२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

इलाम–२ मा पुराना पार्टीलाई नयाँकै डर

रास्वपा र पहिचानवादीको घेराबन्दीमा कांग्रेस र एमाले
पर्वत पोर्तेल

इलाम — इलाम–२ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी र पहिचानवादी दलको ‘इन्ट्री’ ले चुनावी परिस्थिति बदलिएको छ । सधैं एमाले र कांग्रेसबीच द्विपक्षीय प्रतिस्पर्धा हुने यस क्षेत्रमा यसपालि प्रतिस्पर्धी बढेका छन् । पुराना पार्टीहरू नयाँ दलका प्रतिस्पर्धीबाट तर्सिन थालेका छन् ।

इलाम–२ मा पुराना पार्टीलाई नयाँकै डर

यहाँ निर्वाचनको माहोल अब पुरानो जस्तो नरहेकामा स्थानीय मतदाताको एक स्वर छ । वैशाख १५ को उपनिर्वाचनमा नयाँ र पहिचानको पृष्ठभूमिका दुई शक्तिको प्रवेशले यहाँ चार पक्षीय भिडन्त निश्चित भएको छ । पुराना दलहरुको सत्ता केन्द्रित मोहले इलाममा नयाँ दलको जोडदार उदय भएको विश्लेषक युद्धप्रसाद वैद्यले बताए । ‘यसपटक पुराना दललाई चुनाव जित्न सकस पर्ने देखिएको छ,’ उनले भने, ‘नयाँ दल र पहिचानवादीको घेराबन्दीमा उनीहरु परेका छन्, अब उनीहरुलाई उम्किन मुस्किल छ ।’

२०५१ मा कुलबहादुर गुरुङपछि कांग्रेसका कुनै उम्मेदवारले यस क्षेत्रमा निर्वाचन जितेका छैनन् । २०४८ मा एमालेका मणिकुमार लिम्बूले विजय हासिल गरेका थिए । २०५६ यता निरन्तर एमालेका सुवास नेम्वाङले निर्वाचन जित्दै आएका थिए । २०७९ को निर्वाचनमा कांग्रेसका डम्बर खड्कालाई झिनो मतान्तरले हराएर नेम्वाङ पाँचौं पटक यस क्षेत्रबाट निर्वाचित भएका थिए ।

उनको असामयिक निधनपछि रिक्त यस क्षेत्रको उपनिर्वाचनमा एमालेले नेम्वाङ पुत्र सुहाङलाई मौका दिएको छ । पुराना, अनुभवी र वर्षौंदेखि अवसर कुरेर बसेका नेता/कार्यकर्ताले नेम्वाङको उम्मेदवारीलाई ‘पार्टीभित्रै वंशवाद’ निरन्तरताको आरोप लगाएका छन् । ‘धेरै अनुभवी नेताहरु छाडेर नयाँ र अपरिपक्वलाई पार्टीले उम्मेदवार बनाउँदा नमज्जा लागेको छ,’ असन्तुष्ट एक एमाले नेताले भने, ‘यो कदमले पार्टीमा क्षति पनि पुग्न सक्छ ।’

एमालेभित्रको असन्तुष्टि भने अहिले कम हुँदै गएको दाबी गरिएको छ । एमाले अध्यक्ष केपी ओलीलगायतका केन्द्रीय नेताहरुको हालैको इलाम दौहाडापछि एमालेभित्रको असन्तुष्टि मत्थर हुँदै गएको दाबी एमालेका नेताहरुको छ । एमालेका कार्यकर्ता देवी क्षेत्री दुलालले एमालेभित्र कुनै किसिमको असन्तुष्टि नरहेको दाबी गरे ।

‘मानवीय स्वभाव हो सुरुमा केही आक्रोश देखियो होला तर अब त्यो बिल्कुल छैन,’ उनले भने, ‘सुहाङ बुवाको विरासत जोगाउने ध्याउन्नमा दिनरात, भोकनिद्राको पर्वाह नगरी हात जोड्दै मत मागिरहेका छन् ।’ इलाम बजार क्षेत्रमा आइतबार घरदैलो गरिरहेका उनी मतदातासँग भन्दै थिए, ‘मत दिएर मलाई जिताउनु होला, बुबाले थाँती राखेका काम पूरा गर्नेछु ।’

