२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८०

रुस्दीको बिजोर आँखा

जोसँग कल्पनाशीलताको अभाव छ, ऊसँग सुन्दर सपना सजाउने सामर्थ्य हुँदैन । जोसँग सपनाको सौन्दर्य परख गर्ने क्षमता हुँदैन, ऊ हिंस्रक हुने सम्भावना अधिक हुन्छ । खोमेनीको फतवालाई साँचो र पवित्र ठहर्‍याउनु भनेको कल्पनाशीलताको चरम अभाव हो ।
उज्ज्वल प्रसाई

लेखक सलमान रुस्दीले के देखे जुन कुनै व्यक्ति, समूह वा शक्तिलाई देख्न असह्य भयो वा असम्भव रह्यो ? उनी कुन त्यस्तो उज्यालो जगेर्ना गर्न चाहन्थे जोकसैका लागि बिझाउने भयो ? राम्रा लेखकहरू उज्यालो संग्रह गर्न खोज्छन्, अँध्यारोको पत्र उक्काउने प्रयत्न गर्छन् र सुन्दर सपना जोगाउन चाहन्छन् ।

रुस्दीको बिजोर आँखा

ती सधैं सफल नहोलान्, सधैं उम्दा नठहरिएलान्, कहिलेकाहीँ कतै कमजोरी पनि गर्लान्, तर तिनले न्याय, समता, र स्वतन्त्रताको पैरवी गर्ने कोसिस गरेका हुन्छन् । रूढता चिर्दै र अति सामान्यीकृत चित्र उधार्दै, तिनले जीवनको अर्थवत्ता स्थापित गर्न खोजेका हुन्छन् ।

गत अगस्टको घटना हो, रुस्दीको हत्या गर्ने मनसुबा राखेर उनीमाथि छुरा प्रहार भयो । न्युयोर्कको एउटा कार्यक्रममा भाषण दिन तयारी गर्दागर्दै उनीमाथि चौबीसवर्षे युवकले बारम्बार छुरा प्रहार गरे । आक्रमणपश्चात् लामो समय अस्पताल बसेका रुस्दीले एउटा आँखाको ज्योति गुमाए, उनको एउटा हातले मारक घात बेहोर्‍यो । तीन दशकपहिले इरानी शासक अयोतल्ला खोमेनीले उनको उपन्यास ‘सटनिक भर्सेस’ पढ्नुअघि नै सोही उपन्यास लेखेबापत उनको हत्या गर्ने ‘फतवा’ जारी गरेका थिए । त्यसो त उपन्यास पढ्न नपाउँदै रुस्दी जन्मेको मुलुक भारतका तत्कालीन शासकले सबैभन्दा अघि बढेर उनको उपन्यासमा प्रतिबन्ध लगाएका थिए । खोमेनी–आदेश शिरोपर गर्दै ती युवकले छुरा प्रहार गर्नुअघि रुस्दीले सन् २००३ देखि २०२० सम्म लेखेका साहित्यिक र समालोचनात्मक निबन्धहरूको संग्रह ‘द ल्याङ्वेजेस अफ ट्रुथ’ प्रकाशित भएको थियो भने, आक्रमण बेहोरेर ब्युँझँदा उनको उपन्यास ‘भिक्ट्री सिटी’ प्रकाशन तयारीमा पुगेको थियो । फतवाहरू आए र गए, धम्की र आक्रमण भए एवं ती सकिए । जीवन्त रहे उनका सृजना र स्पन्दन एवं सामर्थ्यसहित फैलिरहे उनका अभिव्यक्ति ।

पछिल्लो संग्रहमा भेला गरिएका निबन्धहरूमा रुस्दीले कल्पनाशीलता नै लेखनका निम्ति आवश्यक मुख्य सामर्थ्य हो भनेका छन् । आफूले जीवनमा जे भोग्यो, ‘अटोफिक्सन’ का नाममा त्यति मात्रै लेख्दा, त्यो साँघुरो, नीरस र नयाँ नहुने भन्दै उनले काल्पनिक उडान भरेका आफ्ना उपन्यासहरूको पैरवी गरेका छन् । एउटा सामान्य परिवारभित्र द्वन्द्वको महाभारत हुन सक्छ, षड्यन्त्रका खुनी प्रयोक्ता वा प्रेमका असाधारण उपासक त्यहाँ हुन सक्छन् । त्यसो त सोही परिवारमा लोसे र नीरस दैनिकी पनि हुन्छ । उनका निबन्ध पढ्दा लाग्छ, उनी नयाँ लेखकलाई सोधिरहेका छन्— साँचो भोगाइका नाममा त्यही दैनन्दिनका सामान्य घटना उतारेर त्यसैलाई साहित्य भन्ने वा सितिमिति सतहमा नदेखिने प्रेम, ईर्ष्या, लोभ वा षड्यन्त्रका महाभारतलाई उच्च कल्पनाशीलता प्रयोग गर्दै कलात्मक ढंगले भन्ने ? सृजनात्मक लेखन अध्यापन गराउने संस्था र शिक्षकहरूले कक्षाकोठामा पनि त्यही लोसे दैनिकीलाई नै प्राथमिकतामा राखेर कथा लेखाएको संकेत गरेका छन् उनले । त्यसैले बजारमा आइरहेका आधुनिक लेखनमा कल्पनाशीलताको अभाव रहेको र ती हजारौंको संख्यामा छापिने पृष्ठमा खास नयाँपन नभएको बताएका छन् । केही समकालीन लेखकका नामै किटेर अटोफिक्सनको सीमितता देखाउने कोसिस गरेका छन् ।

