कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६०

चञ्चले अभ्यास र सहमतिको रटान

सम्झौता भद्र सहमति, अवसर, प्राप्ति र शक्तिको परीक्षा हो । नेपाली राजनीतिको अभ्यासमा भने यो शब्द आफूले उपयोग र उपभोग गर्ने तर पालना गर्नु नपर्ने महाठट्टा बन्ने गरेको छ ।
नरेन्द्रजंग पिटर

भ्रम धेरै शक्तिशाली हुन्छ । दिमागलाई आराम दिएपछि भ्रम र अन्धविश्वासमा जिउनुको भिन्नै मजा आउँछ । अझ ‘ओल्ड इज गोल्ड’ भनेर पश्चगमन स्विकार्ने भीड तयार गर्छ । हरेक घटनाले सार्वभौम सन्देश दिइरहेको हुन्छ । तर वाणी पाउन भने जिज्ञासाले खोजेको तर्कपूर्ण जवाफ चाहिन्छ ।

चञ्चले अभ्यास र सहमतिको रटान

सिद्धान्तको राजनीति सुविधाको राजनीतिमा फेरिएपछि आवारा भीड राजनीतिमा उदाउँछ, तब भविष्यभन्दा पश्चगमनका तर्कहरू कोरलिन थालिन्छन् । एक/दुई व्यक्ति वा संस्थाको कमजोरी र अपराधलाई उरालेर अग्रगमनको मिथ्याकरण र बीभत्सीकरण गर्न थालिन्छ । परिवर्तनमाथि नै सिकार खेल्न प्रयत्न हुन्छ ।

केही दिन पहिला राजनीतिशास्त्री प्राध्यापकको अगुवाइको नेपालगन्जिया ‘राष्ट्रवादी’ अन्तरक्रिया कार्यक्रममा एक ‘प्राज्ञ’ ले भने, ‘संसारमा फेरि पुनर्जागरण काल सुरु भयो ।’ उनको आशय थियो— त्यो विश्वमा फैलिँदो धर्म, भाषा, जाति, रंग र क्षेत्रवादमा खोजिएको उग्र पहिचानवाद र बहुसंख्यकवादको सांस्कृतिक आवरणको वर्चस्ववादी क्रियाकलाप हो । ‘पुनर्जागरण’ काल अर्थात् कर्पोरेटीकरणको राजनीतिमा पर्दै गएको बहुसंख्यवादको सांस्कृतिक वर्चस्ववादी उग्रभावनाको दबदबा ।

राजनीतिमा आवारा भीड र मिडियामा प्रोपगान्डा त्यसका कर्पोरेटी बाछिटा बन्छन् । अहिले विभिन्न आवरणमा पश्चगमन बहस, अन्तरक्रिया र सडकहरूमा देखिँदै गएको छ । मानवीय मूल्यहीन समाज तयार पारिँदै छ । छिमेकमा धर्म र कर्पोरेटको मित्रवादी ककटेल ‘मोडानी’ (मोदी र अडानी) बन्यो । फर्जी सांस्कृतिक राष्ट्रवाद सत्ताको टेको बन्यो । इतिहास हितअनुकूलको व्यवस्थापन गर्ने आधार बन्यो । त्यसैले भारतका प्रसिद्ध व्यंग्यकार हरिशंकर परसाई आवारा भीडबारे भन्छन्, ‘संसारमा जेजस्ता क्रान्ति भए, सामाजिक परिवर्तन भए, तिनमा युवाहरूको सबभन्दा ठूलो भूमिका रह्यो । तर नयाँ पुस्ता अघिल्लो पुस्ताको पतनशीलतालाई स्विकार्छ, किनकि त्यसमा सुविधा हुन्छ । तर, त्यसले कुनै परिवर्तन भने गर्न सक्दैन ।’

म देखिरहेको छु— नयाँ पुस्ता आफ्नो अघिल्लो पुस्ताभन्दा जड र रूढिवादी भयो । यो सायद निराशाले पैदा गरेको भाग्यवादका कारण भएको हो । आफ्नो बाउभन्दा पनि तत्त्ववादी र यथास्थितिवादी । दिशाहीन, बेरोजगार, निराश, नकारवादी, विध्वंसवादी बेकार युवाको भीड खतरनाक हुन्छ । यस्ताको उपयोग खतरनाक विचार र समूहले गर्न सक्छन् । यस्तै भीडको उपयोग हिटलर र मुसोलिनीले गरेका थिए ।

