३१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

कान्तवतीको अनजान माइती

सीके लाल

जनकपुरमा दुई थरी साहित्यिक जात्रा हुने गरेका छन् । मैथिली विकास कोष (एमडीटी) ले ‘जनकपुरधाम साहित्य महोत्सव’ आयोजन गर्ने गर्दछ । भाषाको प्रमुखताले गर्दा त्यस उत्सवको केन्द्रमा मैथिली कथा, कविता, गीत, संगीत एवं सार्वजनिक विमर्श हुन्छन् ।

कान्तवतीको अनजान माइती

सन् २०१९ देखि सञ्चालित जनकपुर साहित्य महोत्सवले भने वैचारिक छलफललाई बेसी महत्त्व दिन्छ । धेरैजसो प्रस्तोता एवं कतिपय सहभागी काठमाडौंबाट लगिएका हुन्छन् । दर्शक र श्रोता भने प्रायशः स्थानीय हुन्छन् । एक–दुई सत्रको छलफल वा विरल प्रस्तोताको माध्यम मातृभाषा हुने अपवादबाहेक सबै खाले छलफल पनि ‘राष्ट्रिय सम्पर्क भाषा’ मै सञ्चालित हुने गर्दछन् । स्वाभाविक हो, मातृभाषा, पितृभाषा, कर्मभाषा एवं विनिमय भाषासमेत नेपाली नै हुनेहरूको बोलवालाले गर्दा जनकपुर साहित्य महोत्सवको ‘ब्रान्डिङ’ राष्ट्रिय आयोजनका रूपमा हुने गरेको छ । प्रस्तुतिहरूमा विमर्शको प्रधानताले गर्दा ‘राष्ट्रिय’ कार्यक्रमलाई ‘जनकपुर संवाद’ पुनर्नामकरण गर्ने प्रस्ताव पनि आएको थियो । नेपालमा मुद्दाकेन्द्रित बहस (थिम्याटिक डायलग) गर्ने संस्कृति विकसित हुने क्रममा छ । त्यसैले नामै परिवर्तन गरिहाल्ने बाध्यता भने देखिँदैन ।

वाद–विवादबाट संवाद गर्ने परिपक्वतामा पुग्न समय लाग्छ । पूर्वतयारीबेगर मञ्चासीन हुन पुगेका स्वनामधन्य व्यक्तित्वहरू व्याख्यान दिन बढी रुचाउँछन् । उसै पनि संवाद तात्कालिक साहित्य हो भने साहित्य पनि समाजसँग गरिने दिगो संवाद नै त हो । आखिर विलियम सेक्सपियरले भनेझैं, ‘नाममा के नै छ र ? जसलाई सबैले गुलाब भन्छन्, अरू केही नाम दिए पनि सुगन्ध त उस्तै आउने हो !’ तर सायद अंग्रेजी भाषाका सुप्रसिद्ध नाटककार एवं कविको

उद्गारलाई सार्वकालिक मान्न सकिँदैन कि ? श्रव्य–दृश्य माध्यम एवं (अ)सामाजिक सञ्जालको संयुक्त प्रभावले गर्दा लगभग सबै भाषामा शब्दको संकट गहिरिँदै गइरहेको छ । युवाहरू वाक्यगठनमा अलमलिनुको साटो थोरै शब्द र धेरै संकेतात्मक चिह्न (इमोजी ?) प्रयोग गरेर वार्तालाप गर्न रुचाउन थालेका छन् । सामान्यजनका भाव–समुद्रबाट झिकिएका मोतीजस्ता शब्दहरू टल्किन्छन् । तिनको संगीत एवं सौन्दर्यले श्रोता र पाठकलाई अभिभूत तुल्याउँछ । सामान्यजनसँग तिनकै भाषामा लालित्य थपेर संवाद गर्न सक्नेहरूको संख्या दिनानुदिन घट्दै गइरहेको छ । लेखक खगेन्द्र संग्रौलाले सबैखाले साहित्य महोत्सवहरूका सदाबहार नायकको हैसियत त्यसै हासिल गरेका होइनन् ।

