२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९२

ओली-नेपालको इबीले सत्ता गठबन्धनमा खटपट

गंगा बीसी

काठमाडौँ — करिव ४० वर्ष सहकार्यपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल डेढ महिनादेखि एउटै सत्ताका साझेदार छन् । तर सत्ता समीकरणको एउटै डुंगामा यात्रा गरेपनि ओली-नेपालबीचको तिक्तता भने कायम छ । जसका कारण सत्ता गठबन्धनमा खटपट सुरु भइसकेको छ । 

ओली-नेपालको इबीले सत्ता गठबन्धनमा खटपट

नेपालका कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसरमा सोमबार एमालेले गरेको हीरक महत्सोवमा एकीकृत समावादी (एस) का अध्यक्ष नेपाल सहभागी भएनन् । एमालेले महोत्सवमा नेपाललाई निम्तो दिएको भए पनि ओलीसँगको तिक्तताका कारण नेपाल सहभागी भएनन् ।

जबकि एमालेबाट अलग भएका नेताहरु पूर्व प्रधानमन्त्री एवं नेकपा एसका वरिष्ठ नेता झलनाथ खनाल, माले महासचिव सीपी मैनाली, पूर्व एमाले उपाध्यक्ष वामदेव गौतमलगायतका नेताहरु भने ओलीको निम्ता स्वीकार्दै कार्यक्रममा सहभागी भए ।

आइतबार मात्रै एमाले महाधिवेशन प्रतिनिधि परिषद् बैठकले कमजोर सहकार्य नगर्ने भन्दै प्रस्तावनै पारित गरेपछि नेपाल बिच्किएका हुन् । एमाले हीरक महोत्सवको निम्ता बेवास्ता गर्दै नेपाल काभ्रको कार्यक्रममा सहभागी भए ।

‘एमालेबाट अध्यक्षज्यूलाई निम्ता आएको थियो । तर उहाँ पूर्वनिर्धारित कार्यक्रममा सहभागी हुन काभ्रे जानुभयो’ उनका स्वकीय सचिब मोहन गौतमले भने । प्रतिनिधि परिषद् बैठकले समसामयकि प्रस्ताव पारित गर्दै सत्ता सहकार्यलाई कमजोर पार्न गतिविधि नगर्न आग्रह गरेको थियो ।

‘पाँच दलले जारी गरेको न्यूनतम नीतिगत प्राथमिकता र साझा सङ्कल्पले आजका मुख्य समस्याहरुलाई संवोधन गर्न र अगाडिका लागि मार्गदर्शन गर्न सक्ने निष्कर्षका साथ यसको पूर्ण, तालिकाबद्ध र प्रभावकारी कार्यान्वयनका लागि आग्रह गर्दछ,’ प्रस्तावमा उल्लेख छ, ‘यस सहकार्यलाई कमजोर गर्ने कुनै पनि काम नगर्न, मुलुकलाई थप अस्थिरता र अन्यौलतर्फ धकेल्ने कामप्रति सजग रहन र राष्ट्रियता, लोकतन्त्र र जनताको हितलाई थप जोखिममा पार्ने काम कतैबाट पनि हुन नदिन सत्ता समीकरणका सबै राजनीतिक दललाई आहृवान गर्दछ ।’

सत्ता रहेका दलहरुमा सुदूर पश्चिम प्रदेश सरकारको नेतृत्वको विषयलाई लिएर नेकपा एसले कांग्रेससित सहकार्य गर्ने प्रयास गरेपछि त्यसको तरङ्ग केन्द्रीय समीकरणमा समेत परेको थियो । संघीय सरकारका लागि प्रतिनिधिसभामा १० सिट बलियो आधार भएकाले प्रधानमन्त्री पुष्पकमल दाहालको पहलमा नेकपा एसलाई मुख्यमन्त्री दिने समझदारी भएको थियो । नेकपा एसका कारण बेला-बेला सत्ता समीकरणमा भइरहेको खटपटको पछाडि ओली-नेपालको इबीले काम गरेको छ ।

नयाँ समीकरण बनाइसकपछि फागुन तेस्रो साता दाहाल र ओली नेपाललाई फकाउन उनकै निवास काटेश्वर पुगेका थिए । दुबै नेताले ‘सम्मानजनक सहकार्य गर्ने’ प्रतिवद्धता जनाए पनि पछिल्लो समय ओलीले नेपालमाथि तिखो टिप्पणी गर्न थालेका छन् ।

