२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७८

नायकको खोजीमा निराश समाज

वसन्त महर्जन

नेपाली समाजको चित्रण जतिसुकै विस्तारमा पनि गर्न सकिन्छ । मोटामोटा ग्रन्थ नै पनि तयार हुन सक्छन् । तर वर्तमान नेपाली समाजमा स्पष्ट रूपमा देखिने एउटा चित्र हो- निराशा, हताशा र वाक्कदिक्कको अवस्था ।

नायकको खोजीमा निराश समाज

यो नै पूर्ण चित्र भने होइन । यो चित्रमा छुटाउन नहुने र महत्त्वपूर्ण अर्को चित्र हो- जतिसुकै निराश, हताश र वाक्कदिक्क भए पनि नेपाली समाजले हरेस भने खाइसकेको छैन; रूपान्तरणका लागि प्रयत्नशील छ ।

अलि नजिकबाट नियालेर संश्लेषण गर्ने हो भने त्यही नेपाली समाजभित्र आफू मात्रै निराश र हताश भएको, अरू त ठीकै छन् भन्ने बुझ्ने वर्गको कमी छैन । आआफ्ना ठाउँमा निराश र हताश भएर अवस्थाप्रति तीखो टिप्पणी गर्ने गरिए पनि यसको कारक तत्व कतिपय अवस्थामा व्यक्तिविशेष नै भइरहेको हुन्छ । यो पक्षलाई भने प्रायः उपेक्षा गर्ने गरिएको पाइन्छ । उदाहरणका लागि, राज्यको मानोचामल खाएर कामचोर बन्दै हिँड्नु अथवा चियाखर्च भन्दै दुई–चार हजार वा एक–दुई सय रुपैयाँ घूस खानुलाई आर्थिक भ्रष्टाचार नदेख्नु तर आफ्नै सहकर्मी वा आफूभन्दा माथिल्लो तहका कर्मचारीलाई भ्रष्टाचारी भनेर सत्तोसराप गरेर बस्नु । कर्मचारीले सत्तोपराप गरेको हाकिमको पनि अवस्था उही हो- आफूबाहेक सबैलाई राष्ट्रका गद्दार देख्नु, आफूलाई मात्रै इमानदार र राष्ट्रसेवक देख्नु । यस्ता दृष्टान्तहरू अन्य क्षेत्रमा पनि बग्रेल्ती पाइन्छन्, देख्नु–नदेख्नुको मात्रै फरक हो । आफू निर्दोष छु, दोषी अर्कै छ, सबै अरूले बिगारेका हुन् भनी ठूलै भ्रम पालेर बस्ने अधिकांश निराश नेपाली नै हुन् । अक्षम व्यक्तिलाई नेतृत्व दिएर चुप लागी बस्ने अथवा यो भएन र त्यो भएन भनी टिप्पणी गरेर बस्ने सक्षम व्यक्ति पनि यही वर्गमा पर्छ । अर्थात्, वर्तमान बेथितिमा जिम्मेवार नभएका नेपाली अपवाद मात्रै छन् ।

प्रत्येक समयले आफ्नै नायकहरूको खोजी गर्छ । नायकलाई खोज्न नसक्दा त्यस समयका सर्वसाधारण निराश हुन्छन् । छानिएको नायकमा अपेक्षा राख्नु स्वाभाविक पनि हो तर ठूलै अपेक्षा राख्नुचाहिँ अस्वाभाविक हुन्छ । नेपाली समाज विभिन्न धर्म–दर्शनमा आश्रित छ । सबै धर्म–दर्शनका आआफ्नै कथाकहानी वा घटना–विवरणहरू छन् र यी जम्मैको एउटा साझा विशेषता हो- विभिन्न चरित्र पृथ्वीमा अवतरण हुनु, बडो नाटकीय वा दैवी चमत्कारले पृथ्वीवासीको समस्या समाधान गरिदिनु । ती चरित्रहरूलाई आडभरोसाका रूपमा लिएर पूजा, भक्ति र आराधना मात्रै गर्नुपर्छ; समस्याहरू स्वतः छुमन्तर हुन्छन् ! व्यक्त भनौं वा अव्यक्त रूपमा नेपालीहरूको खोजी यस्तै खाले नायकको हो । बेलाबेला अनेकौं पात्र फेला पर्छन् पनि । र, तीबाट ठूलै अपेक्षा राख्छन् । दैवी चमत्कार नै होस् भन्ने चाहना पनि राख्छन्, आफूले चाहेको समाज निर्माणमा आफ्नो भूमिकाको आवश्यकता भने देख्दैनन् ।

गलत पात्रको चयनपछि उसबाट केही नझर्नु त स्वाभाविकै हो, उल्टो उसबाट नोक्सानी मात्र हुन्छ । केही काम गर्न सक्ने पात्र नै भेट्टिए पनि ऊ असीमित अपेक्षाले थिचिन पुग्छ । यस्तो पात्रले केही गर्न खोज्दाखोज्दै पनि निराश जनताको अपेक्षा तुरुन्तै पूरा गर्न नसक्दा उसमाथि गालीको वर्षा भइहाल्छ र जनता अर्कै पात्रको खोजीमा लागिहाल्छन् । नेपाली समाज लामो समयदेखि यही चरित्रबाट गुज्रिरहेको पाइन्छ ।