विकलताबाट बनेका शब्दहरू वाणजस्ता हुन्छन् र हान्न जान्नेले त्यस्ता वचनलाई कविताको रूप दिएर सोझै पाठकको मुटुसम्म पुर्‍याउँछन् । भावातिरेक अभिव्यक्ति छहराजस्तो भएर झर्छ र शब्दको अन्तर्निहित संगीतलाई समातेको सम्प्रेषणले सुन्नेलाई आनन्दित तुल्याउँछ । कवि सुमित्रानन्दन पन्तको ‘निकल कर आँखों से चुपचाप, बही होगी कविता अनजान !’ विरह मात्र नभएर सबै खाले छटपटीको अभिव्यक्ति हुनुपर्दछ । चिन्तनबाट जन्मिएका शब्दहरू भने पहरो फुटाएर निकालिएका चट्टानजस्ता हुन्छन् । त्यसमा कैद रहेको प्रतिमालाई दक्ष कालिगडले स्वतन्त्र गरेर मूर्तिहरूको सिर्जना गरेजस्तै कथाकार गल्प बुन्छन् । ढुंगा–गिट्टी फुटालेर राजमिस्त्रीहरू आख्यानको महल खडा गर्छन् । सबै खाले शब्दकर्मीहरूको आ–आफ्नै महत्त्व छ । तर व्यास आसनमा विराजमान कथावाचकहरू भने सबै विधामा पारंगत हुने गर्दथे । कतिपय भावको संयोजनका लागि अझैसम्म शब्द पनि उपलब्ध छैनन् । कथावाचकले आफ्नो भावभंगिमाबाट त्यस्ता अभिव्यक्ति सम्प्रेषण गर्ने गर्दछन् । फारसी भाषाबाट उर्दूमा आएको ‘दास्तानगोई’ परम्परा कथावाचनको नाटकीय रूपान्तरणजस्तो देखिन्छ । कथावाचकका लागि प्रयोग हुने उर्दूको शब्द ‘दास्तानगो’ आख्यानिक वक्ताका साथै नाटकीय कर्ता पनि हो । दास्तानगोहरू चाहिएको बखत पटकथाबाट बाहिर निस्किन्छन् । दृष्टान्त सुझाउँछन् । पुनर्व्याख्या गर्छन् । हाउभाउमार्फत संवेग सम्प्रेषण गर्दछन् । उपदेश दिनुको साटो जीवनका जटिलताहरू औंल्याउँछन् । प्रदीप गिरिलाई दास्तानगो नै भनिहाल्न त मिल्दैन, तर उनमा प्राध्यापक, कथावाचक, प्रस्तुतकर्ता वा सार्वजनिक वक्ताभन्दा केही बढी क्षमता जरुर थियो । उनी महागाथाका द्रौपदी वा वैदेहीलाई अर्थ्याउँदा पुरातन मान्यता एवं समसामायिक प्रश्नलाई सँगसँगै राखेर दर्शक–श्रोतालाई मोहित पार्न सक्दथे । फेब्रुअरी २३ देखि २५ सम्म हुन लागेको ‘जनकपुर साहित्य महोत्सव’ को चौथो संस्करणमा कम्तीमा एउटा सत्रलाई प्रदीप गिरिको सम्झनामा समर्पित गर्नु आयोजकहरूको प्रशंसनीय निर्णय हो ।

