२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३७४

लगानी सम्मेलन–२०२४ को लागि जुट्दै नियोगहरू

काठमाडौँ — सरकारले गर्न लागेको तेस्रो लगानी सम्मेलन–२०२४ को पूर्वतयारीमा विदेशस्थित नेपाली नियोगहरू पनि जुटेका छन् । पूर्वतयारी स्वरुप कुनै नियोगहरूले प्रि–समिट कार्यक्रम गरिसकेका छन् भने केहीले सम्बन्धित मुलुकमा रहेका व्यापारी तथा व्यवसायीहरूसँग भेटवार्ता गरिरहेका छन् । साथै केही नियोगहरू अझै कार्यक्रम गर्ने तयारीमा समेत छन् ।

लगानी सम्मेलन–२०२४ को लागि जुट्दै नियोगहरू

तेस्रो लगानी शिखर सम्मेलन आगामी वैशाख १६ र १७ मा काठमाडौंमा हुँदैछ । उक्त सम्मेलनलाई नै मध्यनजर राखेर गत शुक्रबार अर्थमन्त्री वर्षमान पुनले विदेशस्थित नेपाली नियोगका प्रमुख तथा राजदूतहरूसँग भर्चुअल बैठक गरका थिए । नेपालको अहिले विदेशमा ३० दूतावास छन् भने पोर्चुगलमा थप एक दूतावास खोल्ने तयारी छ । नेपालको ७ ओटा महावाणिज्यदूतावास छन् । नेपालको तीनवटा संयुक्त राष्ट्र संघको लागि स्थायी नियोग छन् ।

लगानी शिखर सम्मेलनको पूर्वतयारी स्वरुप शनिबार बंगलादेशमा नेपाली दूतावासले कार्यक्रम गरेको थियो । बंगलादेशका लागि नेपाली राजदूत घनश्याम भण्डारीले त्यहाँका लगानीकर्ताहरूलाई नेपालमा आउन आग्रह गरे । उनले नेपालले तेस्रो लगानी सम्मेलन गर्न लागेको र नेपालमा लगानी गर्न बंगलादेशका लगानीकर्तालाई सहजीकरण गरिदिने उल्लेख गरे । उक्त कार्यक्रममा बंगलादेशका राज्यमन्त्री नस्रुल हमिद, सांसद, उच्च सरकारी तहका अधिकारीहरू, अन्य अधिकारीहरू, थिंकट्यांकका अधिकारीहरू, चर्चित व्यापारी, नेतालगायत ८० भन्दा बढी व्यक्तिको सहभागिता थियो ।

चैत १३ मा बेइजिङस्थित नेपाली दूतावासले कार्यक्रम गर्दै चिनियाँ लगानीकर्ताहरूलाई लगानी सम्मेलनमा निम्तो दिएको थियो । उक्त कार्यक्रममा चीन भ्रमणमा रहेका उप–प्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले चिनियाँ लगानीकर्ताहरूलाई सम्बोधन गर्दै आसन्न लगानी सम्मेलनमा उत्साहजनक सहभागिताका लागि आग्रह गरे । उपप्रधानमन्त्री श्रेष्ठले चिनियाँ लगानीकर्ताका लागि नेपाल उत्कृष्ट गन्तव्य हुने दाबी गर्दै वर्तमान सरकार चिनियाँ लगानीकर्तालाई आवश्यक सुविधा दिन तयार रहेको बताएका थिए । साथै उक्त अवसरमा चिनियाँ लगानीकर्ताहरूलाई नेपालको लगानी सम्मेलनमा सहभागिता जनाउन र लगानी गर्नका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल र अर्थमन्त्री पुनको भिडियो सन्देशमार्फत् पनि अपिल गरिएको थियो ।

यस्तै फागुन १६ मा स्पेनस्थित नेपाली राजदूत शर्मिला पराजुली ढकालले राजधानी म्याड्रिडमा चेम्बर अफ कमर्सका लगानीकर्ताहरूसँग भेटवार्ता गर्दै लगानी सम्मेलनमा सहभागिताका लागि आग्रह गरेकी थिइन् । उक्त भेटवार्तामा स्पेन चेम्बर अफ कमर्सका अध्यक्ष जोसे लुइस बोनेट र प्रमुख कार्यकारी अधिकृत इनमाकुलादा रिइकाले राजदूत पराजुलीलाई स्वागत गरेका थिए ।

