कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७६

गैंडाले लियो गाइडको ज्यान

बच्चासहितको माउ गैंडाले आक्रमण गरेपछि गम्भीर घाइते भएका सुवास रेग्मीको उपचारका क्रममा निधन
रमेशकुमार पौडेल

चितवन — पर्यटक घुमाउन चितवन निकुञ्ज गएका एक पथप्रदर्शक (टुरिस्ट गाइड) को शनिबार गैंडाले आक्रमण गर्दा निधन भएको छ । गोरखा आरुघाट गाउँपालिका–८ पोखरी घर भई चितवन रत्ननगर नगरपालिका–६ सौराहामा डेरा गरी बसेका जंगल बर्ड रिसोर्ट सौराहाका गाइड ३३ वर्षीय सुवास रेग्मीको आक्रमणमा परी ज्यान गएको हो ।

गैंडाले लियो गाइडको ज्यान

चितवन प्रहरी प्रवक्ता डीएसपी श्रीराम भण्डारीका अनुसार रेग्मीलाई बिहान नौ बजेतिर गैंडाले आक्रमण गरेको थियो । चितवन निकुञ्जको खोरसोर हात्ती प्रजनन केन्द्रदेखि लगभग दुई किलोमिटर पर जंगलमा बब तालनजिक उनलाई गैंडाले आक्रमण गरेको थियो । बच्चासहितको माउ गैंडाले उनलाई आक्रमण गरेको थियो ।

वन्यजन्तुले आक्रमण गर्दा पर्यटक गाइडको ज्यानै जाने घटना विरलै हुने गर्छन् । चितवनका नेचर गाइड बासु बिडारीका अनुसार वन्यजन्तुको आक्रमणमा परेर निकुञ्जभित्र गाइडको निधन भएको घटना ३० वर्षयता पाँचवटा जति भएको बताए । ३६ वर्षदेखि यस पेसामा संलग्न बिडारी पनि २० वर्षअघि गैंडाकै आक्रमणमा परेका थिए । ‘म घटनास्थलमा खोजीमा पनि संलग्न भए । रेग्मी दुई विदेशी पर्यटकलाई पैदलै जंगल लिएर गएका रहेछन् । बच्चासहितको गैंडा देखेपछि पर्यटकलाई सुरक्षित हुन भनेछन् । तर आफैं भने आक्रमणमा परेछन्,’ बिडारीले भने ।

चितवन निकुञ्जका सूचना अधिकारी रहेका संरक्षण अधिकृत गणेशप्रसाद तिवारीका अनुसार निकुञ्जको हात्तीसहितको टोलीले गम्भीर घाइते अवस्थामा फेला परेका रेग्मीको उपचारका क्रममा भरतपुरस्थित चितवन मेडिकल कलेजको शिक्षण अस्पतालमा निधन भएको थियो । ‘आक्रमणमा परेपछि दौडेर जंगलभित्र हराएका कारण समयमै उद्धार गर्न सकिएन । सायद यसैका कारणले समयमा नै उद्धार हुन नसक्दा पो ज्यान गयो कि ? समयमै उपचार भएको भए बचाउन सकिन्थ्यो कि,’ गाइड बिडारीले भने ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पुर्जा पुनले नेचर गाइडको निकुञ्जभित्र वन्यजन्तुले आक्रमण गरेर ज्यानै गएको घटना पहिलो पटक सुनेको बताए । ‘यस्तो घटना पहिलो पटक सुनें । घटना के कसरी भएको हो ? बुझ्दै पनि छौं । यस्ता घटना नदोहोरियोस् भनेर थप सजगता अपनाउनुपर्ने भएको छ,’ प्रमुख संरक्षण अधिकृत पुनले भने । लाइसेन्स प्राप्त गाइडको वन्यजन्तुले आक्रमण गर्दा निकुञ्जभित्रै निधन भए पनि राहतस्वरूप १० लाख रुपैयाँ पाउने नयाँ राहत निर्देशिकाले व्यवस्था गरेको पनि उनले जानकारी दिए ।

प्रकाशित : वैशाख २, २०८१ ०६:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?