यस्तो भीड धार्मिक उन्मादीको पछाडि लाग्छ । कुनै पनि संगठनको पछाडि लाग्न सक्छ जसले उन्माद र तनाव पैदा गर्न सक्छ । र फेरि, यस्तो भीडबाट जस्तोसुकै विध्वंसात्मक काम गराउन सकिन्छ । यस्तो भीड फासिस्टको हतियार बन्न सक्छ । हाम्रो देशमा भीड बढिरहेको छ । यसको उपयोग पनि भइरहेको छ । भविष्यमा यस्तो भीडको उपयोग सबै राष्ट्रिय र मानवमूल्य विनाशका लागि, लोकतन्त्र नाशका लागि गरिन सक्छ ।

यहाँ पनि त्यस्तै हुँदै छ । पछिल्लो पटक सपना देखाउनेमा थियो— माओवादी अन्दोलन । जब आन्दोलनको चरित्र र आदर्श रहन सकेन तब समाज र युवाहरूले निराश भरएर आवारा भीडमा पहिचान खोज्न थाले । आवारा भीडको आधार आदर्शको विचलन, सपनाको ध्वंस र नायकत्व विघटन हुने गर्छ ।

विश्वास र आशंका एउटै रूखका दुई हाँगा हुन् । आशंकारहित विश्वासले अन्धसमर्थक जन्माउँछ । जब देखेका र देखाइएका सपना ध्वस्त हुन्छन् तब समाज निराशामा धकेलिन्छ । जब नायक खलनायकमा फेरिन्छ, तब प्रतिक्रियाले उब्जाउ जमिन पाउँछ । भीडमा फेरिएका नागरिकले घटनाविशेषको कार्य–कारणलाई जोडेर हेर्दैनन्, बरु अन्धविश्वासमा जिउनु नै हाइसन्चो मान्छन् । त्यसको उत्कर्षका रूपमा राजनीति, सिद्धान्त, पार्टी र मिडियाबारे; अभिजात वर्गले अल्पसंख्यक गर्ने दमन, उत्पीडन र वर्चस्वबारे नकारात्मकता फैलिएर समग्रलाई एउटै डालोमा हाल्ने आवारा भीड देखा पर्छ ।

दहहरूकै कमजोरी र भ्रष्ट चरित्रले गर्दा अहिले इतिहासमा कुनै भूमिकै नभएका र मूल्यै नतिरेकाहरूले पनि लोकतन्त्रबारे लेक्चर दिने मौका पाएका छन् । कर्पोरेट राजनीतिलाई भावना उरालेर भीडमा आवेग भर्न प्रायोजन र लोकप्रियताको आवश्यकता पर्छ । अंशमा टेकेर समग्रमा आक्रमण गर्ने लोकप्रियतावादले विश्वास र सिद्धान्तप्रति आशंका जन्माउन अनिवार्य हुन्छ । सत्ताकामी शक्ति अर्थात् लोकप्रिय मत आवश्यक भएकाले स्वार्थपूर्ण वैचारिक अवसरवादले लोकप्रियताको खेती भीडको आवेग बढाएर गर्छ । तर नियतलाई तर्कले ढाक्न सकिँदैन, अल्पकालमै परिणाममा देखा पर्छ ।

आवारा भीडका लागि धर्म र अन्धराष्ट्रवाद दर्बिला खम्बा बन्छन् । संस्कृतिको टेको नपाउन्जेल धर्म आवेग र अन्य घृणामा फेरिन सक्दैन । सूचना र सञ्चारले विज्ञानमार्फत समाजमा पहुँच बनाउँछन्, तर अहिले अवैज्ञानिक विषयको सौन्दर्यकरण गर्दै जनमानस तयार गर्न मिडिया प्रविधि प्रयोग गरिन्छ । वैश्वीकरणसँगै राम्रा–नराम्रा कुरा स्थानीय रूपमा देखिनु स्वाभाविकै हुन्छ । त्यो हावाले सीमा छिचोल्नु स्वाभाविक हुन्थ्यो ।