सुदूर पश्चिम प्रदेश सरकारको नेतृत्व दिन आनाकानी गरेपछि नेपाल झस्किएका छन् । उनले आफूसँग समीकरण उथलपुथल गर्ने क्षमता भएको बताउन थालेका छन् । एमालेले सत्ता समीकरण खल्बल्याउने काम नगर्न गरेको आग्रहलाई नेपालले सोमबार जवाफ दिएका छन् । उनले ओलीको अभिव्यक्ति र व्यबहारप्रति संकेत गर्दै यो सत्ता समीकरण आफूलाई सहज नलागेको बताए ।

प्रधानमन्त्री दाहाल समेत उपस्थित ‘नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठान’को कार्यक्रममा उनले ओलीप्रति लक्षित गर्दै धाक, धम्की र गाालीगलौज भइरहेकाले असहज भएको पनि बताए । उनले यो सत्ता गठबन्धन कति दिन टिक्ने हो भनेर प्रश्न उठिरहेको पनि बताए । ‘नेपालको राजनीति जटिल छ । छोटो समयभित्र गठबन्धन ओल्टेकोल्टे गरेको छ । कति दिनसम्म यो गठबन्धन टिकिरहने हो भन्ने प्रश्न उठेको उठ्यै छ । त्यसको सबै जवाफ त हाम्रो सम्माननीय प्रधानमन्त्रीले दिनुहुनेछ, मैले दिन सक्दिनँ,’ नेपालले भने ।

गठबन्धनमा आफूलाई किन असहज लागिरहेको छ भन्ने कुरा पनि नेपालले खोलेका थिए । ‘परिस्थिति सहज छैन । हामी सहज मानिरहेका छैनौँ । सहज अवस्थामा आफूलाई अनुभूत गरिरहेका छैनौं । कसैका धाकधम्की, कसैका गालीगलौज सुन्नका लागि हामी राजनीतिमा आएका होइनौँ,' उनको भनाइ थियो, ‘समाजमा जन्मिएका होइनौँ, राजनीतिमा लागेका होइनौँ । कसैको दास बन्ने हाम्रो नियत होइनौँ ।’

शनिवार गृहजिल्ला रौतहटको एक कार्यक्रममा नेपालले आफ्नो ‘पार्टीको भूमिकालाई कसैले अवमूल्यन वा बेवास्ता गर्‍यो भने उसले ठूलो मूल्य चुकाउनुपर्ने’ चेतावनी दिएका थिए । ‘हाम्रो आफ्नै स्वाभिमान र महत्व छ, त्यसैले यो कुरा बुझ्यो भने ठीक छ, नत्र सबै उल्टिन्छ र देशमा अर्को उथलपुथल हुन्छ’ उनको भनाइ थियो । उनको यो चेतावनी सत्ता समीकरणको नेतृत्व गरिरहेको दाहाल र ओलीमाथि थियो ।

ओलीले नेपालसँगको तुषका कारण सुदूर पश्चिम प्रदेशको नेतृत्व दिन आनाकानी गरेका थिए । दाहाल, ओली र नेपालबीच पूर्व सहमति भए पनि ओलीका अडानका कारण अन्तिम समयमा मात्र नेकपा एसलका दीर्घ सोडारीले मुख्यमन्त्री भएका थिए ।

नयाँ समीकरण बनाएर सत्ता साझेदारीमा उदार देखिए पनि ओलीले प्रधानमन्त्री दाहालमाथि विस्तारै दवाव बढाउन थालेका छन् । सुदूर पश्चिम प्रदेशको सरकार निर्माणका क्रममा ओलीले दाहालमाथि दिएको दवाव पछिल्लो उदाहरण हो ।

दाहाल, ओली र नेकपा एकीकृत समाजवादी (एस) का अध्यक्ष माधवकुमार नेपालबीच सुदूर पश्चिम मुख्यमन्त्री दिने मौखिम समझदारी भएपनि गत साता एमाले र माओवादीले नागरिक उन्मुक्ति (रञ्जिता) पक्षका कैलाश चौधरीलाई अघि सारेका थिए । त्यसपछि अध्यक्ष नेपालको निर्देशनमा नेकपा एसले प्रतिपक्ष कांग्रेसको कित्तामा पुगेपनि पछि समर्थन फिर्ता लिएर समीकरणमै जोडिएको थियो ।

