१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३२

प्रविधिमा महिलाको पहुँच

मीना मरासिनी

काठमाडौँ — युनेस्कोअन्तर्गतको तथ्यांक इन्स्टिच्युटको सन् २०१९ को रिपोर्ट अनुसार, नेपालमा विज्ञान, प्रविधि तथा अनुसन्धानका क्षेत्रमा संलग्न जनशक्तिमध्ये महिलाको हिस्सा ७.८ प्रतिशत मात्रै छ । 

प्रविधिमा महिलाको पहुँच

विश्वमा अनुसन्धानकर्ताहरूमा महिलाको हिस्सा २९.३ प्रतिशत रहेकामा दक्षिण तथा पश्चिम एसियामा यस्तो संख्या जम्मा १८.५ प्रतिशत रहेको उक्त रिपोर्टमा उल्लेख छ । यसबाट बुझ्न सकिन्छ, विज्ञान, प्रविधि तथा नवप्रवर्तनमा नेपाली महिलाहरूको पहुँच र सहभागिताको अवस्था विश्वको औसतभन्दा निकै कम त छ नै, दक्षिण एसियाली क्षेत्रको औसतभन्दा पनि झन्डै आधाले कम छ । विश्व बैंकका अनुसार, विश्वको श्रमशक्तिमा महिलाहरूको सहभागिता ४० प्रतिशत रहेकामा प्रविधि क्षेत्रको श्रमबजारमा भने पुरुषहरूकै वर्चस्व छ । महिला सहभागिताका दृष्टिले गैरप्रविधि उद्योगका तुलनामा प्रविधि उद्योगको अवस्था नाजुक छ र कार्यकारी तहमा त महिलाको सहभागिता २१ प्रतिशत मात्रै छ । विश्वको प्रविधि क्षेत्रमा कार्यरत महिलाले एउटै कामका लागि पुरुषले भन्दा १८ देखि २२ प्रतिशत कम तलब पाइरहेको वर्ल्ड इकोनोमिक फोरमको रिपोर्टले देखाउँछ । अर्को तथ्यांक अनुसार, सन् १९८४ मा विश्वमा कम्प्युटर विज्ञानमा डिग्री हासिल गरेका महिलाको हिस्सा प्रविधि क्षेत्रमा ३७ प्रतिशत रहेकामा अहिले त्यो १८ प्रतिशतमा झरेको छ । विश्वमा इन्जिनियरिङ ग्र्याजुएटमध्ये २८ प्रतिशत मात्र र कम्प्युटर तथा सूचना प्रविधि विषयका ग्र्याजुएटमध्ये केवल ४० प्रतिशत महिला रहेको युनेस्कोले जनाएको छ । त्यस्तै, आर्टिफिसियल इन्टेलिजेन्सका क्षेत्रमा कार्यरत जनशक्तिमा २२ प्रतिशत मात्रै महिला छन् ।

यसले नेपालमा मात्र नभई विश्वका विकसित मुलुकहरूमा समेत विज्ञान, प्रविधि र अनुसन्धानका क्षेत्रमा महिलाको उपस्थिति कम नै रहेको देखाउँछ । पछिल्लो समय नेपालमा महिलाहरू प्रविधि क्षेत्रमा अग्रसर भएको देखिए पनि उद्योग तथा प्रविधिको नेतृत्व तहमा पछि नै छन् । व्यवस्थापनमा महिलाहरू अगाडि भए पनि प्रविधिका पक्षमा पर्याप्त अग्रता लिन सकेका छैनन् । समाजमा अझै पनि महिलाले सूचना प्रविधिसँग सम्बन्धित तथा प्राविधिक काम गर्न सक्दैनन् भन्ने मान्यता व्याप्त छ । सरकारको योजनाबद्ध कार्यक्रम तथा डिजिटल साक्षरताको कमीले अझै पनि यो क्षेत्रमा महिलाहरू पछाडि नै छन् । दुर्गम क्षेत्रमा सूचना प्रविधिको पहुँच कम रहेकाले त्यहाँका महिलाको अवस्था झनै दयनीय छ ।