साहित्य महोत्सवहरूको अर्थराजनीति विवादरहित छैन । आयोजक जोसुकै भए पनि साहित्य महोत्सवहरूका प्रायोजक भने प्रायशः नाफा क्षेत्रका व्यापारिक संस्थाहरू हुन्छन् । तिनले त्यस्तो खर्च आफ्नो कुल आम्दानीबाट छुट्याइएको ‘सीएसआर’ भनिने कर्पोरेट सामाजिक दायित्व कोषबाट बेहोर्छन् । स्वाभाविक हो, त्यस्तो लगानी प्रत्यक्ष रूपमा नाफा क्षेत्रको बजार विस्तारका लागि गरिनुपर्दछ एवं वक्ताहरूको श्रमलाई साहित्य विकासका लागि गरिनुपर्ने योगदान मानिन्छ । प्रकाशकहरू आफ्नो प्रचारका लागि सहभागी हुन्छन् । लेखकहरूका लागि पाठकसँग सोझै सम्पर्क स्थापित गर्ने सबै मञ्च उपयोगी हुन्छन् । नामदार एवं नक्षत्र (सेलेब्रिटिज एन्ड स्टार्स) आफ्नो आकर्षण नवीकरण गर्न लेखक र पत्रकारको सान्निध्यमा पुग्न रुचाउँछन् । पाठकहरूलाई आफ्ना प्रिय लेखकसँग साक्षात्कार गर्ने अवसर मिल्दछ । स्वच्छन्द बजारवादको विचारधारालाई सम्मानित तुल्याउनका लागि एकताकाका ठूलो रकमका पुरस्कारहरूजस्तै आजभोलि साहित्य महोत्सवको महत्त्व बढ्दै गइरहेको छ । पुस्तकको बिक्री बढ्ने, पठन संस्कृति घट्ने एवं लेखकको महत्त्व तिनको कृतिभन्दा पनि कीर्तिबाट नापिने समयमा समसामयिक विषयमा रुचि हुनेहरू चाहेर पनि साहित्य महोत्सवजस्ता जात्राहरूबाट भाग्न सक्दैनन् । प्रदीप गिरि सहभागी भएका साहित्य महोत्सवहरूमा उनको प्रस्तुति दास्तानगोई जत्तिकै चामत्कारिक हुने गर्दथ्यो । सम्झनाहरू आत्मपरक नै हुन्छन् । प्रदीप गिरिलाई स्थापित अर्थमा ‘साहित्यकार’ भनिहाल्न मिल्दैन, तर संवादलाई निरन्तर सिर्जित हुने एवं मेटिँदै गरेको आख्यान मान्ने हो भने उनी दास्तानगोई परम्परालाई निरन्तरता दिन सक्ने अब्बल दर्जाका आशु सर्जक थिए ।

आलोचनात्मक यशोगान

सन् १९९० सम्म प्रजातान्त्रिक आस्था भएकाहरूका लागि प्रदीप गिरि केही रहस्यमय तर चामत्कारिक व्यक्तित्व थिए । नेपाली कांग्रेसका प्रभावशाली राजनीतिकर्मी थिए, कुरा भने मार्क्सवादको गर्थे । गणतान्त्रिक चेतना बढाउनुपर्ने आवाज उठाउँथे, उठबस यथास्थितिवादीहरूसँग भएको देखिन्थ्यो । रुचि र जीवनशैलीमा बुर्जुवा थिए, समाजवादबारे धाराप्रवाह प्रवचन दिन सक्दथे । सन् १९९० पछि उनीसँग दोहोरो कुराकानी हुन थालेपछि मात्र प्रहेलिका सुल्झियो- सन् १९७० पछि गहिरिँदै गएको शीतयुद्धले गर्दा स्तम्भित हुन पुगेका अन्य दक्षिण एसियाली चिन्तक र अभियन्ताहरूजस्तै उनी पनि अलमलिएका थिए । एकातिर हेर्‍यो, अमेरिकाको कोरिया र भियतनामसँगको विनाशकारी युद्ध देखिन्थ्यो । अर्कोतिर नियाल्यो, स्टालिनवादको बिगबिगी र माओवादको सांस्कृतिक क्रान्तिले निम्त्याएको त्रासदीबाहेक केही थिएन । बीचको बाटोलाई इन्दिरा गान्धीको आन्तरिक आपत्कालले चपाउन थालेको अवस्था थियो । केही कालका लागि भए पनि सन् १९८९ तिर ‘विचारधाराहरूको अन्त’ हुने सम्भावना देखेपछि तेस्रो विश्वका विचारकहरूलाई त्राण मिलेको थियो । नजिकसँग चिनेकाले गर्दा होला, उनी बीपी कोइरालालाई आफ्नै पार्टीले खोपीको देउता बनाएकामा प्रसन्न थिएनन् । मलाई ‘भक्तिमार्ग’ बाट निस्केर बीपी कोइरालाको राजनीतिभन्दा साहित्यमा ध्यान दिन सल्लाह दिन्थे । बीपीको जीवन र साहित्य दर्पण–छाया हो भन्ने कुरासँग उनी सहमत थिएनन् । ‘लेखेर देखाउनुस्, अनि मानुँला’ भन्थे । एकपटक त्यसो गर्ने हिम्मत पनि जुटाइएको हो । नेपालका सबभन्दा सक्षममध्येका एक सम्पादकले रातो झन्डा देखाएपछि त्यो पाण्डुलिपि त्यत्तिकै थन्कियो ! चन्द्रमाको चमक सजिलै देखिन्छ । दागमा पनि सहजै आँखा जान्छन् । समीक्षात्मक श्रद्धा विकसित हुन व्यापक अध्ययन, गहिरो चिन्तन सँगसँगै खुलस्त मन्थन पनि चाहिने रहेछ । बीपीले आफैं आफ्नाबारे यति धेरै लेखिसकेका छन् कि, उनलाई थप व्याख्या गर्ने आँट जुटाउन दुस्साहसी नै हुनुपर्दछ ।

