२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१०

हातहातका पर्दामा छाउने को हुन् ?

उज्ज्वल प्रसाई

‘खोलामा माछा खोज्दै पुगेका माझीलाई डल्फिनले सघाउँछन् । आकारमा ठूलो र केही सुझबुझ पनि भएको डल्फिनले पानीमा हलचल ल्याउँदै खास गतिविधि गरेपछि साना माछा एकातिर सोहोरिएर आइपुग्छन् । साना माछा थुप्रेको चाल पाएपछि माझीले जाल त्यतै फैलाउँछन् ।

हातहातका पर्दामा छाउने को हुन् ?

पुग्दो माछा बटुलेर ढोक्सामा हालेपछि, डल्फिनले माझीछेउ पुगेर मुख बाउँछ, माझीले एक मुठी माछा डल्फिनका मुखमा हालिदिन्छन् ।’

खोला, माझी र माछाको निकट सम्बन्ध बुझाउन यस्तो कथा हालेका थिए माझी समुदायबारे खोजबिन गर्ने अन्वेषक धनबहादुर माझीले । धनबहादुरकै मुखबाट सुनेको यो कथा लेखक राजु स्याङतानले हालसालै काठमाडौंको एउटा कलेजका विद्यार्थीहरूलाई सुनाए । विद्यार्थीले सोधे, ‘तपाईंले यस्ता कथा बटुलेर लेखेका साहित्य र समाचारले समुदायको थिति बदल्न कत्तिको मद्दत गरेका छन् ?’ स्याङतानले जवाफ दिए, ‘विश्वविद्यालयको यो तहमा विमर्श आइपुगेको छ, बिस्तारै परिवर्तन गर्न मद्दत पुग्ला, आशा गरौं ।’

एमए अंग्रेजीमा साहित्य, दर्शन र संस्कृति विषय पढिरहेका विद्यार्थीसँग स्याङतानको भेट जुराएको उनैको एक निबन्धले थियो । पहिलो पटक नेपालीमा लेखिएको सिन्धुपाल्चोकको बोडगाउँ नामको माझीगाउँका संकटको कथा, अर्का अन्वेषक सबिन निङ्लेखुले अंग्रेजीमा अनुवाद गरे । भन्नैपर्ने जरुरी कथालाई थोरै अन्वेषण, केही अन्तर्वार्ता र भ्रमण, अलिकति लालित्य र समाजलाई बुझ्ने उच्च चेष्टा मिसाएर भन्दा राम्रो साहित्य सृजित भयो । स्याङतान आफैं स्विकार्छन्, अनुवाद गर्ने क्रममा लेखक, अनुवादक र सम्पादकबीच भएका छलफल र त्यसबीच गरिएको मिहिनेतले निबन्ध अझै खारियो । विषयवस्तुलाई राम्ररी छामेर गुदी बटुल्ने र मनग्य समय लगाएर प्रशोधन गर्ने काममा मिहिनेत गरेकाले प्रकाशित भएको कत्ति समय नबित्दै एमएको लेखन सम्बन्धी कोर्समा विमर्शयोग्य मानेर स्याङतान–कृति समावेश हुन पुग्यो ।

सामाजिक सम्बन्धका जटिल पहेली कसरी असल साहित्य बन्न सक्छन् र अहिले उपलब्ध विद्युतीय माध्यममार्फत यस्ता गम्भीर लेखन धेरैको पहुँचमा कसरी पुग्छन् भन्ने उदाहरणस्वरूप विद्यार्थीले स्याङतानको अनूदित निबन्ध पढिरहेका छन् ।

पाठ्यक्रम तयार गर्ने र सामग्री तोक्ने ठाउँमा भएका मान्छेको अध्ययनको चाख विविध र गहिरो भएकाले पनि अखबारमा प्रकाशित निबन्धले कक्षाकोठामा प्रवेश पाएको हो । त्यसो त आफ्नै वरपरका कथा, आफैंजस्ता मान्छेले लेखेको थाहा पाएकाले पनि विद्यार्थीकै अग्रसरतामा स्याङतान स्वयं कक्षाकोठामा पुगेका हुन् ।

