कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

युरोपमा नेपाली एयरलाइन्समाथिको प्रतिबन्ध हटाउन जर्मनीसँग राष्ट्रपतिको आग्रह

काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलले युरोपेली आकाशमा नेपाली एयरलाइन्समाथिको प्रतिबन्ध हटाउन जर्मन सरकारसँग आग्रह गरेका हुन् । जर्मनी भ्रमणका क्रममा राष्ट्रपति पौडेलले जर्मन समकक्षी फ्रयांक वाल्टर स्टाइनमायरसँगको भेटमा यस्तो आग्रह गरेका हुन् ।

युरोपमा नेपाली एयरलाइन्समाथिको प्रतिबन्ध हटाउन जर्मनीसँग राष्ट्रपतिको आग्रह

बुधबार बिहान स्वदेश फर्किएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति पौडेलको स्विट्जरल्याण्ड र जर्मनी भ्रमणबारे जानकारी गराउँदै परराष्ट्रसचिव सेवा लम्सालले जर्मनी भ्रमणका क्रममा राष्ट्रपति पौडेलले लुफ्थान्सा एयरलाइन्सको सर्भिस सुरु गर्न र युरोपेली आकाशमा रहेको प्रतिबन्ध फुकुवा गर्न अनुरोध गर्नुभएको जानकारी दिइन् ।

'जर्मनीका महामहिम राष्ट्रपतिज्युलाई नेपाल भ्रमणको औपचारिक भ्रमणका लागि निमन्त्रणा गर्नुभयो । जर्मनीसँग भएको भेटमा लुफ्थान्सा एयरलाइन्सको सर्भिस सुचारु गर्न र युरोपेली आकाशमा रहेको प्रतिबन्ध फुकुवा गर्न अनुरोध गर्नुभएको छ । द्विपक्षीय सम्बन्ध थप सुदृढ र मजबुत बनाउन थप मद्दत पुगेको छ,' परराष्ट्र सचिव लम्सालले भनिन् ।

परराष्ट्र सचिव लम्सालले जर्मन समकक्षी स्टाइनमायरसँगको भेटमा विकास सहयोग, व्यापार, लगानी, पर्यटन, व्यवसायिक तालिममा केन्द्रित हुँदै दुवै पक्षबाट नेपाल–जर्मनी सम्बन्धका सम्पूर्ण पक्षहरूमा छलफल भएको बताइन् । कृषि, पर्यटन र जलश्रोत लगायतका विकास प्राथमिकताका बारेमा प्रकाश पार्दै यि क्षेत्रमा जर्मन सहयोग र लगानीका लागि निजी क्षेत्रलाई समेत प्रोत्साहन गरेको पनि उनले बताइन् ।

त्यस्तै स्विजरल्यान्डका राष्ट्रपति भियोला एमहर्डसँगको भेटमा राष्ट्रपति पौडेलले नेपालको सामाजिक,आर्थिक विकास, संघीयताको कार्यान्वयन र शान्ति प्रक्रियामा गरेको सहयोगका लागि स्विजरल्यान्ड सरकारलाई धन्यवाद व्यक्त गरेको सचिव लम्सालले बताइन् । स्विजरल्याण्डका राष्ट्रपतिले नेपाल समृद्धितर्फ अघि बढिरहेकोमा सन्तोष व्यक्त गरेको पनि उनले जानकारी दिइन् । दुवै देशका राष्ट्रपतिसँगको भेटमा उनले दुवै देशका राष्ट्रपतिलाई नेपाल भ्रमणको औपचारिक निमन्त्रणा दिएको पनि सचिव लम्सालले बताइन् ।

प्रकाशित : असार ५, २०८१ १३:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

हमाससँग युद्ध गरिरहेको इजरायलमा ८ सय नेपाली कामदार (केयर गिभर) पठाउने सरकारको तयारीबारे तपाईंको राय के छ ?

×