कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

मन्त्रालयको बजेट वृद्धिमा लाग्न खेलकुदमन्त्रीलाई सांसद पौडेलको सुझाव   

काठमाडौँ — नेकपा (माओवादी केन्द्र) का सचिव देवेन्द्र पौडेलले राजीनामा पत्र लेखेर निरुत्साहित हुने भन्दा पनि मन्त्रालयमा बजेट वृद्धि गर्न लाग्न युवा तथा खेलकुद मन्त्रीलाई सुझाव दिएका छन् । 

मन्त्रालयको बजेट वृद्धिमा लाग्न खेलकुदमन्त्रीलाई सांसद पौडेलको सुझाव   

बुधवार प्रतिनिधि सभा बैठकमा विनियोजित बजेटको युवा तथा खेलकुद मन्त्रालयगत छलफलमा माग लिँदै सचिव पौडेलले युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठलाई यस्तो सुझाव दिएका हुन् ।

उनले युवा तथा खेलकुद मन्त्रालयमा कुल बजेटको ३ अर्ब ५० करोड बजेट विनियोजन भएको र प्रतिशतको हिसावले यो बजेट थोरै भएको बताए । उनले थोरै बजेटलाई वृद्धि गर्न लाग्नुपर्ने मन्त्रीले राजीनामा लेखेर निरुत्साहित हुन नहुने उल्लेख गरे ।

उनले भने,‘ युवा तथा खेलकुद मन्त्रालयमा कुल बजेटको ३ अर्ब ५० करोड बजेट छुट्याएको छ । प्रतिशतको हिसाबले युवा तथा खेलकुद मन्त्रालयको बजेट थोरै हो । मन्त्रालयमा बजेट बढाउन लढिरहनु होला । राजीनामा लेखेर निरुत्साहित हुने होइन । प्रधानमन्त्रीलाई दिनुभयो भएन थाहा छैन तर पत्रपत्रिकामा मैले पढेको आधारमा बोल्दैछु । मन्त्री आफू युवा भएकाले मन्त्रालयको बजेट थप गर्ने गरी पहल गर्न आग्रह गर्दछु ।'

उनले मुलुकलाई एकतामा बाँध्ने सुत्र नै खेलकूद भएको भन्दै युवालाई खेलकूदमा एकत्रित बनाउने प्रयास गर्न आग्रह गरे । 'युवा मुलुकको कुल जनसख्याको ठूलो हिंसा पर्छ । मुलुक नै एक ठाउँमा हुने विषय खेलकुद मात्रै हो । क्रिकेट वा फुटबलको क्षेत्रमा खेलमा मुलुक एक ठाउँमा हुन्छ,' उनले भने, 'नेपालीहरु कुनै पनि मुलुकमा खेल खेल्न गए भने विश्वमा भएका नेपाली र मुलुकका राष्ट्रपतिदेखि प्रधानमन्त्री हुँदै सर्वसाधरण समेत एक भएर हेर्ने र चासो प्रकट गर्ने भनेको खेल हो । खेल जगतले अनुशासन भन्दा बाहिर रहेका क्षेत्रलाई समेत भाषा,संस्कृति,राष्ट्रिय एकतासहित सिङ्गो देशलाई जोड्ने काम गर्दछ ।'

उनले युवा तथा खेलकुद मन्त्रालयले बजेट अनुसारका नयाँ–नयाँ कार्यक्रमहरु थप गरी खेलकुदको विकासमा लाग्न आवश्यक रहेको बताए ।

प्रकाशित : असार ५, २०८१ १४:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

हमाससँग युद्ध गरिरहेको इजरायलमा ८ सय नेपाली कामदार (केयर गिभर) पठाउने सरकारको तयारीबारे तपाईंको राय के छ ?

×