सन् २००२ पछि प्रदीप गिरि तत्कालीन अवस्थामा ‘शाही कांग्रेस’ भनिएको राजनीतिक प्रयोगका परिकल्पनाकारका रूपमा देखिएका थिए । उनी एकातिर दमनबाहेक ‘आतंक’ को कुनै समाधान नहुनेमा प्रतिबद्ध सत्तासँग नजिक थिए भने अर्कोतिर माओवादीहरूले उठाएका मुद्दाहरूको सान्दर्भिकतालाई न्यायसंगत पनि ठहर्‍याउने गर्दथे । संकटले वैचारिक विरोधाभासहरूसँग बाँच्न सिकाउँदो रहेछ । तिनताक घण्टौं ढिला हुने हवाई उडानहरूको आकस्मिक नियमितताले गर्दा कहिलेकाहीँ जनकपुर विमानस्थलमा भेट हुन्थ्यो । भित्र कमसेकम शौचालय सफा छ भन्दै उनी चिनेका यात्रुहरूलाई आफूसँगै विशिष्ट व्यक्तिहरूको प्रतीक्षालयतिर डोर्‍याउँथे । संकटकालले गर्दा राजनीतिकर्मीका सेनामेनाले समेत सहजै प्रवेश पाउने चलन नियन्त्रित भए पनि उनलाई रोक्ने हिम्मत कसैले गर्दैनथे । सार्वजनिक प्रवचन गर्नुभन्दा धेरै पहिलेदेखि उनी महागाथाका नारी पात्रहरूको पुनर्व्याख्या हुनुपर्ने कुरा उठाउने गर्दथे । द्रौपदी र वैदेही मात्र होइन, कैकेयीको चरित्रसँग पनि उनको लगाव थियो ।

आफ्नो पुत्रलाई राजाका रूपमा देख्न पाउनु हरेक आमाको कर्तव्य हुन आउँछ । हुन पनि राजधर्मबाट च्यूत भएका दशरथ र मातृकर्मलाई बेवास्ता गरेका युवराजाधिराज रामका तुलनामा कैकेय देशकी राजकुमारी एवं उनकी सेविका मन्थराका स्वाभाविक कर्मप्रति तुलसीदासले रामायणमा न्याय गरेका छैनन् । रातोपन लिएको गौर वर्णकी अप्सराजस्ती सुन्दरी राजकुमारीलाई कैकेय देशका राजाले आफ्नो नाति नै अयोध्याको भावी शासक हुने सर्तमा मात्र दशरथसँग विवाह गराउन स्वीकृति दिएको हुन सक्ने सम्भावना केही व्याख्याताले औंल्याएका पनि छन् ।

सन् २००८ पछिका पहिलो र दोस्रो मधेश विद्रोहलाई उनले सायद ‘निन्दनीय आवश्यकता’ ठहर्‍याएका थिए । मुद्दासँग सहानुभूति भए पनि कांग्रेसका राजनीतिकर्मीलाई आफ्नै जनाधार खस्केको चिन्ता हुने नै भयो । उनी हरेक भेटमा मैले लेख्न चाहेको बीपीसँग सम्बन्धित ‘पुस्तक’ का बारेमा चासो व्यक्त गर्ने गर्दथे । बीपीको र उनका सुन्दरीजलका सहयात्रीबारेको कृति दास्तानगोई विधिमा लेखिएकाले निर्देशकले मञ्चन गर्न आँट्न नसकेको र प्रकाशकले छाप्न योग्य नठहर्‍याएको मेरो ढिपीवाला दाबी सुनेर उनी कति पनि अचम्मित भएका थिएनन् । बनारस हिन्दु युनिभर्सिटी पढेका थिए । उनले उर्दूको ‘हामजानामा’, ‘हातिमताई’ का तिलस्मी कथा, देवकीनन्दन खत्रीको ‘चन्द्रकान्ता’ एवं बेताल भट्टरावको ‘बेताल पच्चिसी’ को प्रसंग झिकेर मेरो सिकारु दर्पको बेलुन निमेषभरमा फुटालिदिएका थिए । एकपटक तत्कालीन गुरुकुल थिएटरमा दास्तानगो शैलीमा आफ्नै रचना पाठ गरेर पाएको तालीको सन्तुष्टि अब सम्झना मात्र रहने भयो । त्यो प्रयत्न खेर गयो भन्नचाहिँ मिल्दैन । आख्यानका लागि चाहिने सीप, उत्प्रेरणा, कलात्मकता एवं प्रस्तुतिको अभ्यास गरेपछि टिप्पणी लेखनको आत्मविश्वास पनि बढ्ने रहेछ । माओवादी विद्रोहका नारी पात्रहरूसँग टिप्पणीकार मात्र होइन, सर्जकहरूले समेत न्याय नगरेको आत्मानुभूतिबाट ‘सपनाको साबिती’ जन्मिएको थियो ।