अहिलेको डिजिटल विश्वमा लैंगिक समानतासँगै महिला तथा बालिकाहरूको सशक्तीकरण र विकासका लागि नवप्रवर्तन, प्रविधि तथा शिक्षाको अहम् भूमिका रहने तथ्यलाई हृदयंगम गर्दै ११३ औं अन्तर्राष्ट्रिय नारी दिवस बुधबार मनाइयो । यो वर्षको नारी दिवसको नारा नै लैंगिक समानताका लागि प्रविधिमा महिलाको पहुँच भन्ने थियो । उक्त नाराले अनुसन्धान, विज्ञान तथा नूतन प्रविधिमा महिलाहरूको सहभागिता र पहुँचबिना समाज तथा राष्ट्रको सर्वांगीण विकास हुन सक्दैन भन्ने यथार्थबोध गरेको देखिन्छ । तर माथि उल्लिखित तथ्यहरूले भने सूचना–प्रविधि तथा उन्नयनको वर्तमान युगमा प्रविधिको प्रयोग र पहुँचमा रहेको लैंगिक असमानता साँच्चिकै भयंकर रहेको देखाउँछन् ।

डिजिटल दुनियाँमा हुने लैंगिक दूरीले आर्थिक तथा सामाजिक असमानता बढाउन भूमिका खेल्छ । यूएन विमेनको एउटा रिपोर्ट अनुसार, डिजिटल दुनियाँबाट महिलाको वञ्चितीकरणका कारण पछिल्लो दशक विश्वका न्यून तथा मध्यम आय भएका मुलुकहरूको कुल गार्हस्थ्य उत्पादनमा १ ट्रिलियन डलर क्षति भएको छ, जुन सन् २०२५ सम्ममा १.५ ट्रिलियन डलर पुग्नेछ । यसबाट के प्रस्ट हुन्छ भने, विज्ञान, प्रविधि, अनुसन्धान तथा नवप्रवर्तनमा महिलाको सहभागिता र पहुँचमा समता कायम गर्न जति ढिलो भयो, हाम्रो पछौटेपन र आर्थिक–सामाजिक दुरवस्थामा सुधार हुन उति नै सकस पर्छ । विश्वमा महिला नेतृत्व भएका प्रविधि कम्पनीहरूको सफलताको दृष्टान्तले देखाउँछ— प्रविधिका क्षेत्रमा अवसर पाए महिलाहरूले प्रभावकारी काम गर्न सक्छन् । सुसन ओज्सिक्कीको नेतृत्वमा युट्युबले पाएको सफलता एउटा उदाहरण मात्रै हो । विज्ञान तथा प्रविधिका क्षेत्रमा नेतृत्व वा काम गर्नु त परै जाओस्, हाम्रो सन्दर्भमा त सामान्य रूपमा आधुनिक प्रविधिको प्रयोगमा महिलाको वञ्चितीकरणलाई हटाउन सक्नु नै महान् सफलता हुनेछ । महिलाहरू प्रविधिमा अभ्यस्त हुन सके समाजलाई सकारात्मक प्रभाव पर्छ, डिजिटलाइजेसन र ज्ञानमा आधारित समाजको निर्माणमा सहयोग पुग्छ । महिलामा भएको सूचना प्रविधिको ज्ञान भावी पुस्ताका लागि समेत फलदायी हुन्छ । सूचना प्रविधिमा पहुँच र डिजिटल ज्ञानले महिलाहरूमा क्षमता विकास र सशक्तीकरण गराउँछ नै, उनीहरूलाई आफ्ना सन्तानहरूको प्रविधि प्रयोगमाथि निगरानी गर्न तथा गलत प्रयोग रोक्नका लागि सक्षमसमेत बनाउँछ । महिलाहरूमा डिजिटल प्रविधिको ज्ञान र पहुँचको सुनिश्चितता भयो भने साइबर अपराध वा इन्टरनेटजन्य हिंसाहरूबाट बच्नका लागि समेत सघाउ पुग्छ ।