कांग्रेसका उम्मेदवार खड्का पार्टी सभापति शेरबहादुर देउवानिकट भएकैले दोस्रो पटक पुनः टिकट लिन सफल भएको कांग्रेसकै नेताहरु बताउँछन् । २०७९ मा १ सय १४ मतको झिनो मतान्तरले पराजय व्यहोरेका उनी यसपटक जसरी पनि जित्ने अभियानमा छन् । अघिल्लो वर्ष माओवादी, एकीकृत समाजवादीलगायतका दलहरु कांग्रेससँगै थिए ।

एक्लो एमालेले उनलाई हराएको थियो । तर, यसपटक परिस्थिति उल्टिएको छ । कांग्रेस बिल्कुल एक्लो छ । एमालेसँग माओवादी केन्द्र, नेत्रविक्रम चन्द समूह र परिवार दल छ । इलाममा चन्द र परिवार दलको जनलहर खासै नभए पनि बल पुग्ने आशा एमाले समर्थकहरुको छ । अघिल्लो चुनावको समानुपातिक मतलाई आधार मान्ने हो भने कांग्रेसले २२ हजार ३ सय ३३ मत पाउँदा एमालेले २६ हजार ५ सय ६२ पाएको थियो । यसरी हेर्दा दुवैले समानुपातिकमा भन्दा प्रत्यक्षमा बढी मत पाएका थिए ।

माओवादीको समानुपातिक मत ५ हजार १ सय ५३ हो । एकीकृत समाजवादीले ५ सय ८६ मत पाएको थियो । यसपटक एकीकृत समाजवादीले आफ्नै उम्मेदवार खडा गरेको छ ।

कांग्रेसले खड्कालाई नै पुनः उम्मेदवार बनाएको भन्ने आक्रोश अर्को खेमामा व्याप्त छ । खासमा खड्काभन्दा भेषराज आचार्य लोकप्रिय रहेको निष्कर्ष निकाल्दै कांग्रेसको कोशी प्रदेश समितिले आचार्यको नाम पहिलो नम्बरमा राखेर सिफारिस गरी पठाएको थियो । तर, अन्तिममा सभापति देउवाको ‘इन्ट्रेस’ हाबी भएपछि खड्का टिकट लिएर इलाम आएका थिए ।

‘खड्काले टिकट पाएकामा कांग्रेसभित्र सुरुमा केही असन्तुष्टि देखिएजस्तो भान भयो,’ पूर्वसांसद बेनुपराज प्रसाईंले भने, ‘पार्टी केन्द्रले निर्णय गरिसकेकाले अहिले सबै एकढिक्का भएर घरदैलोमा हिँडिरहेका छन्, पार्टीले हार्नु हुँदैन भन्ने सामूहिक मत बनिसकेको छ ।’

कांग्रेस र एमाले जस्ता पुराना दलका विरुद्ध नयाँ दल प्रतिस्पर्धी बनेर पहिलो पटक इलाममा ओर्लिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले पत्रकार मिलन लिम्बुलाई उम्मेदवार बनाएको छ । जनजाति मत निर्णायक मानिने यस क्षेत्रमा रास्वपाले जनजाति अनुहारलाई नै चुनावी मैदानमा उतारेको छ । रास्वपा सभापति रवि लामिछानेदेखि सन्तोष परियारसम्मका नेताहरु केही दिनयता इलामको दौहाडामा छन् ।

पुराना दलको विकल्पका रुपमा रास्वपा आएको र यसले निश्चित रुपमा जित्ने दाबी रास्वपा नेताहरुको छ । तर, उनीहरुले दाबी गरेजस्तो परिस्थिति सहज देखिँदैन । अघिल्ला चुनावमा रास्वपाका उम्मेदवार प्रकाश सापकोटाले १ हजार ३ सय ८० मत मात्रै पाएका थिए । पुरानो मतलाई उम्मेदवार लिम्बुले सुधार्ने सम्भावनामा कुनै शंका छैन । तर, जित्ने प्रशस्त आधार भने देखिदैन । एमाले र कांग्रेसको मत आफ्नो पक्षमा पारेर जित्ने मिलनको दाबी छ ।