कक्षाकोठामा भएको यो विमर्श यहाँ सुनाउनुका दुई तात्पर्य छन्— एक, समाचारकक्षबाट फिल्डमा निस्कँदै समय, स्रोत, श्रम र सृजनात्मकताको लगानी गरेर सामग्री तयार गर्न अत्यावश्यक छ; दुई, अनुवाद, सम्पादन र सामग्री प्रशोधनको प्रक्रिया चुस्त बनाउने उद्यम उत्तिकै जरुरी छ । केही दर्जन शब्दमा ‘फलानोले यसो बताउनुभो, तिलानोले उसो भन्नुभो’ जस्ता सामग्री दिनभरि अपलोड गर्ने र समग्र सामाजिक विमर्श तिनै ‘बताउनुभो’ हरूमा केन्द्रित गर्दा, धनबहादुर र आसमान माझीका जरुरी कथा छुट्छन् । नयाँ पुस्ताका लेखक र अन्वेषक भेला हुने कक्षाकोठाले उपयुक्त सामग्री पाउँदैनन् । आफ्नै वरपरका, आफैंले देख्न र भेट्न सक्ने, आफैंलाई प्रभाव पारिरहेका विषयबारे गहकिला विमर्श गराउने सम्भावना न्यून हुन्छ । अन्यत्रका र परपरका सामग्री जति पनि भेटिने, आफ्नैका कथा भने खोज्दा पनि नपाइने थिति रहे कक्षाकोठामा हुनैपर्ने जीवन्त विमर्श हुन सक्दैनन् । त्यसैकारण, आवश्यक अन्वेषण र लेखनको ठाउँ ‘कामचलाउ’ उत्पादनको नीरस उद्यमले लिन्छ ।

माझीगाउँ घुमेको र सहरका पुलमुनि बास बसेकासँग अन्तर्वार्ता गरेको स्याङतान–अनुभव सुनेपछि अनलाइन पत्रिकामा काम गर्ने एक विद्यार्थीले प्रश्न सोधे— मान्छे र प्रकृतिका यस्ता कथा मजाले खिपेर लेखाउन र सम्पादन गराउन हाम्रा समाचारकक्ष कति सहयोगी छन् ? उत्तर थाहा नपाएर होइन, बरु यसबारे गहकिलो छलफल गर्न सम्भवतः तिनले यो प्रश्न सोधेका थिए । काठमाडौंका अधिकांश समाचारकक्षका लागि सिंहदरबार, बालुवाटार र संसद् भवनबाहेक अरू ठाउँ समाचार उपलब्ध हुने ठाउँ होइनन् । अनलाइन पत्रिकाका पत्रकार र सम्पादकका लागि गाउँ, सहर, गल्लीभन्दा सामाजिक भनिने विद्युतीय सञ्जालका भित्ताहरू बढी सूचनादायी र खबरलायक ‘स्पेस’ हुन् । पत्रकारितामा केही वर्ष बिताइसकेका ती विद्यार्थीको प्रश्न सम्भवतः आफैंले दिनहुँ ‘अपलोड’ गरिरहेका नीरस खबरबाट समेत निःसृत थियो । सञ्चार उद्यमबारे अर्को एक छलफलका क्रममा तिनै विद्यार्थीले दिक्दारी पोख्दै भनेका थिए, ‘कुशल पत्रकारिताको अभ्यासका आधारमा राम्रो लेखक बन्न भनेर गाउँबाट काठमाडौं आएर पत्रकारिता थालेको, केही वर्ष बिताइसकेपछि थाहा पाएँ— म त अपलोडर पो भएछु ।’

