कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

मेलम्ची आयोजनाले हेडवर्क्स सार्नका लागि परामर्शदाता छनौट अघि बढायो 

काठमाडौँ — मेलम्ची खानेपानी आयोजनाले आयोजनाको हेडवर्क्स सार्नका लागि परामर्शदाता छनौट प्रक्रिया अघि बढाएको छ ।मन्त्रिपरिषद् बैठकले आयोजनाको हेडवर्क्स सार्नका लागि सैद्धान्तिक अनुमति दिने निर्णय गरेसँगै आयोजनाले विस्तृत अध्ययनका लागि परामर्शदाता छनौट प्रक्रिया अघि बढाएको हो ।

मेलम्ची आयोजनाले हेडवर्क्स सार्नका लागि परामर्शदाता छनौट अघि बढायो 

गत जेठ २४ गतेको मन्त्रिपरिषद् बैठकले आयोजनाको हेडवर्क्स सुरक्षित स्थानमा सार्नका लागि सैद्धान्तिक सहमति दिने निर्णय गरेको थियो । सो निर्णयसँगै आयोजनाले असार मसान्तभित्र सम्ममा विस्तृत अध्ययनका लागि परामर्शदाता छनौटका लागि इओआई निकाल्ने गरि तयारी अघि बढाएको आयोजना प्रमुख रत्न लामिछानेले जानकारी दिए ।

२०७८ साल असार १ गते आएको बाढीपहिरोले हेडवर्क्सको ९० प्रतिशत भूभाग गेग्रानले पुरेको थियो । त्यसलगत्तै हेडवर्क्स वरपरको गेग्रान सफा गरिसकेपछि फेरि २०८० साउन २७ गते आएको बाढीले गेग्रान थुपारेको थियो । अहिलेको हेडवर्क्सको क्षेत्र नजिकै सँधै पहिरो बगिरहने ठूलो पहाड रहेको छ । विषय विज्ञहरुबाट गराइएको विभिन्न अध्ययनहरुले हेडवर्क्सलाई पुनः सोही स्थानमा निर्माण गर्नु थप जोखिमयुक्त रहने देखाएकाले हेडवर्क्स सार्ने निर्णयमा पुगेको आयोजनाले जनाएको छ ।

दातृ निकाय एसियाली विकास बैंकले २ वर्षअघि नै हेडवर्क्स सार्न खानेपानी मन्त्रालयलाई सुझाव दिएको भएपनि सरकारले केही दिनअघि मात्रै यसमा सैद्धान्तिक सहमति दिने निर्णय गरेको हो । हेडवक्सका संरचना बगरमुनि नै पुरिएका छन् र गेग्रान निकाल्न सकिने अवस्था छैन । हेडवर्क्सका पुरिएका संरचनालाई खोतलेर इन्टेकमाथि जालीको प्रबन्ध गरी गेग्रान छानेर पानी पठाउन सक्ने अवस्था नभएपछि विज्ञसँगको लामो परामर्शपछि आयोजनाले हेडवर्क्सलाई झन्डै १ हजार मिटर माथि सार्ने भएको हो ।

दुईवटा पहाडका बीच खोंचमा सार्न लागिएको हेडवर्क्स निर्माणको विस्तृत अध्ययनका लागि असार मसान्त भित्र सूचना प्रकाशित गर्ने तयारी आयोजनाले गरेको प्रमुख लामिछानेले जानकारी दिए ।

‘अहिले हामीले अल्टरनेट डाईभर्सन टनेलबाट हिउँदको समयमा काठमाडौंमा पानी पठाउने काम गरिरहेका छौं । यो २०७८ सालको बाढी पछि सफा गरिसकेपछि फेरि २०८० साउन २७ गते भरिएको हो । यहाँ देखिएको टावर भएको क्षेत्र हेडवर्क्सको क्षेत्र हो । यहाँको पारीपट्टी बगिरहने पहिरो छ । त्यसैले यही स्थानमा हेडवर्क्स बनाएर काठमाडौंमा दीर्घकालीन रुपमा पानी लगिरहने अवस्था देखिँदैन' उनले भने ।

पुरानो हेडवर्क्स भन्दा झन्डै १ हजार मिटर दूरी अगाडि (माथि) बनाउन लागिएको हेडवर्क्सका लागि झन्डै साढे ३ अर्ब लागत लाग्ने अनुमान आयोजनाले गरेको छ । असारभित्रै हेडवर्क्सको डीपीआरका लागि परामर्शदाता छनौट गर्न सूचना प्रकाशित गर्ने तयारी गरेको आयोजनाले समयमै काम सम्पन्न भएमा ४ वर्ष भित्र हेडवर्क्सका सम्पूर्ण निर्माण कार्य सम्पन्न गर्ने प्रक्षेपण गरेको छ ।

मेलम्ची परियोजनासँगै याङ्ग्री र लार्के खोलाको पानी पनि हेडवर्क्समार्फत् नै सुरुङमा पठाइने हुँदा झण्डै याङ्ग्री र लार्के परियोजनाको डीपीआर पनिसँगै गरिने प्रमुख लामिछानेले जानकारी दिए । हेडवर्क्स सारेपनि त्यस भेमाथाङ विपत्तिको क्षेत्र भएकाले मेलम्ची, याङ्ग्री र लार्के परियोजना सम्पन्न गर्न अझै पनि कम चुनौतीपूर्ण छैन ।

दोस्रो चरणको परियोजना अन्तर्गत याङ्ग्री र लार्केको पानी नदीमा मिसाएर हेडवर्क्स हुँदै काठमाडौं ल्याउने सरकारको योजना थियो । तात्कालीन समयमा प्राविधिक हिसाबले यी दुई खोलाको पानी मिसाउन सकियोस् भनेर हेडवर्क्स हेलम्बुको पुछारमा बनाइएको थियो ।


प्रकाशित : असार ४, २०८१ १२:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

हमाससँग युद्ध गरिरहेको इजरायलमा ८ सय नेपाली कामदार (केयर गिभर) पठाउने सरकारको तयारीबारे तपाईंको राय के छ ?

×