नेकपा एसका वरिष्ठ नेता झलनाथ खनालले विगतको तिक्ततालाई भुलेर अघि बढे मात्र समीकरण दिगो हुने बताए । एमाले र नेकपा एस अलगअलग अस्तित्व भएका पार्टी भइसकेपछि विगतको तुस पालेर बसेमा समस्या आउने बताए । ‘नेताहरुले आग्रह पूर्वाग्रह त्यागेर साझा सवालमा मिलेर जानुको विकल्प छैन’ उनले भने, ‘एमाले र हामी दुई अलग पार्टी भइसकेपछि एकले अर्काको अस्तित्व विस्कार गरेर जानुपर्छ । हैन भने समस्या आउँछ ।’

एमाले उपमहासचिव प्रदीप ज्ञवालीले आगामी निर्वाचन (०८४) सम्म समीकरण बलियो बनाउन सबै दल सजग हुनुपर्ने बताए । ‘मुख्य मुलुकमा आशा जगाउने गरी सरकारले काम गर्न समीकरण बलियो हुनु आवश्यक छ,’ उनले भने, ‘सत्ता साझेदारीमा हुने भागबण्डाका कारण समीकरणमा संकट आउनु हुन्न भन्ने महाधिवेशन प्रतिनिधि परिषद्को बैठको निष्कर्ष हो ।’

माओवादी सचिव देवेन्द्र पौडेलले कुनै एक दलको बहमुत नभएकाले सत्ता समीकरणमा भएका दलहरुबीच सम्मानजनक सहकार्य आवश्यक भएको बताए । ‘एकले अर्कालाई सम्मान गरे मात्र यो समीकरण दिगो हुनसक्छ’ उनको भनाइ छ, ‘विगतका तिक्ततालाई बढाउनेभन्दा समीक्षा गरेर सहकार्यमा जोड दिनुपर्छ ।’

नेकपा एस १० सिट दाहाल सरकारका लागि बलियो आधार हो । त्यस्तै मधेश, वाग्मती, लुम्बिनी र सुदूर पश्चिममा गठबन्धन सरकार निर्माणका लागि निर्णायक भएकाले अध्यक्ष नेपालको सौदाबाजी गर्ने बलियो आधार बनेको छ । आगामी साढे तीन वर्षको अवधिमा प्रधानमन्त्री पाउनु पर्ने दावी गर्दै नेपालले सम्मानजक सहकार्य हुनुपर्नेमा जोड दिंदै आएका छन् ।

एमाले अधयक्ष मन्त्रालय बाँडफाँटमा उपप्रधान र भौतिक पूर्वाधार मन्त्रालयसहित आठ मन्त्रालय लिएको एमालेले ‘शक्तिशाली’ मन्त्रालय दावी गरेन । विगतजस्तो ओलीले अर्थ, गृह, परराष्ट्र मन्त्रालय छाडेर अरुनै मन्त्रालय लिएर सहकार्य थालेको थियो । तर पछिल्लो समय ओलीले दाहालमाथि आफ्नो दवाव र प्रभाव बढाउन थालेका छन् । जसका कारण बेलाबेला समीकरणमा हलचल हुन थालेको छ ।

एमाले हीरक महोत्सव- ‘तत्काल वाम एकता होइन, सहकार्य’

प्रधानमन्त्री दाहालले हौसिएर कम्युनिष्ट एकता गर्ने पक्षमा आफूहरू नरहेको स्पष्ट पारेका छन् । सोमबार नेकपा स्थापनाको हीरक महोत्सवका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्षसमेत रहेका दाहालले हालको सहकार्य बलियो बनाउनुपर्ने बताए ।

२०७४ मा एमाले र माओवादी एकता भई नेकपा बनाएजस्तो अहिलेको अवस्था नरहेको प्रधानमन्त्री दाहालको भनाइ थियो । उनले कम्युनिष्ट एकता गर्दा बढी हौसिएको अनुभव आफूले गरेको बताए । ‘हामी अहिले पहिलाको जस्तो हतारमा, हौसिएर कम्युनिष्ट एकता भन्ने पक्षमा छैनौँ । हामी त्यो बेलामा अलि बढी हौसिएछ कि, समयभन्दा अगाडि नै दौडिइएछ कि भन्ने हेक्का राख्नुपर्ने ठान्छु मैले,’ उनले भने, ‘राम्रो सहकार्य गरौँ । यसबाट जनतालाई र देशलाई राम्रो सेवा दिउँ । त्यसो हुँदै गयो भने राजनीतिक दलहरूको बीचमा, कम्युनिष्टहरूको बीचमा स्वतः नै एकताको आधारभूमि तयार हुन्छ ।’

