२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८०

पेस्की लिएर ठेकेदार फरार, अस्पताल भवन अलपत्र

मोहन शाही

डोटी — तीन वर्षअघि शिलान्यास भएका डोटीका पालिकास्तरीय आधारभूत अस्पताल भवन अलपत्र परेका छन् । निर्माण कम्पनीहरू लाखौं रुपैयाँ पेस्की बुझेर विभिन्न बहाना बनाउँदै सम्पर्कविहीन भएपछि अस्पताल भवन अलपत्र परेका हुन् ।

पेस्की लिएर ठेकेदार फरार, अस्पताल भवन अलपत्र

डोटीमा ६८ करोड ५ लाख रुपैयाँ लगानीमा ७ वटा अस्पताल भवन निर्माणका लागि पालिकाहरूले सम्झौता गरेका हुन् । ठेकेदारहरूले २९ करोड ८६ लाख ९ हजार रुपैयाँ पेश्की रकम बुझेर लगिसकेका छन् । पालिकाहरूको पटक–पटकको ताकेतालाई ठेकेदार कम्पनीहरूले बेवास्ता गर्दै आएको जोरायल गाउँपालिका अध्यक्ष दुर्गा ओझाले बताए । कतिपय पालिका प्रमुखहरूले ठेकेदारलाई कालोसूचीमा राख्ने चेतावनी दिए पनि कार्यप्रगति नबढेको उनको गुनासो छ ।

डोटीका ९ मध्ये केआई सिंह, जोरायल, सायल, बडीकेदार, बोगटान फुडसिल, पूर्वीचौकी गाउँपालिका र शिखर नगरपालिका गरी ७ स्थानीय तहले २०७७ मंसिरमा आधारभूत अस्पताल भवन निर्माणका लागि एकसाथ शिलान्यास गरेका थिए । पूर्वीचौकीमा बाहेक ६ पालिकामा अहिले पनि काम अधुरै छ । आदर्श र दिपायल सिलगढी नगरपालिकामा भने चालु आर्थिक वर्षबाट भवन निर्माण कार्यको पुनः सम्झौता भई काम अघि बढेको छ ।

बडीकेदारको ३५, केआईसिंहको ४८, बोगटान फूडसिलको २०, सायलको ५, जोरायलको ११, शिखरको ८० प्रतिशत काम सम्पन्न भएको छ । ‘ठेकेदारलाई पटक–पटक लिखित रूपमा ताकेता गर्दा पनि काममा प्रगति हुन सकेन,’ सायल गाउँपालिका अध्यक्ष धर्मराज जोशीले भने, ‘कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइसकेका छौं ।’

कतिपय निर्माण कम्पनीहरूले भने पालिकासँग सम्झौता गर्दा एउटा तर फिल्डमा अर्कै परिस्थिति रहेकाले काम अघि बढ्न नसकेको तर्क गर्दै आएका छन् । सम्झौता अनुसारको कतै फिल्ड छैन, कतै स्टिमेटमा एउटा बनाउनु पर्नेमा अर्कै देखिन्छ,’ निर्माण व्यवसायी संघ डोटीका अध्यक्ष घनश्याम पाठकले भने, ‘पालिकाकै कमजोरीले निर्माण व्यवसायीलाई आर्थिक भार बढेकाले काम अघि बढ्न नसकेको हो ।’

बडीकेदार गाउँपालिकामा १० शय्याको आधारभूत अस्पतालको भवन निर्माणका लागि धुलिखेल एलबी एण्ड एबी जयश्री बालाजी जेभीसँग २०७८ असोज ४ मा सम्झौता भएको थियो । सम्झौताअनुसार भवनको निर्माण कार्य २९ मंसिर २०७९ मा सम्पन्न भइसक्नु पर्ने थियो तर अहिलेसम्म भवन अधुरै छ । ठेक्का सम्झौताको म्याद २०८० पुस मसान्तसम्म थप भए पनि काम भने ३५ प्रतिशत मात्रै भएको छ । भ्याटसहित ७ करोड २६ लाख १९ हजार रुपैयाँमा ठेक्का सम्झौता भएकामा हालसम्म १ करोड २७ लाख रुपैयाँ पेस्की भुक्तानी दिइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्दीप न्यौपानेले जानकारी दिए ।

बोगटान फुड्सिल गाउँपालिका–२ मा निर्माण हुन लागेको १५ शय्याको आधारभूत अस्पताल भवन पनि अलपत्र छ । भवन निर्माणका लागि गाउँपालिका र सीएम–प्रसन्न जेभीबीच २०७८ असार १८ गते सम्झौता भएको हो ।