उक्त अवसरमा स्पेनका मन्त्रालय, नीति लगानीकर्ताहरूको पनि उपस्थित रहेको थियो । उक्त भेटवार्तामा दुई मुलुकबीचमा व्यापार, पर्यटन, प्राविधिक सहकार्य, विद्युत् तथा अन्य विषयमा काम गर्न सकिने विषयमा छलफल भएको दूतावासले जनाएको छ । राजदूत ढकालले स्पेनी लगानीकर्ताहरूलाई नेपालमा लगानीको सम्भावनाको बारेमा जानकारी दिइन् । साथै उनले नेपालमा सेवा क्षेत्रसहित पर्यटन, नवीन उर्जा, विद्युत र ग्रीन हाइड्रोजनमा सम्भावना भएको पनि बताइन् ।

आर्थिक कुटनीतिको अबलम्बन गर्दै आइरहेको विदेशस्थित नेपाली नियोगहरूलाई अर्थमन्त्री पुनले अबको एक महिना लगानी सम्मेलनमा केन्द्रित भएर सरकारको तर्फबाट काम गर्ने निर्देशन दिएका थिए । उनले राजदूत र नियोग प्रमुखहरूलाई भनेका थिए,‘लगानी सम्मेलन राष्ट्रको इज्जत, प्रतिष्ठा, गौरबको विषयसँग जोडिएको छ । सम्माननीय प्रधानमन्त्री (पुष्पकमल दाहाल) ज्यूकै तर्फबाट म यहाँहरूलाई आग्रह गर्छु कि अबको एक महिना यसमा लाग्नुस् ।’ मन्त्री पुनले विदेशी विकास साझेदार, ठूला लगानीकर्ता, सम्भावित लगानीकर्ता, कार्यक्रमका वक्ता र उच्च पदस्त सरकारी व्यक्तित्वहरूलाई यसअघि नै निम्ता पठाइसकिएको जानकारी गराउँदै राजदूत तथा नियोग प्रमुखहरूलाई सम्मेलनमा आउन निश्चित भएकाहरूको सूची तयार पारेर पठाउन पनि निर्देशन दिएका थिए ।

बैठकमा मुख्यसचिव बैठकुण्ठ अर्याल, परराष्ट्रसचिव सेवा लम्साल र लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिईओ) सुशील भट्ट लगायत अधिकारीहरू सहभागी थिए । नेपालमा लगानीमैत्री वातावरण बनाउन सरकारले नीतिगत, प्रक्रियागत र कानुनी सुधारको काम अघि बढाएको पनि अर्थमन्त्री पुनको भनाइ थियो ।

त्यसका लागि एक दर्जन बढी कानुनमा संशोधनमार्फत सुधारको प्रक्रिया अघि बढाइएको विषयमा आफू रहेको देशका लगानीकर्ता र सरकारी एजेन्सीहरूलाई जानकारी गराउन पनि मन्त्री पुनले आग्रह गरेका थिए । उनले नियोग प्रमुहरूलाई भनेका थिए,‘१२ वटा कानुन र कतिपय द्विपक्षीय समझदारी गर्ने कुरामा पनि छलफल चलिरहेको छ । लगानीमैत्री कानुन बनाउन भइहरेका प्रयासबारे लगानीकर्ता र सरकारी एजेन्सीहरूलाई जानकारी दिनुहोस् ।’

अर्थमन्त्री पुनले गठबन्धनमा भएको फेरबदललाई पनि राजदूतहरूसँगको छलफलमा उल्लेख गरे । उनले सरकारको मूल नेतृत्व उही रहेको र एकाध मन्त्रीहरू मात्र फेरिएकाले लगानी सम्मेलन र लगानीसम्बन्धी नीतिमा कुनै फेरबदल नभएको विषयमा समेत अन्तर्राष्ट्रिय समूदायलाई आश्वस्त तुल्याउन प्रयास गर्नुपर्ने बताएका थिए । परराष्ट्र मन्त्रालयका अनुसार केही दूतावासहरूले लगानी सम्मेलनको पूर्व तयारी स्वरुप काम गरिसकेको छ भने केहीले अझै गर्न बाकि रहेको छ ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता तथा सहसचिव अमृत राई भन्छन्,‘लगानी सम्मेलनलाई मध्ये नजर राखेर सरकारको नीतिअनुसार परराष्ट्र मन्त्रालयले आफू मातहतका सम्पूर्ण नियोगहरूलाई पूर्व तयारी गर्नको लागि पत्राचार गरिसकेका छ । त्यहीअनुसार दूतावासहरूले गृहकार्य गरिरहेका छन् ।’ उनले लगानी सम्मेलनलाई सफल बनाउनको लागि नियोगहरूले काम गर्ने पनि प्रष्ट पारे ।

प्रकाशित : चैत्र १९, २०८० ११:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?