३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

राजमार्ग विस्तारको असर : बासस्थान मासिँदा बस्ती पसे अजिंगर

१ सय २० किमिको काँकडभिट्टा–लौकही सडक स्तरोन्नतिका क्रममा पुराना रूख काटिएपछि यहाँका चराचुरुंगीदेखि वन्यजन्तु तितरबितर

विराटनगर — मेचीनगर–७ सतिघट्टा चिया बगानमा गत चैत २० मा करिव ९ फिट लामो अजिंगर देखियो । केही स्थानीयले ढुंगा हानेर मार्ने प्रयास गर्दैगर्दा संरक्षणकर्मीको एक टोली पुगेर अजिंगरको उद्धार गरी पाँचपोखरी सामुदायिक वनमा ल्याएर छोडिदिए । त्यसको चार दिनपछि मेचीनगर–४ को आमडाँगीमा ५ फिट लामो अर्को अजिंगर देखियो ।

राजमार्ग विस्तारको असर : बासस्थान मासिँदा बस्ती पसे अजिंगर

उक्त अजिंगरलाई पनि उद्धारपछि तेलपानी सामुदायिक वन क्षेत्रमा ल्याएर छोडियो । चैत ३० मा फेरि मेचीनगर–७ को जोरसिमल क्षेत्रमा ७ फिट लामो अर्को अजिंगर फेला पर्‍यो । त्यसलाई पनि स्थानीयबाट जोगाउँदै उद्धार टोलीले नजिकैको सिमसार क्षेत्रमा ल्याएर छोडिदिए ।

गत चैतको अन्तिम सातामै तीन अजिंगर बस्ती आसपास फेला पर्नुमा तिनका बासस्थानको क्षयीकरणलाई कारण मानिएको छ । पूर्व–पश्चिम राजमार्गको काँकडभिट्टा–लौकही चार लेन सडक विस्तारका क्रममा रूख कटानपछि त्यहाँ आश्रित पशुपन्छी, सरीसृप तथा वन्यजन्तुहरू तितरबितर भएका छन् । यहाँ फागुन दोस्रो साताबाट रूखबिरुवा काट्ने काम सुरु भएको हो ।

सडक स्तरोन्नतिका क्रममा राजमार्ग आसपासका पुराना रूखहरू काटिँदा वर्षौंदेखि त्यहाँ आश्रित अजिंगर ज्यान जोगाउन तितरबितर भएको संरक्षणकर्मीहरू बताउँछन् । संरक्षणकर्मी शंकर लुइँटेलले भने, ‘जब रूख काट्न सुरु भयो, अजिंगरहरू ज्यान जोगाउन यत्रतत्र लागेको देखियो ।’ अजिंगर प्रायः घना जंगल र ओसिलो (सिमसार) क्षेत्रमा बस्न रुचाउँछन् भने ठूला–ठूला मुढा, टोड्का र सुकेका पातदेखि नदीनाला, पोखरी र घाँसे मैदान आसपास पनि भेटिन्छन् । ‘रूख काट्दा अजिंगरका बासस्थान पनि मासिएको छ,’ लुइँटेलले थपे, ‘त्यही भएर ज्यान बचाउन अजिंगर तितरबितर भएका हुन् ।’ झापाको जलथल, चारआलीलगायतका क्षेत्र अजिंगरको मुख्य बासस्थान मानिन्छ ।

कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्रालयका अनुसार काँकडभिट्टा–लौकहीसम्मको १ सय २० किमि लामो सडक स्तरोन्नति हुँदै छ । सहरी क्षेत्रमा सर्भिस लेनसहित ५० मिटर, अर्धसहरी क्षेत्रमा ३३ मिटर र वन क्षेत्रमा २४ मिटर चौडामा उक्त सडक विस्तार गरिँदै छ । त्यस क्रममा १२ हजारभन्दा बढी रूखहरू कटान हुँदै छन् ।

चरा तथा वन्यजन्तु खोजकर्ता देवेन्द्र खरेलका अनुसार रूख कटानपछि पुराना रूख र त्यसका टोड्काहरूमा आश्रित विभिन्न प्रजातिका सयौं चराचुरुंगीहरू पनि विस्थापित भएका छन् । उनका अनुसार मेचीनगर क्षेत्र करिब ३ सय ३७ प्रजातिका चराचुरुंगीको बासस्थान हो । त्यसमध्ये भुँडीफोर गडुल, तीनै थरीका बकुल्ला, जलेवा, कर्रा सावरीजस्ता चराहरूको राजमार्ग आसपासका अग्ला र पुराना रूखहरू बासस्थान थियो । अजिंगरसँगै सेतो गोमन सर्प र अन्य दुर्लभ सर्पहरू, कुर्थुर्के, उडपिकरजस्ता चराहरू पनि थातथलो छाडेर विस्थापित भएका छन् ।


प्रकाशित : वैशाख ६, २०८१ ०६:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

इलाम-२ को चुनावी मतपरिणामले आउँदो निर्वाचनका लागि दिएको संकेत के हो ?