविधानका मुख्य लोकतान्त्रिक उपलब्धि र आम मान्छेअनुकूलका प्रावधान नै सबैभन्दा बढी बिझाउने छन् । कुर्सीमा बस्न मात्र होइन, माइक हात पारेर सबैभन्दा उँचो स्वरमा भेला भएका आम मान्छेका दुःखलाई उसैले ठाडो गिज्याउँछ ।

सडकका आम मान्छेले यसरी दुःख भोगिरहेका बेला काठमाडौंमा अर्को एउटा हिंसात्मक प्रहसन मञ्चन हुन्छ- स्वतन्त्र विद्यार्थी युनियन चुनावको तयारी । आन्दोलनको धीमा धुकधुकीसमेत बन्द भइसकेको, सिद्धान्त र विचार निख्रिइसकेको, निष्ठा र सदाचार सकिइसकेको, आम भरोसा र उदात्त उद्देश्यको सामान्य प्रभाव पनि निमिट्यान्न भइसकेको समूहलाई अचेल विद्यार्थी युनियन भनिन्छ । यदाकदा पेट्रोलको भाउ बढेकामा पाखुरा सुर्केर स्वाङ पार्नबाहेक अन्यत्र कतै देखा नपर्ने सोही विद्यार्थी युनियन चुनावको तयारीमा जुट्यो । चुनावको तयारी भन्नु के हो र, पदको हिसाबकिताब र लेनदेन, स्रोतमा पकड जमाउने खेलको रस्साकस्सी, विद्यार्थी अगुवा भनाउँदाहरूबीचका आपसी इबी र ईखको प्रदर्शन ! त्यसैले प्रतिस्पर्धी संगठनहरूका एजेन्डाभन्दा पहिले खुकुरी र लाठी देखिए । बहस र विमर्शलाई उछिन्दै टाउका फुटाल्ने उपद्रोको प्रदर्शन भयो । खुकुरी र लौरा हुँदै प्रहरी र कस्टडीसम्म पुग्दा चुनावको एकसरो तयारी सकिएको खबर आम मान्छेले थाहा पाए । ती विद्यार्थी युनियनका चुनावमा यसभन्दा थप अरू केके विषय थिए कुन्नि, आम मान्छेले सडकमा उराल्दै आएका मुद्दा भने कतै थिएनन् ।

आम सर्वसाधारणको उपस्थितिमा सडकमा भइरहेका दर्जनौं प्रदर्शनमा स्वतन्त्र भनिएका विद्यार्थी संगठनको स्वतन्त्र, बलियो र स्पष्ट उपस्थिति देखिँदैन । जसका भ्रातृ संगठनका रूपमा ती संगठित भएका छन्, तिनै मातृ दलका अगुवालाई आन्दोलनबारे सचेत तुल्याउने कोसिसमा विद्यार्थी नेतृत्व सहभागी हुने सवालै छैन । न यी संगठनले सडकको कुनै विषयबारे आफ्ना कलेज र विश्वविद्यालयका हातामा विमर्श गराउँछन्, न आम विद्यार्थीलाई त्यसबारे जानकार बनाउँदै परिचालन गर्ने कुनै गतिविधि नै गर्छन् । सडक र आम मान्छेबाट चटक्कै काटिएको तर मौजुदा दलहरू र तिनका नेतृत्वको वारेस बनेको जत्थाले गर्ने गतिविधि आन्दोलन हुँदैन । त्यस्ता गतिविधिलाई राजनीति भन्ने हो भने, त्यो यथास्थिति मजबुत बनाउने, अन्यायलाई संस्थागत गर्ने र लोकतन्त्रलाई सर्वथा कमजोर तुल्याउने राजनीति हो । विद्यार्थी राजनीतिका नाममा कथित युवाको सक्रियतामा भइरहेको यो अलोकतान्त्रिक राजनीतिले काठमाडौंको मौजुदा विषालु हावा थप बाक्लो बनाउन मद्दत गरेको छ । युवा भनिने अवधारणालाई आवश्यकताभन्दा बढी रोमाञ्चक बनाइएको नेपाली आमवृत्तका लागि योभन्दा ठूलो विडम्बना अर्को के होला ?

नेपालमा सबैजसो ठूला दल सत्तामा छन् । संघमा, त्यहाँ नभए प्रदेशमा, वा नगर र गाउँमा ती सत्तासीन छन् । के सत्ता, के प्रतिपक्ष, खास फरक अभ्यास नदेखिने दलीय अभ्यास भएको ठाउँमा, दल भन्नु नै सत्ता हो । त्यसैले भ्रातृ भनिने संगठनमा पनि सत्ताकै मात छ, ध्याउन्न स्रोतदोहनकै छ । सामाजिक आन्दोलनको हिस्सा बन्ने, विषाक्त हावा निल्ने बाध्यतामा भएका आम मान्छेसँगै हातेमालो गरेर समाज परिवर्तनमा सहभागी बन्ने अभिलाषा कतै छैन । त्यसैले सत्ताविहीन त केवल आम मान्छे छन् । जो दलमा आबद्ध छैनन्, जो दलमा आबद्ध लघुवित्तमा छैनन्, जो भ्रातृ भनिने कुनै संगठनको लाभ लिने ठाउँमा छैनन्, जो स्वतन्त्र नामधारी दलका रापतापको छेउछाउमा छैनन्, ती सत्ताविहीन छन् । सत्ताविहीनहरू कसिलो गरी संगठित छैनन्, सम्भवतः कहिल्यै हुन पनि सक्दैनन् । ती खुकुलो खाले समूह र प्रायः एक्लाएक्लै परिचालित हुन्छन् र सडकमा आउँछन् । र त्यसैले साह्रै सजिलै र छिटै उपलब्धि हासिल गर्न पनि सक्दैनन् ।

पानी परेको स्वाङ प्रदर्शन हुने, तर पानी नदर्कने थिति कति रहला ? केही बेर मात्रै पनि मज्जाले पानी दर्कियो भने, हावामा भएको विष पखालिने सम्भावना अधिक हुन्थ्यो । किञ्चित् शुद्ध हावा बहेको अलि उज्यालो दिनले आम मान्छेमा श्रम गर्ने उत्साह थपिदिन्थ्यो । वरपरका पहाड हरिया देखिन्थे, हिमालमा बाँकी रहेको सेतो हिउँ टल्कन्थ्यो । अवरुद्ध भइरहेको घाँटी र नाक मात्रै होइन, काम पनि राम्रोसँग चन थाल्थ्यो । दुःख बेहोर्ने सामर्थ्य वृद्धि हुन्थ्यो, सडक प्रदर्शनमा हिँडिरहने जाँगर पनि कायम रहन्थ्यो । फटाहाहरूले हडप्न खोजेको जुलुसको अघिल्लो स्थान, थुत्न खोजेको माइक र आम मान्छेका दुःखमाथि गर्न खोजेको मजाकको दुष्प्रयत्न रोक्ने हिम्मत केही बढ्ने थियो ।

त्यसो त लोकतन्त्रलाई साँचो अर्थमा आम मान्छेको जीवन रूपान्तरणको ऊर्जामा परिणत गर्न अलि ठूलै मुसलधारे वर्षाको आवश्यकता छ । त्यस्तो वर्षा कहिले होला ? पर्खनुमा रोमाञ्चकता कम, पीडा ज्यादा हुन्छ ।

प्रकाशित : चैत्र ३, २०७९ ०७:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?