‘पुराना दलप्रति जनता निराश छन् । त्यही निराशाको मत मैले प्राप्त गर्ने निश्चित छ,’ उनले भने, ‘जितको आधार जनताको ब्यालेट विद्रोह नै हो ।’ संघीयताप्रति जनतामा आएको नैरास्यलाई ‘संघीयताविरोधी’ दलको पहिचान बनाएको रास्वपाले ‘क्यास’ गर्न सक्ने एकथरी विश्लेषकहरुको दाबी छ ।

‘कोशी प्रदेश’ नामकरणको विषयमा अहिले पनि पूर्वका जनजाति समुदाय आन्दोलित छन् । यही ‘सेन्टिमेन्ट’ मा टेक्दै स्वतन्त्र उम्मेदवार बनेर पहिचानवादी नेता डेकेन्द्रसिंह थेगिम लिम्बू चुनावी मैदानमा छन् । पहिचानवादी आन्दोलनप्रति पूरै नकारात्मक दलहरुविरुद्ध उनी प्रतिस्पर्धामा छन् । उनले अन्य मुद्दा भन्दा ‘कोशी प्रदेश’को नाम परिवर्तनको मुद्दालाई प्राथमिकतामा राखेको बताए । कोशी प्रदेशप्रति असन्तुष्ट एउटा तप्का उनको पक्षमा उभिएको छ ।

किरात धर्मावलम्बीहरुको ‘मक्का’ भनिने माङ्सेवुङका धर्मगुरु आत्मनन्द लिङ्देनले विगतमा लिम्बूले किरात धर्मगुरुको समीपमा रहेर काम गरेकाले पनि उनलाई ‘ग्रीन सिग्नल’ दिएको पहिचानवादीहरु दाबी गर्छन् । धर्मगुरु आत्मनन्द लिङ्देनले केही समयअघि प्रदेशको नाम ‘सगरमाथा–किरात’ राखिनु पर्ने माग गर्दै आएका थिए ।

कोशी प्रदेशप्रति उनलाई त्यति धेरै दिलचस्पी छैन । तसर्थ पहिचानवादी नेता डेकेन्द्रप्रति उनी अलि बढी सकारात्मक छन् । स्थानीय मतदाताले धर्मगुरुको इसाराका भरमा मतदान गर्दै आएका छन् । ‘विगतमा माङ्सेवुङ र धर्मगुरुको कृपाले प्राप्त हुने मत नेम्वाङलाई जान्थ्यो,’ पहिचानवादी नेता भद्रगोल किरातीले भने, ‘अब त्यहाँका सबैजसो मत पहिचान पक्षमा आउने निश्चित छ ।’ विगतमा सुवास नेम्वाङले पाउँदै आएको लारुम्वा, चुलाचुली, माइ र फाकफोकथुम क्षेत्रको करिब ५ देखि ७ हजार मत डेकेन्द्रको पोल्टामा पार्न पहिचानवादीहरु लागिपरेका छन् । डेकेन्द्रलाई जनमुक्ति र लिम्बुवान निकट मतदाताको साथ रहने अनुमान कतिपयको छ ।

जब चुनाव सुरु हुन्छ, धर्मगुरुलाई ‘दर्शन भेट’ गर्ने नेताहरुको लहर चल्छ । पुरानामा रहेको त्यो रोग नयाँ भनिएका दलहरु जनमत, रास्वपालगायतमा पनि सरेको देखिन्छ । जनमतका सीके राउतदेखि रास्वपाका रवि लामिछानेसमेतले धर्मगुरुलाई भेटिसकेका छन् । सबैको उद्देश्य अनुयायीले आफ्ना पक्षमा मत हालुन् भन्ने नै हो । धरान उपमहानगर प्रमुख हर्क साम्पाङले पनि केही दिनअघि माङ्सेवुङ पुगेर डेकेन्द्रलाई भोट मागेर फर्किए । स्वतन्त्र उम्मेदवारको छवि बनाएका साम्पाङले डेकेन्द्रको चुनावी सभामा भाषण गर्दै घुमाउरो पारामा पहिचानको मुद्दालाई समर्थन गरेका थिए ।

प्रकाशित : वैशाख १०, २०८१ १४:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?