कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

उद्धार गरिएकी ‘धर्मपुत्री’ मनकला आमासँगै बसेर पढ्दै

मनकलाका बारेमा समाचार प्रकाशन भएपछि थुप्रै मनकारीले उनको परिवारलाई सहयोग गरे । रोटरी क्लब अफ कान्तिपुरका पूर्वअध्यक्षसमेत रहेका रोटरियन प्रभात योञ्जनले पढ्न लाग्ने मासिक ५ हजार खर्च आफूले बेहोर्ने जिम्मा लिएका थिए । अचेल मनकला आमा जमनासँगै सदरमुकाममा डेरामा बसेर स्कुल पढ्छिन् ।

बझाङ — सदरमुकाम चैनपुरस्थित बाल मन्दिर आधारभूत विद्यालयको बालकक्षामा शुक्रबार पुग्दा मनकला साथीहरूसँग दिवा खाजा खाँदै थिइन् । खाजा खाइसकेपछि नजिकैको धारामा पुगिन्, थाल पखालिन्, अनि साथीहरूसँग चौरमा खेल्न पुगिन् । 

उद्धार गरिएकी ‘धर्मपुत्री’ मनकला आमासँगै बसेर पढ्दै

एकैछिनमा घण्टी बज्यो, साथीसँगै उनी पनि कक्षामा छिरिन् । शिक्षिका पूजा विष्टले मनकलातिर हेर्दै सुनाइन्, ‘साथीहरूसँग छिट्टै घुलमिल हुने र पढाएको कुरा पनि टिपिहाल्ने खालकी छन् ।’ मनकला तिनै बालिका हुन्, जसका बारेमा २०७९ पुस १६ मा ‘जब धर्मपुत्री अयोग्य बनिन्’ शीर्षकमा कान्तिपुरमा समाचार छापिएको थियो ।

०७९ मंसिरमा काठमाडौंका खरेल थरका एक व्यापारीले ३ वर्षीया मनकलालाई गैरकानुनी तरिकाले धर्मपुत्री बनाउन काठमाडौं लगेका थिए ।तर बालिकाको उमेरअनुसार शारीरिक तथा मानसिक विकास नभएको, कुपोषित र सुस्त मनस्थिति भएको भन्दै उनलाई केही दिनमै फिर्ता पठाइयो । घरमा आठ छोरी पाल्न गाह्रो भएपछि आमा जमनाले मनकलालाई धर्मपुत्रीका रूपमा धनाढ्य व्यापारीको जिम्मा लगाएर पठाइदिएकी थिइन् ।

मनकलाका बारेमा समाचार प्रकाशन भएपछि थुप्रै मनकारीले उनको परिवारलाई सहयोग गरे । रोटरी क्लब अफ कान्तिपुरका पूर्वअध्यक्षसमेत रहेका रोटरियन प्रभात योञ्जनले पढ्न लाग्ने मासिक ५ हजार खर्च आफूले बेहोर्ने जिम्मा लिएका थिए । अचेल मनकला आमा जमनासँगै सदरमुकाममा डेरामा बसेर स्कुल पढ्छिन् । ‘महिनामा पाँच हजार काठमाडौंबाट प्रभात सरले पठाउनु हुन्छ, मैले पनि यहाँ काम गरेर पाँच/छ हजार कमाइ रहेकी छु,’ जमनाले सुनाइन्, ‘कोठा भाडा तिर्न र खान पुगेकै छ ।’

जमनाले दिउँसो स्थानीयको घरमा सरसरफाइको काम गर्छिन् भने अर्की छोरी प्रतीक्षा बिहान–साँझ चिया पसलमा काम गर्दै आमासँगै बसेर पढ्दै आएकी छन् । जमनाले योञ्जनको सहयोगमा नै सदरमुकाममा बसेर छोरीहरू पढाउन सम्भव भएको बताइन् । उनले गरिबी र बाध्यतामा परेर धनीका घरमा पठाएपछि राम्रो खान, लगाउन पाउली भनेर छोरीलाई काठमाडौं पठाएको बताइन् । भनिन्, ‘हामी छकाल बासा (बिहान–साँझ) निकोरी (राम्ररी) खान नपाउने मान्छे, चैनपुरमा छोरी पढाउने सोचेको पनि थिएनौं । उहाँले सहयोग नगरेको भएको यहाँ पढाउने आँट नै आउने थिएन ।’

