कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

तलब बृद्धि र भत्ता माग्दै कर्मचारीले आन्दोलन गर्दा संसद् बैठक स्थगित

काठमाडौँ — प्रतिनिधिसभाको बुधबारको बैठक स्थगित भएको छ । संघीय संसद्का कर्मचारीले आन्दोलन गरी प्रतिनिधिसभाको बैठकको कामकारबाहीलाई अवरोध गरेपछि स्थगित भएको हो ।

तलब बृद्धि र भत्ता माग्दै कर्मचारीले आन्दोलन गर्दा संसद् बैठक स्थगित

मन्त्रालयगत विनियोजनमाथि सांसदहरूले उठाएका प्रश्नको स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप यादवले जवाफ दिएका थिए । त्यसपछि सांसदहरूले पूरक प्रश्न सोध्ने क्रम सुरु भएको थियो । पूरक प्रश्न सोधिरहेको बेला संसद्का कर्मचारीले आन्दोलन गरी सदनको प्रत्यक्ष प्रशारण गर्ने क्यामेरा सभामुख देवराज घिमिरेतिर मात्रै सोझ्याएका थिए । प्रश्न सोध्ने सांसदहरूलाई भने प्रत्यक्ष प्रशारणमा देखाइएको थिएन ।

लामो समय सभामुख घिमिरेलाई मात्रै प्रत्यक्ष प्रशारणमा देखाएपछि सांसदहरूले प्रश्न गरेका थिए । कांग्रेस सांसद रामहरि खतिवडाले कर्मचारीले 'ब्ल्याक आउट' गरेको अवस्थामा सदनको कारबाही अगाडि बढाउन नहुने बताएका थिए ।

सभामुख घिमिरेले सांसदका पूरक प्रश्न नसकिँदै र मन्त्री यादवले जवाफ दिन नपाउँदै संसद्को बैठक स्थगित गरिदिएका हुन् । सभामुखले बिहीबार ११ बजे बस्ने गरी प्रतिनिधिसभा बैठक स्थित भएको जानकारी गराएका थिए ।

संघीय संसद्का कर्मचारीहरूले पछिल्लो समय तलब बृद्धि, आवास भत्ता, कार्यालय समयभन्दा बढी काम गरेको भत्तालगायतको माग गर्दै आएका छन् । सांसदहरूले भत्ता पाउने तर कर्मचारीले नपाउने भन्दै कर्मचारी आन्दोलनमा उत्रिएका हुन् ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा मन्त्रालयगत विनियोजनमाथि उठेका प्रश्नको ८ मन्त्रीले जवाफ दिने कार्यसूची थियो । तर कर्मचारीको आन्दोलने एउटा मन्त्रीले पनि जवाफ दिन सकेनन् ।

स्वास्थ्य, वन,शिक्षा, श्रम, सहरि विकास, रक्षा, खानेपानी र महिला मन्त्रीले मन्त्रालयगत विनियोजनमाथिको छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने कार्यसूची रहेको थियो ।

प्रकाशित : असार ५, २०८१ १८:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

हमाससँग युद्ध गरिरहेको इजरायलमा ८ सय नेपाली कामदार (केयर गिभर) पठाउने सरकारको तयारीबारे तपाईंको राय के छ ?

×