सन् २०१५ को तेस्रो मधेश विद्रोहपछि भने उनी मेरो नियमित रहेको स्तम्भको विषयवस्तुप्रति केही आलोचनात्मक हुन थालेका थिए । समाजवादबारे लेख्न प्रोत्साहित गर्थे । समसामयिक राजनीतिका पात्रहरूको आलोचनाभन्दा समाजले बिर्सिन थालेका दिग्गज व्यक्तित्वहरूको गाथा लेखिनुपर्ने आवश्यकता औंल्याउँथे । सही अर्थमा नेपाली राजनीतिका एक मात्र गान्धीवादी महेन्द्रनारायण निधि ओझेलमा पुगेकामा उनी दुःख मनाउ गर्थे । इतिहासले ओखलढुंगा र मटिहानीका सहिद एवं बीपीको सशस्त्र क्रान्तिका दीर्घकालीन असरको अध्ययन गर्न नसकेको बताउँथे । त्यस्ता गुनासाहरूभित्र मधेशमा कांग्रेसको भविष्यको चिन्ता सँगसँगै इतिहासबाट केही पनि नसिक्ने विचारनिर्माताहरूको वर्तमान मोहप्रतिको आलोचनात्मक दृष्टिकोण रहेको पनि हुन सक्दछ । इतिहासले त मैथिल कन्या एवं गोर्खाली महारानी कान्तवतीसँग समेत न्याय नगरेको टिप्पणी सुनेर एकछिन् अचम्मित भएर सम्हालिँदै उनले पढ्न चाहेको तर कसैले नलेखेको कथा लेख्न आफैं कस्सिनुपर्दछ भन्ने साहित्यका लागि नोबेल पुरस्कार पाउने पहिलो अफ्रिकी अमेरिकी महिला टोनी मोरिसनको प्रसिद्ध उक्तिलाई केही सच्याउँदै सायद उनले काँकडभिट्टाको कला तथा साहित्य महोत्सवबाट फर्किने क्रममा भद्रपुर विमानस्थलमा सुनाएका थिए । त्यति बेलादेखि नै महारानी कान्तवती मेरो मन र मस्तिष्कबाट निस्किन मानिरहेकी छैनन् । जान सकेको भए जनकपुर साहित्य महोत्सवमा प्रदीप गिरिलाई श्रद्धाञ्जली दिँदै तिलस्मी मैथिल कन्याको छोटकरी कथा बुन्ने धोको थियो, केही अन्य कार्यक्रमसँग समयतालिका बाझिएकाले त्यसो गर्न सम्भव भएन । तर नेपालका इतिहासकारहरूले गोर्खाली दरबारभित्रको शक्तिसंघर्षमा क्षुद्र पात्र ठहर्‍याएकी कान्तवतीको गाथा कुनै न कुनै किसिमले पुनर्कथन गरिने पक्का छ ।