एकातिर लेखनशिल्प खिइँदै जानु, अर्कातिर पठनप्रति उदासीनता बढ्नु । एकातिर प्रविधिले पत्रकार नै नचाहिनेजस्तो थिति बनाउन थाल्नु, अर्कातिर भएका पत्रकारले नयाँ र सृजनात्मक केही गर्न नसक्नुले बौद्धिक क्षेत्रमा चुनौती थपिएको छ । सतहमा झट्ट हेर्दा, कहिले सबै सहज भएजस्तो, कहिले एकदमै आत्तिने अवस्था उत्पन्न हुन लागेजस्तो देखिन्छ । तर, गहिरिएर सोच्यो भने सतहभन्दा फरक दृश्य देख्न थालिन्छ । जतिजति आर्टिफिसियल इन्टेलिजेन्समा आधारित प्रविधिको विकास हुँदै जान्छ, त्यति नै नयाँ, खँदिला, साँच्चै अवलोकन र खोज गरिएका एवं जीवन्त भोगाइका सामग्री लेख्न जरुरी छ भन्ने अनुभूति हुन्छ । अर्थात्, धेरैभन्दा धेरै राजु स्याङतानहरूले आफ्ना सृजनात्मकता प्रयोग गर्दै, आसमान र धनबहादुर माझीका जीवन भोगाइका, आदिवासित्वका र उनीहरूका असली संघर्षका नयाँ सामग्री लेख्न जरुरी छ भन्ने बुझिन्छ । ‘क्लाउड’ मा पहिल्यै तयार बनिबनाउ सूचना र सामग्री मात्र त ‘च्याट–जीपीटी’ ले खरखरी लेखिदिने भएकैले स्याङतान–कलममा जाँगर र उत्साह नभरी नहुने अवस्था उत्पन्न भएको छ ।

पत्रकारिता गर्ने र प्राज्ञिक अभ्यास गर्ने संस्थाहरू अहिलेभन्दा बढी जिम्मेवार, जीवन्त र बढी समाज–निकट भए मात्र, प्रविधिले खुलाएका झ्यालबाट उज्यालो पस्छ अनि सृजित नयाँ चुनौतीको सामना गर्न सकिन्छ । प्रविधिले उघारेका झ्यालबाट पसेको उज्यालो नसमेट्दा नयाँ चुनौतीको सामना गर्न सकिन्न । अहिले सतहमा आएका चुनौतीको सामना गर्न नसक्नु भनेको गरिब अझै गरिब हुँदै जानु, पाखा पारिएका मान्छे अझै सीमान्तमा धकेलिँदै जानु, अन्यायको तह अझ गहिरो र जटिल बन्दै जानु, र पर्यावरणीय क्षतिको तीव्रतामा घनघोर वृद्धि हुनु हो । बचेखुचेको लोक अधिकार र लोकतन्त्रको धुकधुकी धीमा हुँदै जानु हो । यसअघि कहिल्यै नभोगेका र नदेखेका संकटका अनेक रूपको सामना पनि बहुसंख्यक मानिसले गर्नुपर्ने थिति आउनु हो । ससाना कक्षाकोठामा भएका विमर्श फैलिएर व्यापक बन्न सके केही जरुरी हस्तक्षेप हुन सक्थ्यो । मसिना प्रयत्नले बिस्तारै व्यापक आकार लिने सम्भावना हुन्थ्यो ।

विद्यमान थिति भने निको छैन । सामाजिक आन्दोलनका अवस्था हेरौं वा पत्रकारिता र प्राज्ञिक क्षेत्रका गाह्रा–साँघुरा सम्झौं, नयाँ चुनौतीको सामना गर्न सक्ने क्षमताको अल्पता टड्कारो देखिन्छ । आन्दोलन, पत्रकारिता र प्राज्ञिकतामा स्याङतानहरूको आवाज र लेखन अझै किनारामै छ । अखबारका पानाभरि ती आएका भए पनि, आम विमर्शमा पुगेका छैनन् । तिनले गर्न खोजेको विमर्श साह्रै धीमा र सानो छ । आवाज कसको ठूलो छ ? हातहातका साना र भित्ताका ठूला पर्दामा को बढी छाएको छ ? कसका गफ सबैभन्दा धेरै बिकेका छन् ? कसका भविष्यवाणी र हाँक पत्याएर मान्छे लोकतन्त्रलाई गाली गरेर बसेको छ ? गणतन्त्र, संघीयता र समताका आकांक्षालाई त्याज्य ठानेर हिँडेको छ ? कसको फजुल गफले जनहितका असली सवाललाई ओझेल पारेको छ ? नाम किट्न जरुरी छैन । जगजाहेर छन् अनुहार र घटना, बोली र नारा । जोजो बिकेका छन् र जेजे फैलिएका छन्, तिनका बलमा उदाउने भनेका अदूरदर्शी तानाशाह हुन् ।

प्रकाशित : फाल्गुन ५, २०७९ ०७:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?