हालसालैका केही उदाहरण लिऔं । तत्कालीन राजा महेन्द्रले निर्वाचित सरकारलाई ‘कू’ गरेर निर्दलीय पञ्चायती व्यवस्था स्थापना गरे । यो व्यवस्था परिवर्तन पृथ्वीनारायण शाह वा जंगबहादुरले जस्तो व्यक्तिगत शक्ति विस्तारको चाहनाअनुसार तरबारको आडमा भएको होइन । राणाकालपछि राज्यव्यवस्थामा हालीमुहाली गरेको नेतृत्वले आफूलाई दैवी शक्तिका रूपमा देखायो वा अवतारको खोजीमा रहेकाहरूले नै दैवीकरण गरिदिए, त्यो बेग्लै कुरा हो, तर परिवर्तन भने भएन । यस्तो स्थितिले नेपाली समाजलाई निराश बनायो र त्यसैको आडमा राजा महेन्द्रले सत्ता हत्याए, आफूलाई नायकका रूपमा स्थापित गरे र यो घटना एक मात्रै विकल्प भएको भाष्य बनाए । तर यो भाष्य लामो समय टिकेन । यस्ता अनेकौं घटनाक्रमका कारण राजतन्त्रको अन्त्य तथा गणतन्त्रको स्थापनासम्म भयो । समस्याको मूल जड राजतन्त्र भएको र गणतन्त्रको स्थापनासँगै सबै समस्याको समाधान हुने अर्को भाष्य पनि तयार पारियो ।

नेपाली जनताले ठूलै सम्भावना देखेकाहरूमा एक बाबुराम भट्टराई पनि हुन् तर अर्थमन्त्री हुँदै प्रधानमन्त्री बन्दासम्म उनको व्यक्तित्व साइकलको हावा फुस्केजस्तै भइहाल्यो । निराश समाजले उनलाई नायकका रूपमा हेर्न छाड्यो । अर्को व्यक्तित्व हुन्- गगन थापा । विद्यार्थी राजनीतिबाट उदाएका उनीप्रति नेपाली कांग्रेसका मात्रै नभएर इतर पक्षीय जनताको पनि ठूलै आशा थियो । राम्रै बोल्ने उनी एक समय घरघरमा चर्चाको विषय बन्ने गर्थे, आजभोलि त्यो स्थिति त्यति छैन । विद्यार्थी राजनीतिबाटै उदाएका योगेश भट्टराईप्रति पनि ठूलै आशा राखिएको थियो, जुन चाँडै उड्यो ।

पछिल्लो समय नयाँ नायकको खोजीमा तीव्रता आएको छ जुन गत स्थानीय निर्वाचनमा बढी देखियो । काठमाडौं महानगरपालिकाको मेयर निर्वाचनमा बालेन्द्र शाहको चर्चा सुरुमा त खासै थिएन, तर इन्जिनियरिङ पृष्ठभूमिका उनले जसै काठमाडौंबारे बोले र स्वैरकल्पनाहरू बाँडे, धेरैको ध्यान तानिन थालिहाल्यो । काठमाडौंबाहिरका मतदाताहरू पनि उनको समर्थनमा यसरी लागे, मानौं उनी सबै पालिकाका उम्मेदवार हुन् । उनलाई जिताइयो भने पूरै देशमा रातारात विकास हुन्छ भन्ने कल्पनामा रमाउने जमातको कमी थिएन । उनलाई जिताउन सकियो भने नेपालीहरू रोजगारीका लागि बिदेसिनुपर्ने बाध्यता आउँदैन वा वैदेशिक रोजगारीमा लागेकाहरू पनि नेपालमै बढी आम्दानी हुने भएपछि तुरुन्तै फर्किन्छन् भनेजस्तो गरी हौसिए । उनीप्रति नेपालीहरूको अपेक्षा यति धेरै थियो, त्यसमा मलजल गर्ने काम उनी आफैंले पनि गरे, मीठामीठा सपना प्रस्तुत गरेर । तर उनीसँग स्वैरकल्पनाबाहेक कुनै ठोस योजना र दृष्टिकोण नै नभएको यथार्थ वर्षदिन नपुग्दै छताछुल्ल भयो ।

नायकको खोजीमा भेटिएका अर्का पात्र हुन्- धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राई । सामाजिक अभियन्ताको पृष्ठभूमिका उनले पनि निराश नगरवासीकै भोट पाएका हुन् । निर्वाचनअघिसम्म धरानमै सीमित उनको नाम मेयरमा विजयपछि एकाएक बाहिर पनि सुनिन थाल्यो । उनका प्रायः कुरा पृथक् भएकाले पनि धेरैको ध्यानाकर्षण हुन थाल्यो । गाडी नचढ्ने, कुटोकोदालो बोकेर हिँड्ने उनको दिनचर्याले अन्य नेता तथा पदाधिकारीहरूको विलासी जीवनशैली तथा रबाफबाट आजित भएका देशैभरका जनताको ध्यानाकर्षण गर्‍यो । रमाइलो त के भने, त्यही बेला चिनियाँ राष्ट्रपति सी चिनफिङ कुटोकोदालो बोकिरहेको एउटा तस्बिर प्रकाशन भएको थियो र उनलाई चिनियाँ राष्ट्रपतिसँग दाँजेर वा अवतार नै ठानेर अनेक अभिव्यक्ति दिनमा नेपालीहरूले तँछाडमछाड गरिहाले ।