परिकल्पित वृत्तान्त

आफ्ना पितासँग पशुपति तीर्थ गर्न आएकी बाल विधवाको सौन्दर्यबाट आकर्षित, वसन्त ऋतुको असरले गर्दा मोहित एवं कामदेवका वाणहरूबाट आहत राजा रणबहादुर शाहले आफ्नो परिवार, गोर्खाली दरबार एवं धर्मगुरुहरूको विरोधका बाबजुद मैथिल कन्यासँग उनका सबै सर्त मान्ने गरी विवाह गरेको विवेकशून्य व्याख्या नेपालको औपचारिक इतिहासमा दर्ज छ । त्यस्तो कर्मको औचित्य सिद्ध गर्नका लागि गोर्खाली विजेता पृथ्वीनारायण शाहका नातिलाई बौलाहा पनि ठहर्‍याइएको छ । तर, खासमा को थिइन् त कान्तवती ? पुरातत्त्वको प्रमाण छैन । इतिहासविद्ले दस्तावेज भेट्टाएका छैनन् । किंवदन्तीलाई यथार्थ मानेर संन्यासी मततिर आकर्षित हुँदै गरेका राजालाई सनातन धर्मको शुद्धताका शक्तिशाली ठेकेदारहरूले त्रासद खलपात्रका रूपमा चित्रित गरिदिएका छन् । त्यस बखतको चलनअनुसार कान्तवतीसँग विवाह गर्नु रणबहादुर शाहको रणनीतिक निर्णय पनि हुन सक्ने सम्भावनासमेत कसैले औंल्याउने आवश्यकता देख्दैनन् । कान्तवती–रणबहादुरको दुःखान्त प्रेमकथाभित्र काव्यका शृंगार, हास्य, रौद्र, करुण, वीर, अद्भुत, बीभत्स र भयानक सँगसँगै शान्त रस पनि त हुन सक्छन् !

सन् १३२५ तिर सिम्रौनगढबाट कर्णाटवंशीय देवहरूको पलायनपछि हरिसिंह देवको दरबारका ‘ठाकुर’ सामन्तहरू सम्भवतः आफ्नो वफादारी आक्रमणकारी विजेताहरूतर्फ लगेर ज्यान र सम्पत्ति जोगाउन सफल भएका थिए । लुटपाटका बावजुद कर्णाटवंशको उल्लेख्य सम्पत्ति अवसरवादी दरबारियाले लुकाएका हुन सक्दछन् । त्यसपछि दरबारिया ठाकुरहरूमध्येकै ओइनवार वंशले सन् १५५६ सम्म त्यस क्षेत्रमा राज गरेको भनिन्छ । दुई शताब्दीभन्दा बढी निर्बाध शासन गरेपछि सामन्त परिवार पनि सम्राट्जस्तै शक्तिशाली र समृद्ध भएको हुनुपर्दछ । कालान्तरमा मिथिलाको रियासत मुगल शहंशाह अकबर खण्डवाल वंशका महेश ठाकुरलाई सुम्पन्छन् । नियन्त्रण गुमाएको ओइनवार वंशलाई माटोले खायो, पानीले बगायो वा हावाले उडायो भन्ने कुरा कसैलाई थाहा छैन । युद्धमा हारेकी ओइनवार महारानी एवं कविकोकिल विद्यापतिलाई शरण दिने दनुवारहरूको राज बनौली अहिलेको सिरहातिर रहेको चर्चा छ । दरभंगाका जमिनदारजस्तै गढ बनौलीमा पनि मैथिल ब्राह्मणहरूको शासन थियो । कान्तवतीको औसत सौन्दर्य, अद्वितीय तेज एवं ओइनवारको श्रीसम्पत्ति तथा अतुल्य हीरा–जवाहरातको बखान सुनेर महत्त्वाकांक्षी गोर्खाली राजा लोभिएको हुन सक्ने कथालाई नाटकीय प्रस्तुति बनाउन सकिने सम्भावनाबाट प्रयोगधर्मी निर्देशक सुनील पोखरेल पनि जोसिएका देखिन्छन् । हुन त सबै ‘अफसाना’ दास्तानगोई लायक वृत्तान्त ठहरिन्छन् भन्ने छैन, तर कान्तवतीको माइती नखोजी नेपालगाथामा उनको न्यायसंगत स्थान निश्चित गर्न सकिँदैन ।

प्रकाशित : फाल्गुन १०, २०७९ ०७:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

'फेक न्युज' उत्पादन गरी प्रकाशित प्रसारित गर्ने मौलाउँदो प्रबृत्ति नियन्त्रणका लागि मुख्य रुपमा के गर्नुपर्छ ?