सुस्त भनेर छोरीलाई फिर्ता पठाउँदा त्यतिबेला निकै दुःख लागेको बताउने मनकलाले अहिले आफ्नो छोरीको पढाइ देखेर खुसी लाग्ने गरेको सुनाइन् । ‘लाटी भनेर फर्काएकी छोरी, अहिले त सबैभन्दा बाठी छ भन्छन्, सर/मिसहरू पनि खुसी हुनुहुन्छ,’ उनले भनिन्, ‘छोरी पहिलाभन्दा हृष्टपुष्ट र फुर्तिली पनि भएकी छ ।’

मष्टा गाउँपालिका–७, लटौन गाउँका जोगगिरी बोहराले पहिलो श्रीमतीबाट ६ वटी छोरी जन्मिएपछि छोराका लागि भन्दै जमनासँग दोस्रो विवाह गरेका थिए । बिहेपछि जमनाबाट पनि तीन छोरी जन्मिए । नौ छोरीमध्ये एक छोरीको बिहे भइसकेको छ । जमनाका अनुसार दुई छोरी काम गर्दै पढ्नका लागि काठमाडौंमा छन् । दुई छोरी बझाङ चैनपुरस्थित स्वास्थ्यकर्मीको घरमा बसेर पढिरहेका छन् । ‘दुई छोरी मसँगै छन् भने बाँकी दुई छोरी सौतासँग गाउँमा छन्,’ जमनाले भनिन्, ‘अर्को वर्षबाट गाउँकी छोरीलाई पनि यतै ल्याएर पढाउने सोचमा छौं ।’

जोगगिरीले भने, ‘चिया पसलमा काम गर्ने छोरीलाई पनि यही वर्षबाट हामीसँगै राखेर पढाउने छौं ।’ उनले काठमाडौंमा र स्वास्थ्यकर्मीको घरमा पढिरहेका छोरीको पढाइ राम्रो भएकाले उतै राखेर पढाउने बताए । आर्थिक अवस्था नाजुक भएका कारण छोरीहरूलाई अरूको घरमा पठाएर पढाउनुपरेको सुनाउँदै उनले भने, ‘सक्ने भए आफूले जन्माएका छोरी अरूका जिम्मा किन लगाउँदा हुँ ?’

मनकलाले राम्रोसँग पढिरहेको र उनको स्वास्थ्य पनि पहिलाभन्दा सुधार भएकाले आफू निकै खुसी भएको मनकलाको परिवारलाई सहयोग गरिरहेका प्रभात योञ्जनले बताए । ‘पहिला र अहिलेको मनकलाको शारीरिक विकास देख्दा, स्कुलमा उसले गरिरहेको गतिविधिको भिडियो हेर्दा निकै भावुक भएँ,’ योञ्जनले भने, ‘उनमा आएको परिवर्तन र अनुहारमा देखिएको मुस्कानले खुसीको आँसु नै झर्‍यो ।’

उनले मनकला पढिरहेको, विद्यालयमा खेलिरहेको भिडियो परिवारमा देखाउँदा र उनको विगतको कथाभन्दा परिवारका सदस्य पनि भावुक भएको सुनाए । मनकलाको पढाइका लागि आफूले निरन्तर सहयोग गर्ने बताउँदै उनले भने, ‘अहिले गरिरहेको सहयोग निरन्तर गर्ने नै छु । उनको परिवारलाई थप सहयोग कसरी गर्न सकिन्छ, त्यसबारेमा पनि सोचिरहेको छु ।’

प्रकाशित : असार ५, २०८१ ०६:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

हमाससँग युद्ध गरिरहेको इजरायलमा ८ सय नेपाली कामदार (केयर गिभर) पठाउने सरकारको तयारीबारे तपाईंको राय के छ ?

×