चञ्चले राजनीति र नयाँ शक्ति

शक्ति, रूप र धन अत्यन्तै चञ्चल हुन्छन्; कसैले काबुमा राख्नै सक्दैन । तर यिनलाई पाउन, हत्याउन, जोगाउन शक्तिप्रसादहरू भने निरन्तर लागिरहन्छन् । अहंकार, घमण्ड, मैमत्तपन र रिस धेरै भएकाहरूलाई समयले कुनै न कुनै बेला पछारिदिन्छ नै ।

सत्ता–समर्थित भारतीय उद्यमी गौतम अडानी हिन्डेनबर्ग रिसर्चको २४ जनवरी २०२३ को १०६ पाना र ३२ हजार शब्दको खुलासाले गर्दा संसारकै दोस्रो धनाढ्यबाट २५ औं नम्बरमा झरे । आधुनिक मलेसियाका जनक महाथिर महम्मदले ९७ वर्षमा पहिलोपटक चुनाव हार्नुपर्‍यो । रोडेसियालाई आधुनिक जिम्बाबेमा फेर्ने ९३ वर्षीय रबर्ट मुगाबेको, शक्तिप्यास नमेटिएपछि सहयोद्धा वार भेट्रानहरूले नै गलहत्याएको दुई वर्षमै, सिंगापुरमा मृत्यु भयो । रूपकी अप्सरा क्लियोपेट्रा जुलियस सिजर र मार्क एन्थोनीलाई यौनदास बनाएर शक्ति हत्याउने गर्थिन् । तर, मोहपाशमा नपरेका अक्टोभियनका कारण अन्तमा सर्पले टोकाएर आत्महत्या गर्नुपर्‍यो । शक्तिको प्यासले छटपटाएका पूर्वराजा ज्ञानेन्द्र अहिले शासक दलले बढाएको निराशामा च्याँखे थाप्न सकिन्छ कि भनेर नयाँ लोकप्रियताको मार्सीयात्रा गर्दै छन् ।

शासकहरू शक्तिहीन भएर बाँच्नै सक्दैनन् । तर, केही शक्ति भने पुराना शासकको अक्षमता, आदर्शहीन भूमिका, भ्रष्ट चरित्रको प्रतिक्रियाबाट निराश जनमतमा आवेग भरेर लोकप्रिय बन्न सक्छन् । त्यो महत्त्वाकांक्षा राजनीतिक शक्ति बनेर देखिन सक्छ । त्यसैले जनतामा फैलिएको निराशा, आक्रोश, घृणा, अभाव र तनाव, पुराना शासनसँग मोहभंग र प्रतिक्रिया नै लोकप्रियताका आधार बन्न सक्छन् । नयाँ शक्तिहरू त्यस्तै हुन् ।

सिद्धान्त र लक्ष्यहीन लोकप्रियता खहरेझैं हुन्छ । सबैको इतिहासले सबैसँग यात्रा गरिरहेर भविष्यको संकेत र सन्देश दिइरहेको हुन्छ । त्यस्तै इतिहास विश्वास वा अविश्वासको कारक बनिरहेको हुन्छ । सिद्धान्तहीनता नै सिद्धान्त बनाएपछि आफ्नो सोचाइभन्दा अर्काको कमजोरीमा प्रहारमै औचित्य र लोकप्रियता खोज्नु र धान्नुपर्ने हुन्छ । कहाँ पुग्ने, के गर्ने भन्ने लक्ष्य र मार्गचित्र हुँदैन । तब त्यो कसैको पनि हतियारमा फेरिन सक्छन् ।

खहरे कहिलेकहिले मात्रै मडारिने हो, बाढी बनेर फेरि दोहोरिँदैन । खहरेको नियति सुक्नु वा नदीमा मिल्नु हो । जतिन्जेल अस्तित्वमा रहन्छ, नदीमै मिलेर अस्तित्व ध्वस्त पार्छ । केके न गर्ला सोचिन्छ, विध्वंस पार्छ । केही समय नदी पनि प्रभावित हुन्छ, बौलाउँछ । लोकप्रियतामा रमाउने मान्छे प्रतिकूलतामा कतै नदेखिएझैं खहरे पनि हिँउदमा कतै देखिँदैन ।

