२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१९

फेरि मास्कको आवश्यकता

२०१९ डिसेम्बरमा सुरु भएको कोभिड संक्रमण २०२३ लागि सक्दा पनि पूर्ण रूपमा नियन्त्रण हुन सकेको छैन । कोरोनाको नयाँनयाँ भेरिएन्टले मानिसलाई आक्रान्त बनाइराखेको छ । कोभिडले समग्र मानव समाजका साथै अर्थतन्त्रलाई समेत असर गरेको थियो ।

फेरि मास्कको आवश्यकता

कोभिडकै कारण हालसम्म विश्वभरि करिब ६६ लाख मानिसले ज्यान गुमाइ सके । लकडाउन तथा स्वास्थ्य क्षेत्रमा भएको अत्यधिक खर्चका कारण नेपालको अर्थतन्त्रमा समेत यसको असर परेको थियो । अहिलेसम्म पनि अर्थतन्त्रमा सुधार आउन सकेको छैन । लकडाउनमा सुस्ताएको व्यापार–व्यवसाय अझै फस्टाउन सकेको छैन ।

कोभिड नियन्त्रणका लागि विशेष स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाइनुका साथै यसविरुद्धको खोप लगाउने कार्यलाई विश्वभरि प्रभावकारी रूपमा सञ्चालन गरिएको थियो । नेपालमा पनि अधिकांश व्यक्तिले खोप लगाएको तथ्याङ छ । ‘बुस्टर डोज’ लाई बेवास्ता गरिए पनि करिब ९५ प्रतिशत जनसंख्याले दोस्रो डोज लगाइसकेका छन् । बुस्टर डोजको प्रभावकारिताबारे जनमानसमा त्यति जानकारी नभएको कारणले पनि होला यो करिब ३८ प्रतिशत मासिनले मात्र लगाएका छन् । हुन त सरकारले स्थानीय तहमा बुस्टर डोजको उपलब्धता सुनिश्चित गरेको छ । सर्वसाधारणले पनि यो लगाएमा कोरोना भाइरसविरुद्ध पूर्ण रूपमा नभए पनि प्रभावकारी सुरक्षा हुन सक्छ भनेर बुझ्नु जरुरी छ । यो नलगाएका मानिसमा तुलनात्मक रूपमा उक्त भाइरसविरुद्ध प्रतिरोधात्मक क्षमता विकास निकै कम हुन्छ ।

कोरोनाको भेरिएन्ट विश्वभर फैलिने क्रम यद्यपि जारी छ । विभिन्न भेरिएन्टमा अन्य मानिसमा सार्न सक्ने क्षमता र कति छिटो सार्ने भन्ने पनि फरक–फरक हुने गर्छ । साथै रोगको जटिलतासमेत भिन्न हुने गर्छ । ओमिक्रोन भेरिएन्टका विभिन्न सबभेरिएन्टको प्रभाव बढ्दो छ । पछिल्लो समय द्रुत गतिमा अरूमा सार्न सक्ने ‘बीएफ.७’ सबभेरिन्ट फैलिँदै गएकाले विश्वभरि विभिन्न देशले सुरक्षाका मापदण्ड अपनाउन थालेका छन् । ‘बीएफ. ५’ को तुलनामा ‘बीएफ. ७’ ले तीन गुणा बढी संक्रमण फैलाउन सक्ने क्षमता रख्छ । यसले १ व्यक्तिबाट १८ व्यक्तिसम्ममा सार्न सक्ने विज्ञहरूले बताउँदै आएका छन् । तर, यो सबभेरिएन्टको संक्रमणले अन्य भेरिएन्टजस्तै सामान्य रुघाखोकी, श्वासप्रश्वासमा समस्या, अलस्यता तथा जीउ दुख्ने हुन्छ । यसको कुनै नवीन लक्षण नरहेको समेत जनाइएको छ । संक्रमण सार्ने तीव्र क्षमता भएकाले स्वास्थ्य सुरक्षाका आधारभूत तरिका उपनाउनु जरुरी छ ।

नेपालमा ओमेक्रोनका ‘एबी’, ‘बीए’, ‘बीएन’, ‘बीक्यू’, ‘बीवाई’, ‘एक्सबीबी’ सँग सम्बन्धित विभिन्न सिक्वेन्सका सबभेरिएन्ट रहेको पुष्टि गरिएको छ । त्यसैले पनि सतर्क हुनु जरुरी छ । संक्रमितलाई यसले सिकिस्त नपारे पनि दैनिक जीवन तथा व्यक्तिको आर्थिक पक्षसमेतमा यसले प्रभाव पार्ने भएकाले पूर्ण रूपमा खोप नलगाएकाहरू अझ बढी सतर्क हुनु जरुरी छ ।

छिमेकी चीन र भारतमा बढ्दो संक्रमणका काराण सुरक्षा मापदण्डका तरिका अपनाउन अपिल गरिएको छ । नेपालमा हालसम्म ‘बीएफ.७’ भेरियन्ट नभेटिए पनि खुला सीमाका कारण जुनै पनि बेला फैलन सक्ने जोखिम छ, फौलिसकेको पनि हुन सक्छ । सीमामा निगरानीका साथै यसबाट बँच्ने सबैभन्दा सजिलो उपाय मास्कको नियमित प्रयोग नै हो । कोरोना संक्रमण रोक्न कम खर्चमै निकै प्रभावकारी मानिएको मास्कको फाइदाबारे नागरिक सुसज्जित हुनुपर्छ । एन–९५ नभए पनि सामान्यतया ५ देखि १० रुपैयाँमा पाउने सर्जिकल मास्क नै लगाए पनि धेरै सुरक्षित भइन्छ । भविष्यमा हुन सक्ने अनावश्यक खर्चबाट पनि जोगिन सकिन्छ । मास्क लगाउँदा आफूमा सर्ने खतरा त टर्छ नै, अन्य व्यक्तिमा सार्ने जोखिम पनि न्यून हुन्छ । अर्को भाषामा, यसले उपचारका क्रममा हुने अनावश्यक खर्च जोगाएर अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पार्नेछ । कोरोना संक्रमणबाट मात्र होइन अन्य संक्रामक रोग, धूवाँधूलोबाट बच्नसमेत मास्क लगाउन किञ्चित् संकोच मान्नु हुन्न ।

अन्तमा, मास्क लगाउनुका साथै सबभेरिएन्टबाट जोगिन भौतिक दूरी पनि कायम राख्नुपर्छ । त्यसो त ओमिक्रोनका सबभेरिएन्टविरुद्ध नेपालीमा प्रतिरोधात्मक क्षमता विकास भइसकेको तर्क पनि गरिन्छ तर संक्रमणबाट जोगिने सामान्य उपाय अपनाउन लापरबाही गर्नु हुन्न । सरकारले समेत स्वास्थ्य सुरक्षाका मापदण्ड पालनामा कडाइ गर्नु जरुरी छ । अहिलेको अवस्थालाई सामान्य रूपमा लिएर लापरवाही गर्नु हुन्न । सबै सचेत रहनुपर्छ ।

चिकित्सक साह जिल्ला अस्पताल, सुनसरीमा कार्यरत छन् ।

प्रकाशित : पुस १९, २०७९ ०७:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

'फेक न्युज' उत्पादन गरी प्रकाशित प्रसारित गर्ने मौलाउँदो प्रबृत्ति नियन्त्रणका लागि मुख्य रुपमा के गर्नुपर्छ ?