लेखनमा प्रवृत्त हुन चाहने युवातर्फ संकेत गर्दै उनी सोध्छन्, ‘जे जान्दछौ, त्यो लेख भनेर सिकाइन्छ, तर म भन्छु, तिमीले जानेको विषय साँच्चै रुचिकर हुन सक्छ भने मात्रै लेख ।’ साँचो भनेर बेचिएका समाचार, असली र भरपर्दो भनेर फैलाइएका अफवाह र तिनै झुटका भरमा उदाएका शासकहरूले भरिभराउ यो समयमा रुस्दीले साँचो कथाको रेकर्डलाई नै साहित्यिक आख्यान भन्नुको तुक छैन भनिरहेका छन् । लेखकले कल्पनाशीलता प्रयोग नगर्दा समाजमा व्याप्त घाती झुट र भ्रम नै साहित्यका नाममा प्रकाशन हुने भय पो पालेका हुन् कि ? जे होस्, उनी भन्छन्, ‘जे जान्दैनौ, त्यो लेख । त्यसो गर्ने दुई तरिका छन् । पहिलो, घर छोडेर बाहिर निस्केर राम्रा कथा खोज्नु । ... दोस्रो, आख्यान लेख्नु भनेको आख्यानात्मक हुनु हो, त्यसैले आफैं (यथार्थभन्दा भिन्न) नयाँ बनाउनु हो ।’

खोमेनीजस्ता शासकले फैलाएको झुट तीन दशकसम्म पनि सामर्थ्यवान् रह्यो, आफूभन्दा नौ वर्ष जेठो अफवाह पत्याएर चौबीसवर्षे ठीटोले रुस्दीको आँखा फुटाइदियो । लेखक अमिताभ कुमार भन्छन्, ‘जेलमा बसेका बेला किताब पढेर धेरै मान्छे बदलिएका छन्, अहिले जेलमा रहेको त्यो ठिटोले अब रुस्दीलाई साँच्चै ध्यानसँग पढोस् । रुस्दीले निर्माण गरेका किताबी संसार र भरेका काल्पनिक उडान पढोस्, र थाहा पाओस्, खोमेनीको अफवाहले बनाएको यथार्थ संसारभन्दा सुन्दर रुस्दीले देखेको सपना छ ।’ आक्रमणलगत्तै, रुस्दीको सम्मान र आक्रमणको विरोधमा लेख लेख्दै कुमारले भनेका छन्, ‘म भारतको सबैभन्दा गरिब राज्यमा जन्मेको थिएँ, पठनको दुनियाँमा प्रवृत्त नभएको भए सम्भवतः म पनि कतै मारिइन सक्थें, अथवा के थाहा, म आफैं हत्यारा बन्थें कि ?’

केही दिनअघि मात्रै पाठकका हातमा आइपुगेको रुस्दीको उपन्यास ‘भिक्ट्री सिटी’ उनले पैरवी गरेको साहित्यजस्तै इतिहास, कल्पना, र मिथकको सम्मिश्रण हो । उपन्यासमा सन् १३३५ मा स्थापना भएर १५६५ मा पतन भएको विजयनगर साम्राज्यको कथा भनिएको छ । पम्पा कम्पना नामक एक भविष्यवेत्ता एवं कविले लेखेको र साढे चार शताब्दीपछि एक अनुवादकले सो लिखत फेला पारेर कनीकुथी अर्थ लगाउँदै भनेको कथा नै ‘भिक्ट्री सिटी’ हो भनिएको छ । यस उपन्यासको समीक्षा गर्दर् ैकवि जित थाइलले भीएस नयपालले ‘इन्डियाः अ वुन्डेड सिभिलाइजेसन’ जस्ता गैरआख्यान लेखेर जुन सत्य उजागर गर्न सकेका वा चाहेका थिएनन्, रुस्दीले सोही कथालाई प्रचुरतम कल्पनाशीलता उपयोग गर्दै रचेको आख्यानमार्फत बाहिर ल्याएका छन् । थाइल भन्छन्, ‘नयपालको व्याख्यामा उनको दृष्टिक्षितिज साँघुरो देखिन्छ, र उनले इतिहासलाई साँघुर्‍याउन खोजेको बुझिन्छ ।’ रुस्दीको उपन्यासले नयपालको अध्ययनको सीमितता देखाएको अनुभव भयो थाइललाई ।