मेयरको काम, कर्तव्य र अधिकार केके हुन्छ भन्नेमा ध्यान नदिई सस्तो लोकप्रियतामा झुम्नु तथा अन्यत्रका जतनाले पनि धरानको मेयरबाट अपेक्षा राख्नु निराशाको चरम अभिव्यक्ति हो । हर्क साम्पाङलाई देवता नै ठान्नेहरू पनि अब निराशप्रायः भइसकेका छन् ।

पछिल्लो आमनिर्वाचनमा एउटा अभियान थालियो- ‘नो नट अगेन’ । अर्थात्, पुराना उम्मेदवारलाई नजिताऔं, नयाँ अनुहारलाई ल्याऔं । प्रत्येक निर्वाचनमा नयाँ अनुहारसमेत आउनु स्वाभाविक हो, तर यसपालि नयाँ अनुहारलाई जिताऔं भन्ने अभियानले पनि केही काम गर्‍यो । जसरी राजनीतिक दलहरूले आआफ्ना वैचारिक धरातललाई छाडे, निर्वाचनका क्रममा निराश जनताले पनि ती वैचारिक तथा सिद्धान्तका कुरालाई तिलाञ्जली दिए । निर्वाचित कतिपय ‘नयाँ अनुहार’ मा लामो समयदेखिको निराशाको अभिव्यक्ति र आक्रोश मुखरित भएको पाइयो । नयाँ अनुहार त के भनौं, ‘जुन जोगी आए पनि कानै चिरेको’ भनेजस्तो महिनादिन नपुग्दै जनता पुनः निराश भइसकेको देखिनु कुनै उपलब्धि होइन ।

राजतन्त्र फालेर गणतन्त्र ल्याउने र गणतन्त्रसँग पनि तर्किने अरू नभएर उनै निराश र हताश नेपाली हुन् । लामो समयको यो विडम्बनापूर्ण स्थितिको दोष व्यक्ति वा व्यवस्थाविशेषलाई दिएर आफू उम्कन खोज्नु भनेको आफूबाहेक अरू जम्मैलाई दोषी देख्नु हो, पानीमाथिको ओभानो हुन खोज्नु हो । वास्तविकता त के हो भने, झापा वा अन्य जिल्लाका कुनै ठाउँका युवाले रोजगारीको खोजीमा विदेश भौंतारिनुको कारण काठमाडौंका मेयरलाई देख्ने स्तरको अपरिपक्व सोच नै नेपालको दुर्भाग्य हो । यस्तै अर्को दुर्भाग्य हो- समग्र राष्ट्रको चिन्तन गर्ने हैसियतप्राप्त विशिष्ट नेता पनि कुनै गाउँठाउँका ससाना समस्यामा अल्झेर वडा सदस्यजस्तो भएर बस्नु । समस्याको गहिराइबारे चिन्तन नै नगर्ने, समाधानमा आफ्नो

भूमिकाको औचित्य नदेख्ने वा आवश्यक नठान्ने, सबै काम अर्कैले गरिदियोस् भनी अपेक्षा राख्ने तथा आआफ्ना धर्म–दर्शनका अवतरित मिथकीय पात्रहरूजस्तै कुनै नायकले सबै गरिदिनुपर्ने मान्यताले अन्ततः दिने भनेको निराशा नै हो ।

गौतम बुद्धले आफू ‘मुक्तिदाता नभएर मुक्तिमार्ग देखाउने द्रष्टा मात्र भएको र लक्ष्यसम्म जाने–नजाने व्यक्तिको स्वविवेकको कुरा हो’ भने पनि त्यसको मनन नगरी उल्टै मुक्तिदाता नै भन्ठानेर बस्दा निराशा हात लाग्नु स्वाभाविक हो । सबैले कर्म गर्नैपर्छ र कर्म गर्नेको भूमिका हुन्छ । समाज रूपान्तरणमा सबैले आआफ्नो भूमिका निर्वाह गर्ने हो र त्यस्तो गर्ने व्यक्ति नै आफ्नो समयको नायक हुने हो । अलौकिक शक्ति वा कल्पनाको प्रभावबाट मुक्त हुन नसक्ने हो भने नेपाली समाजमा भएको निराश र हताश मनस्थितिमा कमी आउने देखिन्न ।

महर्जन नेपाली इतिहास, संस्कृति र पुरातत्त्वका साथै बुद्धसम्बन्धी अध्येता हुन् ।

प्रकाशित : फाल्गुन १०, २०७९ ०७:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?