हीरक महोत्सवका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले अहिले कम्युनिष्ट पार्टीबीच एकता भन्यो भने विगतमा किन फुटेको भन्ने प्रश्न स्वाभाविक रुपमा उठ्नसक्ने बताए । माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालको कम्युनिष्ट पार्टीहरूबीच सहकार्य हुँदै अगाडि बढ्नुपर्ने भनाइ थियो । 'अहिले हामी सहकार्यको माध्यमबाट निकट हुादै जान्छौं । सहकार्यको माध्यमबाट अगाडि बढ्छौं र क्रमशः एकताको बाटोमा पुग्न सक्छौं’ उनको भनाइ थियो, ‘त्यस बिन्दुमा पुग्न सक्छौं तर अहिले नै एकीकरण गरौं, सबै देशभरकाका मिलौं भन्ने हो भने फुट्या किन थियौं ? के भएर फुट्या थियौं ? यस्ता प्रश्नहरू उठ्छन् ।’

कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्ट पार्टीहरूबीच तत्काल एकता गर्नु दीर्घकालीन नहुने बताए । 'अहिले तत्काल पार्टी एकीकरण भइहाल्छ, यो एउटा व्यक्तिगत तुष्टिको विषय हुनसक्छ । यसले फेरि आन्दोलनमा अरु प्रकारका समस्या पैदा गर्न सक्छन्,’ उनले भने, ’अहिले ठ्याक्कै वामपन्थी मात्रै मिलेर अगाडि बढ्ने अवस्था होइन ।’

पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका कम्युनिष्ट पार्टीहरु पटक–पटक विभाजन हुनुको कारणबारे समीक्षा गर्नुपर्ने बताएकी छन् । एमालेले आयोजना गरेको नेपाल कम्युनिष्ट पार्टी स्थापनाको हीरक महोत्सव समारोहलाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति भण्डारीले यस्तो धारणा राखेकी हुन् ।

‘नेपाली कम्युनिष्ट आन्दोलनले आफ्नो हिरक जयन्ती मनाइरहँदा यस आन्दोलनको गहन समीक्षा समेत गरिनुपर्दछ भन्ने मलाई लागेको छ । सँगै स्थापना भएका अरु देशका कम्युनिष्ट पार्टीले किन, के, कति सफलता हासिल गरे ? र के–कस्ता विफलता बेर्होर्नुपर्‍यो ?’ उनको भनाइ थियो, ‘नेपाली कम्युनिष्ट आन्दोलनमा पटक–पटक देखिने गरेको फुट र विभाजन र साच्चै सिद्धान्त, विचार र राजनीतिक कारणले भएको हो कि पदीय आकांक्षा, अवसरवाद र भड्काव हाबी हुादा भएको हो भन्नेजस्ता विषयमा समीक्षा गरी ठोस निष्कर्ष निकाल्न सकिएन भने भविष्यमा थप सफलता हासिल गर्न कठिनाई हुन्छ।’

भण्डारीलाई गणतन्त्र गौरबबाट सम्मान

एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘गणतन्त्र गौरव’ बाट सम्मान गरेको छ । एमालेद्वारा आयोजित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थापनाको हिरक महोत्सवको अवसर पारेर प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्रीद्वय झलनाथ खनाल र डा. बाबुराम भट्टराईले संयुक्त रुपमा उनलाई सो सम्मान प्रदान गरेका हुन् ।

एमालेका तत्कालीन उपाध्यक्ष भण्डारीले लोकतन्त्र, गणतन्त्र र ३३ प्रतिशत महिलाहरूको राज्यका हरेक निकायमा प्रतिनिधित्व गर्ने सवालमा नेतृत्वदायी भुमिका निर्वाह गरेको भन्दै एमालेले सो सम्मान गरेको हो । भण्डारीले दुई कार्यकाल नेपालको प्रथम महिला राष्ट्रपतिको भुमिका पनि निर्वाह गरेकी थिइन् ।

प्रकाशित : वैशाख १०, २०८१ २२:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?