अर्थात्, रुस्दीले अघिल्लो किताबको एउटा निबन्धमा दाबी गरेझैं कल्पनाशीलताको प्रचुर प्रयोगले भग्नावशेषमा परिणत भएको सत्यको सुन्दर महल सृजना गर्न सम्भव छ भन्ने ‘भिक्ट्री सिटी’ ले प्रमाणित गरेको छ । उपन्यास लेखनका निम्ति रुस्दीले गरेको अध्ययनको प्रचुरता उनको आभारमा उल्लिखित किताबको सूचीले नै संकेत गरेको पनि थाइलले बताएका छन् । आख्यान स्वयं गैरआख्यान र इतिहासको नीरस लिखत बनेकामा गुनासिएका रुस्दीले कल्पनाशीलताको पैरवी मात्र गरेनन्, बरु गैरआख्यानका सीमिततालाई चुनौती दिन सक्ने सामर्थ्य भएको कल्पनाशील उपन्यासको रचना नै गरे । किताबहरूबाट लिइएका सूचना र विश्लेषण, इतिहासका पात्र र घटनालाई प्रशोधन गर्न उनले आफ्नो कल्पनाशीलताको उपयोग गरेकैले उपन्यास गतिलो बनेको थाइलजस्ता समीक्षकको दाबी छ ।

उपन्यासमा दक्षिण भारतको अध्यात्म छ, भारतको मध्ययुगीन इतिहास छ । आम मान्छे र शासकहरू दुवै छन् । देवता र जनावर, वनस्पति र जनावरहरू छन् । अनेक भाषा छन्, काव्य र कलाका विभिन्न रूपको बाक्लै उपस्थिति छ । रुस्दी आफैंले भनेजस्तो, उनी एकैसाथ घरबाहिर निस्केर नयाँ कथा खोज्न भारतका कुनाकन्दरा पुगेका छन्, इतिहासका पत्र उक्काएर हेर्ने कोसिस गरका छन् र आफ्नै दिमागी संसारमा विचरण गर्दै नयाँ कथा र उपकथा बुनेर अनौठो दुनियाँ खडा गरेका छन् । कल्पनाशीलताले उनलाई यथार्थमा रहेको हिन्दुत्ववाद वा खोमेनी–जडताको साँघुरोपनाबाट उम्किने ठाउँ उपलब्ध गराएको छ । त्यसो त नयपालजस्ता विद्वानका चिन्तनका साना गल्छेडा छिचोल्न पनि उनले आफ्नै कल्पनाशक्तिको बढी उपयोग गरेका छन् ।

जोसँग कल्पनाशीलताको अभाव छ, ऊसँग सुन्दर सपना सजाउने सामर्थ्य हुँदैन । जोसँग सपनाको सौन्दर्य परख गर्ने क्षमता हुँदैन, ऊ हिंस्रक हुने सम्भावना अधिक हुन्छ । खोमेनीको फतवालाई साँचो र पवित्र ठहर्‍याउनु भनेको कल्पनाशीलताको चरम अभाव हो । आफैंले नयाँ दुनियाको परिकल्पना गर्न नसक्दा खोमेनीहरूले परिकल्पना गरिदिएको दुनियाँ बनाउन लहडमा लागेका हुन् चौबीसवर्षे हाडी माटर । यद्यपि माटरसँग गरिएको अन्तर्वार्तामा उनले इरान वा त्यहाँको कुनै समूह/शासकसँग आफ्नो सम्पर्क वा चिनजान नभएको बताएका थिए । रुस्दी खराब मान्छे हुन् भन्ने एकसरो बुझाइका आधारमा आफूले योजना बनाएरै प्रहार गरेको र त्यस्तो प्रहारबाट समेत रुस्दी नमारिएको थाहा पाउँदा अचम्मित भएको उनले अन्तर्वार्तामा बताएका थिए । एकसरो अति सामान्यीकृत बुझाइले घर गरेको मस्तिष्कमा सपना उमार्न पनि रुस्दीहरूको कल्पनाशीलताकै सहारा उपयोगी हुन सक्छ ।

अब रुस्दीले बाँकी रहेको एउटा आँखाले संसार हेर्नेछन् र सृजनारत रहनेछन् । बिजोर आँखा भएर के भो, उनले सधैं स्वतन्त्रताको ज्योति जगेर्ना गर्ने कोसिस गरिरहनेछन् । त्यही ज्योति जो उनको हत्या गर्न चाहने ती चौबीसवर्षेहरूलाई सख्त जरुरी छ ।

प्रकाशित : फाल्गुन १९, २०७९ ०८:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?