विद्यालय तहदेखि नै छात्राहरूलाई सूचना तथा सञ्चार प्रविधिको आधारभूत ज्ञान, यसको बहुआयामिक पहुँच तथा असर, सूचना तथा प्रविधिका फाइदाहरू, यसको दुरुपयोगका सम्भावना तथा जोखिमहरूका साथै साइबर सुरक्षाका विषयमा सीप र शिक्षा प्रदान गर्नु अत्यावश्यक छ । उच्च शिक्षामा छोरीहरूलाई प्राविधिक शिक्षा अध्ययनमा प्रोत्साहित गर्नुपर्छ । देशको हरेक क्षेत्रमा आधुनिक सूचना प्रविधिको पहुँच तथा उपलब्धताका लागि पूर्वाधारको विकास र विस्तारमा सरकारले जोड दिनुपर्छ । जीवनोपयोगी तथा आधुनिक सूचना सञ्चार प्रविधिलाई सुलभ, गुणस्तरीय र सुरक्षित बनाउँदै विद्युतीय अपराधका विषयमा समेत सँगसँगै जनचेतना अभिवृद्धि गर्नुपर्छ । औपचारिक शिक्षामा विज्ञान विषय पढ्न छात्राहरूलाई प्रोत्साहन गर्नुका साथै प्राविधिक तथा व्यावसायिक शिक्षा, अनुसन्धान तथा अन्वेषण, स्टार्टअपको स्थापना र सञ्चालनजस्ता पक्षमा महिलाहरूलाई प्रोत्साहित गर्नुपर्छ । नयाँ पुस्तालाई प्रविधिमा अभ्यस्त बनाउन स्थानीय सरकारहरूले नीति, योजना तथा कार्यक्रम तय गरी पर्याप्त बजेटको व्यवस्था गर्नुपर्छ भने छोरीहरूका लागि शिक्षामा समान पहुँच र गुणस्तरीय शिक्षाको सुनिश्चितता गर्नुपर्छ । पुरुषको सहयोग र आफ्नो प्रयासबाट प्रविधि क्षेत्रमा महिलाको नेतृत्व सम्भव हुने तथ्यलाई ख्याल गर्दै प्रविधि तथा नवप्रवर्तनका क्षेत्रलाई महिलामैत्री बनाउनुपर्छ ।

नेपालको सूचना प्रविधि नीतिले सूचना प्रविधिको पहुँच तथा प्रयोगमा लैंगिक असमानताको अवस्था निराकरण गर्ने, लैंगिक हिंसा रोकथाम तथा निरुत्साहित गर्नका लागि सूचना तथा सञ्चार प्रविधिको सृजनात्मक प्रयोगलाई प्रोत्साहित गर्ने नीति अख्तियार गरेको छ । सूचना तथा सञ्चार प्रविधिको प्रयोगमार्फत युवा तथा महिलालाई राष्ट्रिय नीति निर्माण, योजना तर्जुमा लगायतका प्रक्रियाहरूमा सहभागी गराउने, स्टार्टअप लगायतका इन्क्युबेटर परियोजनामार्फत महिलाहरूमा सूचना तथा सञ्चार प्रविधिका क्षेत्रमा उद्यमशीलता विकास गर्ने रणनीतिसमेत त्यसमा उल्लेख छ । तथापि सरकारी घोषणा, नीति तथा कार्यक्रमहरूमा भनिए अनुसार प्रविधि र नवप्रवर्तनमा महिलाको सहभागिता र पहुँच वृद्धि हुन सकेको छैन । त्यसैले लैंगिक समानता कायम गर्दै न्यायपूर्ण, ज्ञानमा आधारित तथा सभ्य र आधुनिक समाज निर्माणका लागि डिजिटल दुनियाँमा रहेको असमानताको खाडललाई पुर्नु फहिलो सर्त हो ।

प्रकाशित : फाल्गुन २८, २०७९ ०७:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?