शक्तिको मात लाग्छ । एकाएक उदाएका नयाँ शक्तिहरूलाई महत्त्वाकांक्षाको व्यवस्थापन गर्ने चुनौती हुन्छ । पूर्वउपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने एकाएक रहस्यात्मक तरिकाले उदाएका राजनीतिकर्मी, प्रतिक्रियाबाट उदाएका लोकप्रियतावादी खेलका खेलाडी र नेता हुन् । उनको हैसियत आक्रोश, अवस्था पत्रकार सम्मेलनमा छर्लङ्ग भयो । उनीसँग रहेको चञ्चल शक्ति टिकिरहन सकेन । उनी अब भूतपूर्व बने । फेरि शक्तिमा पुग्न फलामकै चिउरा चपाउनुपर्नेछ । आफन्तलाई बोझ भयो भने जसको नियति पनि त्यस्तै हुन सक्छ, रूखले पनि पातलाई पत्कर बनाएर मिल्काइदिन्छ ।

एमाले र सरकार

एमालेसँग दुई राजनीतिक जनवर्गीय संगठन छन् । उसले आफूले भन्न नसक्ने र नहुने कुरा तिनीहरूमार्फत नै राख्ने गर्छ । संघात्मकता विरोध रवि लामिछानेमार्फत, धर्मनिरपेक्षताको विरोध र राजतन्त्रको समर्थन राप्रपामार्फत । अझ केन्द्रीय सदस्य दुर्गा प्रसाईंले राजतन्त्रलाई काँधमा बोक्दै निराश मध्यमवर्गको लोकप्रियताको अर्को खेती गर्दै छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहालका समस्या र बोझ सरकारमाथि महासरकार बालकोट राख्नुपर्ने विवशता थियो । त्यो विवशता हल उनले राष्ट्रपति चुनावसम्म मात्रै झेल्नेछन् । सबै संवैधानिक शक्ति सुम्पेर डिजुरे (कानुनी) मात्र भएर डिफ्याक्टो (वास्तविक) नहुने पीडा प्रधानमन्त्री र कांग्रेसले बुझेका छन् नै ।

नेपाली राजनीतिमा सहमतिको अर्थ

नेपाली राजनीतिमा शक्तिहरूबीचको सहमति तोड्नु र तोड्ने पक्षसँग नैतिकताको बिलौना गर्नु भनेको बिलौनालाई राजनीतिक चातुर्य मानिन्छ । नैतिकताको वकालत र अपेक्षा कमजोरले शक्तिसम्पन्नसँग गर्ने दरखास्त मात्रै बन्ने गर्छ । धोका दिएका र पाएकाहरूले फेरि त्यसैसँग अर्को पटक पनि सहमति गरेर धोका खाने नियति बेहोरिरहेका हुन्छन् ।

सम्झौता भद्र सहमति, अवसर, प्राप्ति र शक्तिको परीक्षा हो । तर नेपाली राजनीतिको अभ्यासमा भने यो शब्द आफूले उपयोग र उपभोग गर्ने तर पालना गर्नु नपर्ने महाठट्टा बन्ने गरेको छ । शक्तिमा हुँदा अरू चढ्लान् कि भनेर पहिला सहमतिका झाङ भाँचिदिने र सत्ताहीन भएपछि नैतिकताको तमसुक पछार्ने गरिन्छ । सात दल र विद्रोही माओवादी, एमाले र माओवादी केन्द्र, कांग्रेस र माओवादीबीचका सहमति यस्तै उदाहरण र अभ्यास बने । अहिले फेरि सहमतिले चेतेका प्रधानमन्त्री दाहाल राष्ट्रपति चुनावसम्म पुग्दा पूर्ववर्ती राष्ट्रपतिको भूमिकाले झस्के । उनले विश्वासको मत नपाइन्जेल सरकारमाथिको महासरकार स्विकारे, अब त्यो अवस्था भने रहिरहँदैन ।

प्रकाशित : फाल्गुन १२, २०७९ ०७:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

खेलकुद मन्त्रालयको बजेटले लुडो, चेस र बाघचाल मात्रै खेलाउन सकिन्छ भन्ने युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठको भनाइबारे तपाईंको धारणा के छ ?