२०७९ असार २९ गते निर्माण भइसक्नु पर्ने भवनको २० प्रतिशत मात्रै काम भएको प्रमुख प्रशासकीय अधिकृत भरतबहादुर चन्दले बताए । भ्याटसहित १४ करोड ८२ लाख १० हजार रुपैयाँमा सम्झौता भएकामा निर्माण व्यवसायीले हालसम्म २ करोड ९० लाख पेस्की र रनिङ बिलमा ६८ लाख ५० हजार ९ सय २५ रुपैंया भुक्तानी लिइसकेका छन् । उक्त ठेक्काको म्याद २०८१ असारसम्म थप गरिएको गाउँपालिकाले जनाएको छ ।

केआई सिंह गाउँपालिकामा निर्माण हुने भनिएको १० शय्याको अस्पताल भवनको अवस्था पनि उस्तै छ । २०७९ असोज २३ गते निर्माण भइसक्नु पर्ने उक्त अस्पतालको हालसम्म ४८ प्रतिशत मात्रै काम भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरतबहादुर परियारले जानकारी दिए ।

भ्याटसहित ८ करोड १५ लाख ७८ हजार रुपैयाँमा निर्माण सम्पन्न गर्ने गरी गाउँपालिका र केएस–तेडी–मनिलेक जेभीबीच २०७८ असार २३ गते सम्झौता भएको थियो । निर्माण व्यवसायीले हालसम्म १ करोड ८९ लाख ८१ हजार रुपैयाँ भुक्तानी लिएका छन् । म्याद थप गरी उक्त भवन २०८१ असार २० मा सम्पन्न गर्नु पर्ने भनिएको छ । लामो समय सम्पर्कमा नआएका निर्माण कम्पनी एक हप्ताअघि मात्र आएर काम पुनः सुरु गरिरहेको गाउँपालिका अध्यक्ष लोकेन्द्रबहादुर शाहीले बताए ।

सायल गाउँपालिकामा निर्माण हुने भनिएको भवनको दुर्दशा पनि उस्तै छ । २०८१ साउन ३० मा सम्पन्न हुनुपर्ने भवनको हालसम्म पाँच प्रतिशत मात्रै काम भएको गाउँपालिकाले जानकारी दिएको छ । गाउँपालिकाको डौड स्वास्थ्य चौकी नजिक बनिरहेको १० शय्याको उक्त भवन निर्माणका लागि टीडीआर कन्स्ट्रक्सन प्रालिले ठेक्का पाएको थियो । भ्याटसहित ८ करोड ४६ लाख ३४ हजारमा निर्माण गर्ने भनी २०७८ साउन ३० गते ठेक्का भएकामा हालसम्म निर्माण व्यवसायीलाई ८४ लाख रुपैयाँ भुक्तानी दिइएको गाउँपालिकाले जानकारी दिएको छ ।

२०८० असार मसान्तसम्म निर्माण पूरा गरेर हस्तान्तरण गरिसक्नुपर्ने जोरायल गाउँपालिकाको १५ शय्याको अस्पताल भवन पनि हालसम्म ११ प्रतिशत मात्रै काम भएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशदत्त भट्टले दिएको जानकारी अनुसार भवन निर्माणका लागि वराह डेभलपर्स प्रालि (साबिकको राजेन्द्र निर्माण सेवा) सँग २०७८ साउन १९ मा सम्झौता गरेको थियो । भ्याटसहित ११ करोड २१ लाख ५८ हजार रुपैयाँमा सम्झौता भएकामा हालसम्म १ करोड ९६ लाख रुपैयाँ निर्माण व्यवसायीलाई पेस्की दिइएको छ ।

शिखर नगरपालिकाको १५ शय्याको अस्पताल भवन पनि अधुरै छ । २०८० असार १४ भित्र निर्माण कार्य सम्पन्न गरिसक्नु पर्ने सर्तसहित २०७८ वैशाख २१ मा नगरपालिका र निर्माण व्यवसायी कम्पनी केएस कन्स्ट्रक्सन प्रालिबीच सम्झौता भएको थियो ।

१० करोड ३० लाख ७ हजार रुपैयाँमा सम्झौता भएको उक्त भवनमा हालसम्म ८० प्रतिशत काम भइसकेको नगरपालिकाका सूचना अधिकारी कल्पना ठकुल्लाले जानकारी दिइन् । ठेक्काको म्याद चैत ३० सम्म रहेको समेत उनले बताइन् । हालसम्म निर्माण व्यवसायीले ६ करोड ६१ लाख ११ हजार रुपैयाँ पेस्की लगिसकेका छन् ।

प्रकाशित : चैत्र २५, २०८० १३:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?